तिमीलाई मेरो गाउँसँग चिनाउनेछु
मेरो गाउँ कति गद्गद् हुनेछ
जब तिम्रा कोमल पाइला
पहिलो पटक गाउँको आँगनमा पर्नेछन्।
सायद तिमी आउने खबरले
गाउँका ढुङ्गा, माटो र हावासमेत
आफ्नै भाषामा मुस्कुराउनेछन्
र चारैतिर एउटा नयाँ उल्लास छाउनेछ।
तिमीलाई गाउँका अग्ला-अग्ला पहाडहरूसँग चिनाउनेछु
जहाँ बादलहरू सपना बोकेर उड्छन्
तिमीलाई ती मनोरम दृश्यहरूसँग भेट गराउनेछु
जुन तिम्रो मुस्कान झैँ निकै मनमोहक छन्।
घर नजिकैको पीपलको बोटसँग चिनाउनेछु
जसले वर्षौँदेखि
गाउँका सुख-दुःखको कथा सुन्दै आएको छ
तिमीलाई खोल्साका मिठा आवाज
डाँडाकाँडाका उकाली-ओराली
र गाउँको आत्मीयतासँग चिनाउनेछु।
त्यसपछि मेरो गाउँले बुझ्नेछ—
तिम्रो अस्तित्वको आभास
तिम्रो सौन्दर्यको मधुरता
र तिम्रो कोमल हृदयको स्पर्श।
सायद
तिमीलाई असाध्यै मन पर्नेछ
मेरो गाउँको निर्मल आकाश,
हरिया डाँडाकाँडा,
ती उकाली-ओराली बाटाहरू
र माटोभित्र लुकेको अपनत्व।
त्यो दिन
मेरो गाउँले तिमीलाई आफ्नो ठान्नेछ
तिमीलाई भित्रबाट चिन्ने छ
गाउँले तिम्रो प्रशंसा गर्ने छ।