यात्रा गर्नु थियो, कार्यस्थलको।
घरबाट बाटोमा निस्किएँ, अटोरिक्सा पर्खिएँ। निकै बेरसम्म अटो रिक्सा नआएपछि, अलि पल्लो चोकसम्म हिँडेरै जाने निर्णय गरेँ। सधैंभन्दा अलि ढिलो निस्किएकाले समयको दबाब थियो।
१५/२० मिनेट जति अटोरिक्साको यात्रापछि पुगियो धनगढीको सहिद गेट नजिक। बस पर्खिन दक्षिणतिर आखा फर्काएँ। स्थानीय बसमा अत्तरियासम्म जाऊँला र त्यहाँबाट पूर्वी रूटमा पर्खेर काठमाडौंतिर जाने जुन गाडी आयो त्यसमै जाऊँला भन्ने सोच थियो।
एकैछिनमा ठूलो अक्षरले 'धनगढी–काठमाडौं' लेखेको 'एसी' गाडी आयो। यसमा जान्छु भन्ने खासै उत्साह त थिएन। तर गाडी मेरो अगाडि रोकियो।
सायद मैले झोला बोकेको देखेर होला, सहचालकले सोधिहाले, 'दाइ कहाँ जाने?'
'बस कहाँ जाने हो र भाइ?' मैले पनि प्रश्नमै उत्तर फर्काएँ।
'काठमाडौं जाने गाडी हो दाइ,' सहचालकले उत्तर फर्काए।
'सिट खाली छ त?' मैले फेरि प्रश्न गरेँ। अलि टाढाको यात्रा, बिना सिट जान अलि अप्ठ्यारो नै पर्ला कि भनेर।
'पूरै खाली छ,' उनले भने।
'ए हो र!' मेरो प्रतिक्रिया थियो, 'म दाङ पुग्ने हो।'
'ल आउनु, आउनु, खाली छ, निस्किहाल्ने हो,' भाइले भने।
मैले गाडी चढ्दै गर्दा सोधेँ, 'कति बेला पुग्छ होला भाइ दाङ?'
ढुक्कको उत्तर आयो, 'समयमै पुग्छ।'
सोधेँ, 'समयमै भनेको कति बजे हो भाइ?'
जबाफ आयो, 'जुन बेला पुग्छ, त्यही समय भनेको।'
सोधेँ, 'कुन सिटमा बसौं भाइ? तर दाङसम्म सिटबाट उठाउन चाहिँ पाउनु हुन्न नि।'
उनले 'बी साइड' को ६/७ नम्बर सिटमा बस्न भने।
सिटमा बस्दै गर्दा हेरेँ, बसभित्रको सुविधा देखेर खुसी लाग्यो।
तातो–तातो धनगढीको वातावरण, बसभित्र छिर्नेबित्तिकै शीतल भयो। सिटमा पनि सोफामा बसेको भान भयो।
सोचेँ — बाटोमा मोबाइल हेरेर समय खेर फाल्नु हुन्न। मजाले सुतेर जानुपर्छ। साँझ १० बजे तिर पुगिसक्छ, कोठामा पुगेर पकाएर खानुपर्ला। बसमा सुतेपछि कोठामा पुगेर खाना पकाएर खाँदा ढिलो भए पनि निद्राको कमी हुँदैन।
मनमा गन्थन गर्दै गर्दा बस हिँडिसकेको रहेछ। अत्तरियाबाट अगाडि बढेपछि सहचालकलाई निर्देशन आयो, 'सबै सिटमा डस्टबिन बाँधी देऊ है।'
हस् भन्दै उनले एक–एक सिट छोडेर डस्टबिन राखे। गाडीभित्रको सुविधाको मनमनै प्रशंसा गर्दै अगाडि बढियो।
केही अगाडि बढिसकेपछि एउटा बजार नजिक बस रोकियो। सायद त्यो चौमाला बजार थियो, तर अलि लामो रोकियो। राम्रै–राम्रै मात्र सोचिरहेको थिएँ, त्यो बेला पनि राम्रै सोचेँ। एसी चलेको थियो।
बाहिरको गर्मीको आँखाले अनुमान गर्यो, अनि मनले मनलाई नै भन्यो, 'ठिकै छ, आराम गर।'
फेरि आँखा बन्द गरी ढुक्कसँग पल्टिएँ। निकै बेर रोकिए पनि खासमा किन रोकिएको भनेर कसैले जानकारी गराएन। न कसैले सोध्यो। आफूलाई भने मनमा अलि पिर लाग्न थालेको थियो। दाङ पुग्दा धेरै रात भयो भने कसरी कोठासम्म पुग्ने होला?
