Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, असार १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

दसैंको लुगा

गोपाल चन्द्र भट्टराई

गोपाल चन्द्र भट्टराई

घर नजिकै नभए पनि आलोक र रमेश दुवै घरको मध्यबिन्दुतिर कतै भेटेर जमेरै खेल्थे। यदाकदा यस्तै बेलामा विपरीत दुई दिशाहरूबाट दुई आमा अचानक प्रकट हुन्थे र गाली गर्न थाल्थे। 

आलोक र रमेशकी आमाको आ-आफ्ना छोराहरूलाई गाली गर्ने तरिका फरक-फरक शैलीको थियो। 

आलोककी आमा भन्थिन्, ‘ए के लुगा लगाएको त्यो ? त्यो मैलो धुस्रो फुस्रो लुगा लगाएपछि भर्खर नुहाएर सफा भएको के अर्थ भो ? तुरून्त गएर लुगा फेर्।’ रमेशकी आमा भन्थिन् ,‘हैन जिउ कस्तो मैलो बनाएको त्यो ? त्यस्तो ध्वाँसे शरीरमा भर्खर धोएर सफा बनाएको लुगा लगाएर के अर्थ भो, जा तुरून्त गएर नुहा।’

यो गालीमा फरक आउनुको कारण यो थियो कि आलोक हुने खाने र गाउँको प्रतिष्ठित परिवारको छोरो थियो भने रमेश अँधियामा खेती कमाई  र मजदूरीले जीविका चलाउने निम्न स्तरीय परिवारको छोरो थियो। 

आलोकका लागि वर्षमा पाँच छ जोर लुगा किनिन्थ्यो, सबै राम्रा, महँगा र फरक प्रयोजनका लागि फरक-फरक प्रकारका।

त्यसबाहेक हरेक वर्ष उसको घरमा विशेष पूजाआजा, विवाह व्रतबन्धजस्ता केही न केही कार्यक्रमहरू अवश्य नै हुन्थे र त्यस्ता अवसरमा उसले थप नयाँ जोर कपडा पाउँथ्यो, अझ मावली घर वा अन्य आफन्तहरूबाट उपहार स्वरूप प्राप्त हुने कपडा त अलग्गै हुन्थे। 

त्यसैले फेरि-फेरि लुगा लगाउन पुग्नेले धुस्रो फुस्रो र फोहोर लुगा लगाएर गोरो चिल्लो र सुकुमार शरीर मैलो बनाएपछि उसकी आमाले किन त्यसरी गाली नगरून्।

रमेशले भने एकपटकमा एकजोर मात्र लुगा पाउँथ्यो, कामचलाउ र सबै प्रयोजनका लागि त्यही एकजोर। एकपटक किनिएका लुगाहरू केही समयपछि उध्रिन्थे, तिनीहरू सिइन्थे, लगाइन्थे, केही समयपछि तिनमा प्वाल पर्थ्यो - ती प्वालहरू अन्य पुराना कपडाको टुक्राले टालिन्थ्यो र फेरि लगाइन्थ्यो। 

एवम् रूपले एक दुई पटक टालटुल पारेपछि  कपडा पातलिँदै र मक्किँदै जान्थ्यो र एकदिन आमा चाहिँले धुँदाधँदै कामै नलाग्ने गरी ध्यार्र च्यातिन्थ्यो र बल्ल त्यसको केही दिनपछि रमेशको लागि नयाँ जोर कपडा आउँथ्यो। त्यस्तो महत्वपूर्ण र मूल्यवान लुगा ध्वाँसे र धसिंगरे जिउमा लगाएर  खपत अवधि घटाउन खोजेपछि उसकी आमाले किन त्यसरी गाली नगरून्! 

निकट भविष्यमा नै ठूलो मुख बनाएर बेगवान गतिमा  देशैभरि आइरहेको दसैंले  हाम्रा आलोक र रमेशको गाउँमा पनि दस्तक दियो। अन्य सबै कुरालाई थाँती राखेर अहिलेलाई भने हामी रमेशको घरमा दसैंले पार्दै ल्याएको प्रभावका बारेमा एक छिन हाम्रो चासोलाई केन्द्रित गरौं - रमेशको घर बिस्तारै सधैं भन्दा अलि बढी चलायमान हुँदै गयो।

रमेशका बुवाको ध्यान अब दुई चार दिनभित्रमा जसरी हुन्छ अलिकति पैसाको बन्दोबस्त गर्ने वा कमाउने विषयमा केन्द्रित भयो।

अँधिया कमाएको खेतमा अगुवा धान लगाएकाले चाडवाडमा के खाने भन्ने समस्या नरहेको भए पनि दसैंका अनेकौं शीर्षकमा हुने सामान्य खर्चको लागि हजार पन्ध्रसय रुपैयाँ त चाहिन्थ्यो नै। 

यही रकमको जोहो गर्नका लागि उनी कहिले वर्षौदेखि कागज, ढुंगा, माटो  वा अन्य फोहोर हालेर लगभग पुरिन लागेको सरकारी स्कुलको इनार सफा गर्थे त कहिले कसैको घर छाउन पुग्थे, कहिले हलगोरू नभएको घरको करेसाबारी खनजोत गर्न खटिन्थे भने कहिले दसैंको बखत वनका कर्मचारीको चियोचर्चो कम हुने मौका छोपी कसैको खेतमा गाडेका ठूला ठूला टुना र मुढाहरू चिरिदिन कम्मर कस्थे। 

तर यी सबै कामहरू भन्दा उनलाई ब्यस्त राख्ने अर्को कामचाहिँ आफ्नो राँगा गाडी चलाउनु थियो। उनीसँग एकहल राँगा र एउटा राँगागाडी भएकोले गाउँका व्यापारीहरू आफूले काँटा राखेर गाउँलेहरूबाट खरिद गरेका धान, चामल, जुट लगायतका कृषि उपजहरू बजारसम्म पुर्याउउन र बजारबाट गाउँका लागि आवश्यक किराना सामानहरू लिएर आउनका लागि रमेशका बुवासँग सम्पर्क गर्थे। 

