रातिको दस बज्नै लागेको थियो। बाहिर मौसम, पिलिक-पिलिक गर्दै घरीघरी बिजुली चम्किरहेको। तप्प-तप्प हल्का पानी परेको। सानो-सानो गर्जनसँगै।
भित्र म भने सुत्न नसकेर बिस्तारामा छटपटी रहेछु। सधैँ मोबाइल हेरेर सुत्ने बानी। मोबाइल नहेरी त निद्रा पनि नलाग्ने भइसकेछ। मोबाइल चलाम भने ब्याट्री सकिएर अघि नै अफ भइसक्यो। चार्ज गरे भइहाल्यो नि त भन्ने लाग्न सक्छ। कुरा त्यही त अड्कियो।
भयो के भने। आज दिउँसो मेरो चार्जरको केबल चुँड्यो। तत्काल गएर मोबाइल पसलबाट केबल किन्न सक्थेँ। किन्न निस्केको पनि हो। त्यही बेलामा अफिसमा भिजिटर्स आइपुगे। उनीहरूसँग एकछिन गफ गर्नै पर्यो। त्यति बेलासम्म मोबाइलमा चार्ज पनि त थियो। टन्न खाना खाएर बसेको मान्छेलाई भरेको खानाको चिन्ता हुँदैन, चिन्ता त तब बढ्छ जब भोकको मात्रा बढ्न लाग्छ। अझ कुनै दिन कुकरमा खाना छैन भनेको दिन भातको न्यास्रो नै लागेर आउँछ।
मलाई पनि त त्यही भयो। दिनभर चार्जर किन्ने चासो नै भएन। ब्याट्री तिस प्रतिशत जति थियो म घर आउँदा। पुगिहाल्छ आजलाई भोलि बिहानै गएर किनौला भन्ने भयो। के थाहा यसरी अफ हुन्छ भनेर।
अब मोबाइल नचलाई थुपुक्क राखेको भए त्यो चार्ज टिक्थ्यो पनि त होला। तर मन कहाँ त्यसरी मान्नु। रातिको खाना खाईवरि मैले टिभी हेर्ने सोचेँ। युट्युबमा कुनै राम्रो मुभी हेर्छु अनि सुत्नुपर्ला भन्ने थियो। मन कसरी अडिनु मोबाइल नचलाई। उता मुभी सुरु यता हातमा मोबाइल पनि सुरु।
यस्तै यस्तै बेलामा आउँछन्, मोबाइलमा राम्रा रिल। कसैका मिठा म्यासेज। फुल चार्ज हुँदा शून्य हुने मोबाइल। आज कति धेरै म्यासेज आइराको फेरि! म्यासेजका गफ मिठा हुँदै थिए, यता मोबाइलको चार्ज कम हुँदै। क्लाइमेक्समै पुगेर मोबाइल अफ। भएन त अब फसाद। टिभीको अगाडि आफूलाई राखेर एकनास भएर मुभी हेर्ने काम पट्यारलाग्दो।
टिभी बन्द गरेर पुगेँ म बेडरुममा।
आज छिटो सुत्ने कोसिस गर्नुपर्यो। तर यसै त किन निद्रा लाग्थ्यो। केही बेर मनमा ब्रह्माण्डका अनेकन् कुरा खेलिसकेपछि आफैलाई सुत्नलाई घचघचाहेँ। यसै त सुत्नै सकिएन। कसो गर्ने होला भन्दा भन्दै निदाउने एउटा आइडिया दिमागमा आइहाल्यो। सयबाट एक सम्म गन्ने। गन्दा गन्दै निदाइन्छ।
मैले दुई सय बाट गन्ने सोचेँ। एक सय पचास आइपुग्दै नसुतिएला र! काउन्टिङ सुरु भयो, दुई सय ... एक सय उनान्सय ... एक सय ... दस ... एक ... जिरो। आँखामा जिरो निद्रा।
यो आइडियाले काम गरेन। सुत्ने बेला पनि त भैसकेको छैन। किताब नपढेको पनि त कति भयो। मौका यहीँ हो आधा पढेर सकेका किताब पढ्ने। आज त बिचमा मोबाइलले डिस्टर्ब पनि गर्दैन। यो विचार मुनासिब लाग्यो। उठे बिस्तराबाट। लाइट बालेँ। निकालेँ आधा पढेर पेज खुम्चाएर राखेको एउटा किताब।
दुई पेज जति मन लाएर पढ्दै थिएँ। पिलिक्क बिजुली फेरि चम्क्यो। ड्याङ बेस्सरी आकाश करायो। मुसलधारे पानी पर्न सुरु। झ्याप्पै बिजुली पो गयो! भएन त अब फसाद।
अब त झन् न बिजुली न मोबाइल। सबैभन्दा अप्ठ्यारो यहीँ पल होला आजकलको मानिसको लागि।
