यो समयको सोझो इमानदार भनौं या कसैको भनाइमा डुबेर विश्वासमा उत्रिहाल्ने मान्छे भनौं त्यो म नै हो। सबैले मलाई भन्ने गर्थ 'कस्ती बाठी केटी रहिछे यसले त मान्छे बेचिदिन्छे।' तर कसैले मैले हृदयबाट दिएको माया बेचेको पत्तो पाउन सकिनँ।
मलाई कुनै प्रेम प्रस्तावको कमी थिएन प्राय:जसो आइरहेका हुन्थे तर पारिवारिक स्थितिले प्रेमतर्फ ध्यान गएन र आँट पनि आएन।
लोक सेवा आयोग पास भइ सकेपछि मात्र प्रेम गर्छु भन्ने अठोट मनमा लिएको थिएँ।
भविष्य सम्झेर प्रेमको पाटोलाई बेवास्ता गरेँ। सरकारी जागिरको इच्छा तीव्र थियो। केही समयको लोक सेवा तयारीपछि सरकारी जागिरे हुन सफल भएँ। अब जिवन जिउनका लागि आधार तयार त भयो नै प्रेमको बाटो पनि खुला भयो। धेरैजसो मन नपर्ने र मन परेकोसँग कुरा नमिल्ने चक्करमा आफूलाई योग्य मान्छे भेटिएकै थिएन तर खोजी कार्य भने जारी थियो।
एकदिन फेसबुक चलाउँदै गर्दा मोबाइलको स्क्रिनको माथिपट्टि एउटा नोटिफिकेसन आयो जुन फ्रेन्ड रिक्वेस्ट थियो। अरू बेला वास्ता नहुने मलाई त्यो दिन झट्ट प्रोफाइलमा आँखा गयो।
भित्र गएर हेरेँ सर्लक्क परेको ज्यान, चम्किला अनुहार अनि निजामती ड्रेस हाय! देख्दैमा आफ्नो सपनाको राजकुमार पाएझैं भयो।
एकछिन प्रोफाइल नियालेर मुस्कुराउँदै रिक्वेस्ट एसेप्ट गरेँ। केही दिनसम्म कुराकानी सुरूआत नै भएन ३-४ दिनपछि उताबाट म्यासेज आयो।
'हाई' मैले खुसी हुँदै तुरून्तै रिप्लाई गरी हालेँ।
'हेल्लो'
अनि हाम्रो कुराकानीको सुरूआत भयो। मैले सेयर गरेको मिमतिर उसको दैनिक रियाक्ट आउन थाल्यो। मैले स्टोरीमा राखेको तस्बिरहरूमा तारिफमय रिप्लाई आउन थाले।
देख्दै राम्रो लागेको मान्छेको आफूप्रतिको इन्ट्रेस्ट देखेर म मख्ख भएँ। ऊप्रति मेरो लगाव झन् बढ्दै गयो। दिन प्रतिदिन हाम्रो कुराकानी गहिरिँदै गयो।
म्यासेजबाट सुरू भएको कुराकानी कल हुँदै भिडिओ कलसम्म पुग्यो।
आफूलाई मन परेको मान्छे भए पनि मन पराउँछु भन्न डर लाग्थ्यो।
फेरि सोसल मिडियामा देखेको कुरालाई सत्य मानेरै बस्न सक्ने स्थिति पनि थिएन। ऊसँगको यही सम्बन्ध पनि खराब हुन्छ भन्ने डरले मनको माया मनमै बन्द गरेँ।
उसले प्राय:जसो आफूले मन पराउने कुरा व्यक्त गरिरहन्थ्यो तर ऊ धेरै राम्रो भएकाले मैले उसको कुरा जोकको रूपमा लिन्थेँ।
कुराकानी सुरू भएको करिब ६ महिनापछिको एक साँझ कुराकानीको क्रममा उसले मलाई एक प्याराग्राफ म्यासेज लेखेर पठायो जुन प्रेम प्रस्ताव थियो। आफू सपनामा भएझैं महसुस भयो। एकछिन त विश्वास गर्न सकिनँ। फेरि दोहोर्याएर पढेँ मन खुसीले फुरूङ्ग भयो तर पनि तत्काल प्रस्ताव स्वीकार भने गरिनँ। प्रस्ताव स्वीकार गर्नका लागि ऊसँग केही समय मागेँ। उसले 'हुन्छ' भन्यो।
