म कसैलाई पर्खिरहेको थिइनँ। कोही आउनेवाला पनि थिएन। नआउने भएपछि पर्खिनै परेन। किनारको रेष्टुरेन्टको गार्डेनमा एक्लै छु। झमक्क साँझ परिसकेको छ। फुच्चे ल्याम्पोस्टबाट बगैंचाभरि उज्यालो पोखिएको छ।
अगाडि टेबलमा बियर छ। छेउमा खाली एष्ट्रे पनि। सामुन्यमा काठको सेतो कुर्सी खाली छ। अनि उता छ, फेवाताल। ताल खाली छैन। पार्क गरिराखेका सयौं रंगीविरंगी डुंगाहरूले अटेसमटेस देखिन्छ।
‘मैलै आज घुमाएको एकजोडी क्या रोमान्टिक थियो यार !’ एउटा डुँगाले रोमान्चक हुँदै छेउको डुंगालाई भन्यो।
‘हो र ? के–के गरे तिनीहरूले ?’ अर्को डुंगाले उत्साहित हुँदै सोध्यो।
‘ओहो ! भनिसाध्य छैन। मलाई त सम्झिएरै काउकुती लागिरहेको छ।’ उसले नजिकै बोलाएर कानमा खुसुक्क भन्न थाल्यो। थप मैले केही सुन्न पाइनँ।
अरु डुंगाहरू पनि गफ गरिरहेका थिए। दिनभर कयौं जोडीलाई ताल घुमाउँदाको अनुभव शेयर गर्दैछन्। सुनेर छेउको डुंगा खितिती हाँस्छन्। उनीहरूको गफ सुनेर म पनि रोमान्चित हुन्छु। केही डुंगाहरू चाहिँ पर पर शोक मनाइरहे झैं देखिन्छन्।
जुनको टहटह उज्यालोले फेवाताल टल्किएको छ। दिउँसो माछापुच्छ्रे टल्किए जस्तो। पारिपट्टि घरहरूमा बत्ती बलिरहेका छन्। रानीवनको सिउँदोमाथि आकाशमा बादल आउँदै गरेको देखिन्छ।
पल्लो टेबलमा एक युवती छे। उमेर चौबीस/पच्चीस वर्षकी जस्तो लाग्छ। उ पनि एक्लै छे। उसको पनि टेबलमा बियर छ। चुरोटको लामो सर्को तानेर फुरूरू उडाउँदै छे। तालमा एकटकले हेरिरहेकी छे। यस्तो रोमाञ्चक साँझमा पनि उसको अनुहार उदास देखिन्छ।
मैले पनि एउटा चुरोट मगाएँ। सल्काएँ। टेबलको एष्ट्रेमा राखें। मलाई तान्नु थिएन। कहिल्यै तानेकै थिएन। तै पनि मैले किन चुरोट मगाएँ, थाहा छैन।
नतानेपछि चुरोट निभ्ने रहेछ। निभ्यो। फेरि सल्काएँ, फेरि निभ्यो। एक सर्को तानेपछि बल्ल सकिनसकी धुवाँ पुत्पुताउन थाल्यो।
०००
दिउँसो दुई बजे म कलंकीमा थिएँ। मन फुरूंग थियो खुसीले। मन खुसी भएपछि आँखा खुसी हुन्छ। जब आँखा खुसी हुन्छ, संसार नै घमाइलो लाग्छ।
जे हेर्यो त्यही सुन्दर देखिन्छ। सधैं भीडभाड र अस्तव्यस्त देखिने कलंकी चोक पनि मलाई रमाइलो लागिरहेको थियो।
सहरका रेष्टुराँहरूको कुनाको टेबल। पार्कको बुट्यानको आड। झमक्क साँझमा सडक किनारको एकान्त। सिनेमा हलको पछाडिको सिट। थिएटरको अँध्यारो भुईं। रिङरोड घुम्ने बसको अन्तिम सिट र त्योभन्दा अलि टाढा पुगे चारभन्ज्याङ् भित्रका कुनै गन्तव्यसम्म मात्र पुगेको हाम्रो डेटिङको आयतन यो पटक यो परिधि पार गर्दै थियो।
त्यसैले मन फुरुङ्ग थियो।
मन त उनले ‘हुन्छ’ भनेकै क्षण भुर्रर उडेर कताकता बत्तिसकेको थियो। हिमालमा पुगेर हिउँ हेर्यो। पहाड उक्लिएर थकाई मार्यो। खोला तर्यो। सिमसिम पानीमा रुझ्दै जंगलमा भौंतारियो। तालमा नौकाविहार गर्यो।
घाम उदाएको हेर्यो, अस्ताएको हेर्यो। जुन झुल्किएको हेर्यो र रोमान्चक हुँदै सेतो तन्ना ओछ्याएको फराकिलो बेडसम्म पुग्यो। मन न हो, सोचेको ठाउँमा पुग्न कत्तिबेर लाग्दो रहेछ र!
