जेन-जी आन्दोलन क्रममा भदौ २४ गते तीन जना प्रहरीको हत्यामा संलग्न भन्दै अहिलेसम्म १२ जना पक्राउ परेका छन्।
त्यस दिन प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो। ती दुवै घटनास्थलका सिसिटिभी फुटेज र भिडिओमा देखिएको दृश्यका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।
अघिल्लो दिन भदौ २३ गते प्रहरीको गोली लागेर काठमाडौंको बानेश्वरमा १७ जना युवा मारिएपछि त्यसैको आक्रोशमा प्रदर्शनकारीहरूले प्रहरी कार्यालय भवन तोडफोड र आगजनी गरेका थिए। त्यसै क्रममा प्रहरीमाथि पनि आक्रमण हुँदा तीन जना मारिएका हुन्।
प्रहरी हत्यामा संलग्न आरोपमा अहिलेसम्म १२ जना पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
तीमध्ये पाँच जना तिहारअघि नै पक्राउ परेका थिए भने पाँच जना तिहारकै बीचमा समातिएका हुन्। दुई जनालाई सोमबार पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ।
परिसरका अनुसार महाराजगन्जका असई मिलन रायको हत्या आरोपमा काभ्रेका युवराज क्यापछाकी र 'सोनाम' भनिने बुद्धिलाल तामाङलाई सुरूमा पक्राउ गरिएको थियो।
त्यसपछि महाराजगन्जकै जवान उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परे।
कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्यामा संलग्न भएको आरोपमा अनुपम भण्डारीलाई पक्राउ गरियो।
त्यसपछि तिहारको बीचमा प्रहरीले थप पाँच जनालाई पक्राउ गर्यो। गोरखाका २१ वर्षीय सोमबहादुर गुरूङ, तनहुँका २१ वर्षीय राजीव गुरूङ, तनहुँकै २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय र रामेछापका १६ वर्षीय पक्राउ परेका हुन्।
उनीहरू सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
सोमबार मात्रै प्रहरी वृत्त महाराजगन्जले थप दुई जनालाई पक्राउ गरेको छ। सिन्धुली गोलञ्जोरका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङ पक्राउ परेका हुन्।
सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई सुकेधाराबाट पक्राउ गरिएको हो। यी दुई जनाले महाराजगन्जका प्रहरी जवान उत्तम थापामाथि कुटपिट गर्नुका साथै प्रहरी कार्यालय तोडफोड, ढुंगामुढा र आगजनी गरेको आरोप छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ २४ गते हत्या, तोडफोड र आगजनीमा संलग्न थप व्यक्तिहरूको खोजी गरिरहेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार तिहारअघिसम्म आगजनी र तोडफोडमा संलग्न ५४ जना पक्राउ परेका छन्। चोरीमा १६ जना र हातहतियार खरखजनासँग सम्बन्धित २१ जना समातिएका थिए। कतिपयलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ।
भदौ २४ गते देशभरि नै विभिन्न सरकारी तथा प्रहरी कार्यालय भवन तोडफोड तथा आगजनी भएका थिए। ती घटनामा संलग्न भनी २४५ जना पक्राउ परिसकेका छन्। यो संख्या अझै बढ्दै छ।
***
सच्याइएको*