मेरो सिटको पछाडिको सिटमा दुई जना कर्मचारी जस्ता देखिने युवाहरू गफिँदै थिए — यसरी रोक्दै–रोक्दै गए त हुन्थ्यो नि, बुटवलमा राति पुग्यो भने चाहिँ गाह्रो हुन्छ, न होटल जानु, न घर जाने केही उपाय हुन्छ।
हेर, सोचाइमा फरक!
दुई बजे धनगढीबाट हिँडेको बस साढे १० बजे तिर दाङ पुग्छ भन्ने मेरो अनुभवले बताउँछ। अनि दाङबाट बुटवलको यात्रा जम्मा चार घण्टाको त हो नि, कसरी बिहान होला बुटवल पुग्दा? मैले सोचेँ।
'अलि पछिको गाडीमा आउनुपर्ने हजुरहरू, ठिक्क उज्यालो भएपछि पुग्नुहुन्थ्यो,' मैले टाउको पछाडि फर्काउँदै कुरा गर्न खोजेँ।
'भाडा मिलाइदियो,' उत्तर आयो।
'ए हो र! कति भन्यो बुटवलको?' मैले सोधिहालेँ।
झ्यालतिरको युवा अलि अकमकाए। सायद बसवालाले कसैलाई नभन्नू भनेका थिए।
तर बीचतिरकाले उत्तर फर्काए, 'एक जनाको भाडा हजार रूपैयाँ।'
मलाई एकछिन हाँसो लाग्यो। मलाई पनि हजार नै भनिएको थियो। सामान्यतया म धनगढीबाट दाङ पुग्नुपर्ने ठाउँको भाडा दर १२५०/१३०० जति पर्थ्यो।
सहचालक भाइ भाडा उठाउन आए। सामान्यभन्दा अलि चाँडै हो कि जस्तो। मैले धेरै पटक यात्रा गर्दा कर्णाली काटेपछि मात्र भाडा उठाउन आउँथे। तर ठिकै छ, दिनैपर्ने हो, के गुनासो भयो र?
पालै पालो भाडा उठाए। पछाडिका युवाहरूबाट एक जनाको हजार, मसँग हजार, मेरो दायाँतिर अर्को सिटमा बस्नेबाट पनि हजार, हजार नै लिए।
सोचेँ, दाहिनेतिरका दुई जना पनि दाङ वा बुटवल नै जाने होला!
उता फर्किएर सोधेँ, 'सर, हजुरहरू कहाँसम्म होला?'
'चितवन, नारायणगढ,' उत्तर आयो।
छक्क परेँ — दाङको हजार, बुटवलको हजार अनि नारायणगढ–चितवनको पनि हजार।
'हजुर कहाँसम्म हो र?' पछाडिको सिटबाट प्रश्न आयो।
'दाङसम्म जाने हो म त,' मैले भनेँ।
'भाडा कति लियो?'
'हजार,' मैले भनेँ।
एक छिन दुवै जना हासेँ।
दसैंका बेला यात्रु धेरै नहुने भएकाले अलि मोलतोल गरे मलाई पनि कम भाडामा लगिदिन्थ्यो भन्ने सुझाव पाएँ।
मनमनै सोचेँ — जति तोकिएको दर हो त्यति त दिनुपर्ने होला नि!
फेरि कक्षा ९/१० मा अर्थशास्त्र पढेको याद आयो — क्रेता र बिक्रेताबीचको सहमत मूल्य नै मूल्य हो।
अलि अगाडि बाटोमा ट्राफिक प्रहरी गाडी जाँच गर्दै रहेछन्।
ढोकानिर उभिने सहचालकले गाडी भित्र भाडा उठाउँदै रहेका सहचालक साथीलाई भने, 'दाइ, अगाडि मामा रहेछन्।'
'जाऊ जाऊ, हामीलाई चेक गर्दैनन्,' गाडीभित्रका सहचालकले भने।
नभन्दै गाडी रोकिएन।
धनगढीबाट काठमाडौंका लागि हिँडेको बस लम्की चोकबाट सर्लक्क दाहिने मोडियो, टीकापुरतिरको बाटोमा।
एकछिन त कोही बोलेनन्, बस सरासर अगाडि बढ्यो, टीकापुरतिरै।
किन त्यता मोडियो, बसवालाले पनि एक शब्द जानकारी गराएनन्। मानौं, उसनले हामी कामबिनाका मान्छेलाई निःशुल्क यात्रा गराइरहेका छन्।
'हेल्लो भाइ! बस कता?' मैले सोधेँ।
'टीकापुरबाट मान्छे ल्याउनैपर्ने भयो हेर्नु न,' ढुक्कको उत्तर आयो।
मेरो मन अलि खिन्न हुन नपाउँदै पछाडि सिटबाट गफ सुनियो — कति मजा टीकापुर पनि देख्न पाइने भयो, त्यो पनि फ्रीमा!
