परिवर्तित व्यवहार भाग- २
जिउँदो मुर्दा जस्तै सबै सहेर बस्ने हो भने आफ्नो जिन्दगी परदेशमै खरानी हुने पक्का थियो। त्यसैले पूजाले जसरी पनि आफ्नो देश, परिवार र पतिको अङ्गालोमा फर्किने संकल्प गरी। संकल्प पनि यसरी गरी कि उसलाई एउटा अदम्य ऊर्जा, शक्ति र साहसको ज्वारभाटा आफूभित्र उर्लिए झैँ अनुभूति भयो।
उसले मनमनै एउटा योजना बनाई। नील घरमा नभएको मौका पारेर रोनालाई रुँदै सबै कुरा सुनाई। रोना एक नम्र तर स्वाभिमानी युवती थिई। उसले पूजाका दुई हत्केला समाउँदै पहिला उसलाई सान्त्वना दिई अनि गहभरि आँसु पार्दै भनी-
‘पूजा, मेरो बुढाले जुन पाप गर्यो त्यसको लागि परमेश्वरले उसलाई अवश्य नर्कवास गराउनुहुन्छ। तर तिमीले यदि यो कुरा कसैलाई बाहिर भन्यौ भने ऊसँगसँगै मेरो, मेरो छोरीहरू र पूरै खानदानकै इज्जतको धज्जी उड्छ। त्यस पापीसँग हामीले पनि हजार थरी संकट सहनु, भोग्नुपर्छ। त्यसैले बिन्ती छ, कसैलाई यसबारे केही नभन्नु है। म तिम्रो सबै डकुमेन्ट, तिम्रो फोटो भिडियो जे-जे छ सब त्यस पाजीसँग लिनेछु। तिमीले जति सक्दो चाँडो नेपाल फर्किने प्रबन्ध पनि म मिलाउँछु। तिम्रो सबै कुरा मिलिसकेपछि त्यसलाई म आफ्नै तरिकाले तह पनि लगाउँछु। त्यसैले प्लिज मेरो कुरा मानिदेऊ।’
रोना पिन्चे भइसकेकी थिई। पूजा थोरै आश्चर्यमा परी। आफूमाथि भएको अत्याचारको लागि उसलाई नील फाँसी चढेको पनि कमसल नै लाग्ने थियो। तर नीलकी सोझी पत्नी र निर्दोष छोरीहरूको बारे उसले सोची। अझ बढी सोची आफू बिरानो ठाउँमा, बिराना मान्छेहरूबीच भएको अवस्थाबारे। पूजाले कानुनी उपचार लिए वा रोनाको आग्रह नमाने कुरा बिग्रिन पनि सक्थ्यो। त्यस अनजान ठाउँमा उसले त्यो कदम उठाउन उचित ठानिन। फेरि उसको घाउहरूमा त नेपाल फर्किन पाउने कुराले नै सञ्जीवनीको काम गरिसकेको थियो।
रोनाले भनेअनुसार पूजाले आफ्नो नागरिकता र पासपोर्ट पाई। सबै तस्वीर र भिडियोहरू उसकै अगाडि रोनाले नीलको फोनबाट डिलिट गरी। साथै थप २० लाख पैसा पनि उसले पूजालाई थमाइदिई। जति नाइँनास्ति गरे पनि पूजाले त्यो पैसा फर्काउन सकिन। क्षतिपूर्ति, आत्मग्लानि या करुणा, कुन भावले प्रभावित भएर रोना उसलाई यति ठुलो रकम दिइरहेकी थिई। पूजाले बुझिन। तर नेपाल पुगेर त्यहीँबाटै नीललाई मुद्दा हाल्न मिल्ने प्रक्रियाबारे बुझ्ने सोच उसले तुहाइदिई।
