सहनशीला बजारमा केही किनमेल सकेर फर्कने तर्खर गर्दै थिई। रिक्सा चढ्दै गर्दा कसैले पछाडिबाट बोलायो।
‘नमस्ते म्याम!’
सहनशीलाले फर्केर हेरी।
“ओहो, पर्वतजी, सञ्चै हुनुहुन्छ? तपाईं त यतै हुनुहुन्छ! अमेरिका जानु भएन छ त?”
“गइनँ म्याम।”
“किन त?”
“देशको मुहार फेर्न यहीँ केही गरूँ कि भनेर बसें।”
“हा-हा-हा” सहनशीला दिल खोलेर हाँसी।
“तपाईं चाखलाग्दो मान्छे हुनुहुँदो रहेछ।”
पर्वत पनि हल्का मुस्कुरायो।
“वास्तवमा म अमेरिका फर्कूं कि नफर्कूं भनेर दोधारमा थिएँ। त्यही बेला, हजुरसँग भेट भयो। हजुरको कुराले मन छोयो। धेरै सोच– विचार गरें र अन्तत: नजाने निर्णय गरें। यतै केही गर्न खोज्दैछु।”
“के गर्न खोज्दै हुनुहुन्छ त?”
“यो गर्मीमा यहाँ उभिएर के कुरा गर्नु, यहाँ नजिकै एउटा राम्रो क्याफे छ, यदि हजुरलाई फुर्सद छ र अप्ठ्यारो लाग्दैन भने…।”
‘कति बान्की मिलाएर कुरा गर्न जानेको हो यो मान्छे ले? फेरि दोस्रो भेटमै क्याफेको निमन्त्रणा!’ सहनशीलाले मनमनै गमी।
कार्यालयका सहकर्मीहरूसँग बाहेक ऊ जीवनमा कुनै समवयी पुरूषसँग क्याफे वा रेष्टुरेन्टमा गएकी थिइन।
स्कुल-कलेजकालमा केटा साथी बनेनन्। अधिकृत भइसकेपछि त झन् सम्भावना कम भयो।
वरिष्ठ र समकक्षीहरू प्राय: विवाहित नै हुन्थे। कनिष्ठहरूले कफी निम्तो दिने के को आँट गरून्? पर्वतको आग्रह अनपेक्षित थियो, अप्रत्यासित पनि, तर अप्रिय भने लागेन।
उसले पर्वतलाई पुलुक्क हेरी - ऊ निष्कपट र निश्छल देखिन्थ्यो। सायद निष्कपट व्यक्तिहरू आँटिला पनि हुन्छन्। उसलाई पर्वतको आग्रह टाल्न अप्ठ्यारो भयो र ऊसँगै हिँडी। पर्वतले उसका झोलाहरू समेत बोकी दियो।
“म्यामले मेरो नाम कसरी सम्झिराख्नु भएको, यतिका दिनपछि पनि?” चिसो पेयको चुस्कीसँगै पर्वतले प्रश्न गर्यो।
“मेरो स्मरणशक्ति बलियो भएर नि लोक सेवा आयोगमा नाम निकालें पर्वतजी?” सहनशीला ठट्टाभावमा बोली।
स्मरणशक्ति बलियो हुँदैमा सबै कुरा याद हुने त पक्कै होइन। जीवनमा धेरै मान्छेहरू भेटिन्छन्। थुप्रै घटनाहरू घट्छन्। तर केही मान्छे र घटनाहरूमात्र पछिसम्म याद रहन्छन्। सायद पर्वत त्यस्तै सीमित मान्छेहरूमध्ये थियो।
सहनशीला सहायक प्रजिअ भएर धनगढी आएको केही महिना मात्र भएको थियो। एकदिन ऊ कुनै फाइलको अध्ययनमा मग्न थिई। सँगैको राहदानी फाँटमा केही चर्काचर्की परेको आवाज आयो।
नासु नियमराज पुडासैनीको कुनै सेवाग्राहीसँग विवाद भइरहेको थियो। उसले दुबैलाई आफ्नो कक्षमा बोलाई।
“हैन के भयो?”
नियमराज केही बोल्न खोज्दै थियो, तर सहनशीलाले सेवाग्राही युवालाई पहिले बोल्ने मौका दिई।
“तपाईं पहिला भन्नुस् त के भयो?”
“म्याम, म पर्वतकुमार प्रधान। पासपोर्ट नवीकरण गर्न आएको। मेरो पासपोर्टमा पेशा ‘बिजनेस’ लेखिएको रहेछ। कलेज सकिएपछि कम्प्यूटर हार्डवेयरको सानोतिनो व्यापार गरेको थिएँ । तर व्यापार राम्रो भएन र छोडें। पछि थप अध्ययनको लागि बाहिर गएँ। अहिले मेरो कुनै व्यवसाय छैन। तर पासपोर्टमा उल्लेख भएकोले त्यसको प्रमाण नभै हुन्न रे! व्यवसाय नै नरहेपछि के प्रमाण पेश गरूँ? यहाँ एकजनाले मलाई कुनातिर तान्यो र भन्यो - अलिकति खर्च लाग्छ, मिलाई दिन्छु । यो लाजमर्दो कुरो होइन, म्याम? हामी कहिले सुध्रिने?” सेवाग्राही युवाको आवाजमा आक्रोश थियो।
“खै उहाँलाई कसले कुनामा तान्यो, त्यो त थाहा भएन, तर पेशामा व्यवसाय उल्लेख भएकोले व्यवसायसम्बन्धी कागजपत्र मागेको हुँ” नियमराजले नजर झुकाउँदै स्पष्टिकरण दियो।
“ल मैले कुरा बुझें, तपाईं एकछिन बाहिर बस्दै गर्नुस् है त पर्वतजी।” सहनशीलाले सेवाग्राही युवकलाई बाहिर पठाई र नियमराजलाई सम्झाई।
“सुब्बासाब, मान्छेको पेशा सधैं एउटै रहँदैन। तपाईं पनि आज कर्मचारी हुनुहुन्छ, भोलि नरहनुहोला। फेरि राहदानीको लागि पेशासम्बन्धी कागजपत्र चाहिने नियम कहाँ छ? देखाउन सक्नु हुन्छ? जनतालाई यसरी अनावश्यक दुःख दिन भएन नि। सेवाग्राहीको स्थानमा आफूलाई राखेर सोच्नुस् त? ”
सहनशीलाले पर्वतको कागजपत्र, नागरिकता, पुरानो पासपोर्ट समेत ओल्टाई-पल्टाई हेरी। पासपोर्टमा अमेरिकाको भिसा थियो। सायद व्यापारीसँग पैसा हुन्छ, अमेरिकी भिसावालासँग त झन् डलरको बिट्टा नै हुन्छ, अलिकति त झार्न पर्छ भन्ने मनोविज्ञान हो कि?