पोखरा जाने योजना बनाएको पन्ध्र दिन अगाडि नै हो। दुई बजे कलंकी चोकमा भेटेर जाने सल्लाह थियो। दुई बज्यो। झोला बोकेर म सडक पेटीमा उभिएको छु। उनी आइपुगेकी छैनन्। उनी आउने बाटोतिरै आँखा बिछ्याएको छु।
प्रतीक्षा गर्नु एउटा पट्यार लाग्दो काम हो।
गुँडमा चारो कुरिरहेका बचेराहरूको छट्पटी जस्तो हुन्छ, अन्तिम घडीमा कुर्नेहरूको हालत पनि त्यस्तै हुन्छ। म पनि व्याकुल छु। कुर्दाकुर्दै सेकेण्ड, मिनेट, घण्टा बित्यो। उनी आइनन्।
कल गरें। रिसिभ भएन। केही मिनेटको फरक पारेर पाँच पटक जति कल गर्दा पनि उठेन। धैर्यताको पनि सीमा हुन्छ नि। शान्त भइरहेको समुन्द्रमा सुनामी आएर हलचल मच्चाउँछ। धैर्य गरिरहेको पहाडमा भूकम्प गएर तहसनहस पार्छ। मेरो धैर्यतामा पनि हलचल आयो। तहसनहस भयो। चट्याङ पर्यो।
सयमा एक प्रतिशत पनि नसोचेको कुरा भयो। उनान्सय प्रतिशत सोचेको भएन। नसोचेको हुने र सोचेको नहुने रीत नै त रहेछ जिन्दगी। जीवन नै अनिश्चिताको पोको हो भन्छन्। अब यति कुरैमा जीवनसँग गुनासो गरिहाल्नु पर्ने थिएन।
मनले सुस्तरी भन्यो, ‘धोका खाइस् केटा।’ फेरि थप्यो, ‘ठीक्क पर्यो, अति विश्वास गर्ने तेरो बानीले बेलाबेला धोका खान्छस्।’ मनले भनेको कुरामा मलाई कुनै गुनासो थिएन।
भर्खरै पति गुमाएकी महिलाको शिरबाट उत्रिएको सिन्दुरपोते झैं मेरो शरीरबाट अघिसम्मको सारा उमंग एकाएक उत्रियो।
रहरहरूको इँट्टाले बनेको दुई हप्ता देखिको सपनाको घर पनि क्षणभरमै गर्ल्यामगुर्लुम ढल्यो। म निराश भएँ। कतै मैले उनीमाथि बढी नै अपेक्षा त राखेको थिइनँ ? म सोचमग्न भएँ।
अपेक्षाको पनि सीमा हुन्छ। उमंगको पनि सीमा हुन्छ। हरेक कुराको सीमा हुन्छ। सीमा नहुने भनेको त मनको मात्र हो। मनलाई पनि सीमामा बाध्न सक्ने हो भने मान्छे कति खुसी हुन्थ्यो होला है!