आफ्नो ३ महिना पुग्न लागेको गर्भलाई भने उसले तुहाउन सकिन। जब दोषीले नै सजाय पाएन भने जसको कुनै दोषै छैन, उसको घाँटी किन निमोठ्नु! बच्चा जसरी गर्भमा आए पनि आफ्नै गर्भमा आएको हो भन्ने सोचेर उसले त्यस बच्चाको सास खोस्न चाहिन र उसलाई जन्माउने निधो गरी। अब नेपाल फर्केर यही पैसाले कुनै सानोतिनो व्यवसाय सुरु गर्ने तर भुलेर पनि विदेशी भूमि नटेक्ने उसले निश्चय गरी।
सबै कुरा मिलिसकेको थियो। भोलि ऊ नेपाल फर्किँदै थिई। खुसीले उसलाई निद्रा नै परेको थिएन। उसले महेशलाई कल गरी। महेश अहिलेसम्म सबै कुराहरूबाट अनभिज्ञ नै थियो। नेपाल पुगेरै भन्ने भनेको सबै कुरा उसले आजै महेशलाई फोनमा सुनाई। उताबाट महेशको श्वासप्रश्वासबाहेक केही सुनिएन।
पूजाले महेशको प्रतिक्रिया बुझ्न चाहेकी थिई। तर उताबाट फोन काटियो। भोलि भेटेर नै महेशसँग राम्ररी कुरा गर्ने उसले मन बनाई। महेशलाई सुरुमा सबै कुरा अनौठो, अपत्यारिलो र कष्टकर लाग्ला तर आफ्नो पत्नीको पीडा र भोगाइ सुनेपछि उसले सबै कुरा सामान्य रूपमै लिने र यस बच्चालाई पनि स्वीकार्ने कुरामा ऊ विश्वस्त थिई।
दिन ढल्यो। रात पर्यो। अँध्यारो छायो। अँध्यारोमै निस्के महेश र पूजा गेस्ट हाउसबाट। आफू बस्ने डेरा पुगेपछि महेशले बाहिरको फलामे ढोका खोल्यो। दायाँबायाँ, तलमाथि कतै नहेरी हतार आफ्नो कोठातिर हान्नियो। पूजालाई पनि त्यसै गर्न लगायो। कोठा आइपुगेपछि पूजा नुहाउनलाई बाथरुम छिरी। महेश अझै पनि मौन थियो। दिक्दार भएर झ्याल बाहिरको अविरल झरी एकटकले हेर्दै थियो।
पूजा नुहाएर बाथरुमबाट निस्की। लिभिङको सोफामा बसिरहेको महेश नजिक गएर बसी। लामो समयपछिको मिलन। वर्षौँ पतिको माया र स्पर्शबाट वञ्चित पूजाले आफूलाई थाम्न सकिन। अप्ठ्यारो मान्दै भए पनि उसले महेशलाई अङ्गाल्न खोजी। महेश जुरुक्क उठ्यो। पूजालाई साह्रै नराम्रो लाग्यो। उसले भित्ताको घडी हेर्यो। रातिको आठ बजिसकेको थियो।
‘म खाना बनाउँछु। दिउँसो पनि नखाएको तिमीले,’ उसले घडीतिर हेर्दै भन्यो।
पूजा दिउँसोदेखि महेशमा आएको परिवर्तन ख्याल गर्दै थिई। त्यसको सम्भावित कारण पनि उसलाई ज्ञात थियो।
‘भोकै लाग्या छैन। म खाँदिन। तपाईं बस्नु। खाना म बनाउँछु।’
‘खान त मलाई नि खासै मन छैन। छोडिदेऊ उसो भए,’ महेशले कोठाबाट निस्किँदै भन्यो।
‘कता हिँड्नुभएको यतिखेर?’
