चिन्तामणिलाई आजकल आफ्नै दिनचर्या सपना झैँ लाग्न थालेको छ। विदेशतिर यस्तै हुन्छ कामको रफ्तार भन्नेसम्म सुनेको थियो, विदेश भ्रमण गरेका साथीहरूबाट।
विदेशका नाममा चिन्तामणि सुनौलीको बजारभन्दा अन्त कतै गएको छैन। सुनौली भने ऊ वर्षको एक पटक लत्ताकपडा, साबुन, मरमसला आदि खरिद गर्न पुग्छ। त्यसो त चिन्तामणिलाई जागिरे जीवनमा एक पटक युरोप जाने अवसर नजुरेको होइन। विदेश भ्रमणमा जाँदा मिल्ने भत्ताभन्दा स्वदेशमा कार्यरत अड्डाको शुभलाभ धेरै गुना राम्रो हुने हिसाबकिताब आएपछि डेनमार्क जाने सूचीमा परेको आफ्नो नाम उसले भनसुन गरी आफै हटाउन लगाएको थियो।
आफू आबद्ध कर्मचारी संगठनको बिगबिगीका बेला जागिरका सन्दर्भमा आफ्नो अनुकूल निर्णय गराउनु चिन्तामणिका लागि सामान्य कुरा थियो।
हाकिमसाबका निगाहले चिन्तामणिलाई स्टोरका नाममा कार्यालयले लिइदिएको दुई कोठे डेरा कार्यालय नजिकै थियो। दश बजे खाना खाईवरी ढल्किँदै हाकिमसाबको कोठामा छिरेर राष्ट्रिय राजनीति, विभागीय सरुवा, बढुवाउपर समसामयिक विश्लेषण गरेर साढे दशतिर कुर्चीमा पुग्ने गरेको चिन्तामणिको दैनिकीमा आजकल बलात् परिवर्तन आएको छ।
नयाँ सरकार आएको दश दिन नहुँदै उसका सबै किसिमका अवैधानिक सुविधा खोसिएका छन्। यस पूर्वका अधिकृतको मोटरसाइकल चलाउने लाइसेन्स नै थिएन र राजपत्र अनङ्कित तहमा भएर पनि चिन्तामणिले सरकारी मोटरसाइकल चढ्ने सुविधा पनि उपभोग गर्न पाएको थियो। हाल उसले चलाउँदै आएको उक्त मोटरसाइकल नयाँ सरुवा भई आएका अफिसरले चलाउँछन्।
आजकल चिन्तामणिलाई डेराबाट अफिस पुग्न ठ्याक्कै ३० मिनेट लाग्छ। भनेका बेलामा बस पाइँदैन। आठ बजे नै तात्तातो दुई गाँस टिपेर सरकारी ड्रेस र परिचयपत्र भिरेर हस्याङफस्याङ गर्दै अफिस पुग्यो, मेशिनमा औँठाछाप लगायो, सोझै गएर काममा जोतियो!
अहिलेका हाकिमसाब त बिहान ८ बजे नै अफिस आइपुगेका हुन्छन्। आफ्नो कोठाको साँचो पनि आफैसँग राख्दा रहेछन्। दिउसोको खाना हटकेसमा, चिया समेत थर्मसमा राखी टुरिस्ट झैँ झोला भिरेर आउँछन्। अस्ति एउटा सेवाग्राहीले चिन्तामणिको कार्यशैलीउपर गुनासो गरेछ, हाकिमको कोठामा बोलाहट हुँदा।
‘सेवाग्राही हाम्रा अन्नदाता हुन्न, उनीहरूको सम्मान गर्न सिक्नोस्। आइन्दा यस्तो गुनासो सुन्नु नपरोस्! तपाईं जान सक्नुहुन्छ’ यत्ति भनेर हाकिम ल्यापटपमा पूर्ववत् व्यस्त भएका थिए। ल्यापटपको स्क्रिनमा रङ्गीचङ्गी ग्राफहरू थिए। चिन्तामणिले विषयवस्तु के थियो, मेसो पाएन।
कार्यालयमा पुराना कर्मचारीको पूरै सेट फेरिएको छ। नयाँ पुस्ताका अपरिचित अनुहारहरू आएका छन्। एक आपसमा चिनजान नभएर हो कि के हो, कोही कसैसँग बोल्दैन! एकोहोरो काममा मात्र व्यस्त देखिन्छन्। हाल चिन्तामणिको चिनजानको त कार्यालय सहयोगी रमेश मात्र छ।