आफैंले निम्त्याउने दुःखको मुहान आफ्नै मन हो।
मन दुःखी भयो। मन दुखेपछि आँखाले अँध्यारो देख्छ। सारा संसार अँध्यारो लाग्छ। अघि सम्मको खुसी त निष्पट्ट अन्धकारमा झिलिक्क बिजुली चम्किएको जस्तो उज्यालो पो रहेछ।
एकाएक मेरो भ्रम उत्रियो। अब मैले अँध्यारो मै भए पनि हिँड्नु छ। मनमनै अठोट गरें। एक्लै हिँड्नु पर्ने बाटो त कति अँध्यारो रहेछ, बल्ल पो चाल पाएँ ।
‘पोख्रा..पोख्रा..’ भन्दै एउटा हायस बत्तिँदै आयो। हात दिएर रोकें। पछाडिको सिट खाली रहेछ।
म पोखरा नै पुग्छु भनेर चढेको थिइनँ। जहाँ मन लाग्छ त्यही झर्ने सोचेको थिएँ। एक्लै यात्रा गर्दै थिएँ। कुनै निर्धारित योजना थिएन। फुक्काफाल थिएँ।
कहिलेकाहीँ बिना गन्तव्य यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ। म त्यही भिन्न अनुभव लिन चाहन्थें। यात्रामा एउटा कथा भेट्टाउन चाहन्थें।
यात्रा आफैंमा एउटा कथा हो। त्यो पहिल्याउने सामर्थ्य लेखकहरूसँग मात्र हुन्छ। त्यसैले लेखकहरू कथासँगै यात्रा गर्छन्। वा, कथाले नै यात्रा गराउँछ। अझ भनौं न, यात्रामा लेखक र कथा सँगसँगै हुन्छन्।
म लेखक होइन। तर, प्रशिद्ध लेखक जोनाथन लोरीलाई पढेपछि एक्लै कतै टाढाको यात्रा गर्न उत्प्रेरित भएको थिएँ। यो यात्रा त्यति टाढाको थिएन। तर, केही दिनको लागि एक्लो यात्रा भने थियो। केही भिन्न अनुभूति हुने अपेक्षाले म फेरि उत्साहित भएँ।
हाइ–वेमा हायस आफ्नै रफ्तारमा थियो। म यादहरुमा डुबुल्की मारिरहेको थिएँ। उनी मेरो साथमा थिइनन्, तर उनी सँगको यादहरू मसँगै यात्रा गरिरहेकै थिएँ। उनले दिएको धोकाले उनका यादहरूसँग पनि म खुब रिसाएँ।
तर, याद भन्ने कुरा यस्तै त रहेछ, जो बिर्सन चाहेर पनि सम्झिरहिँदो रहेछ। यादहरू स्वतन्त्र हुन्छन्। जुनसुकै बेला आउन सक्छन्। जहाँसुकै पुग्न सक्छन्। उनले छल गरिन्। आफू आइनन्। यादहरू पठाइदिइन्।
अब, उनीभन्दा उनका यादहरू मसँग झ्याम्मिन थालेका थिए।
अघिल्लो दिन अपरान्हतिर उनको मेसेज आएको थियो,‘बेलुका सपिङ जाऊँ न। भोलि जानलाई मैले केही किनेकै छैन।’
मेसेज हेरेर मोबाइल थपक्क टेबलमा राखें। रिप्लाई गर्न भ्याएकै थिइनँ, फेरि टिङ्रिङ्ग मेसेज बज्यो। हेरें, ‘अहिले नै निस्क न। भरे मलाई घर जान ढिला हुन्छ। म अफिसबाट निस्किसकें।’