दसैंको बेला यस प्रकारको सामान ढुवानी कार्य अलि बढी हुने भएकाले अधिकांशत उनी त्यसै कार्यमा खटिन्थे। एकाबिहानै उठेर समान लोड गरी हिँडेका उनी कहिलेकाहीँ आधा रातमा मात्र घर आइपुग्थे। 

रमेशकी आमाका लोग्ने, केटाकेटी, घर, चौपाया छिमेकीसम्बन्धी थुप्रै कामहरू हुन्थे। उनी रमेशका बुवाको ब्यस्तता र थकानप्रति चिन्ता, सहानुभूति र सद्भाव राख्थिन्, घरको आर्थिक व्यवस्थापनसम्बन्धी चिन्तनमा सहभागी हुन्थिन्। 

केटा केटीहरू स्कुल जान्थे, खेल्थे, कुटाकुट र झगडा गर्थे, रुन्थे, कराउँथे र राति जे छ खाएर हिजोकै दिनचर्या दोहोर्याखउन भोलि बिहान उठ्थे।

दसैंको बिदा सुरू हुने अघिल्लो दिन जब रमेश स्कुल गयो, उसले थाहा पायो कि दसैंको सर्वाधिक महत्वपूर्ण एउटा ‘पहलु’बारे त उसले अहिलेसम्म सोचेकै रहेनछ। 

अहिलेसम्म न घर परिवारमा कसैले त्यसको चर्चा गरे, न साथीसंगीहरूले नै कुराकानी वा अन्य माध्यमबाट त्यससम्बन्धी प्रसंग उठाए। 

अहिले अचानक साथीहरूको झुण्डमा दसैंको लुगाका बारेमा थरिथरिका रंगीन सवाल–जवाफ र वार्तालाप सुन्दा पो ऊ झसंग भयो - ऊ त अहिलेसम्म चिल्लै रहेछ भन्ने सम्झेर। 

अधिकांश साथीहरूको दसैंको लुगा किनिसकिएको र अशोक, टंके र बेले लगायतका एक दुई जना साथीहरूको भोलि नै बाबुआमाको साथमा बजार गएर किन्ने योजना रहेको कुरा सुन्दा रमेशलाई लाग्यो ऊबाट ठूलो गल्ती भइसकेको रहेछ। 

बेलैमा बाबुआमालाई यो कुरा सम्झाएर, कर गरेर, रोएर, कराएर जसरी हुन्छ लुगा किनाइसक्नुपर्नेमा उसको लापरवाहीपन र असतर्कताको कारण यस्तो अनिष्ट भइसकेको सम्झेर उसलाई ठूलो पछुतो लाग्यो। 

झुण्डमा साथीहरू बडो उत्साहका साथ ठूलो ठूलो स्वरमा आ–आफ्नो लुगाको बयान गरिरहेका थिए। उनीहरूको अनुहारमा चमक र ओठमा प्रफुल्ल हाँसो विद्यमान थियो। यो सब देखेर रमेशलाई भित्रैबाट रोऊँ रोऊँ लागेर आयो। 

उसले चुपचाप साइडमा उभिएर साथीहरूको क्रियाकलाप हेरिरह्यो र एकछिनपछि आँखामा पिलपिल आँसु टल्काउँदै कक्षाकोठाभित्र पस्यो। बिदाको अघिल्लो दिन भएकाले शिक्षक वर्ग समेत दसैंकै रौनकले तातिएको थियो–त्यसैले त्यस्तो पढाइ खासै केही भएन। जो–जो शिक्षक क्लासमा आए बस जसरी तसरी समय कटाएर गए। 

तर जो क्लासमा आए पनि र जे जे भनेर गए पनि रमेशले केही सुनेन, केही बुझेन। ऊ लगातार एउटै पिरलोमा रूमल्लिएको थियो। आफैं प्रतिको गुनासो र पश्चाताप भावले विरक्तिएको थियो। ऊ सम्झिरहेको थियो–उसका केही साथीहरू जस्तै ऊ पनि भोलि नै बजार गएर कपडा किनिदिनका लागि उसका बुवालाई कर गर्न सक्दैन–त्यसका लागि उसले केही अगाडि नै बुवालाई सम्झाउनु पथ्र्यो। 

अहिले आएर भन्दा त उसका बाबुले सजिलै भन्नेछन् ‘आजको आजै कहाँबाट पैसा ल्याउनु र बजार जानु, पैसा रूखमा फल्छ र ? एक दुई दिन पर्खी अनि विचार गरौंला’। 

त्यसपछि उसको केही जोर चल्नेवाला छैन, रोए पनि हुँदैन, झगडा गरे पनि हुँदैन। बरु थाकेको बेलामा धेरै कचकच गर्यो  भनेर  उल्टै बाबुले थप्पड लाउन पनि बेर छैन। 

रमेशले एकदम हतास भएर निश्कर्ष निकाल्यो कि यसपालि उसको मौका त्यसै खेर गयो–हुन सम्मको गल्ती भयो।

युद्धमा हारेको सिपाहीझैं लख्य् कक–लख्युसै क गर्दै स्कुलबाट घर आइपुग्यो रमेश। उसको भन्दा पहिल्यै भाइहरूको छुट्टी भइसकेकाले उनीहरू अघि नै घर आइपुगेर खेल्न निस्किसकेका थिए। बाबु आमा आ–आफ्ना काममा कतै बाहिरै थिए। उसलाई भने आज खेल्न जान मन लागेन। ऊ धुम्धुम्ती एक्लै घरमा बसिरह्यो। 

तर मनको छटपटी र पीडाले उसलाई स्थिर रहन पनि दिएन–कहिले सुत्ने खाटमा थचक्क बस्दै, कहिले डङ्रङ्ग पल्टँदै, कहिले घरको सिकुवा र आँगनसम्म आएर बाहिर हेर्दै र पुनः घरभित्र पस्दै छट्पटाइरह्यो। 