“सुब्बा-साब, उहाँको सबै कागजपत्र ठीक छ। काम गरिदिनुस् त। अनि उहाँलाई कुनामा तानेर खर्चको कुरा गर्ने बिचौलियालाई कार्यालयमा प्रवेश निषेध गर्नूस्। फेरि यस्तो सिकायत सुन्न नपरोस्।”
करिब आधा घण्टापछि पर्वत फेरि ढोकामा देखियो। उसको हातमा नयाँ पासपोर्ट थियो।
“म्याम, म भित्र आउन सक्छु?”
“आउनुस्, भन्नुस, फेरि के भयो?”
“हजुरलाई धन्यवाद भन्न मात्र पसेको। हजुरले सुब्बा-साबलाई भन्नु भएको सबै कुरा बाहिरबाट सुनिरहेको थिएँ। हजुर जस्तो असल, कर्तब्यनिष्ठ युवा अधिकृत सबै ठाउँमा हुन्थे भने देशको अनुहार सायद अर्कै हुन्थ्यो होला।”
“धन्यवाद। तर तपाईंहरू जस्ता युवाहरूले पनि यसरी पासपोर्ट बनाउँदै, धमाधम देश छोड्दै नगरे देशको मुहार अर्कै हुन्थ्यो कि!” सहनशीलाले कटाक्ष गरी।
सहनशीलाको कुरा सुनेर पर्वतको अनुहारको रंग उड्यो । सहनशीला यसरी कसैलाई प्रहार गर्ने मान्छे त थिइन – त्यो दिन खै कसरी ऊ टर्रो भई, तर छिट्टै सम्हालिई पनि।
“माइन्ड नगर्नूहोला, मैले ठट्टा मात्र गरेको। सबैको आ-आफ्नो इच्छा, प्राथमिकता र बाध्यता हुन्छन्।”
त्यसपछि भने पर्वत केही सहज भयो र नमस्ते गरेर बाहिर निस्कियो।
भनिन्छ नि- संसार सानो छ। धनगढी त झनै सानो छ। एकपटक भेटेको मान्छे फेरि भेटिन सक्छ। जस्तो पर्वतसँग आज फेरि भेट भयो।
“तपाईंको नाम मौलिक छ र सुन्दर पनि - सुन्ने जो कोहीको मनमा बस्छ। फेरि मेरो कार्यकक्षमा आएर त्यसरी पहिले कसैले धन्यवाद दिएको थिएन। मान्छेहरू आफ्नो काम सकिसकेपछि कहाँ फर्केर मुख देखाउन आउँछन् र? धन्यवाद दिन त धेरै परको कुरा। तपाईंले एउटा छोटो-मीठो प्रभाव छोड्नु भएको थियो, पर्वतजी। त्यसैले तपाईंको नाम याद रहिरह्यो।” एकछिनमा सहनशीलाले थप स्पष्टीकरण दिई।
सहनशीलाले सिधै नभनेकी वा भन्न चाहेर पनि मन मारेकी अर्को कुरो के थियो भने पर्वत कुमारको व्यक्तित्व पनि आकर्षक र लोभलाग्दो थियो - झट्ट हेर्दा कुनै विज्ञापनको मोडल वा चलचित्रको चकलेटी नायकजस्तो।
“अनि पर्वतजी, देशको मुहार फेर्ने काम के गर्दै हुनुहुन्छ त?”
“देशको मुहार नै फेर्न त के सकूँला र, तर यहीँ केही गरूँ भनेर प्रयास गर्दैछु। यहाँ एउटा कलेजमा ‘पार्ट-टाइम’ जागिर छ। मेरो विषय कम्प्यूटर साइन्स हो। केही साथीहरूसँग मिलेर स्कुल-कलेजहरूलाई काम लाग्ने एउटा ‘सफ्टवेयर प्रोजेक्ट’ सुरू गरेको छु। यस्तो प्रविधि नेपालमा त्यति प्रयोग भएको जस्तो लागेन। यसमा ‘अनलाइन सिलेवस-कोर्स-डेलीवरी, स्केड्यूलिंग, होमवर्क-सबमिट, ग्रेडिङग’ आदि गर्न मिल्छ। ‘टिचर – क्लास इन्टर्याक्सन – कम्युनिकेशन’ आदि ‘फिचरहरू’ हुन्छन्।”
“ओहो, कस्तो राम्रो योजना रहेछ। यसले स्कुल-कलेजहरूको अध्ययन-अध्यापन प्रणालीलाई अवश्य पनि आधुनिकीकरण गर्नेछ।”
एकछिन उनीहरूको कुराकानी पर्वतको ‘सफ्टवेयर प्रोजेक्ट’बारे केन्द्रित भयो। कम्प्यूटर-विज्ञानबारे जानकार नभए पनि एउटा प्रयोगकर्ताको हैसियतमा सहनशीलाले आफ्नो सुझावहरू दिई। सफ्टवेयरको माग र बजारबारे जिज्ञासा राखी। उसको भावी योजनालाई शुभकामना दिई।
‘क्याफे’बाट निस्किए पछि सहनशीलाले एउटा अटोरिक्सा रोकी। सहनशीलालाई आफ्नो डेरा क्याम्पस रोड जानु पर्ने, पर्वतलाई भने हसनपुर चोकमा ओर्लिनु पर्ने — रूट एउटै परेछ। दुबै टेम्पुमा चढे। पर्वत अलि सजग भएर बस्यो। टेम्पु मेनरोड हुँदै पूर्वतर्फ लाग्यो। बाटोमा जाँदै गर्दा दायाँतर्फबाट छोइएला जस्तो गरी एउटा सरकारी गाडीले उछिन्यो।
“देख्नु भो म्याम, यो गाडी कर कार्यालयको हो। आज शनिवारको दिन पनि हुँइकिरहेको छ। अनि अगाडि विराजमान व्यक्ति चाहिँ सुब्बा-साब हुन्। पछाडिपट्टि उहाँको परिवार। अनि हजुरको चाहिँ गाडी छैन? सहायक प्रजिअ जस्तो मान्छे रिक्सा – टेम्पूमा?”
