बकुलहर चोकका वरपिपल ढले। हुन त टाडी चोकको वरपिपल पनि त ढालियो। चौतारीहरू पाताल भए। जति धेरै सामिप्यता अन्त्य हुँदा त्यति नै धेरै पीडा।
स्मृतिबाट हटाउन खोजे पनि झनै धेरै नोस्टालजिया। नारायणघाट- बुटवल, बुटवल गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा उता ढल्केबरदेखि जनकपुर जोड्ने सडक विस्तारको क्रममा मात्र हो र देशव्यापी रूपमा नयाँ सडक निर्माण र विस्तारको क्रममा धेरै पुराना भयंकर वरपिपल ढालिएका छन्।
डोजरले जरा समेत उक्काइएको छ। बिहान बेलुका छिमेकी जम्मा हुने, को तिनको शितल छहारीमा बस्ने धेरैका मनहरू कुडिएका छन्। असरल्ल परेका हाँगाविङ्गा र विशाल गोलाइहरू देख्दा आँखाहरू रसएका छन्। हेर्न नसकेर नजरहरू अर्कोतर्फ फर्किएका छन्। एउटा मान्छेले अरू मान्छेलाई कति नै सहयोग गर्न सक्छ र? यी वरपिपल र स्वामीका रुहहरूले त हजारौं मान्छेलाई मात्र हैन लाखौंलाख चराचुङ्गी र किटपतङ्लाई वर्षौंवर्ष प्राण वायु दिए, शितलता दिए, बास दिए, खाना दिए। अनेक गुन लगाए।
यिनै रूखको हाँगा र धोद्राहरूमा आफ्ना आमा बाबुले चुच्चोमा घरघुर्यान र छेस्कासेस्की जम्मा पारेर बनाएका घरमा हुर्किएका, तिनै रूखको वल्लो हाँगा र पल्लो हाँगा गरी उड्न सिकेका बकुल्ला, काग, ढुक्कुर लगायतका चराहरू आफ्ना बासहरू उठिबास हुँदा सडकको वारिपारि ठिङ्ग उभिएका सुरिलो जातका रूख तथा घरहरूको छानामा बसेर टोलाइरहेका छन्। भुर्र एता, भुर्र उता गरेर आफ्ना बेदनाहरू आफ्ना मिल्दा मनसँग साटिरहेका छन्।
हुन पनि आफू हुर्केको, बढेको र जीवनका प्रारम्भिक सीपहरू सिकेका घरहरू उजाडिएको कसलाई पो मन पर्छ र? धुँवा र धुलो उढाउँदै, कर्कस आवाजका साथमा कुद्ने ती गाडीको बढ्दो चापले अस्तित्व नै संकटमा पर्ने डरले भरिएका मन लिएर बसेका छन् बिचरा चराहरू। आफू गुँडमा बसेर आफ्नो आमाको प्रतीक्षा गरेका, आमाले ल्याएको चारा देख्दा मुख खुवाएका, त्यही गुँडबाट नजिकैको हाँगामा उड्न प्रयास गरेका, दिनभर त्यही रूखका वल्लो हाँगा र पल्लो हाँगा गरेर बेलुकी गुँडमा नै फर्किएका दिनहरू स्मरण गरिरहेका छन् ती बिचराहरू।
कतिपय बयस्क भालेहरू मिठो आवाज निकालेर डाली डाली नाची नाची पोथीलाई आफूप्रति आकर्षण गर्न गरेका प्रयास र मायाप्रितिमा प्राप्त गरेका सफलता, नजिकका खेत र बारीबाट सुकेका घाँसका त्यान्द्रा खोजेर ल्याएर गुढ बनाएका, अण्डा कोरलेर चल्ला हुर्काएका ती विगतका दिनको स्मृतिदंश त तीनलाई पनि भएको होला। अर्काको बास उठीबास पर्ने मनुवाहरूले कसरी बुझ्नु ती अमुक प्रणीका आफ्ना भाषागत संकेतहरू।
वरपिपल र स्वामीका रूख मात्र कहाँ ढलेका छन् र तिनीसँग जोडिएको इतिहास पनि ढलेको छ। घरविहीनको बास ढलेको छ। धेरैको स्मृति ढलेको छ। बिहान बिहान पूजा गर्ने र जल चढाउनेको आस्थाको धरोहर ढलेको छ। गाउँघर, टोलमा छिर्ने संकेतहरू मासिँदा स्थान विशेषको पहिचान पनि गुमनामा भएको छ। ढल्केवरमा नाम त छ, ढल्केको वर, वरचौताराको वर, लहरे पिपलको लहरा, पिपल डाँडा र पिपल टारका पिपल, स्वामी टारका स्वामी कहाँ देख्न पाउनु नयाँ पुस्ताले।
