साधारण परिवारमा जन्मिएका तर पढाइमा अब्बल रघुनाथ। बाबु पण्डित कर्म गर्ने र फुर्सद हुँदा खेतबारीमा माटोसँगै खेल्ने। आमा बस्तुभाउ बालबच्चाको स्याहार गर्ने र खेतीपाती गर्ने। तीन दिदी मुनिका एउटा भाइ भए पनि दिदीहरूको बिहेपछि आमालाई घरधन्दामा सघाउने जिम्मेवारी पनि पाएका थिए।
उनी बिदाका दिन कहिले खेतमा घाँस काट्दै भेटिन्थे त कहिले वस्तु गोठाला भएका। एक दिन त जाँतोमा मकै पिन्दै गर्दा आफ्नै कक्षाका केटीहरूले देखेर गलल्ल हाँस्दै भने, ‘लौ रघुनाथले त आइमाई जस्तै जाँतो पो पिस्न जानेको रहेछ। यसको बुढीले सुख पाउने भई।’
उसले पनि जवाफ फर्कायो- ‘आफ्नी आमालाई सघाउन म जस्तो काम पनि गर्न सक्छु, यो नाथे जाँतो पिस्नु के ठुलो कुरा भयो र?’
पढाइमा पनि खुब मन लगाएर पढ्ने रघुनाथ सरासर पास हुन्थे। यसरी नै कडा मेहनतका साथ पढेर उनले सेकेन्ड डिभिजनमा एसएलसी पास पनि गरे। उनका बाबुआमा बडो खुसी थिए। १६ वर्षे लक्का जवान छोरो उसमाथि सेकेन्ड डिभिजनमा एसएलसी पास गरेको।
राम्रै घरका छोरीहरूको कुरा ल्याउनेको ओइरो लाग्यो। बाबुआमाले पनि यसो लगन कस्दिन पाए बुहारीको काम पनि खान पाइने अनि छोराको घरबार पनि पक्का हुने सोचले बिहे गरिदिने निर्णय लिए। तीन दिदी बहिनीको एउटा भाइ धूमधामले बिहे भयो। उनकी श्रीमती थिइन् शान्ति, नाम जस्तै शान्त, शीतल अनि सरल।
बिहेअघि एकै पटक पनि रघुनाथलाई नदेखेकी शान्तिले केही दिनमा नै रघुनाथलाई असाध्यै माया गर्ने भएकी थिइन्। बिहे गरेकै वर्ष रघुनाथले स्थायी शिक्षक भएर शिक्षण पेसामा प्रवेश गरे। उनी पनि भित्र भित्रै गद्गद् थिए, भने जस्तै जीवनसाथी र मन लागेको पेसामा जागिर गर्न पाउँदा।
बिस्तारै समय बित्दै गयो। रघुनाथका दुई छोरा जन्मिए, त्यो पनि जुम्ल्याहा- राम र लक्ष्मण। बाबुको कडा मेहनत र आमाको सरलताका छाप परेका उनीहरू सानैदेखि पढाइमा अब्बल थिए। आफ्नै बाबुले पढाउने विद्यालयबाट एसएलसी पास गरे। राम्रो नतिजा आएपछि दुवै जना सहर बसेर पढ्ने भए।
१२ पास गरेपछि राम प्रहरीमा जाने सुर गर्यो अनि लक्ष्मण चिकित्सा तिर। केही समयको अन्तरालमा रघुनाथको जेठो छोरो असई र कान्छो छोरो डाक्टर भयो। तर रघुनाथलाई आफ्ना विद्यालयमा पढ्ने हरेक बालबालिकाको माया लाग्थ्यो र शिक्षण पेसा छोड्न सकेका थिएनन् तर श्रीमती शान्ति भने छोराहरूसँगै सहरमा बस्थिन्।
आफ्ना सबै तागतले रघुनाथले सहरमा एक तले घर बनाएका थिए। त्यही बस्थे उनका परिवार अनि उनी गाउँमा। दुई वर्षको अन्तरालमा जेठो छोरो पदोन्नति भएर सई बन्यो अनि कान्छो छोरोले छात्रवृत्तिमा आवासीय चिकित्सा गर्ने भयो।