दुई-तीन महिना सोच विचार गरेर प्रेम प्रस्ताव स्वीकार गरेँ। हामी दिन प्रतिदिन प्रेममा डुब्दै गयौं। मेरो अफिसमा आधा समय र घरको पूरै समय ऊसँग बोलेर बित्थ्यो। आफू नै संसारको राम्री केटी भएको जस्तो महसुस गराएको थियो मलाई।
उसको र मेरो कुरामा विवाहदेखि लिएर जिन्दगीभर सम्मको योजना भेटिन्थ्यो। मलाई हेरेर कहिल्यै अघाउँदैनथ्यो ऊ।
कतिपय रातहरू एकअर्कालाई भिडिओ कलमा हेरेरै बित्यो। परिवारले साथ नदिए पनि हामी एकअर्काको भएर बस्न सक्छौं, विवाह नै नगरी पनि जिन्दगीभर म तिम्रै भएर रहन सक्छु भन्ने कुरा उसको मुखबाट दिनहुँ सुनिन्थे। मेरो रिस, नराम्रो बानी व्यवहार सबै खुसी साथ सहेको थियो।
मैले सम्बन्धमा देखाएका हरेक समस्याको समाधान हुन्थ्यो ऊसँग। साँच्चै ऊ अरू केटाभन्दा भिन्न थियो । मैले छुट्ने कुरा गर्दा रूने अनि आत्महत्या गर्छु भन्दै घुर्की सुनाउँथ्यो। रातको १-२ बजेसम्म पनि हाम्रो कुराकानीहरू सकिँदैन थियो।
म उसमा यति धेरै डुबेको थिएँ कि साथी र परिवारको पनि मतलब लाग्न छाडेको थियो। सँगै बाँच्ने र मर्ने कसम पनि दिनहुँ प्रयोगमा आइरहन्थे। उसको अनुहारले भन्दा पनि व्यवहारले मेरो मन जित्दै गयो। हामी बीचको विश्वासलाई मजवुत बनाउन हामीले फेसबुकको पासवर्ड साटासाट गरेका थियौं।
मलाई ऊसँग बोलेर फुर्सदै नहुने भएकाले मैले उसको फेसबुक आइडी खोलेर हेर्दिनथेँ। फेरि शंङ्का गर्नुपर्ने त्यस्तो कुनै ठाउँ पनि थिएन। ऊ प्रतिको मेरो अन्धो नजरले उसमा राम्रो र असल मात्र देख्थ्यो खराब कुराको त पहिचान हुनै सकेन। बरू म भगवानमा खोट देख्थेँ होला तर ऊ सबै कुरामा पर्फेक्ट लाग्थ्यो, विल्कुल आफूले खोजेको जस्तै। एकअर्काको मनपर्ने र मन नपर्ने सबै बानी व्यवहार थाहा भइसकेको थियो। मलाई मन नपर्ने व्यवहारहरू ऊबाट कहिल्यै दोहोरिएनन्।
हाम्रो प्रेम सुरू भएको करिब ३ वर्ष पछिको एक साँझ म विस्तारामा पल्टिएर ममीसँग कुरा गर्दै थिएँ। अचानक एक अपरिचित केटीको म्यासेज आयो 'हेल्लो' मैले वेवास्ता गरेँ।
फेरि उताबाट म्यासेज आयो 'छिटो रिप्लाई गर्नुस् न काम छ' यस्तो म्यासेज आएपछि इग्नोर गर्न सकिनँ। केही जरूरी नै पर्यो होला सोचेर 'हेल्लो के काम होला' भनेर रिप्लाई गरेँ।
तुरून्तै उताबाट म्यासेज आइहाल्यो '…लाई चिन्नु हुन्छ?' जुन उसको नाम थियो मैले अपरिचित मान्छेलाई उसको परिचय दिई राख्नु जरूरी छैन भन्ने ठानेर चिन्दिनँ भन्दिएँ।
मलाई उसको परिचय अरूसँग सामान्य तरिकाले दिनु थिएन। विवाह मण्डपमा सँगै बसेर दुनियाँलाई उसको परिचय दिन चाहन्थेँ, ऊ को हो भनेर मेरो लागि भनेर। उताबाट परिचय पाउन निकै जिद् भयो। अनेक प्रश्न आउन थालेपछि मैले म्यासेज फर्काएँ, 'तपाईं को हो? हामीबारे तपाईंलाई किन यति धेरै चासो भएको? उसलाई चिन्नु र नचिन्नुले तपाईंलाई के फरक पार्छ?'
