साँझ पर्यो। ग्वाली छेउको आँपको रूखमा बास बस्न गुँड फर्किएका चराहरूको चिर्बिर आवाजले निन्द्रा खुल्यो।
ग्वालीको मुनि बाले गाई दुहुएको स्वार्र स्वार्र... आवाज आइरहेको थियो। उसले खाटमै बसेर आफ्नो जिउ तनक्क तन्कायो।
पूर्वतिर आकाशमा जुन भर्खर झुल्किएको थियो। खुबै मनपर्ने सन्ध्याको क्षण त्यो दिन भने उसलाई फिटिक्कै मन परेको थिएन। दिनको उज्यालो अन्त्य गरेर धर्ती अन्धकार बनाउने त्यो समय उसले आफ्नो जीवनसँग जोडेर हेर्यो।
आफ्नो जीवन पनि कतै अन्धकार सुरूङभित्र छिर्न लागेको त होइन भन्ने आशंकाको कालो बादल ऊभित्र मडारिरहेको थियो।
रातको खाना खाएर फेरि बेडमा पल्टियो। साँझ एकछिन झकाएकोले होला निद्रा पर्ने कुनै छाँटकाँट थिएन। पट्यार लाग्दो क्वारेन्टिनको पहिलो रात नै छटपटीले जीउ दुख्न थालिसकेको थियो। उसो त यसैगरी अब उसले चौध रात त्यहाँ बिताउनु थियो।
पटक/पटक कोल्टे फेर्दै गर्दा ऊ बेङ्गलोर बसाइको स्मृतिमा हराउन पुग्यो।
नेपाल फर्किने अघिल्लो साँझ डिपार्टमेन्ट स्टोरमा आफूलाई चाहिने सामान र्याकबाट निकालेर ऊ फटाफट ट्रलीमा हाल्दै थियो। घाँटीमा स्टोरको परिचयपत्र झुण्डाएकी एक युवती छेवैमा आएर भनि, ‘जल्दी करो, बंद होने का टाइम हो गया है।’
उसले फोन निकालेर समय हेर्यो। सात बज्नलाई पाँच मिनेट मात्र बाँकी थियो। ट्रली गुडाउँदै ऊ काउन्टरतिर लाग्यो। सधैं मुस्कुराई रहने पन्जावी साहुजी आज उदास अनुहारमा काउन्टर बन्द गर्ने तरखर गर्दै थिए।
निस्किँदै गर्दा उसले गेटमा राखिएको सेनिटाइजरको चार थोपा निकालेर हत्केलाभरि र औंलाको कापसम्मै दल्यो।
भीडभाड नगराइ व्यापार गराउनु पर्ने शर्तमा स्थानीय प्रशासनले बेलुका पाँच बजेदेखि दुई घण्टासम्म स्टोर खोल्न अनुमति दिएको रहेछ। मध्यरातसम्मै चकाचक भएर चम्किने अँधेरी बजार सात बजे नै बन्द भयो। सडक र सहर नै सुनसान हुँदै थियो।
अँधेरी हाइवेको पारिपट्टि ऊ बस्ने अपार्टमेन्ट छ। सधैं निक्कै आँट गरेर दायाँ बायाँ हेरेर काट्नु पर्ने बाटो उसले आज कतै नहेरी निस्फिक्री पार गर्यो।
दुई बित्ता पिच देख्न मुश्किल पर्ने सडक आज ऊ आँखाले भ्याउन्जेल टाढासम्म हेर्न सक्थ्यो। बेङ्गलोर बसेको दुई वर्षसम्म त्यो सडक त्यति फराकिलो छ भन्ने उसलाई कहिल्यै लागेको थिएन।
मनमनै भन्यो– सडकलाई पनि फुर्सदिलो भएकोमा आनन्द लागेको होला है। वा, आफ्नो थाप्लोमा दौडिने ती कैयौं सवारीसाधनको न्यास्रो पो लागेको छ कि! बोल्ने भए ऊ टुसुक्क बसेर सडकलाई सोध्थ्यो होला, ‘तिमीलाई कस्तो फिल भैरहेको छ अहिले?’