मलाई दाङ पुग्न ढिलो हुने भयो भन्ने चिन्ता लागिरहेको थियो। उनीहरूलाई बुटवल पुग्दा उज्यालो हुन्छ भन्नेमा खुसी बढी भएको अनुमान गर्न सकिन्थ्यो।
बस सिधै टीकापुर हुइँकियो। खड्क चोकमा फनक्क फर्कायो फेरि लम्कीतिर। छेउमै चार जना उभिएका रहेछन्, उनीहरूलाई बसमा चढायो। एकछिन दलाली दस्तुरको हिसाब–किताबमा समय लाग्यो। फेरि बस फर्कियो।
अनौठो कुरा चाहिँ रूट मिचेर लम्कीबाट टीकापुर गएर चार जना टिपेर ल्याउँदा यात्रुलाई भएको ढिलाइप्रति भने बस चालक–सहचालक कसैले कुनै बेला कुनै किसिमको दुःख मनाएनन्।
लम्कीमा एकछिन रोकिरहँदा मैले सम्मानपूर्वक सोधेँ, 'भाइ, ढिलो भयो नि त?'
'कर्णालीपारि रोक्नै पाउँदैनौं सरर। अब यताबाट निस्कियो भने सरासर हो,' मिठो उत्तर आयो।
बसपार्कबाट बस हिँड्यो।
ओहो! अब त सरासर जाने भयो भनेर मनको लड्डु घिउसँग खान सुरू मात्रै के गरेको थिएँ, फेरि रोकियो।
किन रोकियो, कसैले भनेन।
एक छिन–दुई छिन गर्दा अलि समय लागेपछि थाहा भयो, खसीबोकाहरू काठमाडौं लैजाने काम आएछ बसलाई। तर केही खसी–बोका भने अझै गाउँतिरै दाना खाँदै रहेछन्। निकै बेरपछि गाउँतिरका खसीबोका आए।
रिस उठ्यो, फेरि सोचे अबोध पशुहरूको त के दोष?
खसीबोका हालेर बस हिँड्यो। कर्णाली पुल तर्यो। नेपाली सेनाको राष्ट्रिय निकुञ्ज सुरक्षा जाँचपोस्ट नजिकिँदै गर्दा सहचालक यात्रु शाखामा आए।
'बाहिर थुक्ने, फोहोर फाल्ने केही नगर्नु होला है,' उनले ठूलो स्वरमा भने।
मनमा कुरा खेल्यो, के नेपाली सेनाको सुरक्षा जाँचपोस्टभन्दा अन्त चाहिँ थुक्न, फोहोर फाल्न मिल्ने हो त?
सहचालकले जाँचपोस्टको औपचारिकता पूरा गरे र ढोकामा ड्याम–ड्याम हान्दै भने, 'जाऊँ जाऊँ गुरू जी।'
सहचालकले लम्कीमा भनेझैं गाडी सरासर अगाडि बढ्यो। लाग्यो सुदूरपश्चिमको गाडी कर्णाली पार गरेपछि चाहिँ नरोकिने रहेछ।
एकछिन त सुतेँ। गर्मीले शरीर निथ्रुक्क भिजेपछि बिउँझिएँ। कुरा बुझ्दा मेरो पछाडि बस्नेलाई जाडो भएकाले उनको अनुरोधमा एसी बन्द गरिएको रहेछ।
चढ्ने बेला नै एसी गाडी भनेर चढेको, त्यही अनुसार भाडा पनि तिरेको। तर के गर्नु!