‘एउटा चुरोट खाएर आउँछु। बट्टाको सकिएछ।’
‘यस्तो पानी पर्दैछ,’ पूजाले झ्यालबाट बाहिर हेरी। महेश केही नबोली भित्रै छिर्यो र सुत्ने कोठातिर लाग्यो।
‘आउनु न, एकछिन यतै बसौँ,’ झ्यालबाट आइरहेको चिसो हावाका झोक्का र पानीका हल्का बाछिटालाई आफ्नो मुहारमा स्पर्श गर्न दिँदै उसले महेशलाई बोलाई।
‘निद्रा लागिरहेछ। म सुत्छु।’
‘के भएको छ तपाईंलाई महेश? यति वर्षपछि आज हामी भेटेका छौँ। म कुन नर्कको यातना भोगेर फर्किएकी छु। तर तपाईंलाई केही मतलबै छैन। मेरो लागि पिर, सुर्ता, माया, स्नेह केही देख्दिनँ तपाईंको मनमा। हामी भेट भएदेखि एक पटक पनि ‘तिमीलाई कस्तो छ पूजा’ भनेरसम्म सोध्नुभएको छैन। किन यस्तो अनौठो व्यवहार गर्नुभएको तपाईंले मलाई?’ ढिला नगरी पूजाले ठाडै सोधी।
‘मलाई केही नसोध है। तिमीलाई राम्ररी थाहा छ म किन यसरी अनौठो भइरहेछु। जे कुरा गर्नु छ भोलि गरौँला। अहिले म एकदमै थाकेको छु। सय थरी कुराहरू सोच्दासोच्दा टाउको फुट्न लागेको छ मेरो,’ महेशले दिनभरिमा नबोले जति एकैपटकमा बोल्यो। आफ्नो कोठाभित्र छिर्यो।
पूजाले आफ्नो आँसु थाम्न सकिन। बरर झरिहाले। उसलाई आफ्नो पतिसँग अहिले नै राफसाफ कुरा गर्न मन लागेको थियो। मजाले सम्झाउन मन लागेको थियो कि उसले जानीबुझी कुनै अपराध गरेकी होइन। ऊ त केवल दुर्दान्त नियतिको शिकार भएकी हो भनेर। तर महेश उसको कुरै नसुनी कोठाभित्र छिरिसकेको थियो।
पूजा अझै आफ्नै सोचाइमा डुबेकी थिई। महेशले घुरेको सानो आवाज घरीघरी उसको कानमा परिरहेको थियो। निकै बेरपछि ऊ पनि सुत्न जान्छे। आजको रात उसलाई निकै लामो र बोझिलो लागिरहेको छ। अनेक थरी कुराहरू मनमा खेलाउँदै बेडमा लडेको दुई घण्टापछि बल्लतल्ल उसका आँखाहरू लोलाउन थाल्छन्। ऊ सुत्छे।
बिहानीको उज्यालो मद्धिम छ। आकाश काला बादलहरूका घेरामा धुम्म छ। ढल निकास गतिलो नभएको टोल छ। हिजोदेखिको अविरल वर्षा छ। तल गल्लीदेखि चोक सबै पिँडौलासम्मको पानीमा डुबेको छ। मान्छेको आवतजावत निकै कष्टकर भएको छ। जस्तोसुकै बाधा भए पनि महेश बाहिर निस्कनलाई हातमा छाता बोकेर तम्तयार छ। ढोकाको सँघार नाघ्नै लागेको छ।
‘यस्तो पानीमा कहाँ हिँड्न लाग्नुभएको?’ अघिदेखि महेशको गतिविधि हेरिबसेकी पूजाले सोध्छे।
‘जहाँ गए पनि फर्केर आउँछु त। तिमीलाई हरेक कुरा नसोधी हुँदैन?’ बाहिर परिरहेको पानीभन्दा चिसो ढङ्गले महेशले जवाफ दिन्छ।
पूजा खङ्ग्रङ्गै हुन्छे। चकित पनि।
‘कोठा खोज्न हिँडेको। हामी आजै यहाँबाट सर्ने हो। भरे राति। तिमी कोठाभित्रै बसिरहनु। बाहिर निस्कन पर्दैन,’ छाता खोल्दै महेश फेरि बोल्यो।