राजमार्ग छोडेर दक्षिणतर्फ लाग्दा अपार्टमेन्टतिर जाने सडकको मुखैमा गुल्सन गोपिचन्दको चर्चित ‘गुल्सन ढावा’ छ। त्यसको अगाडि पुगेर ऊ टक्क रोकियो। सधैं भीडभाड भइरहने ढाबा तीन दिनदेखि बन्द थियो।
ताला मारेको ढाबा अगाडि बसेर उसले गुल्सन भैयाको हँसिलो अनुहार सम्झियो। सम्झियो सहोदर दाजुले गरेझै आफूलाई गरेको माया र विरानो ठाउँमा उसले गरेको सहयोग पनि।
फरक भूगोल, फरक भाषा, फरक रहनसहनका गुल्सन भैयाको निस्वार्थ माया देखेर ऊ छक्क पर्थ्यो। माया गर्ने मनको त कुनै परिधि नै नहुने रहेछ। दिमागले तोकिएका सीमा मनले भत्काई दिने रहेछ।
संसारमा मनमात्र हुन्थ्यो भने न कुनै सीमा, न कुनै भाषा हुन्थ्यो। भाषा हुन्थ्यो त मायाको एउटै भाषा। संसारको जुनै कुनामा पुग्दा पनि सबैले माया मात्र बोल्थे होलान् सायद।
ऊ गह्रौ मन लिएर अपार्टमेन्टतिर लाग्यो। जूनको उज्यालोमा सुनसान सडक पेटीमा हिडिरहँदा भुइँभरि पर्पल रानी फूल फुरुरु झरिरहेको थियो। सिरिरि चलेको बतासले हल्लाएर झरेको फूलले सडक ढपक्कै ढाकेको छ।
जब-जब सडकमा त्यस्तो दृश्य देख्छ, ऊ आफ्नो प्रेमिकालाई सम्झिन्छ। उनीसँगै हात समातेर हिँडिरहेको कल्पना गर्छ। झरेको त्यही एउटा फूल टिपेर प्रेमिकाको केसमा सिउँरी दिएको कल्पना गर्छ। अंगालोमा बेरेर धेरैबेर अधर चुमिरहेको कल्पना गर्छ।
अर्को साल प्रेमिकालाई घुम्न बोलाएर उनको शिरमा रानी फूल सिउँरी दिने मनमनै मीठो योजना बनाउँछ। फेरि ऊ एकैछिनमा चिन्तित बन्छ, अर्को साल यस्तै गरी सडक खाली कसरी होला र!
गाउँमा भएकी आफ्नी प्रेमिकाको अनुहार उसको अगाडि नाच्न आइपुग्छ। ऊ मख्ख पर्छ। मान्छेलाई आफूले बनाएको काल्पनिक संसारमा मनमगन विचरण गर्नु जस्तो आनन्द अरू केमा मिल्थ्यो होला र!
कोठामा पुगेर डंरङ्ग बेडमा पल्टिन्छ। टेलिभिजनमा भारतीय प्रधानमन्त्री जनता कर्फ्यूको कुरा गरिहेका छन्। कोरोनाविरूद्ध लड्न त्यो प्रभावकारी नभए बाध्यकारी लकडाउनमा जाने चेतावनी पनि दिँदै छन्। आफूलाई शक्तिशाली मान्ने विश्वकै शासकहरू यतिबेला भाइरससँग भने निरिह देखिएका छन्।
भारत त ऊ भोलिपल्ट छोड्दै थियो, चिन्ता उसलाई आफ्नो देशको थियो। मोबाइलमा समाचार लिंक खोल्यो। कतिबेला भुर्रर उडेर गाउँ पुगौं भन्ने हुटहुटी चल्न थाल्यो।
बाआमा, भाइबहिनीलाई किनिदिएको गिफ्ट मिलाएर सुटकेसमा राख्यो। प्रेमिकालाई किनिदिएको लेहेंगा लुकाएर आफ्नो कपडाको बीचमा राख्यो। प्रेमिकाले लेहेंगा मागेकी त थिइनन्, तर उनको मोबाइलमा धेरै लेहेंगाको फोटो थियो।
