टुलके र मंगलीको सुन्दर जोडी। हरेक मेलापात, हाटबजार जहाँ जाँदा पनि सँगै हिड्थे। एकअर्कालाई खुब माया गर्थे। यी दुई जोडीको गाउँमा निकै चर्चा हुन्थ्यो।
खुसीका साथ दिनहरु बितिरहेको थियो। एक दिनको कुरा हो, दैव पनि अति साह्रै निष्ठुरी बन्यो। बिहे भएको ६ महिना नहुँदै मंगलीको बुढा (टुलके) गाडी दुर्घटनामा परि बित्यो।
मंगलीको टेक्ने जमिन भासिए झैँ भयो। हातखुट्टा लल्याक लुलुक्क भए। बाँच्ने रहर मरेर गयो। कस्का लागि बाँच्ने, किन बाँच्ने? यावत कुरा मंगलीको दिमागमा कालो बादल झैँ मडारिन थाल्यो। अनि देउरालीको पारीपट्टिको लाखू भिरबाट हाम फालेर प्राण त्याग्ने विचार गरि।
यतिकैमा फेरि टुलकेको ४ महिनाको चिनो आफ्नो कोखमा हुर्कीरहेको आभास भयो। मंगलीले त्यो पल सम्झिन पुगी कि जब पहिलो पटक टुलकेले तिनीहरुको मायाको कोसली बारेमा सुनेको थियो। उसको खुसीको सीमा रहेन, टोलभरी लड्डु बाडेको आदि-आदि। अनि आफ्नै पेटलाई दाहिने हातले मुसार्दै विचारिन कि दैव मसँग यति बिघ्न निष्ठुरी भए पनि म कसरी यो अबोध माथि निर्दयी हुन सक्छु र! त्यसपछि आफ्ना पाइला रोकिन्।
दिनहरु बित्दै गए। केही समयपछि मंगलीले छोरा जन्माइ। दिन गनेर छोरा पनि हुर्कदै गयो। छोरा बाहेक घरमा कोही थिएन। कहिले काहीँ उसलाई साह्रै निम्साहट लागे पनि छोराको मुहारमा टुलकेको प्रतिबिम्ब पाउथिन्। अझ भनौँ, त्यो छोराको एक मुस्कानले उनले सारा दुःख बिर्सेर रमाउथिन्। आफूमा ऊर्जा भरिएको महशुस गर्थिन्। यसैगरी दिनहरु बित्दै गएका थिए।
मंगलीको एक मात्र साहारा त्यो छोरालाई मंगली साह्रै माया गर्थिन्। आफूले मेलापात गरेर छोरालाई कसरी हुन्छ मिठो खानाको जोहो गर्थिन् र आफूले आटो, ढिडो, पीठो खाएर छाक टार्थिन्। मेरो बुढेसकालको साहारा यही त हो नि भनेर आफूले निकै दुःख गरेर छोरालाई नजिकैको स्कुलमा पढाएकी थिइन्।
छोरा पनि मिहेनती नै थियो। सधैँ कक्षामा अब्बल आउथ्यो। मंगलीको छिमेकी सबैले भन्थे, यसको छोरा पछि गएर ठूलो मान्छे बन्नेछ। यसले मंगलीलाई राम्रोसँग पाल्नेछ। भनिन्छ, आमा भनेको धर्ती हो, बुवा भनेको आकाश हो। उसले आमाको भरपूर माया स्नेह पाएको थियो तर बुवाको आभास भने थिएन। त्यसैले होला अलि पुल्पुलिएको थियो।
अबिरल बग्ने नदीको पानी जस्तै बग्ने समय कति छिटो बगेछ की अब त मंगलीको छोरो गाउँका दुई जना साथीहरुसँगै विदेश (अमेरिका) पढ्न जान पाउने छात्रवृत्ति पायो। यो कुराले दुबै आमाछोरा अंगालो हालेर सुखद् भविष्यको कल्पना गर्दै खुब रोए।
छोराले भन्यो 'आमा, अब म विदेश गएर धेरै पैसा कमाउछु र छिटै यही फर्केर आउछु अनि सुख साथ आमा छोरासँगै बसौँला। यतिका समय हजुरले धेरै दुख गर्नु भयो, अब केही समय अझै कुर्नु होला।'
छोराको मिठो कुराले मंगली फुरंग थिइ। उसले टुलकेलाई सम्झन पुगी। आज टुलके पनि सँगै भएको भए छोराको कुराले कति खुसी हुन्थ्यो होला।
केही दिनपछि एकदिन बिदाको लागि छोरो पछाडि ब्याग भिरेर एउटा हातमा सानो झोला लिएर पिँढीको अघिल्तिर आँगनमा मंगलीको अगाडि उभियो। वरिपरि मंगलीका छिमेकीहरु जम्मा हुँदै थिए।
मंगली गहभरी आँसु बनाउदै छोरालाई टिका लगाउदै आशीर्वाद दिँदै भनी 'जहिले पनि आफ्नो मनको कुरा सन्नु, दुविधा भएमा कुरा सबैको सन्नु, ब्रम्ह सम्झेर आफ्नै निर्णय लिनु, जानी-जानी अरुको आत्मा रूवाउने काम कहिल्यै नगर्नु। आत्मैबाट निस्केको श्रापले देउतालाई त लाग्छ रे बाबु। बेलाबेलामा यो बुढी आमालाई सम्झेर फोन गर्दै रहनु' आदि आदि।