उसले मनमनमा एउटा दृढ अठोट चाहिँ के गर्यो। भने आज रोई कराई जसरी हुन्छ बुवालाई भोलि नै बजार जानका लागि ठूलो दबाव जरूर दिनेछ ऊ। आफ्नै मनको अठोटले उसलाई हल्का राहत मिलेजस्तो पनि भयो।

साँझ पर्ने बेलामा घरको आँगनमा उभिएर त्यसै टोलाइरहेको बेला उसले भाइहरूले चिच्याई चिच्याई उसैलाई बोलाइरहेको सुन्यो।

आवाज आएतिर फर्केर हेर्दा देख्यो उसका बाबु राँगा गाडी लिएर घरतिर आइरहेका थिए र भाइहरू गाडीमा चढेर कराइरहेका थिए, ‘‘दाजु, हेर्, हामी त ऊ पर हरिको घरदेखि नै चढेर आको, बुझिस् ?” अघि अघि भए ऊ पनि फाल्तोडेर गाडीमा चढ्न दौडिसकेको हुन्थ्यो र आफ्नो हाउभाउ र कृयाकलापद्वारा भाइहरूउपर आफ्नो प्रभाव विस्तार गरिसकेको हुन्थ्यो।

तर आज उसले त्यसो गरेन–चुपचाप खडा रहेर बाबुलाई पर्खिरह्यो। 

घरछेउ आइपुगेपछि भाइहरू हाम्फाल्दै गाडीबाट उत्रिए, बाबु भने गाडीको बन्धनबाट राँगाहरू खोलेर थलोमा बाँध्ने कार्यमा जुटे। त्यतिखेरै घरको अर्कोतिरबाट परालको ठूलो भारी बोकेर पसिनै पसिना भएकी आमा पनि आइपुगिन्। 

एउटा कुनामा भारी बिसाएर खुइय्य सुस्केरा हाल्दै बाबुलाई सोधिन्, ‘‘कतिखेर आइपुग्नुभो ? ” 
‘‘ई, भर्खर आइपुग्दैछु ।” बाबुले राँगाको थलोबाट निस्कँदै छोटो जवाफ दिए र गाडामा राखेको एउटा झोला निकाल्न थाले। 

रमेश भने अधिरताका साथ आफ्नो दुखेसो पोख्न उपयुक्त अवसरको प्रतीक्षा गरिरहेको थियो। तर उसले तुरुन्तै केही बोल्ने मौका पाएन। सबैजना एक एक गरेर घरभित्र पसे। ऊ पनि ठुस्स परेको गन्दे अनुहार लाएर भित्र पस्यो। 

अनि अन्तमा काँधमा झोला भिरेका बाबु पसे। उनी सरासर भित्र पट्टिको कोठामा गए र  खाटमा झोला बिसाए। रमेशको मनको पेटारो खोल्ने उपयुक्त अवसर यही थियो। ऊ एकाएक रुन्चे अनुहार लाएर मुख बाउन मात्र के लागेको थियो, भित्रबाट बाबु चैँ बोले, ‘‘आओ है केटाकेटी हो तिमेर्का दसैंको लुगा हेर्न।”

रमेशले त मानौं आफैंले सुनेको कुरा विश्वास गरेन। भाइहरू र आमा एकदम उत्साहका साथ हतार हतार बाबु भए तर्फ लम्किए, ऊ भने अचानक आइलागेको अपार खुसी सम्हाल्न नसकेर एकछिन त्यसै अकमक्क भएर उभिरह्यो। एकैछिन पछि भने के के न बिते जस्तो गरेर अतालिँदै बाबुलाई घेरा हाल्न पुग्यो।

सबैले उज्यालो अनुहार लगाएर उत्सुकतापूर्वक बाबुले झोलाको जिपर खोलेको हेरे। झोलाबाट छुट्टाछुट्टै पोलिथिन ब्यागमा राखिएका कपडाका मुठाहरू निकाल्दै उनले भने,  ‘‘यो चैँ माइला र कान्छाको, यो चैँ रमेशको र यो चैँ आमाको .........।” 

भाइहरू आफ्नो भागको पोलिथिन पक्रेर खुसीले उफ्रिए, रमेशले पनि अत्यन्त आल्हादित मुद्रामा आफ्नो पोको आफूतिर तान्यो तर आमा चाहिँ अलि खिन्न अनुहार लाएर बोलिन्, ‘यत्ति हो ? अनि आफूलाई चैं खोइ त ?” 

सबैले एकपटक बाबुको अनुहार हेरे, उनी एकछिन केही बोलेनन् र केहीबेरपछि भने, ‘‘ठिकै छ अइले पैसाले यत्ति मात्रै पुगो, मलाई अइले चाइएको पनि छैन।” आमाले मायालु नजरले बाबुलाई हेरिन् , रमेश र उसका भाइहरूलाई बाबुको जवाफले कुनै प्रभाव पारेन, उनीहरू खपिनसक्नु जोशका साथ उफ्रिरहे, नाचिरहे।

बाबुले मुसुमुसु हाँस्दै उनीहरूको यो कृत्य हेरिरहे, आमाले भने कराइन्  ‘हेर इनेरु भुइँमा न भाँडामा भका, धेरै नउम्ल है, पोखिन्छौ नि !”