घडी हेरें, चार बजेको थियो। छुट्टी हुन अझै एक घण्टा बाँकी नै थियो। अफिसमा तीन दिनलाई छुट्टी माग्नु थियो। बिदा स्वीकृत गराएर आफ्नो क्याबिन फर्किंदा उनको दुइटा कल मिस्ड भइसकेको रहेछ।
‘फोन नै नउठाई पो सवारी भएछ त ?’ पुलुक्क मतिर हेरेपछि अर्कोतिर फर्किएर भनिन्। ढिला आइपुगेकोमा उनलाई रिस उठिसक्यो भन्ने मैले चाल पाइसकेको थिएँ।
डोर्याउँदै गरेको ट्रलीमा हेरें। उनले छानेको लुगाले भरिन लागिसकेको थियो। यस्तो लाग्थ्यो, ऊ तीन दिनको लागि पोखरा होइन, तीन वर्षको लागि विदेश जान लागेकी हो।
‘लुगा लगेर त्याँ पसल खोल्न लाग्या हो ?’ मैले जिस्काउँदै सोधें।
‘यो त ट्रेलर मात्र हो’, हासौं कि नहासौं जस्तो अनुहार बनाउँदै भनिन्। उनी एकछिन घुर्की देखाउने मुडमै थिइन्। उनकै च्वाइसमा मेरो लागि पनि सपिङ गरिन्।
झण्डै डेढ घण्टापछि हामी तल झर्यौं। भाटभटेनीको पार्किङ लटसँगैको चिकेन रोल उनको फेभरेट हो। त्यहाँ जाँदामात्र होइन, त्यो बाटो भएर हिँड्दा पनि नखाई नहुने।
‘घरमा के भनेर मिलायौ त ?’ कफीको चुस्की लिँदै मैले सोधें।
‘कलेजबाट ग्रुप घुम्ने जाने भनेकी छु। ममीले अझै हुन्छ भनिसेको छैन’, मुसुक्क मुस्कुराउँदै भनिन्, तर, म जसरी पनि मिलाउछु।’
फेरि लगत्तै भनिन्, ‘झूट बोलेकोमा मलाई एकदमै डर लागिरहेको छ। केहीगरी थाहा भयो भने त बर्बाद हुन्छ।’
‘मैले पनि घरमा त्यही भनेको छु, केटाहरूको ग्रुप जाने भनेर...।’
मेरो वाक्य पूरा नहुँदै उनले बीचैमा सोधिन्, ‘अनि ग्रुपको फोटो चाहिँ के देखाउँछौ त ?’
‘कतै भीडभाडमा गएर एक दुई वटा फोटो खिच्नुपर्ला’, मैले हाँस्दै भनें।
‘हाहाहा... बद्मास मान्छे ।’ उनी मज्जैले हाँसिन्।
०००
अनयासै मेरो आँखा पल्लो टेबलको उही युवती माथि पर्यो। ऊ मलाई हेरिरहेकी रहिछ। म झसंग भएँ। सोच्दा सोच्दै म कतै हराइसकेको रहेछु। मुसुक्क मुस्कुराएँ। उसले कुनै प्रतिक्रिया दिइन। फेरि ऊ एकटकले तालतिरै हेर्न थाली।
कपाल बाँधेको थिएन। पावरवाला चस्मा खोलेर टेबलमा राखेको थियो। चुरोटको बट्टासँगै फोन थियो। बेलाबेला कल आइरहथ्यो क्यारे, पिलिक–पिलिक बत्ती बल्थ्यो।
तर, रिसिभ गरिरहेकी थिइन। यतिसम्म कि ऊ फोन स्क्रिनमासम्म हेर्दिनँ थिई। बरु, म आफ्नै फोनजस्तो गरेर हेरिरहेको थिएँ।
बडो प्रेमले बियरको चुस्की लिइरहेकी थिई। चेन स्मोकिङ थियो। ऊ भित्र आँधीबेहेरी चलिरहेको छ। यत्ति बुझ्न कत्ति पनि गाह्रो थिएन। तर, गाह्रो चाहिँ ऊ भित्र बितण्डा मच्चाइरहने सुनामीको कारण पत्ता लगाउन थियो। मेरो लागि ऊ रहस्यमयी थिई।