उताबाट म्यासेज आयो 'म उसको गर्लफ्रेण्ड।'
म झसङ्ग भएँ तर पत्याइनँ। यति धेरै विश्वास गरेको मान्छेले म बाहेक अरू केटीसँग सम्बन्ध राख्नै सक्दैन, बरू उसलाई मन पराउने केटी होलिन् सोच्दै थिएँ।
फेरि उताबाट म्यासेज आयो, 'मलाई तपाईंमाथि शंका लागेर म्यासेज गरेको। हामी बाहेक पनि उसको २ वटी अरू गर्लफ्रेण्ड छन् जसले मलाई ब्लक गरिसके।
मैले सोधेँ, 'केही प्रमाण छ र?'
उताबाट गर्लफ्रेण्ड भएको भरपुर प्रमाण आयो जसलाई विश्वास नगरी सुखै थिएन।
अब मलाई अरू प्रमाणको जरूरत थिएन कि म एउटा अप्सनको गलफ्रेन्ड हो भनेर बुझ्नको लागि। म छाँगाबाट खसेजस्तै भएँ। संसार धमिलो भयो, सपना कि विपना छुट्याउन मुस्किल भयो। आफूले यति गहिरो विश्वास गरेर जीवन सुम्पने निर्णय गरेको मान्छेको यस्तो व्यवहार सुनेर मन सम्हाल्न सकिनँ।
मलाई लाग्थ्यो ऊ मेरो मात्र हो, ऊ माथिको अधिकार मलाई मात्र छ, म बाहेक संसारका अरू कुनै महिलासँग उसको सरोकार नै छैन तर उसको चार गलफ्रेन्ड मध्येको कान्छी गर्लफ्रेण्ड रहेछु म।
तीन जना सँगको रिलेसनमा हुँदाहुँदै उसले मलाई प्रेम प्रस्ताव गरेको रहेछ। म यति धेरै झुटमा डुबेको रहेछु कि सबै कुरा थाहा भइसक्दा पनि ऊ सही र वास्तविकता गलत जस्तो लाग्यो। कुनै समय तिमीलाई छोडेर बाँच्न नसक्ने, छाडे तुरून्तै मरिहाल्ने र अरू कोही केटीसँग बिहे नगर्ने वचनलाई सम्झिएँ। यो सबै हुनुको स्पष्टीकरण माग्ने हिम्मत गरिनँ। फेरि झुटा आँसु र वाचाहरू दोहोरिन्छन् भन्ने लाग्यो।
ऊ त प्रेमको व्यापारी पो रहेछ अनि म उसको अगाडि सधैं ठगिएको ग्राहक थिएँ।
हुन त उसको जिन्दगी उसको हिसाबले चल्ने हो तर म लगायत ३ जनाको भावनासँग खेलेर उसले के पायो? सबैसँग मरिहत्ते गरेको नाटक कसरी गर्न सक्यो? अरू नै थिए भने मलाई प्रेम प्रस्ताव किन गर्यो? आशा किन देखायो? झुटा कसम र वाचाहरू किन गर्यो? यस्तै अनेको प्रश्नहरूले मन भरिरहन्छ आजकाल। यति हुँदाहुँदै पनि अझ आश्चर्य लागेको कुरा हामी ४ जनासँग नै उत्तिकै समय दिइरहन कसरी सक्यो? हुन त ऊ लोक सेवा पास गरेको मान्छे समय व्यवस्थापनको पाठ राम्ररी पढेछ क्यारे। सबै थोक पाएर पनि उसले साँचो माया कहिल्यै पाउने छैन।
अब ऊसँगको जिन्दगीको सपना र वास्तविकता दुवै सकियो।