जब सन्ध्या पूजाको आराधनामा लक्ष्मी पूजा हुँदै थियो
प्रसाद स्वरूप नेपालले पाएको थियो
अनमोल,बहुमूल्य अवतार
चेतनशील काव्यभण्डार
जसै उनी आए,
मखमली फूलहरूले भैलो र देउसुरे भट्टाउँदै थिए
जुनकीरीले घर आँगनमा पखेटा फिजाउँदै थिए
चन्द्रमाले शान्त तलाउमा प्रतिबिम्वको कविता कोर्दै थियो
हृदयको कुनाकुनामा करूणा,कोमलता र संवेदनाको पोको बोकेर
उनी नाङ्गा पहाडहरूमा लालीगुराँसको काव्य रचे
काला पत्थरहरू हिउँको गीत रचे
बाझो खेतहरूमा लहलह धानका निबन्ध लेखे
गरिबको झुपडीमा मुनामदनको कथा लेखे
पहराका खाली घाँटीमा मंगलसूत्रको बिम्व लेखे
उनलाई कथित सभ्य भनौदाहरू पागले भन्थे
किनकी उनी
खाली पैतलाले हिमाल ,पहाड, तराईको सुन्दर ,शान्त ,विशालको मानचित्र लेख्छु भन्थे
बाघको खोल ओढेका व्वाँसोहरूको मुखौटा निकाल्थे
खास भनौदालाई घाँस हाल्दैथे
उपहास गरिएकालाई आश जगाउँथे
विचार र कल्पनाको दीपक यस्तो चमक बनेर आयो
हर अँध्यारोलाई चिरेर चेतनाको वाटिका मुस्कुराउन थाल्यो
उनी आएर त ढुङ्गामा पनि जीवन भेटिएको छ
उनी आएर त कोइला पनि हिरा बन्न सक्छ भने ज्ञान मिलेको छ
उनी आएर त लिनुभन्दा दिन सिक भन्ने प्रेरणा मिलेको छ
उनी आएर त झुसिलकीरा पुतली बन्छ भन्ने रहस्य खुलेको छ
जन्म मृत्युको नासो हो
तर जब देवकोटा तिमीलाई हेर्छु
जन्म एउटा अवसर हो अमर बन्ने भन्ने लाग्छ
यो हावाहरूको झोंकामा शाकुन्तल भेट्छु
यो बादलको आकृतिमा निबन्ध भेट्छु
अँध्यारो आकाशमा शितल जुनताराको काव्य भेट्छु
बगिरहेको खोलाको छ्ङछङमा चम्पाको आवाज भेट्छु
भाष्करको प्रकाशमा उज्यालोको महाकवी भेट्छु
म झस्किन्छु
जब जब तिमीलाई श्रद्धा-सुमनका फूलहरू अर्पण गरिन्छ
आफैंलाई एकचोटि चिमोठ्छु
किनभने मेरो बुझाइमा तिमी अजम्वरी छौ
पुस्तकालयको किताबहरूमा
देवकोटा मैले तिमीबाट सिकेको हुँ
अमर हुने कला!