समयलाई एक फन्को पछाडि घुमाएर
अझ फ्ल्यासब्याकमा रमाइरहँदा
चलाएमान हुन्छ मन
जहाँ म
प्रतीक्षा गरिरहेको थिएँ
व्यग्रतापूर्वक
तिमी
र
उसै गरी तिम्रो हातले बनाएको
त्यही मिठो एक कप चिया
त्यो टि-टेबलमा।
त्यो टि-टेबल
जहाँ बिछ्याइएको थियो
न्यानो आत्मीयताको टेबलम्याट
भित्ताभरि झुन्डिरहेको थिए विण्ड च्याम्प
र प्रवाहित गरिरहेका थिए मधुर राग
अनि
आँखाभरि छल्किरहेका थिए
प्रेमिल पलहरू
र बेजोडसँग चलिरहेको थियो
मन र मस्तिष्कमा आँधी
र चलिरहेकै थियो
तिमी र म बिचको मौन संवाद
जहाँ समय केही छिनका लागि रोकियो
र पुनः चलायमान बन्यो
जब
सुगन्ध र स्वादको त्यो गुलाफी जादुमय स्वरले
तिमीले एकै सासमा बोल्यौ
हजुर चिया लिनुस् न।
हरेक पल
सम्झिँदै गर्दा त्यो सम्झना
अझ महकिएर आउँछ
रोमाञ्चित बन्दछ तन अनि मन
त्यो चिया
चिया मात्रै होइन थियो, एक साझा पल
ती सबै यथा स्थानका वस्तुहरू
मात्र वस्तु थिएनन्
दसी बनेका थिए
हाम्रो प्रेमिल पलको
ती सबै अवयव त थिए
हामीले एक अर्कालाई बुझेको प्रमाण
अनि हाम्रो सम्बन्धको
एक चुपचाप रुमानी कविता।