रमेशकै कारण त चिन्तामणिको सरुवा थामिएको थियो! रमेशका एक आफन्त मन्त्रालयमा रहेछन्। जनसम्पर्क बढी हुने कार्यालयहरूमा एकजना मात्र पुरानो कर्मचारी राखी पुरै सेट नै सरुवा गर्ने नयाँ सरकारको नीति बनेको रहेछ।
‘तिम्रो अफिसमा कार्यरत सुब्बाहरूमध्ये कुन चाहिँ असल, अनुशासित र लगनशील छन्? मलाई एकजनाको नाम देऊ त!’ एक महिना जस्तो अघि रमेशलाई फोनमा सोधनी भएको थियो। उत्तरमा रमेशले ‘चिन्तामणि सुब्बा’ भनेको र उसले आफूलाई पनि अन्यत्र सरुवा नगरिदिन भनेको थियो। ‘अरू तहको भए त सक्दैनथेँ, कार्यालय सहयोगी भएकाले हेरौँला’ भन्ने आश्वासन आएको भोलिपल्ट नै सरुवा लिस्ट बाहिरिएको थियो।
फोनको कुराकानी लगत्तै रमेशले चिन्तामणिलाई यो खबर सुनाउँदा चिन्तामणिको हर्षको पारो ह्वात्तै चढेको थियो। सो गुन लगाएबापत चिन्तामणिले त्यो साँझ रमेशलाई आफ्नै क्वाटरमा लगेर २ बोतल बियर र खसीको सेकुवा खुवाएको अनि आफूले चाही एउटा रेड लेबलको सिसी आधा बनाएको थियो।
हतारमा अफिस छिर्दै गर्दा चिन्तामणिका आँखा रमेशका आँखासँग जुधे। परैबाट निहुरिएर ‘नमस्कार सुब्बा साप!’ भन्ने मान्छे, आज रमेशले मसिनो स्वरमा आँखा नजुधाई ‘गुड मर्निङ हजुर’ भन्यो। चिन्तामणिले कुनै प्रतिक्रिया जनाएन।
दिनभर जसो लेखापढी कार्यालय, क्यान्टिन, नापी र मालपोत कार्यालयका फाँट-फाँट चाहरी हिँड्ने रमेशलाई ऐले दर्ता चलानीमा ९ देखि ५: ३० सम्म घोट्टिन परेको छ! सेवाग्राहीहरू पनि कति बिघ्न आएका! जेन्जी आन्दोलनमा जलेका श्रेस्तापूर्जा कायम गर्न आएका रे। लेख्ने बानी नभएर होला, रमेशको दाहिने नाडी सुत्ने बेलामा करकर खान्छ!
टिफिन टाइममा सबै कर्मचारीहरू क्यान्टिनतिर लागे। चिन्तामणि भने खुसुक्क प्रशासन शाखामा पस्यो। दिनभर मोबाइल हेर्न नपाएको प्यास मेट्न मोबाइल निकाल्यो। आजको कान्तिपुर, नागरिक लगायतका अनलाइन खबरहरूमा सरसर्ती आँखा दौडायो। विशेष उत्साहप्रद समाचार केही भेटिएन।
सरकारले सबै सक्रिय साथीहरूलाई दुर्गमतिर खेदिहाल्यो, कसले तताउने काठमाडौँको माहौल! एक मनले सोच्यो, आफै बिदा लिएर काठमाडौँ जाऊँ कि? राजधानी जान बिदा कसले दिन्छ र जानु! निजी काममा काठमाडौँ जान पर्दा समेत भ्रमण आदेश दिने पुराना हाकिमको अनुहार चिन्तामणिका आँखा वरपर घुम्यो।
जेन्जी आन्दोलनमा जलेको पुरानो अफिस बिल्डिङ भूतघर झैँ जिङ्ग्रिङ्ग ठडिएर बसेको छ। डढेको घरको जीर्णोद्धार कर्मको कर्कश स्वरले भूमि प्रशासन परिसर गुञ्जायमान छ। डढेर काला भएका ढुङ्गाको कालो मेट्न जेन्जी उमेरको एक ज्यामी खाग्सी घोटिरहेछ।