“म व्यक्तिगत काममा सरकारी सुविधा प्रयोग गर्दिनँ। निजी सवारी साधन राख्ने क्षमता छैन र इच्छा पनि छैन। पैदल, साइकल, रिक्सा, सार्वजनिक यातायात चढेरै हुर्किएकी हुँ, आम नागरिकसरह यात्रा गर्न कुनै संकोच छैन।”
पर्वतको नजर एकछिन सहनशीलामा स्थिर भयो। सायद ऊ सहनशीलाको स्वच्छ छविबाट प्रभावित भइरहेको थियो। उनीहरूको गफ देशमा व्याप्त विकृति र विसंगतीतर्फ सघन हुँदै थियो — एक ठाउँमा टेम्पो खाल्टामा पर्यो। पर्वत अनियन्त्रित भयो र सहनशीलासँग ठोक्किन पुग्यो।
दुई असमान रंगका पाखुराहरू घर्षण भए। एउटा समवयी पुरूष-त्वचाको स्पर्शले सहनशीलाको शरीरभरि काँडा उम्रिए।
“सरी म्याम।” पर्वत सम्हालिँदै बस्यो।
“केही छैन, तर अलि जोगिएर बस्नु होला। मेरो छालाको रंग तपाईंलाई सर्ला नि फेरि!”
पर्वत मुस्कुरायो। ऊ मुस्कुराउँदा उसको ओंठ थोरै बांगिदोरहेछ र झन् सुन्दर देखिँदो रहेछ।
“म्यामको ‘सेन्स अफ ह्युमर’ लाई मानेँ! रंगसँगै हजुरको बौध्दिकता, सादा जीवनशैली र उच्च विचार पनि अलिकति सारी दिनुस् न त। अर्को कुरा नि म्याम, यो छालाको रंग गौण कुरा हो।”
आफ्नो अश्वेत रंगप्रति हमेशा सजक सहनशीलालाई पर्वतको कुराले केही ढाडस मिल्यो। कोही त रहेछ, जो मान्छेको भित्री सुन्दरतालाई महत्व दिँदो रहेछ।
“अनि म भित्रबाट कस्तो छु जस्तो लाग्छ, तपाईंलाई?” उसले पर्वतको मन खोतल्ने प्रयास गरी।
“हुन त हजुरसँग यो मेरो दोस्रो भेट हो, तर भन्छन् नि — कसौंडीको भात पाके-नपाकेको जान्न एक सिता छामे पुग्छ। मैले छामिसकें हजुरलाई। हजुरको दिल सुन्दर छ, प्रदीप्त छ।”
प्रशंसा सुन्दा खुसी नहुने को होला र? आफ्नो रूप-रंगलाई लिएर प्राय: नकारात्मक टिप्पणी मात्र सुन्ने गरेकी उसले आज एउटा युवकबाट प्रशंसा सुन्दा अनुहारमा लालीमा छायो। ऊ उज्याली देखिई। उसको अनुहारको यो आभा सामान्य थिएन।
सहनशीला पनि भन्न चाहन्थी — ‘तपाईंको चाहिँ बाह्य रूप पनि सुन्दर, भित्री मन पनि सुन्दर।’ तर मनको कुरा ओठमा आएन। सामान्य औपचारिकताले नै काम चलाई।
“धन्यवाद, तर यो तपाईंको प्रशंसाको पोको मलाई भारी होला जस्तो छ!”
हसनपुरचोक आइपुग्यो। ओर्लिंदै गर्दा पर्वतले थोरै हिच्किचाउँदै सोध्यो -“हजुरको फोन नम्बर माग्ने दुस्साहस गरूँ?”