‘अनि झोलाभित्र कस्तो लुगा छ भनेर चैं नहेर्ने तिमेरू ?” बाबुले हाँस्दै सोधे। अनि तीनैजना आएर बाबुसँग ढेस्सिए र आ–आफ्नो पोको बाबुतर्फ तेर्स्याए।

बाबुले भाइहरूको पोको खोले र भने, ‘यो कालो चैं तिमेर्को हाप्पिन, अनि यो निलो चैं सट। अस्तिको पालि ल्याको हाप्पिन खुकुलो भएर खुस्केको खुस्केइ गरो भनेर यसपालि चैं काँधमा भिर्ने फिता पनि पुग्नेगरी कपडा ल्याइदेको छु।”

आमाले आफ्नो पोको आफैं खोलिन्, रातो रंगको चोलोको कपडा र रातै बुट्टा भएको एउटा धोती थियो उनको भागमा। उनले धोती चाहिँ अलिकति खोलेर हेरिन् र भनिन्, ‘‘मेरा धोतीहरू छँदैथे, यसको साटो आफैंलाई केही ल्याउनु पर्छ नि” बाबु केही नबोली रमेशको पोको खोल्न थाले र ऊ तिर फर्केर भने, ‘‘भाइहेर्कै जस्तो रंग छ तेरो पनि, इस्कुलको ड्रेस सँग मिल्ने गरी ल्याको, यो निलो चैं सट् अनि यो कालो चैं प्यान। अब ठूलो पनि भइस्, पाँच कक्षा पुगिस्, जिल्ला इस्तरको जाँच दिने मान्छे, राम्रो पढ्लास् भनेर तँलाई चैँ यसपालि हाप्पिनको साटो प्यान नै ल्याइदेको।” 

सबैले उत्सुकतापूर्वक उसको ‘प्यान’ हेरे, विशेष गरेर भाइहरूले ‘प्यान’ समेत लाउने स्तरमा पुगेको, ठूलो भइसकेको मान्छे, आफ्नो दाजुलाई उच्च मूल्याङ्कन गर्दै दंग परेको नजरले हेरे। 
रमेशको खुसीको कुनै सीमा रहेन–हर्षविभोर भएर ऊ हीं हीं हीं हीं गरेर हाँसिरह्यो मात्र, केही बोल्नलाई शब्दको तारतम्य मिलाउनै सकेन। 

भोलिपल्ट बिहानै आमाको साथमा लागेर तीनैजना केटाहरू नाँच्दै र उफ्रिँदै डढे दर्जी बुढाकहाँ पुगे। उनले आमाको र भाइहरूको शरीरमा फिता तन्काउँदै र घुमाउँदै नापको अङ्क एउटा थोप्रो कापीमा टिपे र रमेशलाई पनि नापका लागि बोलाए। यसरी कपडा सिलाउन लाग्दा एउटा अनौठो खुसीको तरंग शरीरमा दौडिएर उसलाई सिरिङ्ग भएजस्तो भयो। 

दर्जी बुढाले उसको कम्मर र खुट्टाहरू नाप्दै सोधे ‘‘क्रिज राख्ने कि नराख्ने, अनि राख्ने भए एउटा कि दुइटा राख्ने, भित्री पाकेट पनि राखिदिऊँ ?” कहिल्यै नसुनेको शब्दहरू सुनेर ऊ अकमक्क पर्योभ र आमातिर हेर्योन। 

आमाले भनिन्, ‘‘जे गर्दा राम्रो हुन्छ, तेस्तै सिलाइदिनु न, तपाईंलाई के भनिराख्नु पर्छ र ?” सबैको शरीर र कपडा समेत नापेर दर्जी बुढाले औंला गन्दै भने, ‘‘आज मंगलबार भैगो, बिबार, सुकबार, ल, तीन दिनपछि शनिबार बेलुका आउनू ...।”

माऊसँग कहिले ढेस्सिँदै, कहिले अगाडि, कहिले पछाडि, बुर्कुसी मार्दै छुनुमुनु गरिरहेका बाख्राका चञ्चले पाठाहरू जस्तै आमाको अघि पछि नाच्दै र उफ्रिँदै धानबारीको बीचैबीच भएर उनीहरू घर फर्के। स्कुल जानु नपर्ने भएकाले केटाहरू साङ्लीबाट फुस्केको भोटे कुकुर जत्तिकै भएका थिए। त्यसमाथि दसैंको लुगा सिलाउन दिएर आएका उनीहरूको भुइँमा खुट्टा नै थिएन।

उनीहरूले छरछिमेकमा देखेजति र भेटेजति सबैलाई आफ्नो लुगाको बारेमा सुनाए। कपडा कस्तो छ, कुन रंगको छ, कहिले ल्याएको, बुवाले के भन्नु भो, कहिले सिलाउन दिएको, सिलाई कहिले सकिन्छ, दर्जी बुढाले नाप्दा के भने आदि सम्पूर्ण फेहरिस्त एउटै नबिराई बताए। तर रमेश आफैंले होस् वा भाइहरूले होस् लुगाको वृत्तान्त बताउँदा रमेशको प्यान्टको प्रसंगलाई भने महत्वका साथ एउटा महान् प्राप्ति र उपलब्धिका रूपमा प्रस्तुत गर्न भुलेनन्। 

उत्साहको उच्च डिलमा उभिएर उनीहरूले साथीहरूको झुण्डमा घोषणा गरे, ‘‘बुझ्यो, हाप्पिनको जस्तो बाक्लो र खस्रो कपडा होइन, ‘प्यान’ त चिप्लो, चिल्लो र हलुङ छ... ।” 

यी तीन भाइहरूलाई तीन दिन बिताएर शनिबारको पनि बेलुका भने वर्षौंको प्रतीक्षा गरे जत्तिकै भयो। अधीरता र छटपटीमा रातदिन पिल्सिएर मरिहत्ते गर्दा पनि शनिबार छिटो आएन। बल्ल बल्ल शुक्रबार आयो। आफ्नो प्यान सम्झेर रमेशको खुसी र उत्साह यति अटाइ नअटाइ भयो छातीभित्र कि त्यसको बयान वरपर नजिकका साथी संगीहरूसंग मात्र गरेर उसको चित्त बुझेन। 

उसले ठान्यो आफ्नो भन्दा केही पर घर भएको आलोकलाई समेत यस बारेमा नबताई उसको मनको उकुस मुकुस शान्त हुने वाला छैन।

आखिर उसको प्यानको महत्व बुझ्ने, पहिलेदेखि नै ‘प्यान’ नै लगाउँदै आएको आलोकबाहेक वरपर उसको साथी नै को छ र ? ऊ एक प्रकारको रनाहामा हान्निएर आलोककहाँ पुग्यो। 

