आइसियुको त्यो चिसो हावाले मेरो हड्डी भित्रको मासी समेत जमाएको जस्तो महसुस भएर आयो। यो कोठाले मलाई ५०-५५ वर्षअघि फर्काएर लग्यो, जब म युवा थिएँ र उनीसँग जीवनको सबैभन्दा मिठो, गहिरो र सुन्दर भेट भएको थियो।
हो, उनै संज्ञा अहिले यहाँ सजीवता र निर्जीवताको दोसाँधमा सुतिरहेकी थिइन्। उनका दुई छोरा र श्रीमान् मलिन तथा विवश अनुहार लिएर बाहिर कुरिरहेका थिए। म सकिनसकी एक जना छिमेकी तथा टाढाका नातेदार समेत पर्ने भाइलाई भेट्न आएको थिएँ। भाइको छेवैको बेडमा उनै संज्ञा, अब जीवनको अन्तिम घडीसँग जुधिरहेकी थिइन्। मलाई महसुस भयो, मानौँ आफूले जीवनभर सम्झेको अनुहार अन्तिम पटक देख्दै छु। मेरो मन र मस्तिष्क ५०-५५ वर्ष अघिको पूर्व स्मृतिमा रुमलिन थाल्यो।
हामीले कति पटक भेटेका थियौँ र? तीन पटक, चार पटक? तर त्यो प्रेम, त्यो आकर्षण यस्तो तीव्र ज्वाला थियो, जसले मेरो सम्पूर्ण यौवनलाई प्रकाशित पारेको थियो। जवानीमा विवाहका लागि थुप्रै प्रस्तावहरू आएका थिए तर मसँग उपयुक्त कन्यामा हुनुपर्ने गुणहरूको यति लामो सूची थियो, जुन सूचीले पूर्ण हुने कहिल्यै अवसर पाएन र मैले अविवाहित नै रहने निर्णय गरेँ।
जब मैले उनलाई पहिलो पटक देखेँ, उनी विवाहित थिइन्। सायद मभन्दा उमेरले केही बढी, साथै दुई साना छोराकी आमा। म एउटा कलेज जाने युवक। हरेक पटक उनीसँग भेट्दा एउटा अद्वितीय चुम्बकीय आकर्षण जस्तो, मानौँ कि गुरुत्वाकर्षण शक्तिभन्दा हजारौँ गुणा शक्तिशाली एउटा तरङ्ग महसुस हुन्थ्यो। मैले हरेक पटक आफ्नो मनलाई भुलाउन तथा संयमित रहन धेरै नै अथक प्रयत्न गर्नुपर्थ्यो।
हरेक पटक उनीसँग भेटेपछि भगवानसँग प्रार्थना गर्नुपर्थ्यो, ‘हे प्रभु, मलाई फेरि कहिले उनीसँग भेट नगराउनुहोस्। यो प्रेम अकल्पनीय छ, अपूरणीय छ र उनको परिवार र मेरो भविष्यलाई तहसनहस पार्न मात्र पर्याप्त छ।’
उनीसँग हरेक भेट जति रोमाञ्चक हुन्थ्यो, त्यसपछिको विचारको ज्वारभाटाहरूले मलाई त्योभन्दा पनि कैयौँ गुणा बढी पीडा दिने गर्थे। र मैले कैयौँ रात सिरानी भिजाउने गरी मनको पीडा आँसुमार्फत पखाल्नु पर्थ्यो।
म उनको छेउको कुर्सीमा बसेँ। मैले एकटक उनलाई हेरिरहेँ, जसरी हेर्ने चाह मेरो जीवनभरि थियो। ‘एक पटक आँखा हेर संज्ञा,’ मैले मनमनै उनलाई पुकारे। अनि हो, त्यही भयो। उनले बिस्तारै आँखा खोलिन्, मेरो मनको भाव सुने जस्तै गरी र त्यो नजर ५० वर्ष पुरानो त्यही क्षणमा गएर रोकियो, त्यही पहिलो भेटमा। ती तिनै गहिरा र विशाल आँखा थिए, जसले मेरो मनलाई खै कसरी पहिलो भेटमा कैदी बनाइसकेका थिए।