धनगढीबाट म बस चढेको समय हेर्दा, अनि मेरो यात्राको अनुभवका आधारमा म कोहलपुर पुग्दा साँझको ७ बजेको हुनुपर्थ्यो। तर ८:३५ बजिसकेको थियो। फेरि कोहलपुरमा गाडी रोकियो।
१५/२० मिनेटसम्म पनि अगाडि नबढेपछि मैले भनेँ, 'भाइ, जाऊँ न।'
'दाइ, हेर्नु न, गाडी खाली–खाली छ। यसो ३/४ जना हालेर हिँडिहाल्ने,' उत्तर आयो।
तीन/चार जना भनेको टिकट लिएका निधो भएका व्यक्ति होइनन्। खोज्नै बाँकी रहेका मान्छे।
पर्खिंदै गर्दा सन् २०२३/२४ तिर सुर्खेतमा काम गर्दाको घटना याद आयो।
कोहलपुरबाट सुर्खेत जाने गाडी चढेको थिएँ। मान्छे खोज्न कुरिरह्यो, घुमिरह्यो। घण्टा बित्यो, बस पनि भरियो।
अझै बस नहिँडेपछि एक जना दिदीले सोध्नुभयो, 'भाइ सिट भरियो त। अब ढिलो हुन्छ। जाऊँ न।'
उत्तर आयो, 'मैले करोड हालेर किनेको गाडी हो, पैसा कमाउनकै लागि। खुट्टा टेक्ने ठाउँ हुन्जेल मान्छे हाल्ने हो। तपाईंलाई हतार छ भने अर्को गाडीमा जानु भए हुन्छ।'
अनुत्तरित, ती दिदी चुप लाग्नुभयो।
मलाई लाग्यो — साँच्चै सबैले गाडी किन्न सक्ने हुँदो हो त किन सार्वजनिक बस चाहिएको होला! अलि विकसित देशतिर त झन् जलवायु परिवर्तनको असर कम गर्न भनेर निजीभन्दा सार्वजनिक गाडी चढ्न प्रोत्साहन गरिन्छ।
केही वर्षपहिले भाइको उपचारका लागि धनगढीसँगै जोडिएको भारतीय बजार गौरिफन्टँबाट लखिमपुर जाँदाको समय पनि याद आयो।
त्यहाँको गाडी चढ्दा सोधेका थियौं, 'भाइ साहेब, लाखिमपुर पुग्न कति समय लाग्ने?'
सजिलो उत्तर थियो, '२.३० बजे पुग्नेछ भाइ।'
नभन्दै २.३० बजे ठ्याक्कै पुगियो।
यी सम्झनामा घोत्लिँदै गर्दा यात्रु पर्खिएर बसेको बस झन्डै ३५/४० मिनेटपछि हिँड्यो।
अब भने सहचालकले भनेजस्तै कतै नरोकी अगाडि बढ्यो। राति, बाटोमा धेरैजसो जंगल, रोकिनु पनि किन!
सिधै ११.३० बजे खाना खाने ठाउँ लमहीमा पुगेर रोकियो। गाडी ढिलो भएकाले खाना खाने ठाउँमा भिड थिएन, धेरै समय लागेन।
म ओर्लिने ठाउँ पुग्दा राति १२.१५ बजेको थियो जुन अरू बेलाभन्दा झन्डै डेढदेखि दुई घण्टा ढिलो हो।
एसी बस चढेर, सजिलो गरी, आराम साथ बसेर चाँडै पुगौंला भन्ने सोचेको, उल्टै पो भयो!
नेपालमा सार्वजनिक बस धेरै मानिसका लागि सस्तो र सामान्य यातायातको साधन हो। तर यसको प्रयोग गर्दा अनेक समस्या देखिन्छन्।
पछिल्लो समय केही सार्वजनिक बसको भौतिक सेवामा उल्लेखनीय सुधार भएको छ। एसी, एयर सस्पेन्सन प्रणाली, आरामदायक सिट, मोबाइल चार्ज गर्ने सुविधा, टिभी, म्युजिक सिस्टमजस्ता आधुनिक सुविधा पाइन्छन्। यसले यात्रालाई थप सहज बनाएको छ। यात्रुको सुविधालाई ध्यानमा राख्दै निजी तथा सरकारी क्षेत्रले बस सेवा सुधारमा ध्यान दिइरहेका छन्।
तर भौतिक सुविधामा सुधार भए पनि व्यवहारगत सुधारमा अझै ध्यान दिनुपर्ने देखिन्छ। विशेष गरी चालक, सहचालक तथा कर्मचारीहरूको यात्रुप्रतिको व्यवहारमा सुधार आवश्यक छ।
बस सञ्चालनमा समयको कमै पालना हुन्छ। कहिले आउँछ, कहिले जान्छ, कहिले पुगिन्छ भन्ने निश्चित हुँदैन। भाडा पनि निश्चित हुँदैन। चालक–सहचालकसँग मोलमोलाई गरेरै यात्रा गर्नुपर्ने हुन्छ।
बसमा सिट नभए पनि यात्रु थपिँदै जान्छन्। कतिपय अवस्थामा उभिनेसम्म ठाउँ नपुगुन्जेल यात्रु चढाइन्छ, जसले गर्दा यात्रु अत्यन्तै असुविधामा पर्छन्। यात्रुको आवाज वा गुनासो सुन्ने वातावरण हुँदैन।
त्यसैले सार्वजनिक बसको भौतिक सुधारसँगै समय पालन, भाडा असुली, यात्रुको सुविधा, सरसफाइ र कानुन पालना जस्ता व्यावहारिक विषयमा पनि ध्यान दिन जरूरी छ।