अरु अरुसँग जस्तो आलोकसँग अनियन्त्रित उत्साहका साथ हतार हतार गरेर आफ्नो ‘प्यान’ को बखान गर्न थालिहाल्न  पनि उचित हुँदैन्थ्यो, ऊ त यस्ता कयौं प्यानहरू फटाइसकेको मान्छे।

उसको अगाडि के के न ठूलो कुरा पाए जस्तो गरेर प्रस्तुत हुँदा आफूलाई निम्न स्तरको मूल्याङ्कन गरेर ऊ हाँस्न सक्ने भएकाले विषय र प्रसंग मिलाएर मात्र आफ्नो कुरा राख्नुपर्ने सम्बन्धमा ऊ सतर्क भयो। 

तर जतिसुकै सतर्क भए पनि एकैछिनको कुराकानी पछि उसले आफूलाई नियन्त्रण गरिरहन सकेन र बकिहाल्यो, ‘‘अस्ति बजारबाट बुबाले सप्पैलाई लुगा ल्याइदिनुभो, मलाई चैं यसपालि प्यान र सर्ट ल्याइदिनु भएछ।” 

रमेशले सोचेजस्तो आलोकले यो कुरालाई उत्साह र उत्सुकताका साथ ग्रहण गरेन, सामान्य प्रतिक्रिया दर्शायो, ‘‘ए हो ? राम्रो छ ?” छात्तीभित्र उकुसमुकुस भएर ओकलिन हतार गरिरहेको शब्द प्रवाहलाई रमेशले चाहेर पनि रोक्न सकेन, ऊ स्वचालित रूपमा बोल्यो, ‘‘अँ, एकदम राम्रो छ, बाक्लो र चम्किलो छ, छाम्दा चिप्लो  पनि छ, दर्जीले भोलि बेलुका सिएर दिन्छु भनेको छ...।”
आलोकले उसको कुरा सुनिरह्यो र उसलाई हेरिरह्यो, ऊ केही बोलेन।

एकछिनपछि रमेशले नै सोध्यो,‘‘अनि तिम्रो लुगा ल्याको ?”

‘‘अँ, एउटा जिन्स र टि सर्ट ल्याइदिनु भको छ।” उसले सामान्य तरिकाले भन्यो र तुरुन्तै कुराको प्रसंग अर्कैतिर लग्यो। 

आलोकको लुगाको नाम र प्रकार सुनेर ऊ एकछिन जिल्ल पर्‍यो। एकछिनसम्म आलोकसँग खेलेर रमेश आफ्नै घरतिर लम्क्यो, जे भए पनि आफ्नो लुगाको बारेमा आलोकलाई बताउन पाएकोमा एक प्रकारको राहत र सन्तुष्टि महशुस गर्योल।

बल्ल बल्ल शनिबार आयो। बेलुका लुगा लिन जानुपर्ने, उनीहरू बिहानको खाना खाइसक्ने बित्तिकै दर्जी बुढाकहाँ हान्निए। तर बुढाले उनीहरूको कपडा सिलाउनु त कता हो कता कपडाको मुठो खोलेको पनि थिएन। उनीहरू त्यसै निराश भएर फर्के।

भोलिपल्ट पनि उनीहरू त्यसैगरी दर्जीकहाँ पुगे, बैठकमा फोका उठ्नेगरी बेञ्चमा थच्चिए, छट्पटाए। अन्तमा बुढाले काम नभ्याएकोले भोलि आउनू भनेपछि हतास र निरास भएर फर्के। तर भोलिपल्ट हैन पर्सिपल्ट पनि बुढाले उनीहरूलाई त्यसैगरी फर्कायो।

वास्तवमा दसैंको बेलामा बुढाले अपनाउने रणनीति नै यही थियो – ऊ आएको काम भ्याउँदिनँ भनेर कहिल्यै फर्काउँदैनथ्यो र सबैलाई यसैगरी झुलाउँथ्यो। 

दाजुभाइहरू मिलेर हरेक दिन आफ्नो दुखेसो आमालाई पोख्थे तर केही समाधान निस्कदैन्थ्यो। त्यसैले अन्तमा उनीहरूले बाबुसँगै आफ्नो इति वृत्तान्त बताए।

यस पटक भने आमाले पनि उनीहरूको कुरामा सही थपिन् ‘‘यो दर्जी बुढो यस्तै हो, ज्यालामा सिलाउनेको चैं तारन्तार सिलाएर दिन्छ, बाली दिनेहरूको चैं यसरी नै झुलाउँछ –उल्लाई के छ र, जे  गरे पनि मुंसिरमा उसको धान पाकिहाल्छ।”

बल्ल केटाहरूलाई लिएर बाबु आफैं बुढोकहाँ पुगेर दुईचार कुरा भनेपछि त्यसको भोलिपल्ट अर्थात फूलपातीको दिन सिलाएको कपडा हात पर्योे। 

ढिलो आए पनि आखिर पर्खेको दिन आइपुगेरै छाड्यो। केटाहरू उन्माद र उत्तेजनाले तीन भित्ता उफ्रिँदै लुगाको पोको झुण्ड्याएर घर आइपुगे। घरमा एउटा महाउत्सवको झैं वातावरण भयो। कसैलाई कसैको कुरा सुन्नु थिएन, बोल्नु थियो बस् । उनीहरू बोलिरहे चर्को चर्को स्वरमा एक अर्कालाई उछिन्दै। 

उनीहरूको उत्साह धेरैबेरसम्म सेलाएन, हर्ष र उल्लासले वातावरण छ्याल ब्याल पार्दै उनीहरूले हो–हल्ला गरिरहे। बाबुआमाले सुखद् आनन्दका साथ यो दृष्य हेरिरहे। तर अन्तमा आमाले भनिन्, ‘‘बुधबार र बिबार तिमेर्लाई लुगाको साइत गरेको फाप्दैन, पर्सि शुकबार मात्र लाउनू।”

हरे शिव, शिव, फेरि अर्को प्रतिक्षा ! तर आमाको आदेश उल्लङ्घन गर्नु भनेको अनिष्ट निम्त्याउनु मात्र हो-उनीहरूले शुक्रबारसम्म नपर्खी कुनै धरै पाएनन्।