‘तपाईँलाई कस्तो छ संज्ञा?,’ मैले सकिनसकी ओठमा मुस्कान ल्याउने प्रयत्नसाथ उनलाई सोधेँ। उनी केही बोलिनन्, एकछिन एकटक लाएर मेरो आँखामा हेरिरहिन्। अनि केवल ‘ठिकै छ’ को भावले टाउको हल्लाइन्।
‘तपाईं… आउनुभयो?,’ मानौँ उनका आँखा बोलिरहेका थिए, उनका ओठ थरथराइरहेका थिए।
‘हो, आएँ,’ मैले मनमनै भनेँ, ‘तपाईंको पवित्र आत्माले मलाई बोलाइरहेको थियो।’
उनले मेरो कुरा सुनेझैँ, बुझेझैँ उनको ओठमा एउटा सूक्ष्म मुस्कान आयो। त्यो मुस्कानमा सम्पूर्ण अवाक् कथाहरू, भन्न नसकेका भावनाहरू समेटिएका थिए। हामीले जीवनभरि कहिल्यै कुनै कुरा गरेनौँ, कुनै जवाफ सोधेनौँ, हामीले खाली एकअर्कालाई हेरी मात्र रह्यौँ। त्यो हेराइ मात्रै जीवन बिताउन पर्याप्त रह्यो।
फर्केर हेर्दा, हामी दुवै आफ्नो आफ्नो जिन्दगीमा सफल भयौँ। म एउटा सफल इन्जिनियर बनेँ, धेरै यात्रा गरेँ। उनी प्रसिद्ध शिक्षिका बनिन्। उनका छोराहरू पनि ज्ञानी तथा असल व्यक्तित्व बने। तर हरेक पटक कसैको मुखबाट उनको नाम सुन्दा वा कहिलेकाहीँ अखबारमा उनको फोटो देख्दा मेरो हृदय बेजोडसँग उनीसँग भेट्दा जस्तै धड्किन्थ्यो। त्यसपछाडि म आफ्नो मनलाई शान्त पार्न श्रीमद भागवत गीताको श्लोक पढ्थेँ-
‘योगस्थ: कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।
सिद्ध्यसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते।।’
(हे अर्जुन, आशक्तिलाई त्यागेर, सफलता र असफलतामा समभाव राखी, योगमा स्थिर भएर कर्म गर।)
मैले उनीप्रतिको आशक्तिलाई त्यागेर आफ्नो धर्म (कर्म) मा मन लगाउने प्रयास गरेँ।
अब यो आइसियुको कोठामा उनको अन्तिम समयमा सबै कुरा व्यर्थ लागिरहेको थियो। सायद उनी मेरो जीवनको आशक्ति नभएर सबैभन्दा ठुलो प्रेरणा दिइन्। सायद उनको प्रेम आशक्तिभन्दा धेरै माथि एउटा व्यग्रता थियो, जसले मलाई सफल व्यक्ति बन्न सधैँ प्रेरित गर्यो।
उनका हातका औँलाहरू थरथराएझैँ गरे, मानौँ ती औँलाहरू मेरा हातका औँलाहरूलाई स्पर्श गर्न खोजिरहेका छन्। मैले उनको हात समातेँ। ‘मैले… सधैँ..’ मेरो आवाज लगभग ब्रह्माण्डमा अदृश्य रूपमा तरङ्गित भइरहेको थियो। उनका ओठहरू थरथराइरहेका थिए। मानौँ तिनीहरू मौन स्वीकृति जनाइरहेका थिए। ‘मलाई थाहा छ। मलाई सधैँ थाहा थाहा थियो तर म परिबन्धमा थिएँ,’ उनको मौनताले स्वीकारोक्ति दिइरहेको थियो।
म अब आँसु रोक्न असमर्थ भएँ।
त्यसपछि उनको अनुहार अकस्मात् प्रकाशित भएर आयो, एउटा अद्भुत शान्ति छायो। मानौँ कि ५०-५५ वर्षअघिदेखि बोकिरहेको एउटा गम्भीर पीडा मुक्त भयो। उनका आँखा बिस्तारै बिस्तारै बन्द भए। मेसिनमा झर्को लाग्दो आवाज र मोनिटरमा विचित्रका रेखाहरू कोरिन थाले। मैले केही बेर उनलाई हेरिरहेँ। कतै ती सुन्दर आँखा खुलिहाल्छन् कि भनेर, तर अहँ! ती नयन खुलेनन्।