फेवा शान्त देखिन्थ्यो। माछापच्छ्रे नाघेर आएका एक हुल बादलले ढपक्कै ढाक्यो। तालमा अँध्यारो पोखियो। बादल हिँड्यो। फेरि फेवामा ताराहरू उदाए। बादल र फेवाको यो लुकामारी चलिरहेकै थियो।
‘क्यान आई ज्वइन यु ?’ मैले साहस जुटाएरै भनें।
उसले मेरो अनुहार नियालेर हेरी। एकछिन चुपचाप बसी र बिस्तारै भनि, ‘ओके ।’ उसको आवाज कुनै अनकन्टार पहरामा ठोक्किएर फर्किएको आवाजजस्तो सुनिन्थ्यो।
मानौं ऊ वर्षौंपछि अहिले नै बोलेकी हो। मानौं उसले बोल्नै बिर्सिसकेकी थिई। उसलाई बोल्न कुनै जाँगर पनि छैन।
म आफ्नो बियरको गिलाससहित उसको अगाडिको कुर्सीमा गएर बसें। अब हाम्रो टेबल एउटै भयो। उसको गिलास पछाडि छे ऊ। मेरो गिलास पछाडि म छु। अर्थात् हामी आमनेसामने छौं। तर अपरिचित छौं।
अपरिचितबाटै परिचित हुने हो। परिचित नभई सम्बन्ध वा फ्रेन्डसिप अगाडि बढ्न सक्छ कि सक्दैन मलाई थाहा छैन।
हाम्रो आम बानी छ, परिचयको सुरूआत नाम सोधेर हुन्छ। घर, काम, पढाइ, परिवार र उस्तै परे माइती, मावलीसम्म पुग्छ।
परिचय हुनु भनेको नाम, जात, घर, पढाइ, काम थाहा पाउनु मात्र हो त? यस्तो परिचयले मानिसलाई कतिसम्म चिन्न सकिन्छ? यसरी भएको परिचयले जोडिएका सम्बन्धहरू दीगो हुन्छन्? सम्बन्ध बलियो हुनको लागि मनको परिचय हुनुपर्छ। जब मनले मनलाई राम्रोसँग चिन्छ, तब अरू कुनै परिचयको जरूरी नै हुन्न होला।
उसले मेरो नाम सोधिन, जात सोधिन । घर सोधिन । काम, पढाइ केही सोधिन। मैले पनि सोधिनँ। तै पनि हाम्रो परिचय हुँदै थियो, विस्तारै।
तिमीलाई कुन रंग मन पर्छ ? कस्तो मौसम मन पर्छ ? कुन ठाउँ मन पर्छ ? के खान मन पर्दैन ? के लगाउन मन पर्छ ? यस्ता प्रश्नहरूबाट पनि त परिचय हुन सक्छ। यो तरिकाबाट कोही कसैलाई चिन्न सकिन्न र ?
उसले गिलास उठाएर ‘चियर्स’ भनि। हाम्रो गिलास ठोक्कियो। यो कुनै उत्सवमा भएको चियर्स थिएन। ऊ आफ्नै उदासीपनमा थिई। म आफ्नै एक्लोपनमा थिएँ।
चुरोटको बट्टा उठाएर मलाई अफर गरी।
‘नो थ्याङ्क्स्, मैले टाउको हल्लाएँ।
‘कहिल्यै पिउँदैनौ?’ उसले आश्चर्य मानेझैं गरेर सोधी।
‘होइन, आजसम्म चाहीँ पिएको छैन।’
‘भोलि पर्सि चाहीँ पिउने विचार छ?’ मुसुक्क मुस्कुराएर सोधी।
अघिसम्म धुम्म परेको अनुहार एकाएक पानी परेपछिको आकाशजस्तो सफा देखियो। हाँसो नसुहाउने अनुहार सायदै होला संसारमा!
