कविता
एउटा अन्धकारभित्र
भ्रमको प्रकाश
दशकौंदेखि चम्किरहेको थियो घाम बनेर।
मसिनो छिद्रमा जुनकिरीले चिहाए झैँ
सत्यको घामले चिहाउन खोज्दा
आँखै खाने त्यो चम्किलो प्रकाशमा जुनकिरीको अस्तित्व कहाँ रह्यो र?
ऊ त बनिरह्यो एउटा विद्रोहको पिलपिले कीरो।
तै पनि
जुनकिरी न हो ऊ पिलपिलाइरह्यो झिल्का झिल्का जोडेर।
पिलपिले उज्यालोले देखाएको यथार्थमा
सत्यको मधुरो घाम निरन्तर झुल्किरह्यो
हरेक बिहान क्षितिजबाट क्षितिजसम्म
समय पनि हिँडिरह्यो
समयदेखि समयसम्म
जन्म मृत्युको निरन्तर प्रक्रिया पनि उसरी नै चलिरह्यो।
रोकिएनन् कुनै विधि र विधान।
शासन र सत्ताका धारहरू
बगिरहे मूल र पार्श्व बनेर
नाम फेरिए
फेरिएनन् काम र कर्म
कागज फेरिए
फेरिएनन् मसी र कलमहरू
कुर्सी उही कुसन फेरिए
फेरिएनन् पिठ्युँहरू
सारा जगत् बदलिए
बदलिएनन् प्रवृत्ति
फेरिए शासक
फेरिएनन् शासकीय चङ्गुल
परिवर्तनका अनेक हुरीले उडाउन नसकेको यो अजीर्ण युगको थोत्रो लगौटी
शिशु आक्रोशमा खुत्रुक्क झर्यो मझेरीमा र सर्वाङ्ग देखाएर आमाको मजेत्रो चोर्दै भाग्दैथियो परम्पराको कङ्काल क्षितिजतिर ।
सत्यको सुनौलो घाम टिपेर
पाठशालाबाट खुत्रुक्क ओर्लिएको तोतेबोलीले
निभाइदियो अहङ्कारमा उभिएको भ्रमको प्रकाश
अनि छोडेर गयो आमाको बलेँसीमा अरुणको सुनौलो ज्योति ।
चम्किरहनेछ अनन्त कालसम्म
त्यो तारा बनेर।