अटेसमटेस भावनाहरूलाई पूजाले यहाँभन्दा बढी मनमा राख्न सकिन, ‘कोठा किन सर्नु पर्ने महेश? किन म बाहिर निस्कन नहुने? आफ्नै घरमा पनि हिजो राति चोरजस्तै लुसुक्क किन आउनु पर्ने हामी? मेरो यो अवस्थाको कारण तपाईंलाई यस्तो अप्ठ्यारो भएको हो भने सिधै भन्नु।’
‘थाहा रहेछ त आफूलाई। सबै कुरा मेरै मुखले सुन्न मन लाग्छ?’ उसले खोलिसकेको छाता बन्द गर्यो। कोठाभित्रै छिर्यो। ढोका ढप्प लगायो। आफू पनि पूजा बसिरहेको सोफामा बस्यो। उसको शब्द प्रहारले पूजाको भने मुटु नै छेडिसकेको थियो। महेशबाट उसले यस्तो पराई र चिसो व्यवहारको कल्पना गरेकी थिइन। ऊ निर्वाक् आफैमा टोलाइरही।
‘तिमीलाई त्यहाँ त्यो मान्छेले जबरजस्ती नै गरे पनि, तिम्रो बच्चा नै बसे पनि, अबोर्सन त गर्न सक्थ्यौ नि। न तिमीले बच्चा फाल्यौ, न यसबारे मलाई कहिले केही भन्यौ। यता फर्किने अघिल्लो रात एक्कासि यो सब सुनाएपछि मैले यो सब घटनालाई कुन रूपमा बुझ्ने? फेरि तिमीले भनेको सबै कुरा साँचो नै हो भन्ने पनि के आधार छ? सबै सुनेको, बुझेको तिमीबाटै हो। तिमीले त मलाई यस्तो यस्तो भयो भन्यौ, सकियो। खेप्नु पर्ने त मैले नै हुन्छ।’
पूजालाई उसको लोग्ने महेश होइन अरू नै कोही अपरिचित मान्छे बोलिरहेको भान भयो। उसले महेशको अनुहारमा हेर्दै उसको कुरा सुनिरही।
‘अब जे भयो भयो। भइसकेको कुरालाई बदल्न सकिँदैन। तिमीलाई म आज पनि त्यति नै माया गर्छु जति पहिला गर्थेँ। ल ठीक छ, तिमीले भनेको कुरामा पनि मलाई विश्वास छ तर यो घटनाको कहिले नमेटिने खतलाई तिमीले आफूसँगै लिएर आएकी छौ, त्यसले चाहिँ हाम्रो सम्बन्धलाई कहिले फुल्न फक्रिन दिँदैन पूजा। म यो विदेशी छाउरा कि छाउरीले गर्दा अनेक फालतू तनाव, समस्यामा अल्झिन चाहँदिनँ। तिम्रो गर्भ बसेको ३ महिना भइसक्यो त्यसैले तिम्रो बलात्कार भएको प्रमाणित गराएर भए पनि यसलाई फाल्नु पर्छ। अनि यहाँबाट पनि हामी आजै सर्नु पर्छ। तिम्रो यस्तो अवस्था हुँदाहुँदै हामी यहाँ बस्यौँ भने मान्छेहरूले दुनियाँ थरी कुरा काट्छन्। अब सबै तिम्रै हातमा छ पूजा। हाम्रो जीवनमा पहिलाजस्तै खुसीयाली फर्कियोस् भन्ने चाहन्छौ भने तिमीले पनि मैले भनेजस्तै गर्नुपर्छ,’ महेशले अन्तिम वाक्य बोल्दाबोल्दै आफ्नो स्वर धेरै सानो गरिसकेको थियो।
बाहिर पानी दर्किनु छोडेकै थिएन। उसले सोफाबाट उठेर झ्याल बाहिर हेर्दै भन्यो, ‘फेरि दह नै बनाएर छोड्छ जस्तो छ उपत्यकालाई।’