“तपाईंले दुस्साहस त गरिसक्नु भयो, खै तपाईंको नम्बर दिनुस्, म डायल गर्छु।”
“सहायक प्रजिअलाई रातबिरात फोन गरेर हैरान पार्ने गल्ती चाहिं नगर्नूहोला नि?” सहनशीलाले फेरि ठट्टा गरी।
पर्वतले पनि ‘नाई बाबा नाई’ को भावमा आफ्नो दुबै कान समात्यो र बिदा भयो।
सहनशीला यति खुलेर कुनै पुरूषसँग कुरा गर्दैनथी। कसरी आइरहेको छ - यी सब बिनोद-भाव? के कारणले रसायो चट्टानमा जरुवा-जल? कुन रसायन छ पर्वतमा जसले उसका अवरूद्ध स्नायुहरू खोल्दै थिए? ऊ आफैं छक्क परी। नसोचूँ भन्दा पनि बाँकी टेम्पो-यात्रा पर्वतकै बारेमा सोचेर बिताई।
त्यसपछि उनीहरूको भेटघाट बाक्लियो। कहिले सहनशीलाले आफ्नो कम्प्युटरको समस्या हल गर्न पर्वतलाई बोलाई त कहिले पर्वतले सहनशीलालाई स्थानीय आकर्षणहरू देखाउने लोभ देखायो।
सहनशीला धनगढी आएकी झण्डै वर्ष दिन पुग्न लागे पनि खासै कतै घुम्न निस्केकी थिइन।
डेरा – कार्यालय – डेरा र कहिलेकाहीँ किनमेल। त्यतिमै उसको दिनचर्या सीमित थियो। नयाँ ठाउँ घुम्ने — केही नयाँ कुरा गर्ने —कुनै उत्साह थिएन। पर्वतसँगको संगतसँगै यी रहरहरू पलाए र झाँगिए। उनीहरू एयरक्राफ्ट म्युजिएम हेर्न गए, जोखारताल वरिपरि टहलिए, फनसिटी पार्कको भीड-भाडमा मिसिए। ग्यालेक्सी क्याफे, रोडहाउस आदिका परिकारहरूको स्वाद लिए। पहिला बिरानो लाग्ने धनगढी सहर अहिले आफ्नो लाग्दैथियो। उच्चाट-लाग्दा दिनहरू बहारिला हुँदैथिए। रापिलो मौसममा पनि शीतलता महशुस हुँदैथियो।
केही वर्ष पहिले केदारनाथको पहिरोमा पर्वतले आफ्नो बाबु-आमा गुमाएको रहेछ। त्यसपछि किशोर–किशोरी उमेरका भाइ-बहिनीहरूका अभिभावकत्व ग्रहण गर्न ऊ अमेरिकाबाट फर्किएको रहेछ। पर्वतजस्तै उसका भाइ-बहिनीहरू पनि भद्र र अनुशासित रहेछन्। सहनशीला उनीहरूसँग पनि छिट्टै घुलमिल भई।
एकदिन उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने हेतुले निस्किए। मोटरसाइकल पूर्व-पश्चिम राजमार्गमा हुँइकियो। केही विश्रामको लागि राजमार्ग छेउको चियापसलमा पर्वतले मोटरसाइकल रोक्यो।
“हामी आधी बाटो आयौं? अझै कति टाढा छ, पर्वत जी?”
“मलाई लाग्छ गन्तव्यभन्दा यात्रा महत्वपूर्ण हुन्छ, म्याम। गन्तव्यबारे धेरै सोच्नु भयो भने यात्राको मज्जा हुँदैन।” पर्वतले मुस्कुराउँदै भन्यो।
“ओहो, कस्तो गहन कुरा गर्नु भएको। म त हात्ती सफारी गर्ने कुराले रोमाञ्चित भइरहेकी छु। बाघ गैंडाहरू पनि छन् हैन?”
“हजुर, छन्, तर देखिने कुनै ग्यारेन्टी हुन्न। भन्छन् नि — गन्तव्य अपेक्षा गरेजस्तो सुन्दर नहुन पनि सक्छ। त्यसकारण यात्राका हरेक दृश्य-पलहरूको मज्जा लिनु पर्छ रे — जस्तो यो चियाको चुस्की — जस्तो यी बाटाका दृश्यहरू — जस्तो सानी बहिनी पिठ्यूँमा बोकेर कूचो लाउँदै गरेकी यी नानी — जस्तो घाँसको भारी बोकेर हिँडिरहेका ती महिलाहरू...।”
पर्वतको फेहरिस्त लम्बिँदै गएपछि सहनशीलाले हस्तक्षेप गरी - “जस्तो मेरा यी दार्शनिक कुराहरू.....पनि भन्नूस न”
“हजुरलाई मेरा कुराहरू पट्यार लाग्यो कि क्या हो?”
“होइन, होइन, तपाईंका कुराहरू मिठासपूर्ण छन् — मननयोग्य पनि। मेरा ज्ञान-चक्षुहरू खोलिदिनु भएकोमा हार्दिक आभार। बरु मलाई ‘म्याम’ भन्न चाहिँ कहिले छोडनुहुन्छ? यात्रामा यति परसम्म आइपुग्दा त यो दूरी अब घट्नु पर्ने होइन?”
“म प्रयास गर्छु है त म्याम, मतलब सहनशीलाजी!”
पर्वत केही हिच्चकिचाउँदै बोल्यो र हाँस्यो।
वास्तवमा हात्ती सफारी त्यति रोमाञ्चक भएन। न बाघ देखियो— न गैंडा नै। केही बाह्रसिंघा, चित्तल र चराचुरुङगीहरू मात्र देखिए। केहीबेर उनीहरू महेन्द्रनगर बजारतिर टहलिए। पर्वतले भने जस्तै, उसले यात्राको मज्जा लिने प्रयास गरी। अपरान्हतिर मुसलधारे वर्षा दर्कियो र महेन्द्रनगर छोड्दा साँझ पर्यो। पर्वतले मोटरसाइकलको बेग बढायो। हावाको झोँका छेल्ने बहानामा ऊ पर्वतको पिठ्यूँमा लपक्क टाँसिई। कति बेला उसको हात पर्वतको कम्मरमा बेरियो, उसले चालै पाइन।
०००
किशोरवय छिचोल्दै गर्दा हरेक नवयुवती जस्तै ऊ पनि स्वप्नशील थिई। सानो-सानो कुरामा रोमाञ्चित हुन्थी। अभिमानलाई देख्दा उसको दिलमा हलचली मच्चिन्थ्यो— जसरी हरेक पूर्णिमाको रात चन्द्रमा पृथ्वीको नजिक आइपुग्दा, समुद्रमा ज्वारभाटा उर्लिन्छ। मानौं ऊ समुद्र हो र अभिमान चन्द्रमा।
अभिमान सहनशीलाको सहपाठी — प्रतिभाशाली — पढाइमा अब्बल —अतिरिक्त क्रियाकलापमा पनि अगाडि — विद्यालयका प्रतिनिधि विद्यार्थी।
बसन्त ऋतु — बैंशालु दिलहरू बहकिने मौसम थियो। रूखबिरुवाहरूमा पालुवा पलाउन थालेका थिए। फूलहरूमा कोपिला लाग्दै थियो, अनि नव युवा-युवतीहरूमा जोडी बनाउने होड। नजरहरूको जुधाइ चल्थ्यो। मुस्कान साटासाट हुन्थे। कुनै दिलहरू जोडिन्थे पनि। कुनै अस्वीकृत भई घायल हुन्थे। कुनै दिलहरू भने अब्यक्त नै रहन्थे। नयाँ वर्ष आँगनमा टेक्दै थियो — सामाजिक सञ्जालहरूमा शुभकामना सन्देशहरूका ताँती सुरू भएका थिए। धेरै मायालु मनहरूलाई आफ्नो भावना उजागर गर्ने बहाना मिलेको थियो। उसले पनि एउटा शुभकामना सन्देश तयार पारी। शुभकामनाका शब्दहरूमा प्रेमिल बुट्टाहरू भरी। पठाइहाल्ने हिम्मत भने भएन। मनभित्र दोधारको रस्साकस्सी चल्दै थियो, त्यहीबेला साथी चञ्चला आइपुगी र फोन खोसी।
“वाह, घुसघुसे मैया, तँ त देख्दा मात्र सोझी रहिछेस्!”
