उसका वैयक्तिक गोपनीयतामाथि
नलेखिनु पर्ने यो प्रतिकविता
उही नदीमा अर्को डुङ्गा बनेर
सँगै बगेको छ उसका कविताका भावनामा
ऊ घरका लागि परदेश गएको हो
अरू झैँ घर बेचेर
परदेशको सपना किन्न होइन!
त्यसैले त ऊ अरूभन्दा भिन्न छ-
मनको कुरा गर्छ
श्रमका दानामा जीविका गर्छ
परिवारमा भविष्य देख्छ
दिन र रात कटाएर खुसीको आयु बढाउँछ!
मनमा समुद्रको आँधी बोकेर
नछटपटाई बाहिर ऊ शान्त देखिन्छ
एलेक्सजेन्डरको निर्भीक
बुसेफालस जस्तै!
तुवाँलोमा लेखिएको अक्षर झैँ
अस्पष्ट र धुमिल हुने सामाजिक सञ्जाल
अनि
नदीको भेलमा फ्याँकिएको चिठी
जसले जति पढे पनि अर्थ नखुल्ने गरी
ऊ कहिल्यै आफ्नो घरको दैलो खुला राख्दैन
शब्दका नाङ्गो धारिलो तरबार फ्याँक्दैन
ताकि
उसको बिसौनीमा बसेर टिप्पणीका ठुटाहरू ननिभाउन्!
सुक्खामा वर्षा पर्खिएको जमिनमा पानी बनेर
बिछोडिएको स्वरमा फेरि मिलेको सङ्गीत भएर
जब ऊ फर्कन्छ एक दिन-
नभ झैँ निलो जीवनको तालमा
दीपशिखा वरिपरि मौन बस्नेछ अँध्यारो
र
बिहानीको ओसमा टल्किने छन् उसका
फूलहरू अद्भुत, अचम्मले अंकमाल गर्दै!