‘भोलि पर्सिको कुरा आजै कसरी थाहा हुन्छ र!,’ मैले पनि मुस्कुराएरै जवाफ दिएँ।
‘त्यो पनि हो।’
रुमानी साँझ थियो। हामी गफिँदै थियौं। हाम्रो गफले फेवा माथिको आकाशमा वेग मार्न थालिसकेको थियो। गफले जति उचाई लिए पनि मलाई भने ऊभित्र गुम्सिएको पीडाको गहिराइसम्म पुग्नु थियो। म गफलाई त्यतै मोड्न खोजिरहें, ऊ त्यसबाट भाग्न खोजिरही।
चितवनदेखि पोखरासम्म हरेक वर्ष त्यही दिन किन गइरहन्छे? किन त्यही रेष्टुरेन्टको त्यही ठाउँमा पुगेर घण्टौं टोलाउछे? फेवातालको पानीमा हेरेर किन एक्लै बात मार्छे ? आफूलाई स्ट्रङ मान्ने ऊ त्यहाँ पुगेपछि किन आँसुको भेलमा बग्छे ?
यी प्रश्नहरू उसको कुरा सुनिरहँदा मैले मनमनै तयार गरिसकेको थिएँ। ऊभित्र चलिरहेको सुनामी पहिल्याउन यिनै प्रश्नहरूको जवाफबाट मात्र सम्भव थियो। ऊ खुल्न चाहिरहेकी थिइन।
उसले ठाडै भनि, ‘मेरो पीडा तिमीलाई सुनाउनुको के अर्थ?’
हुन पनि हो।
सुनाउनुको के अर्थ ? सुन्नुको पनि के अर्थ ?
तर, जे कुरा सुन्न आवश्यक छैन भनिन्छ, त्यही कुरा झन् सुन्न मन लाग्छ। जे कुरा गर्नु हुँदैन भनिन्छ, त्यही कुरा गर्न मन लाग्छ। मैले कर गरिरहें। उसले अस्वीकार गरिरही। यो सिलसिला धेरैबेरसम्म चलिरह्यो।
रात छिप्पिँदै थियो। दिन जति रात कठोर हुँदैन। ऊ बिस्तारै भावुक हुँदै गई। अघिसम्म काँडाजस्तो लाग्ने स्वभाव फूल जस्तै हुँदै गएको थियो।
कठोर काँडा र मुलायम फूल एउटै बोटमा रहन्छन्। एउटै माटो, एउटै पानी, उही घाम। मान्छे पनि त्यही फूलको बोटजस्तै हो। कठोरपना र नरमपना एउटै शरीरमा निहित हुन्छ।
मनभित्र गुम्सिरहेको पीडाको पोको खोल्नु भनेको हलुका महशुस गर्नु हो। पीडामा आँसु बगाउनु भनेको पीडा पखाल्नु हो।
ऊ हलुका होस् भन्ने म चाहन्थें। तर, उसको आँसु हेर्नु मेरो रहर थिएन। ऊभित्र साउनको भेल रहेछ, बगिरह्यो।
उसले आफ्नो जिन्दगीको व्यथा सुनाउँदै गई।
उसँग आफ्नो बुवाको सम्झना धमिलो मात्र बाँकी छ। अनुहार याद गर्न पनि फोटो एल्बममा आँखा डुलाउनु पर्छ। बाको माया कस्तो हुन्छ भन्ने उसले यो जुनीमा अनुभव गर्न पाइन। बुवा गुमाउनु नै आफ्नो जीवनको सबभन्दा ठूलो अभिशाप लाग्छ, उसलाई।
सधैंझैं कामका लागि बुवाले बिहानै घर छोडेका थिए। त्यो दिन घर मात्र होइन, सडक दुर्घटनामा परेर बुवाले संसार नै छोडे।
आमाछोरीको खुसी छोडियो। जीवनमा आशाको दीयो निभ्यो। रहरको संसार गल्र्यामगुर्लुम ढल्यो। अकस्मात् उनीहरू धर्तीमा पछारिए। उसैगरी जसरी उड्न लागेको चराको पँखेटा काटेपछि धर्तीमा पछारिन्छ।