उनीसँग एउटै पनि लेहेंगा भने थिएन। लेहेंगाप्रतिको रहर बुझेको थियो उसले। नमागेको भए पनि मनमनै उनको रहर पूरा गरिदिने बाचा गर्यो। आफ्नो रहरको गिफ्ट हात परेको क्षण आफ्नी प्रेमिकाको मुहारमा छाउने खुसी हेर्न ऊ आतुर बन्यो।
‘लेहेंगा त किनियो तर विचरीले कहिले लाउँदी हो? यो त सहरतिर पार्टीमा जाँदा लगाउने हो। तिनी बाख्रा चराउँन जाँदा कि धान रोप्न जाँदा लगाउँदी हुन्?’ ऊ आफ्नो तर्कनामा आफैं फिस्स मुस्कुरायो।
आजकाल गाउँमा घरघरै मोटरबाटो पुगिसकेको छ। सडकले बिजुलीको लाइन पनि तान्दै सँगै लान्छ। बिजुलीले मोबाइल, इन्टरनेट, टेलिभिजन इत्यादिको आवश्यकता चेपेर घरघरै पुर्याइदिन्छ।
ट्रक जाने भएपछि मान्छेलाई पक्की घर बनाउने रहरले च्याप्न थाल्छ। अनि धान खाने खेत मासेर बनिन थाल्छ, बजार, पार्टी प्यालेस, होटल, भ्यू टावरहरू।
खेती किसानी गर्नेहरू परम्परागत खेतीपाती छोडेर आधुनिक खेतीतिर लाग्न थाल्छन्। गोरु बेचेर ट्याक्टर, भैंसी बेचेर मोटरसाइकल किन्नेहरू धेरै निस्किन्छन्। गाईभैंसी बाँध्ने गोठमा मोटरसाइकल बाँधेको जताततै देखिन्छ।
समाज आधुनिकता खोज्दै छ। विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन, एनिभर्सरीहरू पार्टी प्यालेसमा आयोजना हुन थालेका छन्। सहरको पार्टी प्यालेसमा भन्दा गाउँका पार्टी प्यालेसहरूमा महँगा सुट र लेहेंगाहरू झल्किन थालेको छ।
गाउँकै पार्टी प्यालेसमा आफ्नी प्रेमिकाले लेहेंगा लगाएर दुवै हातले सम्हाल्दै हिँडेको हेर्न मन छ उसलाई । त्यसैले त उनैलाई मनपर्ने क्रिम कलरको भुइँमा सेतो गुलाफको बुट्टा भरेको लेहेंगा आफ्नो खर्च कटाएर बचाएको पैसाले किनिदिएको छ।
‘आफू लेहेंगावाली प्रेमिका डोर्याएर हिँडिरहेको बेला आमा पो कस्तो लुगामा देखिने हुन् नि? हत्तेरी! पहिले आमालाई पो राम्रो उपहार किनिदिनु पर्ने थियो।’ ऊ झसंग भएर पर्स हेर्छ।
बाटो खर्च पुग–नपुग थियो।
‘गुल्सन दाइलाई बाटो खर्च पुगेन भनेर मागूँ कि?’ एकछिन ऊ अलमलमा पर्यो। मोबाइल हातमा लियो। तर, फोन गर्न सकेन। सोच्यो, बन्दको बेला लेहेंगा लगाउने दिन नै के आउला र! आ..म फर्किएपछि त जेसुकै गरोस्।
गाउँ छोडेको तीन वर्षपछि ऊ गाउँ आइपुग्यो। बेंगलोरदेखि काठमाडौंसम्म हवाई जहाज र काठमाडौंदेखि गाउँसम्म गाडीमा रातारात आएको थियो। भोलिपल्टदेखि देश लकडाउनमा रहने घोषणा भएकोले काठमाडौं ओर्लिएकै साँझ ऊ सिधै गाउँतिर लागेको हो।
सूर्यको किरण धर्तीमा ओर्लनु अगावै ऊ गाउँको बसपार्कमा ओर्लियो।