नर्स तथा डाक्टरहरूको संज्ञाको बेड छेउ दौडधुप हुन थाल्यो। म पनि भाइलाई चाँडै ठिक हुनु भनेर बाहिर निस्केँ।
घर फर्केर पनि मैले उनीबाट आफ्नो ध्यान हटाउन सकिनँ। उनकै मुहार, उनकै झल्को आँखामा आइरह्यो। उनको बुढ्यौलीको अनुहार पनि कति सुन्दर, कति चित्ताकर्षक। मैले उनी मुस्कुराउँदा आँखाको कुनामा देखा पर्ने चाउरी सम्झेँ। ‘कति सुहाएको!’ म मनमनै फुसफुसाएँ।
भोलिपल्ट फेरि म संज्ञाको एक झल्को पाउन पाइन्छ कि भन्ने आसमा भाइलाई भेट्ने बहाना बनाउँदै आइसियुको त्यही कक्षमा छिरेँ। उनीलाई भेन्टिलेटरमा राखिएको रहेछ। शरीरमा धेरै थरीका तारहरू जेलिएका रहेछन्। उता मेरो भाइको स्वास्थ्यमा निकै सुधार आइसकेको रहेछ। भोलिपल्ट यही अवस्था रहेमा अस्पतालबाट डिस्चार्ज गर्ने सल्लाह भइरहेको रहेछ।
‘दाजु, भोलि पनि आउनुस् है, सँगै घर जानुपर्छ,’ भाइले भन्यो।
‘हुन्छ नि बाबु, म आउँछु,’ मैले स्वीकृति जनाएँ।
अर्को दिन किन-किन बिहानैदेखि मन गह्रुँगो भइरहेको थियो। म सकिनसकी ओछ्यानबाट उठेँ। मन नलागी नलागी दुई घाँस खाना खाएर अस्पतालतिर लागेँ। भाइको डिस्चार्ज गरियो। मैले छेउमा रहेकी संज्ञालाई हेरेँ। मनमा हजारौँ किसिमका तरङ्गहरू चलिरहेका थिए।
‘मेरी प्यारी संज्ञा, मेरो मुटुभरिको माया तिमीलाई,’ मैले मनमनै भनेँ।
एक्कासि उनको शरीरमा हल्का कम्पन आयो। भेन्टिलेटरमा विभिन्न थरीका आवाज र बत्तीहरू बल्न थाले। उनको छेउमा रहेको मोनिटरमा चलिरहेका रेखाहरू अब एउटै सिधा रेखामा बदलियो। उनीलाई केही क्षणमा मृत घोषणा गरियो।
उनी गइन्।
म उठेँ। मैले उनलाई फेरि एक पटक फर्केर हेरेँ। कति शान्त, कति सौम्य अनुहार।
उनी मेरो जीवनभरिको प्रेमिका जससँग म कहिल्यै बोलिनँ, जसका लागि कहिल्यै विवाह गरिनँ, कहिल्यै एक साथ बसिनँ तर जसको स्मृतिले मात्रै मेरो सम्पूर्ण जीवनलाई अर्थपूर्ण बनायो।
बाहिर निस्किँदै गर्दा मेरो मनमा अंग्रेजी कवि विलियम बटलर एट्सको एउटा पङ्क्ति याद आयो- बिस्तारै हिँड, किनभने तिमी मेरा सपनाहरूमा हिँडिरहेका छौ।
उनी नै मेरो सपना थिइन् र अब उनी सधैँको लागि मेरो स्मृतिको महाकाव्य पनि। मेरा आँखामा अनवरत आँसु बगिरहे तर मनमा अपार शान्ति थियो। पाँच दशकको निस्वार्थ तथा अनिश्चित प्रेम अन्त्यमा मिलनमा परिणत भएको थियो। एउटा मौन बिदाइमा, जुन हजारौँ शब्दभन्दा शक्तिशाली थियो। यथार्थमा साँचो प्रेम मृत्युभन्दा हजारौँ गुणा शक्तिशाली र शाश्वत हुँदो रहेछ।