एउटा गाउँमा दुई जना ब्यक्ती थिए। उनीहरू एक जनाको नाम आपु च्याङ र अर्कोको नाम च्या पाङु थियो। एक दिनको कुरा हो, दुई साथीहरू गाउँबाट केही दिनका लागि घुम्न सल्लाह गरेछन्।
दुवै जनाको सल्लाह अनुरूप, उनीहरू गाउँबाट निस्केछन्।
हिँड्ने क्रममा बाटोमा महिलाको एक हुलले खेत गोडिरहेका थिए र आपु च्याङ ले भनेछन्,
आपु च्याङ: म त्यहाँ भएको एउटा महिलाको हातबाट रगत निकाल्दिउँ?
च्या पाङु: अह! निकाल त, म पनि हेरौं, कसरी निकाल्दो रहेछस्, मस्तले काम गरिरहेको मान्छेको हातबाट तिमी कसरी रगत निकाल्छौ?
त्यसो भए ल हेर हही त तिमी, भन्दै आपु च्याङ महिलाले नदेख्ने गरि खेतको माथिल्लो डिलमा गाडा नजिकै कुनामा गयए। त्यहाँ गएर उनले सानो खाल्डो खने। त्यहिँ खाल्डोमा केही सिस्नु काटेर हालिदिए फेरि त्यहिँ सिस्नुलाई थोरै माटोले छोपेर राखे र उनी आफ्नो साथी भएको ठाउँमा आए।
आपु च्याङ: ल हेर है त मेरो करामत।
केही बेरपछि महिलाहरू गफिँदै, गोडमेल गर्दै खेतको डिलमा पुगेछन् र एक जना महिलाले गोड्ने क्रममा गाडेको सिस्नोलाई समात्न पुगेछिन्। ती महिलाले आथ्था था! भन्दै हात हल्लाइन्, हात हल्लाउने क्रममा हात खेतको पर्खालमा लागेर औंलाबाट रगत आएछ।
आपु च्याङ: देखिस् त, मेरो कला।
च्या पाङु: अहो, तिमीले त बडो करामत पो गर्यौं त। त्यसपछि दुई जना त्यहाँबाट अगाडि बढे।
यात्रा अगाडि बढाउँदै जादाँ उनीहरू एउटा चउरमा पुगे। चउरको केही पर दुई बुढाबुढी गफ गरेर घाम ताप्दै थिए।
त्यतिकै मा,
च्या पाङु: अघि तिमीले एक जना महिलाको हातबाट रगत निकाल्यौ, अब म त्यो दुई बुढाबुढीको झगडा गराइ दिउँ त?
आपु च्याङ्: ल गराइ देउ त, त्यहाँ मान्छे त्यस्तो गजबले मिलेर बसिरहेका छन्, गफ गरिरहेकोलाई कसरी झगडा गराइदिन्छौ? म पनि हेरम तिम्रो शक्ति।
च्या पाङु: त्यसो भए ल हेर है त, मेरो करामत।
च्या पाङु केहि पर गएर बुढो बाजेलाई बोलाए।
च्या पाङु: ‘बाजे ! बाजे ! हजुर एक चोटि यहाँ आउनुस् त एउटा कुरा भन्नु छ,’ भनेर बोलाए।
बुढोबाजे हजुर हुन्छ, भन्दै, च्या पाङु भएको ठाउँमा आए।
बुढो बाजे: भन त बाबु के भन्नु छ?
च्या पाङु: बुढोबाजेको कानको नजिकै ‘केही पनि छैन’ भने।
अनि बुढोबाजे फर्केर आफ्नो बुढीको छेउमा गएछन र बुढी चाहिले सोधिन्।
बुढी बज्यैः ए बुढो के भन्यो ती नानीले? कानमा के कुरा गर्यो?
बुढो बाजे: के भन्नु बुढी, त्यसै ‘केही पनि छैन’ भनि कानकुसे गर्यो।
बुढी बज्यै: तपाईँ मलाई ढाँट्ने, अर्काले कुरा गरेको पनि मलाई नभन्ने, भन्दै दुई जना झगडा गर्न थाले।
दुई बुढा र बुढी झगडा, आपु च्याङ र च्या पाङु दङ्ग पर्दै हेरिरहेका थिए। फेरि आपु च्याङले भनेछन्।
आपु च्याङ: तिमीले दुई जनाको झगडा त्यतिकै गरायौं, अब म दुई जनाको झगडा मिलाई दिउँ त?
च्या पाङु: मिलाउ त मिलाऊ। म पनि हेरौं कसरी मिलाउँदो रहेछ।
आपु च्याङ ल हेर है त, भन्दै केही पर गएर बुढी बज्यैलाई बोलाएछन्।
आपु च्याङ: बज्यै एकपल्ट यहाँ आउनुस् त, एउटा कुरा भन्नु छ भन्दै बुढीबज्यैलाई बोलाए।
बुढी बज्यै: हस भन्दै, आपु च्याङ भएको ठाउँमा आईछिन्।
बुढी बज्यैको कान नजिकै गएर, आपु च्याङ: ‘केहि पनि छैन’ भनेर भनेछन्।
अनी फेरि बुढी बज्यै आफ्नो बुढा भएको ठाउँमा गइछिन्।
बुढी बज्यैः बुढा तपाईँ सही रहेछ, बेक्कारमा मैले तपाईँलाई शंका गेरेछु अघि, मलाई पनि त्यहीँ ‘केहि पनि छैन’ भन्यो। नरिसाउ है मेरो बुढो, मैले ब्यर्थै हजुरलाई शङ्का गरेछु। रिसानि माफ पाउँ बुढा। भनिन्।
बुढो बाजे: ल ठीक छ बुढि, भन्दै दुई जना फेरि मिलेर गफ गर्न थाले।
आपु च्याङ: ‘देख्यौं तिमीले गराएको झगडा मैले कसरी मिलाएँ,’ भन्दै च्या पाङु र आपु च्याङ केही दिनको घुमफिर पछि त्यहाँबाट आफ्नो गाउँ फर्किए।