अहंकारीको हातमा जकडिएको बूढो सूर्य
वर्षौंदेखि उदाउँदै थियो प्रतीक्षाको बिहानी
पूर्वको क्षितिजबाट
विश्वासको आँखा फैल्याउँदै
खोज्दै थियो असंख्य आगाका बीउहरू !
अभिमानीको आँगनमा
नित्य चलमलाउँथ्यो
सत्यको विद्रोही पाइला
तृष्णाको महलमा
बन्दी भएर पनि
विश्वासको बीउ छर्न कदापि
भुल्दैन थियो त्यो बूढो सूर्य !
सम्झाउँथ्यो अँध्यारोमा बस्न
विवश असंख्य अरुणहरूलाई
उठ !! जाग !!! फुक विगुल !!
उदाउँछन् धर्तीमा अब करौडौं सूर्य
ताण्डब गर्ने छ्न् अनि
अगस्तिको चौतारीमा
अभिमानको ताजमा
हेर्दै जाऊ
मयको दरबार झैँ
भष्मिभूत हुने छन्
अधर्मको जगमा उभिएका अनेकौं महलहरू
पद, पैसा र अभिमानको घृणित सिंहासनहरू !
सत्ताको अहम् र अनैतिक सम्पत्तिको श्रीपेचहरू ।
थाहा थियो त्यो सूर्यलाई
अन्यायको धर्ती अटल छैन
अन्धकारको कुनै अस्तित्व छैन
अत्याचारको सीमा सुरक्षित छैन
बेथितिको महल अमर छैन
विश्वस्त थियो त्यो बूढो सूर्य
घामको प्रचण्ड तेजभन्दा घातक हुन्छ
अरूणको राप र ताप
अभिमानको साम्रराज्यभन्दा
कयौं गुणा शक्तिशाली हुन्छ
शिशु सूर्यको सूक्ष्म प्रकाश
निर्मल ऊर्जाको उत्कर्षमा
ढल्नेछ अहंकारको अटल पहाड
थर्काउनेछ विद्रोहको विकराल विगुल
भत्काउनेछ भ्रष्टाचारको भरिलो भर्याङ
डडाउनेछ द्रव्यको शक्तिशाली दरबार
आक्रोश पोख्दै शान्त सूर्य भन्दैथियो
--- अब अति भयो
अब खस्नैपर्छ अहंकारको आकाश
रोक्नै पर्छ शोषणको बतास
गुञ्जिनै पर्छ असन्तुष्टिको आवाज
भत्किनै पर्छ सहनशीलताको सिन्धु
र उदाउनै पर्छ दिक्कालसम्म धर्तीमा करोडौं सूर्य
उदाउनै पर्छ दिक्कालसम्म धर्तीमा करोडौं सूर्य !!