उमेरले ५० काटेका जेठा बा गाउँकै भलाद्मीमा गनिन्थे। यसो हेर्दा सर्लक्क परेको कल्साउँदो जीउडाल, उनी हेन्डसम देखिन्थे।
जेठा बा सधैं तर्क संगत वजनदार गफहरु गर्दथे। उनको गफले अरुलाई जित्नै पर्थ्यो। कहिलेकाहीं उनका तर्क गलत पनि हुन्थे। आफ्नो कुरा सुनुवाइ नभएमा त्यो ठाउँमा एकछिन पनि बस्दैन्थे। त्यसैले होला उनलाई सबैले घमण्डी बुढा पनि भन्दथे।
घरमा उनकी बुढी (जेठी आमा) र एक मात्र छोरो थियो। जेठा बाले बिहे गराइ छोरा बुहारी दुवैलाई विदेश पढ्न पठाए। छोरा बुहारीलाई विदेश पठाउन सफल भएकोमा उनी निकै गर्व गर्दथे। उनलाई केही कुराको टेन्सन थिएन। बेलाबेलामा छोराबुहारीले पैसा पठाइ दिएकै थिए। कहीं कतै चन्दा, दान, सहयोग गर्नु परेमा दिल खोलेर सहयोग गर्दथे।
उनको भाइको छोराको नाम अनिल थियो। बेलाबेलामा जेठा बाले अनिललाई ‘तैले यहाँ केही गर्न सकिनस्, तँ पनि विदेश जा!’ भनी ताना सुनाउँथे। कहिलेकाहीँ जेठाबाले सबैको सामुन्ने यो हाम्रो श्रवणकुमार हो भन्दा अनिललाई खपि नसक्नु हुन्थ्यो।
अनिललाई जेठा बाको कुराले आफ्नो स्वाभिमानमा ठेस लागे झैं हुन्थ्यो। जेठा बाले अनिललाई गन्दै गन्थेनन् तर ऊ भने जेठा बालाई केही भन्न सक्दैन थियो। उनलाई आफ्नो अभिभावक मान्थ्यो।
एकदिनको कुरा हो, कटेरो नजिकै रहेको परालको टौवाबाट लडेर जेठा बाको खुट्टा भाँचियो। ढाड सड्कियो। सबैभन्दा पहिला अनिल नै पुगेर जेठा बालाई हस्पिटल पुर्यायो। २,३ दिनपछि, हस्पिटलमा उपचारको सबै प्रकृया सकिएपछि अनिलले जेठा बालाई घर लिएर आयो। घर आइपुगेपछि पनि जेठा बाको त्यही रोत्रोत। अनिललाई अति रिस उठ्छ अनि औंसीको आकाश झैं कालो अनुहार बनाइ केही नबोली आफ्नो घर जान्छ।
भोलिपल्ट बिहानै हातमा भएको चियाको अन्तिम चुस्की सँगै अनिलले ‘मेरो छोरासँगै पढेकाहरु यतै बरालिरछन्, मेरो छोरो हेर्नुस् विदेशा पुग्यो’ भन्दै घमण्ड गरेका उनी आजकल एक्लै बिस्ताराँ लडिरहेछन्’ भन्दै दाँत किटेर, दाहिने हात मुठी पारेर देब्रे हातको हत्केलामा बेसरी बजाउँदै आफ्नी बुढीसँग रोष प्रकट गर्दछ। फेरि एकछिनपछि आज त बुढालाई थेरापी गर्न लैजानु पर्ने हो भन्दै हस्पिटल तिर कुदाउँछ।
जेठा बालाई करिब एक महिनासम्म थेरापी गराउन आउजाउ गर्नु पर्ने हुन्छ। त्यही क्रममा एकदिन जेठा बाले अनिललाई गहभरि आँसु झार्दै भन्छन् 'हेर बाबै! आज तलाई एउटा कुरा भन्छु ध्यान दिएर सुन है, नरिसा। मेरो पनि छोरो बुहारीसँगै बस्न त मन हो नि, तर के गर्नु! मान्छे भएपछि समयको चक्र के छ, समाजमा चलन के चलिरहेछ, त्यो बुझेर समय अनुसार आफू पनि काम गर्नु पर्छ। आफूलाई त्यही अनुकूल ढाल्नु पर्छ।
हाम्रो पालामा पहाडमा निकै दुःख थियो। खान, लाउन राम्रोसँग पाइदैनथ्यो। त्यतिखेर सबैजना तराई तिर झर्ने चलन आयो। प्रायः मान्छे यतै झरे। घर र प्रशस्त बारी जोडे। सबैलाई सुबिस्ता भयो। अचेल त्यही करोडौंको सम्पति भएको छ। त्यस्तै आजभोलि विदेश जाने लहड चलेको छ। त पनि विदेश जा। धेरै वर्षसम्म एउटै मुलको पानी खाने छोरो काम लाग्दैन बाबै!