गाउँभरि दुर्गाकवच र चण्डीपाठहरू भए, वरपरका घरहरूमा हरेक बिहान शंख र घण्टीहरू बजे, कसैकसैका घरहरूमा खसी, बोका र राँगाहरू काटिए, रातभरि ढिकीमा चिउरा कुटेको आवाज आइ नै रह्यो, अनि परको मन्दिरमा मानिसहरूको आवतजावत दिनैपिच्छे बढ्दै गयो, चारैतिर उल्लास र हर्ष छायो। 

यी सबै कुराहरूमा बाहिर बाहिर रूपमा जोडिए पनि रमेशको भित्री हृदय भने ‘प्यान’ लगाउन पाउने शुक्रबारको पर्खाइमा गजधुम्म परेर बसिरह्यो।

दिउँसो त जसोतसो विभित्र रमझम र मस्तीका गतिविधिमा उसको ध्यान बाँडिन्थ्यो, तर रातमा भने धेरै पटक कोल्टे फेरेपछि मात्र निदाउन सक्थ्यो ऊ।

अत्यन्त छटपटी भएपछि एकपटक त उसले ओछ्यानबाट उठेर सुटुक्क आफ्नो ‘प्यान’ बोकेर बाहिर सिकुवामा समेत आयो। टहटह लागेको जूनको उज्यालोमा प्यान्ट्सलाई आफ्नो दुवै खुट्टामा बाहिरबाट टँसाएर हेर्दा अत्यन्त सुहाएको देखेर दंग पर्दै फेरि कोठाभित्र पसेर सुत्यो। वास्तवमा यो प्रतीक्षाको अवधिभर उसको अभ्यन्तरमा महाभारत जस्तै एउटा महासंग्राम नै लड्यो उसले।

अनि मात्र झुल्कियो पूर्वी क्षितिजमा शुक्रबारको घाम अत्यन्त उत्साह र उल्लासका रंगहरू छर्दै। जुरूक्क उठेर आँखा मिच्दै सबभन्दा पहिले रमेशले सिरानी छेवैमा राखेको लुगाको पोकोलाई नै आफ्नो निसाना बनायो र भोको सिंहले हरिण उपर झम्टेझैं जाइलाग्यो।

उसले हल्ला गर्दै भाइहरूलाई उठायो र बहुप्रतिक्षित लुगा लगाउने दिन उनीहरूको घरमा प्रवेश गरिसकेको सु–समाचार सुनायो। 

भाइहरू आँखा मिच्दै उठे र प्रफुल्लताले ढकमक्क फुले। एकैछिनमा हो हल्ला र कोलाहल मच्चियो। सबै आ–आफ्ना लुगा लगाउन तम्सिए। 

भाइहरूले त हतारहतार लगाउन भ्याइ पनि हाले तर काँधमा भिर्ने फिताको तारतम्य मिलाउन नजानेर एकस्वरमा कराउन थाले, ‘‘दाजु मेरो फिता मिलाइदेन” ‘‘होइन दाजु, मेरो पहिले मिलाइदेन” भाइहरूको लुगा मिलाउँदा मिलाउँदै ऊ एकछिन अल्मलिन पुग्यो।

तर रमेशको दुर्भाग्य !

त्यतिखेरै बाहिरबाट अचानक आमा प्रकट भइन् र फेरि बाधा तेस्र्याइन् ‘‘ थुक्क ध्वाँसे गिद्धहरू, मुख पनि नधोई हेर अताल्लिएर मर्न लागेका ! तिमेरु नयाँ लुगा तुरुन्त खोल्छौ कि आऊँ सिर्कनो लेर हँ ? आज नवमीको दिन, बाहुनका छोराहरू, उठ्नेबित्तिकै न्वाइ ध्वाइ गर्नु त कता हो कता, हिजो दिनभरि धुलो माटोमा खेलेर हेरी नसक्नु भाको जीउमा उन्न भ्याइहाल्यौ होइन कसैको नभाको तिमेर्का थाङ्नो!”

सबैजना हस्रक्क परे, उत्साह त्यसै सेलायो। 

भाइहरू चुपचाप लुगा खोल्ने कार्यमा लागे। रमेशले पनि आफ्नो लुगा यथावत पोलिथिनको झोलाभित्र राख्यो र चुपचाप घरबाहिर निस्क्यो। बावु चैं गाडाको जुवामा राँगाहरूल्याएर बाँध्दै रहेछन्। 

रमेशले बावुको छेउमा गएर सोध्यो, ‘‘बुबा कहाँ जाने ?”

‘फुँयलको घरमा दुई गाडी बालुवा ल्याइदिनु परो अरे, खोलामा जान आँटेको ” बाबुले जवाफ दिए।
रमेशको दिमागमा अचानक विचार फुर्योर–खोलामै गएर नुहाउने अनि नुहाएपछि त  लुगा लगाए भैहाल्यो नि !

‘‘म पनि जान्छु,” उसले तुरून्तै आफ्नो इच्छा जाहेर गर्यो। 

बाबुले एकछिन यो र त्यो कुरा गर्दै अनुमति नदिने कुरा गरे। तर रमेशले नाक बजाउँदै केहीबेर जिद्दी गरेपछि स्वीकृति सूचक टाउको हल्लाए। ऊ तुरून्तै कोठाभित्र पस्यो र आफ्नो ‘प्यान’ बोकेर बाहिर आयो। सर्ट त पहिले पनि लगाइरहेकै हो–उसलाई प्यान्टसमै बढी दिलचस्पी थियो। 
जाने विषयमा आमाले पनि खासै आपत्ति जनाइनन्, तर जब उनको आँखा रमेशको हातमा झुण्डिएको प्यान्ट्समा पर्यो,, उनले तीव्र आपत्तिजनक स्वरमा कराइन् ‘‘प्यान चैं किन बोकेको नि ?” 
‘‘उहीँ खोलामा लाउनलाई” काखीमा प्यान्ट्स च्यापेर अलि पर भाग्दै करायो ऊ।

