'म' मा अब तिमीलाई
न पाउने आस छ
न त तिमीलाई
गुमाउने त्रास छ!
म अब तिमीलाई बाटाहरूले बटुवा पर्खेझैँ
पर्खिने पनि छैन
घाम प्रत्येक बिहान फर्किएझैँ
फर्किने पनि छैन!
म अब तिम्रो बारेमा
सोच्ने पनि छैन
बर्मुडा ट्रयाङ्गल जस्तै रहस्यमय तिमीलाई
बुझ्न खोज्ने पनि छैन!
म तिमीलाई भेट्दा नदीले समुद्र भेटेझैँ
आत्तिने पनि छैन
रक्सीले नसा भेटेझैँ
मात्तिने पनि छैन!
हिउँले घाम भेटेझैँ
पग्लिने पनि छैन
गुलाफले वसन्त भेटेझैँ
फक्रिने पनि छैन!
म त अब तिमीलाई सायद
भेट्ने पनि छैन
र
म तिम्रो गुरुत्वाकर्षणले
तानिने पनि छैन!
म पुन उपेक्षाको चड्कनले
हानिने पनि छैन!
म तिमीबाट पर, निकै पर रहनेछु
र हाम्रा स्मृतिहरूसँग बाँच्नेछु!
जहाँ
चुरोटका ठुटा र चियाका कप बोल्नेछन्
एक माइल यात्रा र दुई गाग्री गफ बोल्नेछन्
एक मुस्लो मुस्कान र टाइट हग पोल्नेछन्
तिमीसँग बिताएका सग्ला यादहरूले चिमोट्नेछन्!
म चिमोटिए पनि, निमोठिए पनि
म रेटिए पनि, मेटिए पनि
म दुखे पनि, म ‘म’सँगै छुटिए पनि
म तिम्रो सामु आउने छैन
यो मृतात्माले तिमीलाई कहिल्यै बोलाउने छैन!
बरु
तिमी पश्चिम भए, म पूर्व हुनेछु
तिमी भूमध्यरेखा भए, म ध्रुव हुनेछ
तिमी विद्धान भए, म मूर्ख हुनेछु
तिमी दिन भए, म रात हुनेछु
तिमी रुख भए, म झारपात हुनेछु
तिमी मौनता भए, म संवाद हुनेछु
तिमी मान्य भए, म अपवाद हुनेछु
तिमी सफल भए, म बरबाद हुनेछु
र
म तिमीदेखि हजारौँ हजार माइल दूर-दूर हुनेछु
जसरी
सूर्यले जूनलाई
सौन्दर्यले सुनलाई
भक्तले भगवानलाई
प्राणले सासलाई
नभेटेर, नदेखेर, नसुनेर मौन प्रेम गर्छ!
त्यसरी नै तिमीलाई
मात्र तिमीलाई
म प्रेम गर्नेछु
र गरिरहनेछु!