चञ्चला नाम जस्तै चञ्चल थिई। उसले केही नसोची ‘सेन्ड’ बटन दबाइदिई।
“तैंले के गरिस् चञ्चला, उसको अगाडि मैले कसरी मुख देखाउने?”
“तँ उसलाई मन पराउँछेस, होइन? अनि मनको कुरा त भनिहाल्नु पर्छ। किन गाँठो पारेर राख्ने?”
“उसले मेरो प्रेम स्वीकार गर्ला र? के सोच्ला उसले मलाई?”
“उसले पनि तलाईं मन पराउँछ भने स्वीकार गर्ला, नत्र नगर्ला, कति ठूलो कुरो भयो र? यस्तो कुरामा गुम्सिएर बस्नु भन्दा छिनोफानो भएकै राम्रो।”
“तँ यी सबै कुराहरू कति सहज रूपमा लिन सक्छस् है!”
“अनुभव” चञ्चलाले आँखा झिम्काई।
एकैक्षणमा सहनशीलाको फोनमा नयाँ सन्देशको जनाउ आयो। दुबै बीच फेरि फोन खोसाखोस चल्यो। फोन चञ्चलाकै हातमा पर्यो।
“हे भगवान!” सन्देश हेरे पछि चञ्चला चिन्तित देखिई।‘मेसेञ्जर बक्स’मा त्वचाको रंग चम्किलो पार्ने एउटा सौन्दर्य प्रशाधनको विज्ञापन थियो। त्यसको तल अभिमानको सन्देश थियो - ‘केही महिना यो क्रिम प्रयोग गर। अलि हेर्न लायककी भयौ भने विचार गरौंला।‘
पढाइमा तीक्ष्ण, विद्यालयकै उदाहरणीय विद्यार्थी, शिक्षकहरूका प्रिय, यस्ता होनाहार नवयुवाको सोच भने कस्तो निकृष्ट ! कति निर्दयी टिप्पणी गरेको! सहनशीला स्तब्ध भई।
गालामा बेजोडको थप्पड परेको अनुभूति भयो। कानहरू शून्य भए। हावा रोकिएजस्तो - पृथ्वी घुम्न छोडेर थामिएजस्तो प्रतीत भयो। परेलीका डिलहरू टिल्पिलाए।
सहनशीला गोरी छैन। तर गोरो रंगलाई समाजले सुन्दरताको मानक मानी दिएपछि के गर्ने? ऊ गोरी हुन्थी त सायद अभिमानबाट त्यसरी अस्वीकृत हुनुपर्ने थिएन।
तर के छालाको रंग गोरो नहुनेहरूको भाग्यमा प्रेम हुँदैन? आखिर छालाको रंगसँग दिलको के साइनो? दिल त सबैको धड्किन्छ। सहनशीलाको दिल पनि धड्किएको थियो— अभिमानको लागि।
त्यसपछि थुप्रै बसन्तहरू आए र गए। सहनशीलाको यौवन ढकमक्क फुल्यो पनि, तर चोटग्रस्त उसको दिलमा भने प्रेम फेरि कहिल्यै टुसाएन।
ऊ कुनै युवकप्रति आकर्षित भइन। यदाकदा मुटु उद्वेलित हुन खोज्थ्यो, तर थिचेरै राख्थी। तर जसै पर्वतसँग सामिप्यता बढ्दै गयो, आँखाहरूले फेरि सपना देख्न थाले। कल्पनाले फेरि गुँड बनाउन थाल्यो। ऊ सानो-सानो कुरा पनि पर्वतलाई सुनाउन उद्विग्न हुन्थी। पर्वत पनि सहनशीलाको ख्याल राख्थ्यो। ऊ भद्र थियो। सहनशीलालाई इज्जत गर्थ्यो।
तर प्रेम?
सहनशीलाका आँखाहरू पर्वतको आँखामा डुबुल्की मार्न खोज्थे। तर ऊ नजर लुकाउँथ्यो। सहनशीला कुरै-कुरामा उसलाई छुने, चिमोट्ने, धकल्ने, प्याट्ट हान्ने गर्थी। तर पर्वत सजग रहन्थ्यो। नजिक भएर पनि उनीहरूबीच एउटा दूरी रहिरह्यो। त्यो दूरीले सहनशीलालाई अन्यौलमा पार्थ्यो। मनको भन्ज्याङमा शंकाको तुँवालोले ढाक्थ्यो — के उसको जिन्दगीको आकास कहिले छयाङ खुल्दैन?