महेशले आफूलाई अघिभन्दा हल्का महसुस गरिरहेको प्रष्टै देखिन्थ्यो। उसको ओठमाथि बल्ल एउटा विजयी हो कि कुटिल मुस्कान छाएको थियो। यता पूजाको मनमस्तिष्कमा भने पृथ्वीकै भार लादिएसरह भएको थियो। उसले महेशको कुराहरूमा कुनै पराई, बैरीको जस्तो निष्ठुरता आभास गरिरहेकी थिई। उसले बुझ्न सकिन कि महेश पहिलादेखि नै यस्तै थियो कि, समय र परिस्थितिले उसलाई यस्तो मतलबी र निर्मोही बनायो।
गर्नलाई त ऊसँग सय मुरी कुराहरू थिए तर आफ्नो लोग्नेको परिवर्तित वा भनौँ पहिले नै जरा गाडेर बसेको मानसिकता र आचरण हेर्दा उसलाई जति सम्झाउन खोजे पनि भालुलाई पुराण सिवाय केही हुनेवाला छैन भन्ने पूजाले ठम्याई। महेशले उसको मौनतालाई स्वीकृति सम्झियो। मनमनै झन् दङ्ग भयो।
चुप बसेर सहिरहनुको नतिजा के हुन्छ त्यो उसले विदेश हुँदा नै थाहा पाइसकेकी थिई। त्यसैले मनमनै अब चाल्ने कदमबारे उसले आफूलाई दृढ बनाइसकेकी थिई। विदेशको भोगाइले ऊभित्र भरपुर आँट र साहसको बीउ उमारिसकेको थियो। अचानक हिजोदेखि परिरहेको पानी पनि थामियो। माथिको आकाश र तल पूजाको मन कुनै खोलाको पानी जस्तै सङ्लिए र छ्याङ्ग भए।
‘तिमीले सानोतिनो सामानहरू सबै मिलाउँदै गर ल। म ४ बजेतिर आउँछु। अनि बाँकी ठुलो सामानहरू मिलाउँला। अँध्यारो भएपछि गाडी बोलाउनुपर्छ। अनि सामान ओसारौँला। ए साँच्ची, अलि खुकुलो खालको लुगा लगाएर बस है,’ पूजाको पेटतिर हेर्दै उसले आफ्नो कुराको बिट मार्यो। छाता टिप्यो। ढोका खोल्यो। एकपटक आकाशतिर हेर्यो। छाता कोठाभित्रै फाल्यो। यत्तिकै बाहिर निस्क्यो।
पूजाले झ्यालतिर आएर पर बाटोमा पुगिसकेको महेशलाई एकटकले हेरिरही। त्यस हेराइमा मायाभन्दा बढी कुनै चिजलाई अन्तिम पटक हेरिरहे जस्तो भाव थियो।
५ बज्न लाग्दा महेश कोठा आइपुग्यो। ढोकामा ताल्चा थिएन। मात्र बाहिरबाट चुकुल लगाएको थियो। बाहिर ननिस्कनु भन्दाभन्दै पूजा बाहिर निस्केको सोचेर ऊ मनमनै मुर्मुरियो। ढोका खोलेर भित्र छिर्दा सामानहरू केही नमिलाएको देखेर उसलाई अलि अजीव लाग्यो। ऊ छिटोछिटो पाइला चाल्दै आफ्नो रुमभित्र छिर्यो।
पूजाले हिजो ल्याएको कालो सुटकेस पनि त्यहाँ थिएन। अब उसको मनमा चिसो पस्यो। सिरानीमाथि एउटा कागज थियो। उसले कागज आफ्नो हातमा लियो। एउटा लामो सुस्केरा निकाल्यो। त्यो पूजाले उसको लागि छोडेको चिठी थियो। पूजाले चिठीमा भन्न चाहेका कुराहरू नपढी नै महेशलाई बुझिसकेझैँ लाग्यो। फेरि पनि उसले त्यो चिठी पढी सिध्यायो।
उसले अनुमान गरेका कुराहरू नै पूजाले लेखेकी थिई। महेश कोठाभित्रै फनफनी फन्को लाउन थाल्यो। बेडमा बसेर गम्भीर भएर सोच्न थाल्यो। अनि हतास बतासिएर आफ्नो कोठाबाट निस्क्यो। ढोका थुन्ने, चुकुल लाउने, ताल्चा हाल्ने केही सुर उसमा छैन। ऊ बेसुर दौडिएर पर घुम्तीसम्म पुगिसकेको छ। गन्तव्य कहाँ हो? राम जानुन्।