राति पानी परेकाले होला रातो माटो भिजेर बाटो चिप्लो भएको थियो। ऊ झोला बोकेर चिप्लो बाटोमा वल्लोपल्लो छेऊ छड्किदै आफ्नो घरतिर लाग्यो। नयाँ पाउला फेर्न रूख बुट्टाहरू पात उडेर उजाड देखिन्थे।
गाउँको डिलमा लहरै रोपिएका बाँसका झ्याङ जिंरिङ्ग देखिन्थ्यो। चैत वैशाख सुख्खा मौसम हो। लामो समयसम्म पानी नपरेर खडेरी लाग्ने, पानीको मुहानहरू सुक्ने हुन्छ। वनजंगल उराठ लाग्दो हुन्छ। झन् जंगलमा कोइलीको कुहु कुहु.. आवाजले त मान्छेलाई विरक्त लाग्ने बनाइदिन्छ।
बस पार्कबाट आधा घण्टा हिँडेर ऊ घर आइपुग्यो। छ्याङ्ग उज्यालो भैसकेको थियो। बा काली गाई दुहुदै हुनुहुन्थ्यो। उसलाई परै देखेर गाई बाँ... गरेर करायो। कस्तो अचम्म? तीन वर्षसम्म पनि गाईले बिर्सिएको रहेनछ।
उसले गाई सुम्सुमायो, गाईले हात चाट्न थाल्यो। गाउँभरि डुलिहिँड्ने भोटे कुकुर पनि पुच्छर हल्लाउँदै फुत्त आइपुग्यो। यस्तो लाग्थ्यो उसलाई घरको माटो ढुंगाले पनि स्वागत गरिरहेको छ।
कुचो लगाउँदै गरेकी आमाले उसलाई टुप्लुक्क घर आइपुगेको देखेर बर्रर खुसीको आँसु झारिन्। उसले बाआमालाई ढोग गर्यो। भाइबहिनीहरू दाजुले के ल्याइदियो भनेर सुटकेस खोतल्न थाले।
वरिपरिका केटाकेटीलाई उसले चकलेट बाँड्यो। वल्लोपल्लो घर छिरेर ढोगभेट गर्यो। कसैकोमा चिया, कसैकोमा तताउँदै गरेको दूध त कसैकोमा कुँडे कोरेको कुराउनी भएनी खाएर निस्कियो।
दश बज्नै लागेको थियो। भित्र आमाले खान बोलाउँदै हुनुहुन्थ्यो। त्यति नै बेला आँगनमा एक हुल प्रहरी आइपुग्यो।
‘तपाई नै हो इण्डियाबाट आएको ?’ उसले हो भन्न नपाउँदै प्रहरीले तथानाम गाली गर्यो।
उनीहरूको बुझाइ यस्तो थियो कि ऊ नै कोरोना भाइरस हो। उसले भाइरस बोकेर आएको छ। ऊ आएकैले अब गाउँभरि भाइरस आइसकेको छ। कोरोनाको बारेमा आफू सचेत रहेको र सुरक्षित रूपमा आइपुगेको छु भनेर उसले बताउने मौका नै पाएन।
प्रहरीले धम्कीपूर्ण भाषामा भन्यो, ‘घरमै क्वारेन्टिनमा बस्ने कि हामी पक्राउ गरौं?’
उनीहरूको व्यवहार र बोली देखेर उसलाई झनक्क रिस उठिसकेको थियो। दुवै हातमाथि उठाउँदै लू पक्राउ गरेर लैजाउ भन्न मन थियो। तर, भेला भएका छिमेकीहरूले घर छेउमै क्वारेन्टिन बनाएर राख्ने भनेपछि ऊ केही बोलेन।
घर सँगै गाई बाख्रा बाध्ने पुरानो ग्वालीको माथिपट्टि एउटा खाट राखेर बस्ने व्यवस्था मिलाइयो। हिउँदमा पराल, दाउरा थन्काउने सानो ठाउँ थियो। त्यँहा मुसाको उपद्रो सहन नसकेर बाले धेरै पटक औषधि राख्दा पनि केही सीप चलेको थिएन।