तै पनि आमाले खुट्टा टेक्न खोजिन्। छोरीको लागि बुवाआमा दुवै बन्ने प्रण गरिन्। दुःखका पहाडसँग पौंठेजोरी खेल्ने निधो गरिन्। छोरीको आँखामा रंगीन संसार पोत्न तयार भइन्।
तर, संसारसँग लड्न तयार आमा आफ्नै परिवारसँग लड्न सकिनन्। साथ दिनुपर्ने मान्छेहरूले नै खेदो खनेपछि उनको केही सीप लागेन।
गाउँले उनलाई ‘बोक्सी’ बनायो। लोग्ने टोकेको उपमा दियो। साइतमा निस्किएको मान्छेले उनलाई देख्यो भने साइत बिग्रिने भयो। पुरूषको यौन इच्छा पूरा गर्ने साझा साधनको आरोप लाग्न थाल्यो।
घरले घृणाको पात्र बनायो। समाजले उपेक्षाको। कारण एउटै थियो– विधवा हुनु। उनी जीवनबाट हरेश खान थालिन्।
संसारमा उज्यालो मात्र छैन, अँध्यारो पनि छ। अँध्यारो मात्र होइन, उज्यालो पनि छ। निष्पट्ट अन्धकारमा एउटा जुनकीरीको उज्यालो नै काफी हुन्छ। एकदिन, अन्धकारमा फसेको उनीहरूको जीवनमा जुनकीरी मात्र होइन क्षितिजबाट पूर्णिमाको पूर्णाकारको जून नै उदायो।
एकजना शिक्षकले उसको आमाको हात थामे। हात मात्र होइन उड्नै लागेको एउटा चोला थामे। बिलाउनै लागेको सास थामे। आत्महत्या गर्नै लागेको एउटा जीवनमा पुनः प्राण भरे। सहाराविहीन आमाछोरीको जीवनमा भगवान भएर प्रकट भए।
गाउँकै विद्यालयमा पढाउने सर पोखरा निवासी थिए। सबै घटनाक्रम नजिकबाट नियाली रहेका उनको मनमा दया पलायो। माया पलायो। धर्म पलायो। साहस पलायो। दृढ इच्छाशक्ति पलायो।
अविवाहित एक युवकले विधवा बिहे गर्यो भनेर खिल्ली उडाइयो। उनले कसैको वास्तै गरेनन्। उनको वास्ता उनको आफ्नै मनसँग मात्र थियो।
बिहे गरेर आमा पोखरा पुगिन्। तर, छोरीलाई सँगै जान दिइएन। बुहारी पो पराई थिई। नातिनी त आफ्नै छोराको रगत हो, यस्तै भनियो। नातिनी माथिको हक जमाइयो।
केही भएको सम्पत्तिको हिसाब गरियो। उसलाई समाजले धनको प्रलोभन देखायो। घरले माया दिने नाटक रच्यो। बाध्य पारेर आमाबाट छुट्याइयो। थाहा छैन, उसलाई राख्नुको स्वार्थ के थियो।
केही वर्ष अघि बुवा गुमाएकी उसले यो पटक आमा गुमाई। अब ऊ टक्कै टुहुरी भई।
भागेर धेरै पटक आमासम्म नपुगेकी होइन। तर, जबर्जस्ती फर्काएर ल्याइन्थ्यो । उसले फेरि धित मरुन्जेल आमा कहिल्यै भेट्न पाइन। कहिले स्कुलको बाहिर आधा घण्टा, कहिले बजारमा लुकेर एकछिन त कहिले मेलापातमा केही क्षणबाहेक आमा छोरीको भेट हुन सकेन। त्यति छोटो भेटको लागि पनि आमा पोखरादेखि चितवन आइपुग्नुपथ्र्यो।
