पचासौँ शरद् रित्तिए, यादका क्षितिजहरूमा
अझै पनि ऊ बाँचिरहेछ, मेरा आँखाका नानीहरूमा
भेडाका बथान र पाखामा बजेको पिपिरीको त्यो करुण धुन
अझै ताजै लाग्छन् सबै, ओइलाए पनि यी आँखा र स्पन्दनमा।
‘श्याम’ थियो ऊ गाउँको शान, परिवर्तनको नाम
तर नियतिले बनाइदियो, इतिहासको एउटा बलिदान
बडाबाले ‘क्रान्ति’ नाम दिए, ‘मुक्ति’ को सपना बुन्दै
हिँडेको थियो ऊ रातो टीका र दुबोको आशिष् चुन्दै।
अन्यायको किल्ला ढाल्न, ऊ पहाड बनेर उभिएथ्यो
तर विडम्बना! उसको रगत त महलको जगमा थुप्रिएछ
जसको श्रम र पसिनाको मूल्य, आज सहरले बेच्दै छ
बडीआमाको फाटेको गुन्यू, स्वयम्भूले हेरिरहेका होलान्।
बडाबाको त्यो छातीको गर्व, आज घृणामा फेरिएको छ
क्रान्तिको त्यो सुन्दर चित्र, स्वार्थको पर्खालले घेरिएको छ
ठुले हरायो सहरको भीडमा, साने बिलायो मैदानमै
आशाको त्यो दियो बल्नुअघि नै, किन फेरि निभ्दै छ?
अगेनामा आगो बल्न छाड्यो, मनमा बल्दैछ ज्वालामुखी
‘चाहिँदैन यस्तो परिवर्तन,’ भन्दै चिच्याउँछन् तिनै गरिब दुःखी
एउटा निमुखाको बलिदानमा, कसले रच्यो यो उत्सव?
जब घरको मियो नै ढल्यो, के काम त्यो वैभव!
श्यामबाट ‘क्रान्ति’ बन्यो, अन्यायको विरुद्ध लड्न
गरिबीको साङ्लो चुँडाई नयाँ संसार रच्न
तर समयले अर्कै मोड लियो, सपना भयो खरानी
महलका भित्तामा कैद भए, माइलाका ती कुर्बानी।
विलास सहरमै हरायो, रामविलास पनि फर्केर आएन
जसका लागि रगत बग्यो, उसैले न्याय पाएन
यहाँ अबोध विद्यार्थी मरे, तर उराल्नेले नै गुथे पगरी
निमुखाका छाप्रामा डोजर चल्दा हुकुमी नै चुस्दैछ रसबरी।
हिजो क्रान्तिको गीत गाउने उनै दिदीलाई
नयाँ चोली र फूलबुट्टे सारी, अर्थहीन लाग्छन् आज
पटक– पटक गरिबले नै होमिरहनु पर्छ जीवन
बडाबा चिच्याउँछन् रातमा, अब चाहिन्न परिवर्तन।
म त अझै कुरिरहेछु,
त्यो नीलो आकाश बोकेर आउने, हरियो पहाडको सपना
तर यहाँ त शब्दहरू मात्र बाँचे, बाँकी रहेनन् चाहना
तिम्रो ‘अमरत्व’ त केवल अक्षरमा नै कैद भएछ माइला
गाउँको उकालीमा त, अझै उस्तै छन् भोका पाइला।