समयको गतिसँगै सहर फेरियो, महलहरू ठडिए
तर मेरो गाउँको एउटा कुना अझै पनि त्यहीँ अडिएको छ
जहाँ पुन्टे र साहिँलाको स्वर अनि
भट्टीको गन्धले उस्तै कथा भन्छन्।
गाउँमा अझै उस्तै छन् पुन्टे साहिँला र भट्टीहरू
चौतारीको वर फेरियो, फेरिएनन् साहिँलाका पाइलाहरू
झिसमिसेमै बारी खन्ने ती पुराना माइलाहरू
हातमा ठेला, ओठमा खैनी, उही फाटेको दौरा छ
पुन्टे र साहिँलाको जीवन अझै, दुःखकै एउटा पोको छ।
भट्टीको त्यो सानो संसार, गुमनाम गल्लीको कुनामा
अझै उस्तै छ त्यो झुप्रो
लोकल रक्सीको बाफसँगै,
निस्कन्छ मनको तिखो सुस्केरा।
प्लास्टिकको कप,
सितनमा भटमास र साहिँलाका ठट्टा
जहाँ बिर्सिन्छन् उनी, साहुको ऋण र रित्तो खल्ती।
भट्टीको बेन्चमा बसेर, लटरपटर ठुटे अङ्ग्रेजी बोल्दै
उनी देश बनाउने गफ गर्छन्
चुनाव आउँदा अलिकति 'पर्ख' भन्दै
फेरि उही सपना छरिएको कुरा गर्छन्।
घरमा स्वास्नीका आँखा भिजेका छन्
बच्चाको आङ नाङ्गै छ
तर साहिँलालाई लाग्छ—
भट्टीको यो प्याला नै सबैभन्दा चङ्गा छ।
साँझ पर्छ, रक्सीको नसाले खुट्टाहरू डगमगाउँछन्
पुन्टे र साहिँलाका गीतहरूले, सुनसान बाटोमा थर्किन्छन्
उही लय
उही भाका
उही पुरानो पीडाको भारी
गाउँ अझै उस्तै छ—
गरिबी र भट्टीको एउटा अधुरो डायरी झैँ।
‘पुन्टे र साहिँलाका लागि भट्टी केवल रक्सी पिउने ठाउँ होइन,
यो त दिनभरिको थकाइ र जीवनका असफलताहरू बिर्सने
एउटा अस्थायी सुरक्षित मन्दिर जस्तो बनेको छ।
सहरमा चिल्ला गाडी गुड्लान्, गाउँमा बिजुली बल्ला
तर साहिँलाको जीवनको अन्धकार, अझै उस्तै छ
परिवर्तनका ठुला कुरा त केवल भाषणमा सुनिन्छन्
यथार्थमा त पुन्टे र साहिँलाहरू अझै भट्टीमै भेटिन्छन्।