‘‘पर्दैन लानलाई, कसैको नभको तेरो प्यान, घरमा आएर लाउनू” आमाले प्रतिवाद गरिन्।

तर रमेश उनको वशभन्दा बाहिर गइसकेको थियो, काखीमा लुगा च्यापेर ऊ बाटोमा दौडिसकेको थियो। आमाले निकैबेर कराइन् तर के पत्तो लाग्थ्यो हार खाएर उनले छोडिदिइन्। 

तर सानो चैं भाइलाई आमाले जान दिइनन् , ‘सानो मान्छेले खोलामा जानु हुँदैन’ भनेर फकाइन्।

अनि बाबुको साथ लागेर दुई दाजुभाइ खोला तर्फको बाटो लागे।

बाबुले एकनासले गाडा हाँकिरहे। केटाहरू भने कहिले गाडामा बसेर गीत गाउँथे, कहिले उभिन्थे, कहिले गाडाको चक्का खाल्डोमा पर्दा असन्तुलित भएर गाडीभित्रै लड्थे र हाँस्थे अनि कहिले बालुवा नझरोस् भनेर गाडाको दुवै साइडमा लगाएको बाँसको बार समातेर हल्लाउँथे। 

यी सबै कृत्यहरू गरिरहँदा रमेशले आफ्नो प्यान्ट्स गाडाको बारमा झुण्ड्याइरहेको थियो। त्यसैले जे जे गरे पनि उसको अविच्छिन्न ध्यान चैं त्यसैमा केन्द्रित थियो।

ए, उनीहरू त आलोकको घर छेउ पो आइपुगेछन्! आलोकको घर खोलाको नजिकै थियो र खोलामा जाँदा उसकै घरअगाडिको बाटो भएर जानुपथ्र्यो। 

ओहो, आलोक अहिले बाटोमै वा बाटोबाट देखिने ठाउँमा भए त उसको प्यान पनि देखाउन मिल्थ्यो नि! रमेशले थाहा पायो उसको प्यान त गाडाको अर्को साइडमा पो झुण्ड्याइएको रहेछ, उसले हतार हतार त्यो उठायो र आलोकको घर पट्टिको साइडमा बाहिरबाट देखिने गरी झुण्ड्यायो। 

रमेशले आँखा तानीतानी बाटोमा वा घरको वरपर हेर्योा तर उसको महान् प्रदर्शनी अवलोकन गर्न आलोक कहीँ कतै नजर आएन।

आलोकको घर कट्ने बित्तिकै नजिकै आइरहको खोलाको आकर्षणले यी दाजुभाइलाई यसरी तान्यो कि उनीहरूले गाडाको धीमा गतिमा आफ्नो बेगवान गतिमा उड्न चाहिरहेको मनलाई नियन्त्रित राखिरहन सकेनन्। 

उनीहरू दुवैजना बुरुक्क हाम्फाले गाडाबाट र अगाडि दगुरे। केही पर सेतो वालुवा टल्केको खोलाको बगर लमतन्न देखेर उनीहरूको उत्तेजना झनै थामी नसक्नु भयो  र उनीहरू झन् वेगसँग दौडिए। 

खोलामा पानी धैरै नभएकोले बाबुले पनि उनीहरूलाई सतर्क गराइरहन जरूरी ठानेनन् र उन्मुक्त छोडिदिए उनीहरूकै हालतमा। 

बाबुलाई खोलासम्म आइपुग्न १० मिनेट जति लाग्यो, तर त्यतिबेलासम्म केटाहरू आ–आफ्नो कट्टु समेत खोलेर पानीमा पसेर एकअर्कालाई पानी छ्यापछ्याप गर्न थालिसकेका थिए। 

बाबुले एकनजर केटाहरूतर्फ हेरे र राँगाहरूलाई गाडीबाट अलग्ग नै नगरी धमाधम फरुवाले खन्दै खोलाको बालुवा गाडामा लोड गर्न थाले। केटाहरू सारा संसार बिर्सेर पानीमा खेल्न थाले ।

नुहाउनु के थियो र, बस पानीमा डुबुल्की मार्नु, बाहिर बालुवामा निस्केर लडिबुडी गर्नु र फेरि पानीमै हाम्फाल्नु—पूर्ण तल्लिनताका साथ उनीहरू यसै कृत्यमा हराइरहे।

लगभग २० मिनेट जति पछि असिन पसिन भएर बाबुले गाडामा बोक्न सकिने जति बालुवा लोड गरे र केटाहरूलाई बोलाए।  उनीहरू चिर्बिराउँदै दौडिए। 

अब नुहाइसकेकाले ‘प्यान’ लाउन पाइने विचार दिमागमा आउनासाथ उत्तेजनाको तरंगले रमेशको जिउ सिरिंग भयो। ऊ बेगवान गतिमा प्यान झुण्ड्याएतर्फको गाडाको बारतर्फ हान्नियो।

अचानक रमेशको सर्वांङ्ग चिसो भयो–भित्री हड्डीदेखि नै  काम्यो ऊ। मेरीबास्सै नि प्यान त छैन त ! लगभग बेहोसीमा नै उसले गाडाको पूरै फन्को मार्योि, अघि आउँदा गाडाको चक्काले बालुवामा बनाएको डोब आँखाले पहिल्याउँदै परसम्म हेर्यो,–अहँ कतै छैन। उसले अँध्यारो अनुहार लाएर रुन्चे स्वरमा बाबुलाई बतायो, ‘‘बुबा,  यीं राखेको थें, प्यान त छैन...।” 

“हऽऽऽऽ”  बाबु पनि एकपटक झसंग भए र तीव्र प्रतिक्रिया जनाए, “धेरै उम्लेको थिस् नि, खाइस् अब”

