आँसुको पानीसँग कुनै सम्बन्ध नहोला तर जब आँसु आउँछ त्यसलाई छोप्न पानीको साथ जरूरत हुन्छ। एक अञ्जुली पानीले हजारौं आँसुका थोपालाई क्षणभरमै मिश्रण गरिदिन्छ।
त्यस्तै एक मान्छेको जीवन पनि अर्को मान्छेसँग कुनै सम्बन्ध हुँदैन तर जब त्यही मान्छेलाई हजारौं चोट र पिरको भूमरीबाट बाहिर आउन कसैले हात मात्र समाती दिए पनि उसले सहजै विश्रामको श्वास फेर्न सक्छ।
मैले पनि मेरो जीवनको लहरालाई परसम्म पुर्याउन, उनको काखलाई दुःख बिसाउने चौतारी बनाउन, अंगालोको मेहेन्दी लगाउन, दुवैको सपनालाई एउटै पानामा लेखेर लामो कथा बनाउन उनको साथ रोजेको थिएँ।
विवाहमा सात जुनीसँगै बिताउने भन्दै अग्नीलाई साक्षी राखेर कसम खान्छन्। तर ती कसम अहिले मण्डपमा अग्नीको ज्वालामा स्वाहाको अगाडि र पछाडि जोडिने मन्त्रका हरफ मात्रामा सीमित रहेका छन्।
मण्डपका सात जुनीका कसम मात्रै होइन पहिले नै हजारौं जुनीका कसम समेत खाइसके कि उनले चार वर्षको हाम्रो सम्बन्धलाई समेत जोगाउन सकिनन्। रोशुसँग मेरो भेट कक्षा ९ पढ्दा भएको थियो। उनलाई पहिलो पटक देख्दाको क्षणको याद मलाई अहिले पनि आउँछ। चट्ट मिलेको जिउडाल माथि निला पानीका तलाउ जस्ता शान्त स्वभावमा देखिने नयनको बीचमा सर्लक्कै परेको नाकले अनुहारको सुन्दरतालाई निखारेको थियो। निला पानीका तलाउमा डुबिरहन मन लाग्ने, ती कोमल कपासजस्ता हातहरूलाई स्पर्श गरी रहन मन लाग्ने। मानौं, हजारौं सुगन्धित फूलहरूको बगैंचामा म एक्लो भमरा बनी डुलिरहेको छु।
सायद, त्यो भमारालाई थाहा थिएन होला एकदिन ती फूलहरूको माली आएर फूलका बोटहरूलाई फडानी गर्दै आफ्नो लागि लैजाने छ भनेर। रोशुको लागि पनि गाउँको एक जना पुर्खौं देखिको खानदानी केटो माली बनेर आफ्नो लागि लिन आयो। त्यति बेला म भमरा बनेर फूलको बगैंचामा डुलिनैरहेको थिएँ। प्रकृतिमा पाइने फूलहरूको आयु कति हुन्छ त्यो त मलाई थाहा छैन तर मेरा लागि फुलेकी ती फूलको आयु भने चार वर्ष मात्र रह्यो।
स्कुले जीवन सकाउन हामीले ११/१२ कक्षा पनि सँगै एउटै स्कुलमा पढ्यौं। हाम्रो स्कुल एउटै भए पनि फ्याकल्टी फरक थियो। उनी कमर्सको फ्याकल्टीमा छिरिन् म भने कानुनको फ्याकल्टीमा छिरेँ। सायद, हाम्रो पढाइले पनि हामीलाई छुट्याउन खोजेको थियो होला। उनलाई पनि कानुन नै पढ्न भनेँ तर मानिनन्। त्यसपछि हाम्रो भाषा नै मिलेन। उनले केही बिग्रिए वा समस्या भए पर्खिन भन्दै कुर्सी देखाउँछिन् भने मेरो चाहिँ अदालतको कठघरा देखाउने। अनि कसरी मिलोस् र। अरू समयमा भेट नभए पनि टिफिनको समयमा १५ मिनेट जति सधैं भेट भै राख्थ्यो। यसो गर्दै एक वर्ष बित्यो १२ कक्षा सुरू भयो। अब भने ध्यान दिएर राम्रोसँग पढ्नु थियो। भेटघाट पातलिँदै गयो। घर पुगेपछि एक दुई घण्टा जति फोन कल हुन्थ्यो। दसैं तिहारको छुट्टी भयो। त्यो बेला सबै घरपरिवार भएको ठाँउ जान्छन्। हामी पनि छुट्टी पारेर आफ्नो आफ्नो घर गयौं। त्यही बेला उनको घरमा बिहेको कुरा चलेको रहे ।
छोरी, 'केटो राम्रो छ, घरपरिवारमा पनि राम्रै छ, ठूलो खानदानको केटा हो। हेर बेलैमा राम्रो पाएको बेला बिहे गरिहाल्नु पर्छ। नाइँ भन्न पाइँदैन है' उनका बुबाले भनेछन्।
बुबाको कुरा काट्न नसक्ने उनी आमासँग भने जिद्दी गर्दै अहिले नै बिहे गर्दिनँ भनिछन्। बुबाको अगाडि आमाको पनि केही नचल्ने भएपछि बिहेको कुरा छिन्दै केटी १२ कक्षा सकिएपछि बिहे गर्ने बाँकी पढ्न चाहेमा बिहेपछि केटाले नै पढाउँछु भनेर बिहे पक्का भएछ। यति हुँदा पनि उनले मलाई केही भनेकी थिइनन्। सायद, यो सम्बन्ध उनलाई पनि मनदेखि नै स्वीकार थियो होला।
बिदाको समय सकिएसँगै कक्षाहरू पुन: सुरू हुन थाले। १२ कक्षाको परीक्षा फारम भर्ने बेला आयो। कक्षामा शिक्षकहरूले पढाइ सकेर रिभिजन हुँदै थियो। यही बेलामा उनले पनि हाम्रो सम्बन्धको बारे रिभिजन गरिन् होला कुरा हुनै छाड्यो। परीक्षा मिति पनि आयो। परीक्षा सकिएसँगै म विदेश जाने कि स्नातक बिएएलएलबी पढ्ने भनेर तयारी गर्न थालेँ। उता उनी भने बिहेको तयारी गर्न थालिछन्। ब्याचलर पढ्ने भनेर इन्ट्रान्स परीक्षा दिए इन्ट्रान्सको नतिजा पनि आयो। मेरो पनि नाम निस्केछ। अब भने म पाँच वर्षे कानुन पढ्ने यात्रामा हिँडेँ। इन्ट्रान्समा नाम निस्केको उनले पनि थाहा पाइछन्। नचिनेको नम्बरबाट म्यासेज आएको रहेछ। मलाई थाहा थिएन यो नम्बर उनको थियो भनेर। मोबाइलको ट्रुकलर एपको सहायता लगेर चेक गरेँ। उनले नयाँ नम्बर लगेकी रहिछिन्। उनको नम्बर भएको थाहा पाएपछि हतारमा म्यासेज खोले लेखिएको थियो।
'बधाई छ प्रिय, तिम्रो नयाँ यात्रासँगै हाम्रो पुरानो यात्रा टुंगिने भयो। तिम्रो लागि पाँच वर्ष कुर्न नसक्ने भएँ। मेरो बिहे हुँदैछ। मलाई अब सम्पर्क गर्ने कोसिस नगर्नू गूड बाई।'
योभन्दा अगाडि उनले मलाई बिहे गरौं भनेको याद आयो। मैले नै 'हुँदैन अहिले ब्याचलर पढौं सक्किने बित्तिकै गरौंला' भनेको थिएँ।
उनको म्यासेज पढिसकेपछि लाग्यो उनले मलाई बधाई दिएको कि सप्राइज बुझ्न सकिनँ।
मुटुको धड्कन एक्कासि शून्यबाट सयमा पुगेजस्तो भयो। भित्रैदेखि मुटु फुट्ला जस्तो भयो। चिसो पानी पिएर मनलाई शान्त गर्न खोजेँ, मान्दै मानेन। मनाउन धेरै कोसिस गरेँ तर सकिनँ। सक्नु पनि कसरी खुसी र दुःखको खबरको बीचमा रनथन्निएको मन न हो। दिमाग जस्तो स्थिर हुने भए पो, यो मन त पुराना यादहरूमा दगुर्न थाल्यो। जेनतेन मनलाई सम्झाएँ।
कलेज भर्ना गरेसँगै केही समयपछि कक्षा पनि सुरू हुन थालेँ। कलेजको पहिलो दिन ओरेन्टसन क्लास भयो। त्यहाँ सरले 'कानुनको स्कोप राम्रो छ। तिमीहरूपछि गएर यस्तो गर्न सक्छौ, उस्तो गर्न सक्छौ' भनेर धेरै सपना देखाए।
त्यति बेला सरको आँखामा रोशुलाई देखिरहेको थिएँ। उनले पनि सुरू सुरूमा यस्तै ठूला ठूला सपना देखाएकी थिइन्। मनमा लागिरहेको थियो सरलाई 'तँलाई धोकेबाज' भनेर गाली गरौं। त्यही बेलामा छेउकै साथीले औंलाले घचघच्याउँदै उठायो। म आत्तिएर आफ्नो काखमा राखेको कापीलाई हस्याङफस्याङ गर्दै टेबलमा राख्दै उठेँ। त्यहाँ त परिचय खण्ड चलिरहेको रहेछ।
मैले पनि हतारिएको स्वरमा आफ्नो परिचय दिएँ। पहिलो दिनको कक्षा सकियो। अर्को दिनदेखि पढाइ सुरू हुने भनिएको थियो। नयाँ सपनासँगै नयाँ साथी, नयाँ कलेज मेरा लागि सबै नयाँ नै थिए। उता उनले पनि नयाँ जीवनको सुरूआत गरिसकेकी रहेछिन्। साथीबाट थाहा पाएको थिएँ। केटा पनि १२ पास गरेर बसेको रहेछ। बाउ भने गाउँको मुखिया रहेछन्। छोटे मुखियाको श्रीमती मुख्यनी भइछन्। 'बधाई छ, मुख्यानी साब' भन्दै पहिले म्यासेज गरेको नम्बरमा रिप्लाई गर्दै म्यासेज फर्काएँ।
योसँगै कक्षाहरू अगाडि बढ्दै गए। सेमेष्टर प्रणाली भएकाले समय गएको थाहा नै नहुने। समय लामै भए पनि पाँच वर्षे कानुनको अध्ययन सक्काएँ। अब भने अधिवक्ताको लाइसेन्सको लागि तयारी गरेर लाइसेन्स पनि लिएँ। सुरू सुरूमा नयाँ अधिवक्ता बनेको साह्रै गाह्रो हुँदो रहेछ। एक जना अधिवक्ता सरसँग चिनजान गरेर सँगै काम सुरू गरेँ। सुरूमा अदालतमा बहस गर्न जाँदिनँ थिएँ। लिखतहरू मात्र लेख्ने। बिस्तारै समय सँगै मैले पनि अदालतमा बहस गर्ने मौका पाएँ। सुरूको बहस डर लागेको थियो। कतै बिग्री हाल्छ कि! पुराना वकिलहरूले पेलेरै लग्थे। पहिलो मुद्दाको बहस सक्काएँ। तयारी राम्रै गरेको भएकाले ठिकै भयो। आदेश पनि मेरै पक्षमा आएको थियो। पहिलो मुद्दाको फैसला आफ्नो पक्षमा आएकोले खुसीसँगै उत्साह जागेर आयो। त्यसपछि विस्तारै अदालतमा बहस गर्दै गएँ।
एकदिन म आफ्नो ल फर्ममा बसेर अंश मुद्दाको मिसिल अध्ययन गरिरहेको थिएँ।
त्यही बेलामा मेरो अगाडि हतारिएर आएर मेरो अगाडि उभिइन्। यसो उनी भएको तिर हेरे कपाल मिले नमिलेको, अनुहार अँध्यारो लाएको अवस्थामा देखेँ। नमस्कार गरेर बस्ने कुर्सी देखाएर बस्न आग्रह गरेँ। उनी अरू कोही नभएर रोशु नै रहिछन्। कस्तो छ भन्दै खबर सोधेँ। उनले पनि सबैले बोल्ने झुट जस्तै बोल्दै ठिकै छु भनिन्। आउनको कारण सोधेर धेरै कुराकानी गरेँ। उनी त सम्बन्ध विच्छेद गर्न आएकी रहेछिन्।
उनको कुरा सुनिसकेपछि फिराद पत्र लेख्न सुरू गरे। मैले धेरैको सम्बन्ध जोडेँ र धेरैको सम्बन्ध छुट्टाएँ पनि तर उनको सम्बन्ध छुट्याउन लेख्दाखेरी हात काँपेर आयो। लेख्नै सकिनँ। लाग्यो अरूलाई धोका दिएर सम्बन्ध जोडिदिने ती पण्डितको मण्डपमा होम गर्दा हात काप्दैन होला र!
श्रीमानले रक्सी खाएर जहिल्यै कुटपिट गर्ने रहेछन्। कति पटक त प्रहरी पनि बोलाएकी रहेछिन्। फिरदपत्र लेखेर सकाएँ तर ढिलो भएकोले अदालत बन्द भैसकेको थियो। उनलाई घर जान भन्दै आफू पनि घर फर्किएँ। त्यो कुराले रातभरी सुत्न सकिनँ। मलाई नै कारण देखाएर जोडियोको उनको सम्बन्ध आज मलाई नै अह्राएर छुट्टिन खोज्दै छिन्। अर्को दिन मैले उनलाई धेरै सम्झाए सम्बन्ध विच्छेद नगर्न भनेर। यसरी सम्बन्ध विच्छेद गरेका धेरै महिलाहरूलाई देखेको छु। स्वतन्त्र हुन खोजेको तर सम्बन्धबाट स्वतन्त्र हुन खोज्दा समाजबाट लाग्ने अनेक लाञ्छनाबाट भने स्वतन्त्र हुन नसकिँदो रहेछ। सम्झाउँदा पनि उनले मानिनन्। अदालतमा मुद्दा दायर गरिदिएँ। म बहस नगर्ने भन्दै अर्को वकिल राख्न भनेँ। अहिले भने सम्बन्ध विच्छेदको उनको मुद्दा अदालतमा नै विचाराधीन छ।
अब हेरौं उनी पनि समाजको अनेक थरीका विभेद खेप्छिन् कि उही पुरानो सम्बन्धलाई निरन्तरता पाउँछिन्।