सबै कुरा राम्रै चलिरहेको थियो तर २०८० को चैतदेखि रघुनाथको घरमा शान्ति खलबलिएको छ। बाबु शिक्षक आन्दोलनमा होमिएका छन्, कान्छो छोरो चिकित्सक आन्दोलनमा अनि जेठो छोरो शान्ति सुरक्षामा।
माइतीघर मण्डलामा बुढ्यौली लागेका रघुनाथ दिनभरिको चर्को घाममा शिक्षक ऐनको माग गर्दै छन्। कान्छो छोरो डा. लक्ष्मण आवासीय चिकित्सकलाई उचित पारिश्रमिकको माग गर्दै छन् भने जेठो छोरो राम गृह मन्त्रालयको आदेशमा त्यही ठाउँमा शान्ति सुरक्षामा खटिएका छन्। अनि घरमा रहेकी शान्तिको मनमा अशान्तिको कालो बादल मडारिएको छ।
हरेक दिन तीन जना सँगै खाना खान्छन् अनि एउटै ढोकाबाट निस्किन्छन् तर फरक उद्देश्य लिएर। आज शिक्षक आन्दोलनको २६ औँ दिन ,आन्दोलनले थोरै उग्र रूप लियो। शिक्षकहरूले संयमता गुमाइसकेका थिए। नगुमाउन् पनि किन? सरकार मौन भएर मूकदर्शक बनिरहेको छ, लाखौँ विद्यार्थीको भर्ना र पठनपाठन रोकिएको छ।
यसै बिच आवेगमा शिक्षकहरूले ढुङ्गा बर्साउन थाले अनि प्रहरीले पनि गृहको आदेशअनुसार पानीको फोहोरा बर्साउन थाल्यो। अचानक झडपको स्थिति सिर्जना भयो। सबै जना तितरबितर हुँदै थिए। एकैछिनमा फाट्टफुट्ट लाठीचार्ज पनि भयो।
साँझ पर्यो। आजको दिन सकियो। सबै जना घर फर्किए। रघुनाथ लाठीचार्जमा नीलडाम परेको खुट्टो खोच्याउँदै घर फर्किए। श्रीमतीले हतपत सोधिन्, ‘के भयो हजुरलाई?’
श्रीमानले दिनभरको वृत्तान्त सुनाए। शान्ति थाप्लोमा हात राखेर भन्न थालिन्, ‘हरे शिव, जीवनभरि नमस्कार खाएर बसेको मान्छे यो बुढेसकालमा डन्डा खानु पर्यो नि!’
यसै दौरान जेठो छोरो आइपुग्यो। ऊ पनि दाहिने हातले निधार समाउँदै आएको थियो। बाबु आमा दुवैले सोधे- ‘के भयो?’
उसले दिउँसोको झडपमा आफूलाई ढुङ्गाले लागेको बतायो।
शान्ति र रघुनाथ दुवै निराश भए। कस्तो दिनमा प्रहरी बनेछ छोरो भनेर दिक्दार माने। उता धर्ना बस्न गएको कान्छो छोरो भने आएन। सबै जना आत्तिए अनि फोन गरे तर फोन उठेन।
करिब १० पटक फोन गरेपछि उसले हतारमा बोल्दै भन्यो, ‘म धर्ना बसेको ठाउँबाट सिधै अस्पताल आएँ। दिउँसोको झडपमा परेका मानिसहरूलाई हेर्दै थिएँ त्यसैले फोन उठाउन पाइनँ। मेरो चिन्ता लिनु पर्दैन। आज रातैभरि ड्युटीमा हुन्छु।’
रघुनाथ र शान्ति धिक्कार मानेर भन्दै थिए, ‘बेकारमा छोराहरूलाई देशमै केही गर्नु पर्छ भनेर रोकिएछ। बेलैमा विदेश गएको भए कमसेकम सुरक्षित त रहन्थे अनि हामीलाई पनि ढुक्क हुन्थ्यो। खै यो देशको व्यवस्था कहिले फेरिने अनि हामीले सन्तोषको सास कहिले फेर्न पाउने?’