पाँच मिनेट पराल झार्न जाँदा त भुसुना र लामखुट्टेको आक्रमण थेगिनसक्नु हुने ठाउँमा कसरी बस्ने होला भन्ने पीरले नै उसलाई ज्वरो आउन लागिसकेको थियो। बाहिरबाट राखेको काठको सानो भर्याङ चढेर ऊ खाटमा उक्लियो।
तीन वर्षपछि घर फर्किंदा आफ्नै घर, आफ्नो माटो, आफन्तकै अगाडि आफू उपेक्षित हुनुपरेको पीडाले मुटु गाँठो परेको थियो। आमाले पठाइदिएको खाना बुवाले परैबाट त्यहाँ राखिदिएको भाँडामा छोइएला कि झैं गरेर खनाइदिए।
त्यो देखेर झल्याँस् उसले घरको हली मकरे सम्झियो। उनी जातले विश्वकर्मा थिए, कथित् दलित। उनको पूरा नाम मकरबहादुर विश्वकर्मा थियो। तर उनलाई मकरे भनिन्थ्यो। घरमा काम गर्न आउँदा उसलाई आँगनमै खाना दिइन्थ्यो। खाना दिँदा त्यसैगरी छोइन्छ कि भनेर अलक्क गरिन्थ्यो।
बच्चै हुँदा हजुरआमाले सम्झाउनु भएको थियो, ‘त्यो कामीलाई छोइस् भने तेरो जात पनि कामी नै हुन्छ। अलग्गै बसेस्।’
ऊ त्यतिबेला खुब डराएको थियो, ‘कामी भइयो भने, स्कुल जान पाइँदैन। अर्काको खेतालो हुनुपर्छ, भुइँमा बस्नुपर्छ। बाहिर खाना खानुपर्छ।’
उसले मकरेको जीवन हेरेर त्यो बेला कामी हुनुको अर्थ लगाएको थियो।
ऊ ठूलो भएपछि हजुरआमाको कुरा गलत सावित गर्न एकदिन हजुरआमाकै अगाडि कामी साथीसँग एउटै थालमा रोटी खायो। हजुरआमालाई नातिको उपद्रोले राति बेस्सरी ज्वरो आयो। त्यहीँ निहुमा हजुरआमा थलै परिन्।
बा बेस्कन रिसाएका थिए। उसले कामीसँगै खाएको कुरा ढोका काटेर बाहिर गएन। बरु त्यो साथीले नै आफ्ना हजुरबालाई खुसुक्क भनेको रहेछ। मकरेले एक दिन बाटोमा भेटेर ज्यादै खुसी हुँदै भने,‘बाबु, सबै बाहुन पढेर तिमीजस्तै शिक्षित होऊन् ।’
‘बाहुन पढेकै हुन्छन्, शिक्षितै हुन्छन्, यी बूढाले के भन्या हुन्?’ उसले तत्काल भने त्यो कुरा बुझेन।
तर, जति बाहुन शिक्षित भए पनि सावधानी अपनाउनु पर्ने रोगले संसार ढाक्यो। आफ्नै छोरोलाई खाना दिन बा डराइरहेका थिए। जसरी सानोमा ऊ कामीलाई छोइदा जात जान्छ भनेर डराएको थियो।
हामीलाई दुई चार दिन त्यो पनि रोगको आशंकामा अलग गर्दा त यति पीडा हुन्छ भने आजीवन अछुत बनाइएका जातिलाई कति पीडा हुँदो हो?
हरेक महिनाको हप्तादिन अछुत बनाइएका महिलारूलाई कति पीडा हुँदो हो। लाग्छ, यो कोरोनाभाइरस तिनै छुवाछुतमा नपरेकालाई पाठ पढाउन पो आएको हो कि!
मकरे जीवितै भएको भए छेउमै आएर मुस्कुराउँदै भन्थ्यो होला, ‘मालिक! अछुत हुनुमा कति पीडा हुने रहेछ भन्ने बुझ्नुभयो होला नि?’
