प्रतीक्षार्थी बनेर पङ्क्ति पर्खिरहे छैन म गन्तव्यको
समयको सुईमा झुन्डिएर धिमे घुमाइसँगै
जीवनको लय मिल्ने आशा बोकेर!
बादलको घेराबन्दी बनेको
आउने र जानेको भिडमा
रातो गुलाबमा नजर अडिएझैँ टक्क अडिएको छ
धागो बनेर जीवनको सियोमा-
शक्ति वा दुर्बलताको मापन नहुन्जेल
दर्जीको हात नपरुन्जेल
फगत सुतीको शुद्धता बनेर!
धागो जति नै बलियो किन नहोस्
सियोलाई पच्छ्याउने कर्मबाट भाग्नै सक्दैन
कि त चुँडिनु पर्दछ- चटक्क चटक्क
कि त गाँसिनु पर्दछ अनेकौँ पटक
स्वरूप नबनुन्जेल दर्जीको मर्जीसँगै!
अरू बलिष्ठ धागो नै रहन सकुन्
सियोको नियतिले बाङ्गिनु नपरोस्
तसर्थ,
नदी झैँ सरायबाट गन्तव्य रोजुन्
मेरो दाइँमा अरूको जीवन पराल नबनोस्
प्रतीक्षालयमा रहनु परे म रहूँ- केवल म
पानीको फूल हाँस्दै गल्लीमा बसे झैँ
रूपक नमिलेर नै-
जो भावनाका डोब र लहरहरूमा
सुईपालो औँठी खोज्दै खेल्न खोज्दै छ
जीवन सिउने मसिनसँग!