उसले मान्छेको बाह्यभन्दा भित्री सुन्दरतामा विश्वास गर्छु त भन्यो - तर कतै द्विविधामा त छैन? दर्शन छाँट्नु एउटा कुरा, सोही दर्शन आत्मसात गर्नु अर्कै कुरा।
कतै ऊ गन्तव्यहीन यात्रा- उन्मुख भएकी त छैन? अनगिन्ती प्रश्नहरूले घेर्न थाले।
एकदिन ऊ कार्यालय ढिलो पुगी। कर्मचारीहरू आफ्नो कार्यकक्षमा थिएनन्। सहनशीला उनीहरूलाई खोज्दै कोठा चहार्न थाली। उनीहरू त एउटा कोठामा बसेर चियासँगै ‘कनिका बुकाई’ रहेका रहेछन्।
बाहिरबाटै उसले सुनी – उनीहरू उसको पर्वतसँगको सम्बन्धबारे कुरा गर्दै थिए।
‘खै के देखेको हो त्यो केटोले हाम्री हाकिममा, न रूपरंग मिल्छ, न जात नै।’
‘त्यही त, त्यो केटाको त खुट्टामा राख्न पनि सुहाउँदैन।’
‘सायद त्यो केटो हाकिम पदसँग लोभियो।’
“हाम्री हाकिमले फँसाई नि, सोझो नेवारको छोरोलाई।”
यस्तै थरि-थरिका टिप्पणीहरू गरिरहेका थिए उनीहरू। कुनै टिप्पणीहरू त अति भद्दा थिए। सहनशीलाले सबै सुन्न सकिन र आफ्नो कार्यकक्षमा फर्की। शरीरको तापमान बढ्यो। चिट-चिट पसिना छुट्यो। उसै त सहनशीला धेरै कर्मचारीका आँखाको कसिंगर बनेकी थिई - ऊ आएपछि उनीहरूको कमाउने ‘सेटिङ’ जो बिग्रिएको थियो।
सहनशीला आफैं पनि पर्वतसँगको सम्बन्धबारे अन्यौलमा थिई। उसँगको निकटताको अर्थ खोज्न थाली। आफ्ना जीवनका कडीहरू जोड्न थाली।
००००
हरेक कुरा हुनुको कुनै न कुनै कारण हुन्छ रे! अभिमानले उसको प्रेमलाई त्यसरी न दुत्कारेको भए, सायद ऊ पढाइमा त्यति दत्तचित्त भएर लाग्ने थिइन होला। सहनशीलाको ध्यान पढाइमै केन्द्रित भयो। सरासर स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी।
लोक सेवा आयोगको परीक्षा पास गरेर अधिकृत बनी। ऊ अब आत्मनिर्भर भई । तर छोरी मान्छेको जीवनलाई यतिकैमा पूर्ण कहाँ मानिन्छ र ! विवाह-घर गृहस्थ हुनैपर्ने रे! तर सहनशीलाको विवाह भएन। उसको तस्वीर हेरेरै केटाहरूले अस्वीकार गर्थे।
केही केटाहरू हेर्न त आउँथे, तर पछि खबर गरूँला भनेर फर्केर जान्थे र दहमा फ्याँकेको ढुंगोजस्तो बेपत्ता हुन्थे। सहनशीला बुझ्थी - उसको छालाको रंग केटाहरूको रोजाइको थिएन।
गोरो रंग भएकाहरूले मात्र हो र, ऊभन्दा पनि निखर-गाढा रंग भएकाहरूले समेत नाक-निक गर्थे।
ए बाबै! उसको रिसको पारो ह्वात्तै चढ्थ्यो। सानोमा हजुर-आमाबाट सुनेकी एउटा थेगो थियो - ‘घुच्चुकमा हान्नु जस्तो’, त्यही नक्कल गरेर एक्लै भुत्भुताउँथी।
छालाको रंग मात्र हो र, अब त मान्छेहरूले उमेरको समेत कुरा गर्न थालेका थिए। कतिपय हीन-ग्रन्थीहरूलाई भने सहनशीलाको उच्च शिक्षा र सरकारी जागिर समस्या थियो। पढे-लेखेकी केटीहरूले श्रीमान, सासू-ससुरालाई टेर्दैनन् रे!
पछिल्लो पटक त पारपाचुके भइसकेका र विदुर-अधबैंसेहरूबाट पो प्रस्ताव आउन थालेको थियो – मानौं ऊ लिलामीमा राखिएको थोत्रो सामान हो। त्यसो त वैयक्तिक स्थितिको आधारमै कसैप्रति पूर्वाग्रह राख्नुहुन्न भन्ने मान्यता राख्थी।
तर प्रस्तावकहरूको नियत खुट्याउने प्रयास भने जरूर गर्थी। कसैलाई श्रीमतीको रूपमा घरधन्दा गर्ने मान्छे चाहिएको थियो त कसैलाई आफ्ना बच्चाबच्ची स्याहार्ने धाई।
कसैलाई बाबु-आमाको लागि सुसारे चाहिएको थियो त कसैलाई आफ्नै चढ्दै गरेको बूढ्यौलीको सहारा।
कसैको जरूरत फगत यौनदासीको थियो भने कोही दाइजोका लोभी। जीवनसाथीको रूपमा श्रीमतीलाई बराबरीको हैसियत दिने - प्रेमका साथ-साथै इज्जत गर्ने भावना कसैमा थिएन।
सायद सहनशीलाको सहनशक्ति अब टुटेको थियो। उसले अब बकरेहरूको सामु ननापिने-नजोखिने निर्णय गरी।
विवाहको अध्यायलाई बन्द गरी। परिवारमा तनाव त बढ्ने नै भयो। गाउँ-टोल छिमेकमा समेत सहनशीला बसिबियाँलोको विषय बनी।