राँगा गाडालाई त्यत्तिकै छोडेर तीनैजना बाबु छोरा अलि परसम्म अघि आएको बाटो हेर्न गए–तर के भेटिन्थ्यो, कहाँ कतिखेर झर्योस झर्योम। सोधी हेर्नलाई वरपर कोही मान्छे थिएनन्, अब के नै गर्न सकिन्थ्यो र ! बाबुले माया मारे र फर्केर गाडी लिएर आए। 

एउटा असह्य जलनले रमेशको छाती पोलिरह्यो। ऊ भित्रभित्रै रोइरह्यो। उसलाई सारा वातावरण विरक्तिलो, निरस, र झर्को लाग्दो लाग्यो। सम्पूर्ण रूपमा हारेर, सेलाएर, सर्बस्व गुमाएर अत्यन्त विषादपूर्ण र तिक्त अनुभूतिका साथ निभेको अनुहार लिएर लख्रक लख्रक गर्दै ऊ घर आइपुग्यो।

जब घटना वृत्तान्त आमाको कानमा पर्योघ, क्रोध र विस्मातको मिश्रित भावले उनको अनुहारको रंग नै बदलियो। स्वभाविक रूपमा आवेशमा आएर उनले रमेशलाई कराइन्, “थुक्क अभागी ! त्यस्को थाङ्नो बोकेर नजा न विधाता भनेर मरिहत्ते गर्दा भएन असतिलाई, हेर कत्रो नास ! अब भुत्रो लगा न दसैंमा...।” रमेशले चुपचाप निहुरेर घुटुक्क पीडा निल्यो।

त्यसपछि दसैं आयो, सबैतिर रमझम भयो, दसैं सकिएर स्कुल लाग्यो। स्कुल फेरि बिदा भयो, तिहार आयो सकियो र फेरि स्कुल लाग्यो। एवं रितले समय बित्दै गयो। तर रमेशको पुरानो हाफ प्यान्ट्स परिवर्तन भएन। पुरानो भएर प्वाल परेर टालियो, तै पनि रमेशबाट मुक्ति पाएन त्यसले।

धेरै दिनपछि एकदिन शनिबार रमेश त्यही हाफ प्यान्टस् ल्याएर आलोककहाँ खेल्न पुग्यो। आलोक आफ्नो जिन्स र टि–सर्टमा चिटिक्क परेर बसेको भेटियो। रमेशले ट्वाल्ल परेर लोभलाग्दो नजरले आलोकलाई हेरिरह्यो र एकछिनपछि सोध्यो, “यो दसैंको लुगा हो ?”

“हो, अनि तेरो चैँ खोई त, कहिल्यै लाउदैनस् त ?” आलोकले प्रतिप्रश्न गर्यो। 

रमेशले इति वृत्तान्त सुनाउन थाल्यो। तर उसले पूरा कथा सुनाउन नपाउँदै आलोकले उछिनेर बोल्यो, “दसैंको टीकाको अघिल्लो दिन हो ? ए, हाम्री आमाले भेट्टाउनु भको थ्यो खोलातिर जाने बोटोमा, तर तँ त एकदम राम्रो छ भन्थिस् त तेरो प्यान, त्यो त राम्रो थिएन।”

अचानक रमेशका आँखा उद्विप्त भए, उसले हत्तारिएर सोध्यो,“खै त त्यो ?” “ए त्यो त मैले लाउँछु भनेको, आमाले दिनु भएन, सस्तो पोलिस्टरको  रहेछ, लाउँदा पास्छ, पोल्छ भनेर बुद्धेलाई दिनुभो ।”     

बुद्धे आलोकको खेतमा काम गर्ने लखन थारुको छोरो थियो, रमेशकै उमेरको। एकैछिनमा आलोकले बुद्धेलाई बोलायो, ऊ कुद्दै कुद्दै आएर उनीहरूको अगाडि उभियो।

आलोकले के भन्यो त्यसपछि रमेशले केही सुनेन। उसले आँसुले टिलपिल टिलपिल भएका आँखाले बुद्धेको शरीरमा उनिएको फोहोर र मयलले कटकटाइरहेको आफ्नो प्यान हेरिरह्यो।                                                                                                            


 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १०:५८
सिफारिस
अब इरानको आणविक कार्यक्रम के हुन्छ?
अब इरानको आणविक कार्यक्रम के हुन्छ?
किन बोलायो एमालेले सचिवालय बैठक
किन बोलायो एमालेले सचिवालय बैठक
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
कानको फोहोर किन फाल्नु हुँदैन?
कानको फोहोर किन फाल्नु हुँदैन?
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
अरनिको खोज्दैछ बेइजिङ
अरनिको खोज्दैछ बेइजिङ
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

त्यो ढिला थाहा पाएको प्रेम!
घमण्डी आभा!
म रुखसँग कुरा गर्न सक्छु!
बिरामी समय!
म शरणार्थी!
एक्लो मान्छे!

विचार

चेतनाथ आचार्य
अरनिको खोज्दैछ बेइजिङ चेतनाथ आचार्य
जीवन क्षेत्री
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि... जीवन क्षेत्री
गोकर्णप्रसाद उपाध्याय
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म गोकर्णप्रसाद उपाध्याय
डा. नूतनधर शर्मा
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक डा. नूतनधर शर्मा

ब्लग

अमृत ढकाल
मकै, ट्याम्पो, चिया पसल र इन्ड्राइभका गुनासा... अमृत ढकाल
विश्व पाण्डे
यदि म सरकारी जागिरे भएको भए! विश्व पाण्डे
गिरीश ठगुन्ना
पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो! गिरीश ठगुन्ना
दीपशिखा अर्याल
सबै जना अट्ने समिना दिदीको एक कोठे घर! दीपशिखा अर्याल

साहित्यपाटी

शान्तिप्रसाद जोशी (मुस्कान)
त्यो ढिला थाहा पाएको प्रेम! शान्तिप्रसाद जोशी (मुस्कान)
कविता कार्की
घमण्डी आभा! कविता कार्की
सन्दीप बस्याल
म रुखसँग कुरा गर्न सक्छु! सन्दीप बस्याल
नवराज जोशी
बिरामी समय! नवराज जोशी

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP