सूर्योदयभन्दा अघिबाट सुरु हुने उनको दैनिकी
चलिरहन्छ एउटै रफ्तारमा
रोकिँदैन
सानातिना थकाइका बोझहरूले
झिना मसिना रोग अनि शोकहरूले।
हरेक बिहान-
चियाको चुस्कीमा भेटिने उनलाई
खानाको मिठो स्वादमा उसै गरी भेट्न सकिन्छ
अफिसका फाइलहरूमा पोखिने उनको मेहनतले
गाढा रङ्ग ल्याएकै छ
घरमा रुँदै कुरिरहेको सन्तानलाई
ममत्व पोख्न पनि भ्याएकै छ।
लखतरान भएर साँझमा घर फर्किएकी उनी
फेरि उसै गरी मेसिनझैँ जोतिइरहन्छिन्
भान्सामा, छोराछोरीको गृहकार्यमा
अनि पतिको लागि ओछ्यानमा
आफ्नो लागि त सास फेर्नेसम्म फुर्सद छैन उनलाई
आफूलाई नियालेर हेर्नेसम्म फुर्सद छैन कठै!
यसको बदलामा उनले पाउनु पर्ने हो
स्याबासीको तक्मा
प्रशंसाको सुन्दर फूल
अनि आरामको ओखती
तर बदलामा मिलिरहेछ
सासूबाट-
कसैको नभएको काम
पतिबाट-
हामीले चाहिँ काम नै नगरेको जस्तो
भन्ने छुरा रुपी वचन
चाहे हेरौँ सीतालाई
या हेरौँ द्रौपदी अथवा सकम्बरी
लाग्दैन युगहरू नारीको लागि झन् जटिल हुँदै गएको?
झन् कठिन हुँदै गएको?
मेरो आमाको संघर्ष चुलो चौकामा मात्रै सीमित थियो
आजकी नारीको संघर्ष
चुलो चौकाबाट सुरु भएर
अफिस हुँदै मातृत्व, आत्मसम्मान,
आत्म पहिचानसम्म ठोक्किइरहन्छ।
देवीको दर्शन गर्न हजारौँ माइल कुद्ने ए सासू आमै
देख्न सक्यौ त आफ्नै घरकी लक्ष्मीको आँसु?
दस दुनियाँको खबर राख्ने ए श्रीमान् ज्यू
राख्न भ्याएका छौ त
आफ्नै श्रीमतीलाई डिप्रेसन भएको खबर?
पर्दाका नायिकाहरूको सुन्दरतालाई जूनसँग तुलना गर्ने तिमी
पोख्न सकेका छौ त
आफ्नी जिन्दगीको नायिकाको तारिफमा दुई शब्द?
बन्न सकेका छौ त
दुःख बिसाउने साथी?
परम्परागत लोग्नेभन्दा माथि
भन्न सकेका छौ त
तिमीलाई पनि थकाई लाग्यो होला
तिमीलाई पनि गाह्रो भयो होला
एकैछिन आराम गर न
आज मै पकाइदिउँला खाना
आज मै लगाइदिउँला कुचो
मै माझिदिउँला भाँडाहरू पनि?
महिला सशक्तीकरणका ठुला-ठुला भाषण गर्ने
ए हाकिम साहेब
मुक्त हुन सकेका छौ त महिला कमजोर हुन् भन्ने भ्रमबाट?
दिन सकेका छौ त
योग्यता अनुसारको जिम्मेवारी, मान अनि सम्मान?
हरेक कठिनाइहरूसँग जुध्दै
घर, परिवार, समाज, करियर सबैलाई
उस्तै सन्तुलनमा राख्न सक्ने
जस्तै तुवाँलोको बिच पनि
जून बनेर चम्किन सक्ने
खुट्टा तान्नेहरूको हजार जमातलाई मात खुवाउँदै
प्रगति पथमा लम्किन सक्ने
ए! आधुनिक गृहिणी
तिमीलाई सलाम छ।