'जेठा बा, मैले पनि त यहाँ जागिर खाइराछु त, घर व्यवहार चलेकै छ। किन विदेशै जानु परो र, आखिर सबै विदेश गएपछि यहाँको हालत के होला? मान्छे मर्दा मलामी समेत पाइदैन।'
जेठा बा झर्किदै 'यहाँको ठेक्का सबै तैले मात्र लिएको छस र! पहिला तँ जा तो सही, मलामी सलामी जो होगा सो देखा जाएगा!'
जेठा बाका यस्ता खालका तर्कले अनिल वाक्क दिक्क भयो। अनि ऊ केही बोलेन।
विदेशलाई कर्मथलो बनाई छोरा बुहारीले गरेको पौरख साथै उनीहरू बसेको ठाउँ कस्तो छ, हेर्न मन लागेको बेला जब नाति जन्मिएको खबर जेठा बाले थाहा पाए। उनलाई नातिलाई कतिखेर भेटौं भन्ने हुटहुटी लाग्यो। कागजपत्र मिलाउँदा मिलाउँदै केही समय लागे पनि बुढाबुढी दुवैलाई भिसा लागेपछि सँगै विदेश उडे। करिब ३ महिना विदेशको बसाइपछि जेठा बा जेठी आमा घर आए। अनिल पनि जेठा बा जेठी आमालाई भेट्न उनकै घर गयो।
'जेठा बा ढोग गरेँ।'
'ल भाग्यमानी भएस्।'
'अनि कस्तो लाग्यो त विदेश?'
(जेठा बाले थकित मुद्राको रियाक्ट गर्दै) बैकुण्ठ हो बाइ बैकुण्ठ! (मुसुक्क मुस्कान छाड्दै) जातिबित्ति साफ सफाइ। त्यस्तो त यहाँ कहिले होला र खै! (टाउकाको टोपी झिकेर पट्टाउदै) एक पटक त घुम्न जानु पर्ने ठाउँ र छ।
'ए होर! अनि सुनाउनुस् न तीन महिना कहाँ कहाँ घुम्नु भयो, के के गर्नु भयो?'
'सुरु सुरुमा ३,४ दिन जति कोठामा बसिरहनु पर्दा खुब अत्यास लाग्यो। लिफ्टबाट आफै झरेर नजिकैको पार्क तिर जान थालेपछि त रमाइलो लाग्न थाल्यो। पछि पछि त छोराबुहारी काममा गएपछि बुढी नाति हेरेर बस्थि, म पार्क तिर डुल्न निस्कन्थेँ। कहिले काहीँ नेपाली भेटिन्थे। गफगाफ हुन्थ्यो।
पार्कबाट अलि पर एउटा राधाकृष्णको मन्दिर रैछ। त्यहाँ कहिलेकाहीं निकै भिड लाग्ने गर्थ्यो। नेपालीभन्दा पनि खैरेहरु धेरै हुन्थे। सबै मिली भजन गाउथ्यौँ। रमाइलो हुन्थ्यो। मन्दिरमा आउने प्राय: सबै नेपालीले मलाई चिन्थे, कारण फेसबुक रैछ। आफ्नो बिदाको दिन छोराबुहारीले घुमाउन लैजान्थे र फोटोहरु फेसबुकमा राख्दा रैछन्। जमाना नि कति सजिला आएका हुन्।
आज जेठा बालाई मैले घुमाउने हो भन्दै कता हो कताबाट छोराका साथीहरु कार लिएर आएर दिनभरि कहिले कता कहिले कता लैजान्थे। म पनि घुम्न पाउँदा गइदिन्थेँ। जेठा बाले जही तहीँ केही खाँदैनन् भनेर फलफूल त कति खाऊ, टन्नै ल्याइदिने।