क्यान्टिन गएकाहरू खाजा खाएर फर्किसके। चिन्तामणिले आधा घण्टा बितेको पत्तै पाएन, ‘चार नम्बर कुर्चीको कर्मचारी खोइ?’ पल्लो कोठाबाट चर्को आवाज आयो, चिन्तामणि मोबाइल खल्तीमा हालेर हतारिँदै आफ्नो कुर्चीमा पुग्यो। जेठमासका घामले तातेको जस्तापाता अस्थायी टहरो, फुलस्पीडमा चलाएका पङ्खाका आवाजले भरिएको छ! सेवाग्राहीहरूको भिडभाडले कार्यस्थल अटसमटस छ।
हिजो एकजनाले ५ वटा बेग्लाबेग्लै जग्गाधनीका स्रेस्ता कायम गर्न ल्याएको थियो। आज पनि सोही व्यक्ति पाँच फाइल लिएर चिन्तामणिका काउन्टरमा ठडिएको छ। चिन्तामणिको मधुरो अनुहार केही उज्यालियो। उसले उक्त पाँच फाइल ली आउने मानिसको अनुहारमा झुलुक्क मात्र हेर्यो अनि, देब्रे दाहिनेतिर आँखा घुमायो। लहरै काउन्टरमा सहकर्मीहरू पूर्ण तयारी गरेर आएको परीक्षार्थी झैँ टाउको नउठाई एकाग्रचित्त भई चाँडो भन्दा चाँडो कलम चलाइरहेका थिए।
चिन्तामणिले लामो सास फेर्यो। पाँच वटा फाइल उसको काउन्टरमा राखेर सेवाको प्रतीक्षामा उभिरहेको मानिसको अनुहारमा पुलुक्क सावधानीपूर्वक हेर्दै सानो स्वरमा बोल्यो, ‘हिजो पनि आउनुभएको थियो ५ वटै फाइल लिएर, आज पनि... खेती त राम्रै चलेजस्तो छ नि?’
सेवाग्राहीले प्रतिप्रश्न गर्यो, ‘कस्तो खेती? केको खेती? मेरा गाउँलेहरूको काम हो, मेरो ट्याक्सीमा पोखरा आउने जाने गर्नुहुन्छ। गाउँभरि बुढाखाडा मात्र छन्; लेखपढ गर्न जान्दैनन्। छोराछोरी सबै विदेश तिरै छन्। यो काम सकाएर बेलुकी घरै पुर्याएर छाड्नु पर्छ। ३-४ दिन अझै अरू मान्छे लिएर आउनु छ; हामीलाई पनि लैजा है कान्छा भनेका छन्।’
के सोचेर सोधेको, के सुन्नु पर्यो! चिन्तामणिको हल्का उज्यालिएको अनुहार पुनः धमिलियो। आडैका साथीहरू पुरानै रफ्तारमा बचेका फाइलहरू टुङ्ग्याउँदै थिए। चिन्तामणिले आफ्ना भागमा परेका फाइल सकेर मेशिनमा औँलो राख्दा बेलुकाको सवा पाँच भइसकेको थियो।
फुटपाथमा हिँड्दै, चिन्तामणिले चिनजानका एक/दुई साथीहरूलाई फोन लगायो, ‘के छ माहौल, काठमाडौँको?
सामसुम पो छ रे! आज नारा जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन, केही पनि भएनछ!
हिजो-अस्तिको जस्तो दिउसो माइतीघरमा टायर पनि बलेनछन्!
आज साँझ मशाल जुलुस पनि ननिस्कने होला!
मनमा कुरा खेलाउँदै, खिन्न मन बोकेर ऊ डेरा पुग्यो।
‘निकै अबेर पो आउन थाल्नुभयो अफिसबाट, अनुहार पनि मलिनो देख्छु! तपाईंलाई सन्चै त छ आजकल? खाजा खाने छुट्टी त दिन्छन् अरे, आफ्नै पैसै तिरेर भए नि खाजा चाहिँ राम्रो खाने गर्नुहोस्, साउनदेखि त तलब पनि राम्रै बढ्छ रे!’
श्रीमतीको कुरा सुनेर चिन्तामणि मनमनै झिँजियो, ‘दिउसो क्यान्टिनमा टन्न खाजा खाएको खासै भोक छैन’ भन्दै टिभी सेट अगाडि बस्यो। काठमाडौँमा सदन र सडक तातेको सु-समाचार सुन्ने आसको भोकले चिन्तामणिको पेटको भोक हरिएको थियो!