कविता
छोरा,अब त तिमी बुझ्ने भयौ होला,
घरदेश छोडेर परदेश लागेको मेरो छोरा,
कति वर्ष भयो कुन्नि
तर मैले औला भाँची गन्दा,
मेरा हात र खट्टाका सबै औला गनिसकें,
घरदेशमा पढेर बुझ्ने हुन नसकेको मेरो छोरा,
परदेशमा परेर त बुझ्ने भयौ होला है।
***
तिमी सानोमा,
तिमी सानोमा घरका भित्तामा कुद्ने माउसुलीको
खस्रो छाला थाहै नपाइ छोइदा पनि कत्ति डराउथ्यौ,
हाम्रा हातखुट्टा र गालाका छालाहरू
झन् चाउरिँदै र खस्रा हुँदै गाका छन्,
हामीले घाम तपाउँदै तोरीको तेलले नरम बनाएका,
तिम्रा कोमल हातले,
थाहा पाएरै छुँदा पनि तर्सिनेछौ।
त्यसैले छोरा तिमी फर्क
***
सुुन्तला खाने त्यो तिम्रो रहर,
हामी भुलेका छैनौ,
त्यही रहरले तिमी गाउँभरिका सुन्तलाबारी
डुल्दै दिनभरि हराएको चाल पाइ,
मैले मेलाखर्चबाट जोगाई किनेको सुन्तलाको बोट
तिम्री आमाले आँगन छेउ केबल तिम्रा लागि
मन लगाएर रोपेको,
छोरा तिमीले त बिर्स्यौ होला,
तर,
त्यो सुन्तला ढकमक्क फुल्न थालेको,
अनि लटरम्म फल्न थालेको धेरै भइसक्यो,
तिमीले त चाख्न सम्म पाएका छैनौ,
त्यसैले त्यो सुन्तलाको बोट सम्झी,
तिमी फर्क छोरा
***
वैश बेचेर पैसा त कमाएकै छौ होला,
वैशले पैसा त आउला,
तर पैसाले वैश खै कुन्नि छोरा,
तिमीले सधैं खल्तीमा बिस्कुट खोज्ने,
च्यातिएर पनि सिउन नसकेको,
थोत्रो कालो कोट,
दिनभरिको कमाइबाट तिमीलाई
दिन नसकेको पाँचको नोट सम्झेरै भए पनि,
तिमी फर्क छोरा
***
आजभोलि,
आजभोलि झन् कोरोना आयो भन्छन्,
बन्द हुन लागेको झिनो सास लिएर,
आइसोलेसनमा गएकाहरूको,
सास रोकिएपछि,
घरकाहरूले लाससम्म पाउने आश हराएको छ,
गाउँघरमा समेत कयौ लास भैसके,
लास हुन नसकेका हामीजस्ता सासहरू,
जेनतेन बाँचेकै छौं,
हामी सास हुँदै तिमी आयौ,
र लास भएपछि काधमा घाटसम्म बोकी,
तिम्रै हातले जलायौ भने
छोरा
छोरा सबभन्दा भाग्यमानी सम्झिन्थ्यौ।
त्यसैले छोरा तिमी फर्क
छोरा तिमी फर्क