एकपटक त कहिल्यै नचिनेको मान्छे सोधखोज गर्दै मलाई भेट्न आयो। को रैछ भनेको त पारि गाउँको तल्ला घरे कान्छालाई नेपालमा एक पटक गुन लगाएको थिएँ। उसले नेपालबाट आफ्नो छोरालाई फोन गरेर जेठा बालाई जसरी भए पनि भेट्नु भनेर पो मलाई भेट्न आएको रैछ।
उसले पनि आज जेठा बालाई मैले घुमाउन लान्छु भनेर दुई चार दिन घुमाउन लग्यो। पछि घरमै ल्याएर छोडी दियो। जाने बेलामा नेपालको करिब ४० हजार जति रुपैयाँ दिएर गयो।’ (अनिलले जेठा बाको कुरा अचम्म मानेर ध्यान दिएर सुनेको थियो। जेठा बा पनि हात हल्लाइ हल्लाइ कुरा गरिरहेका थिए।)
'भनेपछि खुब रमाइलो पो भएछ। यता तिरको याद आएन होला है?'
'याद त आइ हाल्छ नि कहिले काहीँ। तर जे होस्, तीन महिना कसरी बित्यो पत्तै भएन।'
'अनि जेठा बा, त्यहाँ तपाईलाई नौलो लागेको के कुरा थियो भन्नुस् न त अब।'
(मनमा केही गम्दै..) हाम्लाई नौलो त सुरुमै जहाज चड्दा खेरिबाट लाग्यो नि। त्यही हो! त्यहाँ अचम्म लाग्दा धेरै कुरा रैछन्। कोही पनि कतिखेर पनि फुर्सदिला नाइ, सबै बिजीको बिजी। सधैं जतिखेर पनि हतार। कहीं जाँदा पनि पैसा बोकेर हिँड्न नपर्ने। एउटा कार्ड हुँदो रैछ। त्यही लिएर हिंडे हुने।
अँ… एउटा कुरा, त्यहाँ त एकैपटकमा अलि धेरै खाना पकाउने अनि फ्रिजमा राख्ने अनि एउटा यत्रो (हातको इशाराले देखाउँदै) मेशिन हुँदो रैछ। त्यहाँ खानेकुरा राखेर बटन दबाएपछि एकैछिनमा तातो हुँदो रैछ। अनि त्यही खाएर काममा जाँदा रैछन्। काम पनि पेलान हुँदो रैछ, बेलुका लखतरान भएर आउँदा रैछन्।'
'काम त्यही पेलान भएर त होला नि पैसा पनि राम्रै कमाउँदा होलान् नि है जेठा बा'
'खै! होला नि अब। त्यसरी नै यही पनि काम गरे त राम्रै पैसा कमाउन सक्थे, हैन र! विदेशमा भएपछि काम जस्तो गाह्रो भए पनि पैसाले सबै बिर्साइ दिने रैछ। त्यहाँ अरु त सबै ठिकै हो तर अल्लि...।' (बुढाले बीच मै कुरा रोके)
'के अल्लि जेठा बा?'
(कुरा टार्दै...) 'ह्या छाड यस्ता कुरा, बरु सुना तेरो नयाँ हल्लीचल्ली के छ? लोकसेवामा नाम निस्क्यो।'
अचेल जेठा बा र अनिलको खुब दोस्ती जमेको छ। जेठा बाले अनिललाई टोक्न छाडेका छन्। कहीं कतै जानु परेमा दुवै जनासँगै जान्छन्। विदेश घुमेर आएका जेठा बालाई कसैले कस्तो लाग्यो त नि विदेश भनेर सोध्दा अरु त सबै ठिकै हो, तर अल्लि भन्थे।
जेठाबाले भन्न खोजेको तर अल्लिको अर्थ के हो? उनले के भन्न खोजेका थिए? यो कुराको रहस्य जेठाबाको मृत्युसँगै अलप भयो।