पट्यारले अत्यास पारेको बेला प्रेमिकालाई फोन गर्यो उसले। डराएको स्वरमा फोन उठाइ रमिलाले। उसले आफूलाई अति अत्यास लागेको, भेट्ने हुटहुटी भएको बतायो। अलि परै बसेर कुरा गर्दा त केही हुँदैन भनेर सम्झायो। तर, उनी मानिनन्, आइनन्।
उसले खाटको खुट्टातिर ठड्याइ रहेको सुटकेस हेर्यो। त्यहाँ उसले आफ्नो गाँस कटाएर प्रेमिकाको लागि किनिदिएको महँगो गिफ्ट थियो। त्यो फगत गिफ्ट मात्र थिएन, उसको सिँगै मुटु थियो। प्रेमिकाको मुहारमा छाउने खुसी हेर्ने रहरको पोको पनि थियो।
तर, अब त्यसको मूल्य रहेन। ऊ आफैंलाई लाग्न थाल्यो– त्यो सुटकेसमा कोसेली होइन कोरोना छ।
उसलाई संक्रमणको आशंका पो गरिएको थियो, संक्रमित नै त थिएन। संक्रमण भइहाले पनि सन्तानब्बे प्रतिशत बाँच्ने सम्भावना रहन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि समाजले ऊ प्रति देखाएर व्यवहारले उसको आत्मबल डगमगाउन थालिसकेको थियो।
टाढाबाट चिहाउँदै हेर्ने गाउँलेहरू भन्दै थिए, ‘ऊ.. खोक्दै छ। हाछ्यूँ पनि गर्यो। लागेकै हो रैछ नि। अब मर्छ।’
उसलाई पनि लाग्न थाल्यो, साँच्चै म मर्दैछु कि क्या हो? डराउँदा–डराउँदै खोकी हाछ्यूँ पनि लाग्न थालेको थियो। सास फेर्न गाह्रो भए जस्तो पनि भयो। दिमाग ठण्डा पारेर सोच्यो। होइन, यो सिर्फ शंका मात्र हो। भाइरस हो भने त पहिले ज्वरो आउँछ। यो खोकी त रातारातको यात्रा, फोहोर कोठाको बसाइँको कारण हो।
फेरि अर्को मनले भन्थ्यो, कतै साँच्चै लागेको रहेछ भने त यो गाउँमा सामान्य उपचार पनि हुँदैन। म मर्नुको विकल्प रहँदैन। के यो संसारमा मेरो उपस्थिति यति नै हो त ? मलाई यति थोरै उमेर मात्र बाँच्न लेखिएको थियो त?
अँध्यारो कोठाको चारैतिर आँखा डुलाउँछ। सर्वत्र अँध्यारो मात्र देख्छ। आत्तिन्छ। फुत्त निस्किएर टहटह जूनको उज्यालोमा खेतको गह्रै गह्रा दौडिन पाए पनि हुन्थ्यो जस्तै लाग्छ। तर हुँदैन कतै मलाई लागेको भए पनि अरूलाई सार्नु हुन्न। म मरे पनि अरु बाच्नुपर्छ। मेरो भाग्यमा यस्तै लेखिएको छ भने मैले भोग्न तयार हुनैपर्छ।
पर घरबाट आमाले ठूलो स्वरमा भन्छिन्, ‘बाबु अझै निदाएको छैनस् ? रात छिप्पिसक्यो सुत अब।’ आमाको स्वर सुनेर बर्रर आँसु झार्छ। चिच्चाएर भन्न मन लाग्छ, ‘आमा म सुत्नै सकिनँ। मलाई तिम्रो काखमा राखेर भुत्नी आमोइको कथा सुनाएर सुताउ न।’ आमालाई थाहा होला भनेर ऊ निदाए जस्तो नाटक गर्छ।
पूरै जिउ पसिनाले निथ्रुक्क भिजेको छ। ज्यान फत्रक्क गलेको छ। विस्तारै उठेर थर्मसबाट खन्याएर एक गिलास तातो पानी पिउँछ। काठको आग्लो घर्याक्क खोलेर सानो झ्यालबाट टाढा टाढासम्म हेर्छ।
रात चकमन्न छ। समय नै टक्क रोकिए जस्तो लाग्छ। यो कालरात्री छिटोछिटो बितोस् भन्ने कामना गर्छ। फेरि फर्किएर खाटमा आएर थचक्क बस्छ ।
हरेक रात आफ्ना बाल्यकालदेखिका दिनहरूको स्मृतिमा डुबुल्की मार्छ। सम्झिएर कहिले खुसी हुन्छ, कहिले दुःखी बन्छ। पश्चताप मान्छ, गर्व मान्छ। बाँचेका दिनहरूको फुसर्दले हिसाबकिताब गरिरहन्छ।
भय र आशाबीच रुमलिँदै क्वारेन्टिनको चौधौ रात पनि बित्छ। मिर्मिरे उषाका किरणहरू पृथ्वीमा ओर्लिन्छन्। धर्ती छर्लङ्ग उज्यालो हुन्छ। पूर्वतिर क्षितिजमा घाम झुल्किन लागेको सुनौलो प्रकाश छरिन्छ।
उसलाई प्रभातको यो क्षण खुब मन पर्छ। रातको अँध्यारो अन्त्य भएर उज्यालो दिनको सुरूवात हुने यो क्षण साँच्चै सुन्दर हुन्छ। ऊ पनि आफ्नो जीवनको काला रातहरू पार गरेर जिन्दगीको आकाशमा फेरि झुल्किएको छ।
०००