जब छोराको बिदाइ भयो, त्यो दिन मंगलीलाई साह्रै नरमाइलो लागेको थियो। उसलाई कता-कता लाग्न थाल्यो, छोरालाई विदेश पठाएर ठूलो गल्ती त गरिनँ! यही नेपालमा उनको छोराले उनलाई के पाल्न सक्थेन र? पहिला रुखोसुखो खाएर उनले छोरालाई पालेकै थिइन्। अहिले लक्का जवान भैसकेको छोराले उनलाई पाल्न नसक्ने त कुरै थिएन।
मंगली सोच्न थाली, आखिर किन उनको छोरा विदेश जानु पर्यो त? छिट्टै धेरै पैसा कमाउन विदेशीनेको लहरसँगै विदेश जानु पर्ने के यो समयको दोष हो या उनीहरुको सुखी हुने चाहनाले मुटुको टुक्रासँग बिछोडिनु पर्ने आफ्नै दोष हो। सुखका लागि विदेशिनु पर्ने यो दोष कसको होत? यावत कुरा मनमा खेलाउदै आफ्नो भाग्यको दोषको नतिजा निकालेर छोरालाई सम्झदै दिनहरु बिताउदै थिइन्।
केही समयपछि उसको छोराको उतै विदेशी केटीसँग बिहे भयो। ऊ उतै रमाउन थाल्यो। उसका अमेरिका बसाइका लागि चाहिने आधारभूत आवश्यकताहरु पूरा गर्न पनि धेरै वर्ष लाग्यो। केटाकेटीहरु जन्मे। उनीहरुको लालनपालन गर्नमै दिनहरु बित्न थाले।
उसलाई आमाको कहिले काहीँ सम्झना आउथ्यो तर के गरोस्, केही गर्न सक्थेन। आमालाई उतै लैजान पेपरहरु पनि नमिलाएको पनि हैन, तर भिसा लागेन। पछि मंगलीलाई उता जान मन लागेन। कहिलेकाहीँ ऊ २/४ महिनाको लागि नेपाल त आउथ्यो तर २/४ हप्तामै फर्केर जान्थ्यो।
मंगलीले यतै बसम्। अब यतै आइजा बाबु भन्थी। उसले हुन्छ आमा भन्थ्यो तर ऊ कहिल्यै नेपालमा स्थाइ रूपले बस्ने विचार पनि गरेन। ऊ उतै रमाउन थाल्यो, अझ भनौँ उतै संघर्ष गर्दै तालुका रौहरु फुलाउन थाल्यो।
यता मंगली एक्लै थिइ। दिनहरु उसलाई अशक्त बनाइरहेको थियो। अब उसलाई छोराको हेरचाहको खाँचो थियो। बुढेसकालको सहाराको निम्ति उसले गरेको त्याग र समर्पणको पैचो छोराले तिर्नुपर्ने थियो। के यो बुढेसकालमा एकलो हुन उनले यी सब गरेको थिइन् र?
छोराको यादमा मनमा गैरहने पहिरो सम्हालेर छोराको बच्पनको मुहारको मुस्कान सम्झन्थिन्। उनलाई लाग्यो नरूनी बच्चालाई आमाले पनि दूध खुवाउन बिर्सन्छन् भने झैँ छोरालाई नेपाल बोलाउन पहिलेको कुराहरु सम्झना होस् र आफ्नो कर्तब्यबोध होस् भनी सिलोटको कसौडी (मंगली आफूले आटो ढिडो खान्थिन् तर छोरालाई सिलोटको कसौडीमा मिठो खाना पकाएर खान दिन्थिन्) उतै छोरा भएको ठाउँ पठाई दिइन्।
चिठ्ठी लेख्ने, खबर पठाउने, फोन गर्ने यावत कुराहरु उनले गरिन्। बाध्यता र विवशताले होला सायद, ढुंगा जस्तो कठोर बनेको छोराको मन निमेष पनि पग्लिएन। ऊ अलि बढी प्र्याक्टिकल भईसकेको थियो। म नेपाल गएर फाइदा के? आमा आजसम्म जसरी बस्नु भयो त्यसरी नै बसी हाल्नुहुन्छ नि। के गाह्रो छ र?
आजकल त छोराले फोन पनि गर्न छाड्यो। आफ्नै गोडाले जीउ धान्न नसक्ने बेला उनी झन् झन् रुखो समय भोग्दै छिन्। यो बुढेसकालमा उनलाई हात काम्ने रोग लाग्यो। कुनै सामान समात्न खोज्यो कि पल्टिन्छ, कि पोखिन्छ। खाना बनाउन लाग्दा कति पटक उनको खाना भुइभरी पोखियो।
यस्तो लाग्छ, जो कमजोर छ उसलाइ नै एक माथि अर्को पीडा परिरहन्छ। सायद भगवानलाई पनि लाग्दो हो, अनुभवीले नै पीडा सहन सक्छ। त्यसैले होला मंगलीले जीवनभर दुःख पाइरही।
यावत दुःख र छोराको सम्झना मंगलीका आफन्त भए। एकदिन तिनै आफन्तको माझ पिँढीको डिलमा बसेर छोरा आउने बाटो एक तमासले कहिल्यै आँखा नचिम्लने गरी हेरिरहिन्।