दिन बित्दै गयो। ऋतुहरू परिवर्तन भए। यामहरू फेरिए। नारायणीमा निक्कै पानी बग्यो। ऊ हुर्किंदै गई। गाउँकै केटासँग विवाह गर्ने कुरा चलाइयो।
उसको कुनै प्रतिक्रिया थिएन। बिहे गर्नुसँग खुसी पनि थिएन, वेखुसी पनि थिएन। दुःखको सागरमा हुर्किएकी उसलाई अझै थप दुःख भोग्नु परे पनि कुनै आपत्ति थिएन।
उसलाई लाग्थ्यो, ऊ दुःखको दलदलमा फस्न नै जन्मिएकी हो। जीवन भनेकै दुःखको महासागर हो। उसले आफ्नो जीवनसँग गुनासो गर्नु नै बेकार ठानी।
विवाह हुने दिन नजिकियो। उसको एउटै मात्र आग्रह थियो- बिहेमा आमाको उपस्थिति। तर, यो शर्त परिवारले मानेन। समाजले झन् किन स्वीकार्थ्यो। बेहुलाका बुवाले त ‘त्यस्ति आइमाईको हातबाट कन्यादान हुने भए हामी आउँदैनौं’ भन्ने सम्मको खबर नै पठाए।
उसकै विवाहमा उसले राखेको एउटै मात्र इच्छा थियो। त्यो पनि पूरा भएन। उसको इच्छा अनिवार्य थियो। सन्तानको कन्यादान गर्ने पहिलो हक आमाकै हो। तर, यहाँ त उसलाई जन्माउने आमालाई अछुत बनाइसकेको थियो।
उसले धेरै सोची। पछाडि फर्किने अवस्था थिएन। उसँग आफ्नै मनसँग सम्झौता गर्नुबाहेक विकल्प रहेन। गह्रौं मन लिएर अन्ततः केही घण्टाको दूरीमा रहेकी आमा बिनै जग्गेमा बसिदिई।
विवाह सम्पन्न भयो, जग्गे उठ्यो। त्यही तोडमा आमाले फेवातालमा देह त्याग गरिन्। यता छोरीको डोली उठ्यो, उता आमाको लास।
त्यो दिन आजकै दिन थियो। ठाउँ त्यही हो। हरेक वर्ष त्यो दिन ऊ पोखरा पुग्छे। आमा बिलाएको ठाउँमा हेरेर घण्टौं रुन्छे। आमा अझै पनि त्यही ताल भित्रै हुनुहुन्छ जस्तो लाग्छ रे।
अब त ताल नै आमा जस्तो लाग्छ। धित मरुन्जेल त्यही पानीसँग बात मारेर फर्किन्छे। फेरि अर्को वर्ष भेट्ने वाचा गर्छे।
टेबलमा राखेको फोनमा कल र सन्देशहरूको उरुङ लागेको थियो। उसले वास्तै गरिन। उसलाई थाहा छ, ती सन्देशहरू आजै परेको उसको वैवाहिक वर्षगाँठका हुन्। उसलाई ती सन्देशहरू हेर्ने पटक्कै मन छैन। जाँगर पनि छैन।
चुरोटको लामो सर्को तान्छे। हावामा धुँवाको गुम्बज बनाएर माथि रानीवनतिर उडाउँछे। तालमा एकटकले हेरिरहन्छे। पानीमा आकाशका ताराहरू देख्छे। सायद त्यहाँ आमा देख्छे। आँसुका ढिक्काहरू गाला हुँदै तल खसिरहन्छन्।
तर, मैले त्यो आँसु पुछ्न सकिनँ। अर्थहीन उपस्थिति नभएकै राम्रो। उसको आधा आँसु लिएर म उबाट बिदा भएँ। होटलमा आएर फोन अन गरें। मेसेजको उरुङ लागेको थियो। काठमाडौंमै छुटेकी प्रियसीको उपस्थिति तिनै सन्देशहरूमा थियो।