चञ्चलालगायत उसका दमली सबैको बिहे भइसकेको थियो। कोही त माइत आउँदा बच्चा च्यापेर आउन थालिसकेकाथिए। सहनशीलाभन्दा दुई वर्ष कान्छो भाइको समेत विवाह भयो। विवाह भएको अर्को साल उसको बच्चा जन्मियो। ऊ अब फूपु भई। घर साँघुरो भयो। घर साँघुरिएर त केही भएको थिएन - घरसँगै परिवारको मन पनि साँघुरियो। बाबु-आमाले नै नजर लुकाउन थाले। विवाह भएन त के गर्ने – के छोरीलाई जन्मघरमा स्थान हुन्न? आफ्नै परिवारबाट उपेक्षित महशुस हुन थालेपछि घर छोड्न पाए पनि हुन्थ्यो भन्ने भैरहेको थियो।
त्यहीबेला सहायक प्रजिअको जिम्मेवारीसहित धनगढी जाने प्रस्ताव आयो – जुन उसले सहर्ष स्वीकार गरी र घर छोडी दिई। एकदिन त छोड्नु नै थियो। फरक यति थियो - उसले अन्मिएर घर छोड्न पाइन।
साथीहरू जस्तै फूलै-फूलले सजिएको कारमा दुलहीको रूपमा बिदा हुन पाइन। भाइले ट्याक्सी लिएर आयो र बसपार्क छोडिदियो । बसको यात्रा लामो थियो। जिन्दगीको यात्रा झनै लामो। तर मन दह्रो पारी । परी आए जिन्दगीको बाँकी यात्रा एक्लै पूरा गर्ने अठोट गरी।
०००००
सहनशीलालाई कता-कता महशुस हुन थाल्यो - सायद उसले अब धनगढी पनि छोड्नुपर्छ।
कार्यालयमा कर्मचारीहरू सहयोगी भावका छैनन्, बदख्वाईं मात्र गर्छन्। यता पर्वतसँगको सम्बन्ध पनि अन्यौलपूर्ण छ। सबै कुरा सम्झेर उसको मनमा वितृष्णा पैदा भयो। निराशाले ढाक्यो। धेरै समयपछि बाबु-आमाको पनि याद आयो र किन-किन जीवनमा आफूलाई नितान्त एक्लो महशुस गरी। बिसञ्चो भएको बहाना पारी र केही दिन कार्यालय गइन। आलस्यता बढ्यो। पहिले जस्तो काम गर्ने कुनै उत्साह भएन। सहनशीलाले हेर्नुपर्ने महत्वपूर्ण फाइलहरू कार्यालय सहयोगी दानबहादुरले डेरामै लिएर आउँथ्यो। घरबिदा सञ्चित नै थियो। काठमाडौं जाने, केही समय घरमा आराम गर्ने, मन्त्रालय गएर सरूवा मिलाउने, यस्तै योजना बुनी।
दानबहादुर भरपर्दो मान्छे थियो। सहनशीला उसलाई विश्वास गर्थी। उसलाई आफ्नो डेराको एक-प्रति साँचो दिँदै भनी - “दानबहादुर दाइ, भाउजूलाई दुई-तीन बिराई मेरो डेरातिर यसो आँखा लगाइदिन भन्नु होला। गमलामा पानी पनि हाली दिनूहोला।“
“अनि म्याडम कहिले फर्किबक्सन्छ त?”
“छुट्टी त एक महिनाको हो, तर म नफर्किन पनि सक्छु। सरूवा मिलाउने प्रयास गर्दैछु। तपाईंलाई मात्र भनेको है, अफिसका अरूलाई नभन्नू होला! यदि म नफर्किने भएँ भने यहाँ भएका सर-सामानहरू तपाईं लिएर जानुहोला।”
उसले केही पैसा पनि दानबहादुरको हातमा राखिदिई। दानबहादुरको अनुहार निन्याउरो भयो। यस बीचमा पर्वतसँग भेट पनि भएन। सायद ऊ आफ्नै सफ्टवेयर प्रोजेक्टमा व्यस्त थियो। चाहे त फोन सम्पर्क गर्न सक्थी। अथवा उसलाई भेट्न घरै जान सक्थी। तर ऊ गईन। सायद ऊ अब कल्पनामा बन्दै गरेको गुँडलाई भत्काउन चाहन्थी। पर्वतसँगको अन्यौलपूर्ण सम्बन्धलाई बिट मार्न चाहन्थी।
अन्तत: सहनशीला काठमाडौं जाने दिन आयो। बाहिर ट्याक्सी प्रतीक्षारत थियो। सहनशीला छुट-पुटका सामानहरू सुटकेसका ‘साइड-पाकेट’हरूमा घुसार्दै थिई। ढोकाको घन्टी बज्यो। सहनशीलाले सोची – सायद ट्याक्सी ड्राइभर होला, वा दानबहादुर।
“ढोका खुलै छ” ऊ हेर्दै-नहेरी कराई।
भित्र प्रवेश गरेलगत्तै आगन्तुक विष्फोटक भावमा बोल्यो—“तिमीले यति ठूलो निर्णय गर्यौ तर मलाई भन्न जरूरी ठानिनौ, है?”
स्वर परिचितको थियो। परिचितमात्र होइन, अति नजिकको मान्छे। जो थियो – उसले पहिला तिमी भनेर सम्बोधन गरेको थिएन। ऊ अचम्मित भई।
“धन्न, दानबहादुर दाइसँग भेट भयो र थाहा भयो – तिमी त नफर्किने गरी जान लागेकी रहिछौ!”