सोही टेबलमा बसेर अन्धकारबिच मनले सम्झिन लाग्यो अघिको म्यासेज। कस्तो रमाइलो कुरा हुँदै थियो। ओहो! उसको के म्यासेज आयो होला त्यसपछि। अरू ले पनि गरे होलान्। मेसेज नै न आएको भए पनि नेटफ्लिक्समा हेर्दा हेर्दैको सिरिज थियो। मलाई थाहा छ अहिले मोबाइल अन भएको भए मैले त्यो सिरिज हेर्ने थिइन। के के भइसक्यो होला त्यो मोबाइलको संसारमा।
बल्ब पिलिक्क गर्यो। अर्थात् बिजुली आयो।
तर अब पढ्ने जाँगर थिएन।
उसो भए के गर्ने त? बरु एउटा कविता लेख्छु। पढ्ने भन्दा लेख्ने काम ठिक। यो आइडिया पनि ठिक लाग्यो। झटपट त्यही टेबलको मुनिबाट निकालेँ डायरी र पेन। सुरु भयो मेरो कविता यात्रा।
शीर्षक : मोबाइल
प्रिय मोबाइल
तिमी आज मभन्दा पहिले निदायौ
तिमी निदाएपछि म निदाउन सकेको छैन
तिमीसँग खेलेर सकिन्थ्यो मेरो रात
आज तिम्रो सम्झनामा मनमा कुरा खेलेर
रात सकिन खोजेकै छैन
म बडो भ्रममा रहेछु
अरू बेला
लाग्थ्यो मैले तिमीलाई चलाइरहेछु
आज तिम्रा आँखा बन्द भएपछि
बल्ल मेरो आँखा खुल्यो
म पो तिम्रो इशारामा चलिरहेको रहेछु।
कविता लेखेपछि मन केही हलुङ्गो भयो। भरियाहरू चौपारिमा भारी बिसाएपछि केही हल्का फिल गर्ने जस्तै।
अब अरू लेख्ने जाँगर पनि हरायो। सुत्ने कोसिस त गर्नै पर्छ। उपाय पनि त केही छैन। लाइट बन्द गरेर फर्किएँ बिस्तरामै। बिहानै उठ्ने र सिधै गएर चार्जरको केबल किन्ने संकल्पमा।
अँध्यारो कोठामा उज्यालो बढ्दै गयो। ए बत्ती आएछ। उठेर यसो हेरेको टेबलमुनि चार्जरको जोडिएको केबल पो भेट्टियो। कहिलेकाहीँ दराजभित्र थन्काएको पुरानो पाइन्टको गोजीबाट पैसा भेटिए जस्तै।
ल्या! यहीँ त रहिछ अर्को चार्जर, मैले बेकार यत्रो बेर अनेक गरेर। कत्ति विलम्ब नगरी जोडेँ मोबाइलमा। पिलिक्क गर्दै मोबाइल ब्युँझी त गयो। अहो! यहीँ हो सबैभन्दा खुसी। यहीँ भएको चार्जर नदेखेर म किन छटपटिएको। धत्! अघि आफै गएर पसलबाट किनेर पो ल्याएको त।
मोबाइल अन हुनासाथ खोलेँ म्यासेन्जर। हिजोको मेसेजको रिप्लाई सुरुमा दिनु छ। हत्तपत्त मोबाइलको किबोर्ड थिचेँ। किबोर्ड थिचिँदै गयो तर केही शब्द देखिन्न। हैन के भयो? किन देखिन्न लेखेको शब्द। म्यासेन्जेर आफै लग आउट भयो। मोबाइलका एप जथाभाबी चल्न लागेँ। रिस्टार्टको बटन थिचेँ तर काम गरेन। मोबाइल भित्र उसैगरी एपहरू हल्लिरहेको छन्, मानौँ बिजुलीको झड्का लागेको छ।
अनेक गरेँ, केही दम चलेन। मोबाइलसँग रिस उठेर आयो। आँखै देखिनँ। हुत्ताइदिएँ मोबाइल खाटतर्फ। खाटमा नपुग्दै काठमा गएर ठोक्कियो। हत्तपत्त गएर उठाएँ। भित्रका एप चल्न बन्द गरेर शान्तसँग बसेका थिए। बाहिर मोबाइलको सिसा धुजाधुजा भइसकेको।
बल्ल पछुतो लाग्यो।
धत्तेरि! सपना पो रहेछ। त्यही अफ भएको मोबाइल थिचेको रहेछु। उफ् (लामो सास फेर्दै) धन्न सपना रहेछ। निकै बेर सुतेर उठे जस्तो लाग्यो। उठे र बत्तीको स्विच अन गरेँ।
सुरुमै मोबाइल हेरेँ अनि भित्ताको घडी। बल्ल बाह्र पो बज्न लागेको रहेछ। मोबाइल उस्तै अफ। चार्जर चुँडिएकै थियो।
तर यो कुनै कुरामा उति सारो दुख लागेन।
मान्छे कुनै दुखमा खुसी हुन त्योभन्दा ठुलो दुख चाहिने रहेछ। अघिसम्म चार्जर नभएर दुखी भएको म, अहिले मोबाइल ठिक देखेर खुसी हुँदै थिएँ।
कोठालाई फेरि कालो बनाएर म फर्किएँ बिस्तरामै। सुतेर ब्युँझिएपछि के निद्रा झट्टै आउँथ्यो र? सुरु भयो निदाउने अगिनैको आइडिया। दुई सय... एक सय उनान्सय... एक सय अन्ठानब्बे...