मित्र
तिमीले त मन छुने कविता लेखेछौ
त्यो पहाडका नाङ्गा नाङ्गा डाँडाहरूमा
हरियो साल सल्लाका अग्ला अग्ला रूखहरू रोपेर
चुरे र महाभारतका खुइलिएका पाखाहरूमा
हरियाली वन जङ्गलले ढाकेर
रित्तिएको सिद्धिएको चारकोसे झाडीमा
बयर र भोर्लाका मुनाहरू उमारेर
पहिले हामी जन्मेको बेला जस्तो
हाम्रो देशको प्रकृति सजाएर
तिमीले मित्र
मन छुने कविता लेखेछौ
सललल बगिरहने झरनाहरू
ठाउँ-ठाउँमा पानी भर्न जाने ढुंगेधाराहरू
साना-ठुला नदीनालामा दुआलो फर्काएर
गैरीखेत र माथ्लो खेतसम्म पुर्याएका
कुलो कुलोबाट पटाएका पानी
धान र गहुँ रोप्दै रमाएका रोपारहरू
सबैलाई अक्षर अक्षरमा संगालेर
तिमीले मित्र
मन छुने कविता लेखेछौ
ती साधारण आनन्दमय गाउँघरहरू
सोझा सिधा र भोला गाउँलेहरू
हरेक दुःखमा भरपुर सहयोग
सुखमा उमंग र रमाइलो
हरेक बटुवालाई गाँस, बास र सत्कार
भेटे र बोलेपिच्छे मधुर वचन र मुस्कान
पुरै बस्ती नै आफ्नै परिवार जस्तो
साँचो आत्मीयता र माया छर्लङ्ग्याएर
तिमीले मित्र
मन छुने कविता लेखेछौ।