के भनूँ के - सहनशीला असमञ्जसमा परी। एकछिनको मौनता पछि बोल्न सुरू गरी।
“साँचो कुरा भनूँ- म तिमीबाट भाग्न खोज्दैछु, पर्वत ।”
सहनशीलाको सम्बोधन पनि तिमीमा झर्यो, जुन उसले चालै पाइन।
“पुरूषहरूबाट बारम्बार अस्वीकृत र परिवारबाट पनि तिरष्कृत भएपछि बाँकी जीवन एक्लै बाँच्ने अठोटका साथ मैले घर छोडेको थिएँ। तर तिमीलाई भेटेपछि मेरो अठोट डगमगाउन थाल्यो। म फेरि सपना देख्न थालें। रहरहरूमा प्वाँख पलाउन थाले। आशाहरूले उडान भर्न थाले। यता तिम्रो र मेरो सम्बन्ध चर्चाको विषय बन्यो। मान्छेहरूले कुरा काट्न थाले। तिमी यात्रामै रमाउन सक्दो रहेछौ। म भने गन्तव्यबारे सोचेर हमेसा चिन्तित भइरहें, जुन सायद तिमीले बुझ्न सकेनौ”
“त्यस्तो होइन सहनशीला, तिम्रो भावना मैले नबुझेको होइन।”
त्यही बेला पर्वतका भाइबहिनीहरू पनि कोठामा प्रवेश गरे। सायद पर्वत उनीहरूकै प्रतीक्षामा थियो। उसले खल्तीबाट एउटा औंठी निकाल्यो र नाटकीय शैलीमा घुँडा टेक्यो- ठ्याक्कै ‘प्रपोज’ गर्ने पश्चिमा शैलीमा।
“धेरै दिनदेखि यो खल्तीमा बोकेर हिँडिरहेको थिएँ। साहस भइरहेको थिएन। मेरो भाइ-बहिनीहरूप्रतिको जिम्मेवारी - अस्थायी जागिर - नयाँ सफ्टवेयर प्रोजेक्टमा हात हालेको अवस्था - यी सबै कुराले म अव्यवस्थित भइरहेको थिएँ। केही तनावको स्थिति थियो। वास्तवमा म उपयुक्त समयको प्रतीक्षामा थिएँ। तर सायद उपयुक्त समय भन्ने कहिले हुँदैन। जे त होस् - सबैकुरा चलिरहेको छ - पछि पनि चलिरहने नै छ भन्ने निर्क्यौलमा पुगें।
भाइबहिनीहरूले पनि समर्थन गरे र तिमीलाई यो प्रस्ताव राख्दैछु। के म तिम्रो जीवनसाथी बन्न सक्छु, सहनशीला?”
अनपेक्षित, अकल्पनीय र अप्रत्यासित !?! सहनशीला वाक्यविहीन भई - बेहोसी छाएजस्तो भयो। ऊ टोलाइरही।
“सहनशीला, के तिमी मेरो जीवनसाथी बन्छौ?” पर्वतले फेरि दोहोर्याए पछि भने ऊ चेतनामा फर्की। एकछिनको मौनतापछि ऊ बोली —
“मान्छेहरू भन्छन् - म तिम्रो पाउमा राख्न पनि सुहाउँदिनँ रे”
“पाउमा किन, तिमी त मेरो दिलमा बस्छौ नि।”
“कस्तो बेमेल रंग- कस्तो अनमेल जोडी भन्छन् मान्छेहरू!”
“भन्न देऊ। अबुझहरूलाई के थाहा— सुन्दरता रंगमा होइन, हेर्ने मान्छेको आँखामा भर पर्छ। म त तिमीलाई सुन्दर देखिरहेको छु।”
“कतै तिमी मलाई दया त गरिरहेका छैनौ?”
“दया होइन, म त तिमीलाई माया गर्छु। इज्जत गर्छु।”
“मान्छेले हाम्रो असमान जातको कुरा गर्छन्।”
“हाम्रो जात एउटै छ— मान्छेको जात। अरू सबै कृत्रिम हुन्। परापूर्वकालमा शासकहरूले आफ्नो स्वार्थको लागि जात निर्माण गरे। अहिलेको आधुनिक समाजमा पनि जातभातको कुरा गर्नेहरू असभ्य हुन्।”
“तिमी मेरो पदसँग लोभियौ रे!”
“भन्नेले जे पनि भन्छन्। म तिम्रो ओहोदाबाट जरूर प्रभावित छु, तर कुनै लोभ छैन। तिम्रो पदीय हैसियतको मलाई गर्व छ।”
"म जागिरको सिलसिलामा कहिले कता, कहिले कता पुग्छु। सायद म तिम्रो घर धान्न सक्दिनँ।”
“धेरै श्रीमतीहरूले जागिरे श्रीमानको घर धानिरहेका छन्। श्रीमानले पनि त घर धान्न हुन्छ। जहाँ जाऊँला, त्यहीँ हाम्रो घर बसाउँला। यो व्यवस्थापन गर्न नसकिने कुरो होइन।”
“विवाह के हो?”
“विवाह दुई आत्माहरूको सह-यात्रा हो, सह-अस्तित्व र सह-कार्य, परस्परको साथ र विश्वास।”
“विवाह सम्झौता पनि हो भन्छन् नि?”
“विवाह सम्झौता होइन, यो त अनुमोदन हो, स्वीकृति हो। तिमी जस्ती छौ - म त्यही रूपमा तिमीलाई स्वीकार गर्छु। म जस्तो छु - तिमी त्यही रूपमा मलाई स्वीकार गर।”
“मेरा सहकर्मीहरूले भने - हाकिमले फसाई, एउटा सोझो नेवार केटोलाई”
“मेरा भाइ-बहिनीहरू भन्छन् - दाइले पट्याउनु भयो, एउटी सक्षम, शिक्षित र सुन्दर-दिल भएकी बाहुनीलाई”
सहनशीला अश्रुमिस्रित हाँसो हाँसी। उसले केही लज्जासहित आफ्ना देब्रे हात अघि बढाई। पर्वतले उसको काँइली औंला औंठीले सुशोभित पार्यो। सहनशीलाको अनुहार सिन्दुरे रंगले सराबोर भयो। दुबै एक-अर्काको अंगालोमा समाहित भए। नजिकै उभिएका भाइ-बहिनीहरू पनि एकाकार हुन आइपुगे।
पौराणिक कथाहरूको समापनमा भनिए जस्तै- ‘तहाँ उप्रान्त यी युगल जोडी पवित्र विवाह-बन्धनमा बाँधी, कौनो विध्न-बाधा बिना सुख-सयलका साथ रहँदा-बस्दा भया। बेमेल-रंग भनी निन्दा गर्न्याहरू हेर्या-कै- हेर्या भया। सुन्दरताका सच्चा परख रंगमा नहोई हृदयमा हुन्या कुरा लोकले पनि प्रत्यक्ष देख्न-भोग्न पाया।’