गाईभैंसी चराउने गोठालाहरू चौतारीको वरपिपलको छहारीमा ढुङ्गाका छपनीमा बसेर बागचाल र गोटा खेलेका, मस्का मस्की गरेका र माया प्रेम लगाएका स्मृतिहरू बिर्सन कहाँ सजिलो होला र? उखरमाउलो गर्मीले सताएका दिनहरूमा शितल हावा खाँदै गफगाफ गरेका,चराको चिरविर सुनेर रमाएका दिन बिर्सिन कसरी सकिएला र? घाँस दाउरा, अन्नपात, नुन तेलका खर्पन लगायत भारी वरपिपल चौतारीको खुड्किलोमा बिसाएर लामो स्वास तान्दै टोपी तथा काँधमा भएको गम्छाले पसिना पुछेर सुस्ताएका स्मृति विस्मृति हुन पनि कठिन छ नि।
नजिक बस्तीका पाका पुस्ताका व्यक्तिहरू जम्मा भएर आफ्ना जीवनका कथाहरू र जीवनमा भोगेका पीडाका पोकाहरू फुकाउने स्थान थिए चौतारी। जवानीका कुरा निकालेर पुन एक पटक युवा जोस शरीरमा फैलाउन सहयोग गर्थे ती वरपिपर र स्वामीले। जीवन जिउने सहाराको खोजीमा पहाडबाट मधेस झर्नेहरूले डोकोभित्र बिहान बेलुकीको खाना पाक्ने ताउली, ढिडो ओडाल्ने भजालो, तरकारी पाक्ने तप्के र तसला डोको माथि राखिएका गुन्द्री, मान्द्रोका भारी टुक्करुक्क बिसाएर अनिश्चिततामा भविष्यको सपना देखेका यिनै वरपिपलको छहारीका चौतारीमा त हो। कता जाने टुंगो नभएको अवस्थामा पनि तिनै चौतारीमा बिसाए, रूख जस्तै अडिग भए अनि रूख जस्तै मौन भएर भविष्यको कल्पाना गरें। त्यहीँ भएका मान्छेलालाई सोधेर उनैको कुरामा विश्वास गर्दै गाउँतिर छिरे होलान् बाँकी जीवन जिउने सपना बुन्दै।
खुला रूपमा ठूला ठूला आमसभाहरू गर्न नपाइने विगतको राणा र पञ्चायतकालमा कतिले यस्तै चौतारीमा सानो समूहमा भए पनि राजनीतिक छलफल चलाए होलान्।
किसानहरूले छायाँमा बसेर आफ्ना घरपालुवा जनावरको बारेमा यस्तो छ र उस्तो छ भनेर कति छलफल गरे होलान्? कतिले घर र मन्दिरमा पूजाआजाको लागि त्यही वरपिपल र स्वामिका पातहरू लगें होलान्? वुद्धले गयामा गएर बोधी वृक्षको फेदमा बसेर तपस्या गरेझैं कति कवि र लेखकहरूले यिनै वरपिपलको छायाँमा कविता, कथा र साहित्यिक सिर्जना गरे होलान्।
कति महिलाले लिएका व्रत पूरा गर्न यी वरपिपलहरूलाई कति पटक घुमे होलान् र धुपबात्ती जलाएर वर पिपलको फेदमा पूजाआजा गरे होलान्। लगाइका चन्दन, अबिर र केसरीहरूका रंगिन धब्बाहरू र थपिँदै गएका धागो र ध्वजाहरूले किति सोभित भएका थिए ती वारपिपलका रूखहरू नवविवाहित युवती जस्तै।
धार्मिक मात्र कहाँ हो र कति युवायुवतीले समाजको आँखा छल्न बेलुकी भेट हुने र माया प्रिति लागाउने, मायाको डोरी कस्ने स्थान बनाए होलान् यिनै वरपिपलका चौतारीहरूलाई।
ती रूखहरू केवल प्रकृतिका अंग मात्र होइनन्; मानव संस्कृति पनि हुन्। ती रूखले सुनेको अभिलेख पढ्न सक्ने आधुनिक उपकरण हुने हो भने त्यहाँ कति जीवन्त कथा र इतिहास होलान्? यी रूखहरूले के सुनेनन् ? के देखेनन् र? बिहान सबेरै जल चढाउन र पूजा गर्न आउने महिलाका मनका वेदना, दौंतरीका घरायसी पीडा, घरमा भएका झगडाका कथाहरू कति सुने सुने।
गाउँ छिमेकमा भएका सरसल्लाह सुने, केटाकेटीका विवाहको खबर सुने, नजिकको बस्तीमा भएका मृत्युको शोक सुने। मेलापात, जात्रा र रमाइला क्षणहरूका कुरा सुने। समाजमा हुँदै गरेका परिवर्तनको सुरूआती सोच, त्यसमा भएका छलफल पनि त यिनै रूखले सुने। यी रूखले देख्न पनि धेरै कुरा देखें। मान्छेले गरेका अरू मान्छेले देख्न नहुने कुरा पनि देखें, समुदायलाई देखाउन गरिएका कुरा पनि देखें।
गाउँघरका रमाइला नाचगान, झाँकी, देखे। युवाहरूले राज्य व्यवस्था र सामाजिक बेथितिको विरूद्धमा गोलबन्द भएका, परिवर्तनको सोच राख्ने एक युवाले अर्कोलाई बुझाएका, सत्ता र शक्तिको विरूद्धमा गरिएका प्रश्नहरू र सामाजिक अन्याय विरूद्धमा घन्काएका नाराहरू पनि यिनै चौतारीका वरपिपलले सबैले भन्दा पहिला सुने। यत्ति हो यी वरपिपलले कहिल्यै पनि सुनेको कुरा अरूलाई भनेनन्, चाप्लुसी गरेनन्। पढ्न सकेको भए यी रूखसँग धेरै कथा थिए, मान्छेका व्यथा थिए र अथाह इतिहास थिए।
सडक त चौडा भए तर मनहरू साँघुरिए, बाटो त बन्यो तर छहारी मासियो। कर्कस आवाज निकाल्दै धेरै गाडीहरू कुद्न थालेका छन्। छेउछाउमा पेटी र रंगीचङ्गी भित्ता पोताइले सडक सिँगारिएका पनि छन्। बिहान र साँझपख डाङ्ग्रे, सारौं, काग बकुल्ला लगायतका चराहरू ब्युँझने र बास बस्ने बेलाका प्राकृतिक संगीत हराएका छन्। शान्त त भएको छ तर मृतशान्ति जस्तै। रूख मुनि हुने बिष्टा नहुँदा सफा त भएको छ तर हिउँ बिनाको हिमाल जस्तै। नाङ्लोमा व्यवसाय गरेर बिहान बेलुकीको हातमुख जोर्ने गरिबको सहारा ढलेको छ।
दिनको चर्को घामा छल्न जोत्दा जोत्दै गर्मीले धकेका हलगोरू राँगाहरू जुवा सहित शितलमा उभ्याएर काँधको तौलियाले पसिना पुस्दै सुस्ताउने स्थान हराएको छ। प्रकृतिको चक्रिय प्रणाली पनि त तोडिएको छ। चराले रूखका फल खान्थे, चराको बिष्टा र झरेका कुहेका फलको मलले घाँसलाई मल हुन्थ्यो, तीनै मलमा सप्रेका घाँस र झारपात गाई वस्तुलाई चरन भएको थियो। घामको उखरमाउलो गर्मी छल्ने छहारी मात्र हो र हजारौं मान्छेको लागि प्राप्त हुने प्राण वायुका स्रोतहरू पनि हराएका छन्।
खै मलाई त विकासको नाममा के हराएको के हराएको जस्तो, प्यारो स्मृति नै गायब भएको जस्तो भान भएको छ। धेरैले भन्दैछन् विकासले फड्को मार्यो। खै मलाई भने मान्छेका स्मृतिहरू, विश्रामस्थलहरू, छहारीहरू, चराचुरूङ्गी र घर नहुने मान्छेका घरबासहरू र हामी सबैको प्राणवायुका स्रोत र पर्यावरण नाश भएको देखेको छु।
चौतारी र वर–पिपल केवल रूख कहाँ हुन् र ती त गाउँका इतिहास, न्याय, विश्वास र सामूहिक स्मृतिका जीवित साक्षी हुन्। मेरो मात्र होइन धेरै प्रकृति प्रेमीको मन दुखेको छ। त्यो पीडा शब्दमा व्यक्त गर्न गाह्रो छ। ती वरपिपलसँग मानिसको सम्बन्ध मौन छ, न ढलेका रूख बोल्छन्, न मानिस नै आफ्नो मनको पीडा सधैँ बोल्छन्। त्यो गहिरो सम्बन्ध कहाँ शब्दमा व्यक्त गर्न सकिन्छ र।
जब रूख ढल्छ, मानिसको मन पनि कतै ढल्छ। चौडा पारिएको सडको छेउमा कहिले रोपिएलान् वरपिपलका बिरूवाहरू ? फेरि कहिले होलान् त्यति विशाल छहारी दिने रूखहरू? हाम्रो जीवनकालमा फेरि देख्न र बस्न पाइएला र त्यति भीमकाय रूख सहितको चौतारीमा? के अबका सडक किनारहरूले फेरि यस्तै छहारी देलान्? सोच्दा सोच्दै ढालिएका र हराएका वरपिपल सँगै मेरो मन पनि हराएको छ।