नरोएको मान्छे हुन्छ?
हरेक दिन यही प्रश्नसँगै उठ्दछ ऊ
तर रुँदैन, बुझेको छ
हरेक चुनौतीहरूले सम्भावनाका ढोका खोल्दछन्
धैर्यता र सकारात्मकताको बिचबाट।
साधुहरू सायद सांसारिक भोगदेखि रोए
आदर्श मानिएकाहरू सायद रोदनका आर्तनाद सहन सकिरहेका छैनन्-
र त टेलिभिजनका पर्दामा बिहानै बान्ता गर्दछन्
परिश्रान्त सँगै नैराश्यको विकार-
हरेक दिन पेसाकर्मीहरू शयन गर्नुअघि आफ्ना कर्म सम्झन्छन् होला
वृद्ध अभिभावकहरूले हुर्कँदै गरेका सन्तान सम्झेझैँ
र
हरपल तोप्छन् होला मायाको लेपन लागेका चिल्ला चिन्ताहरू
तर
अहँ अमूल्य मोतीका दाना झार्नुमा अर्थ देख्दैन ऊ
किनकि
नीलमणि गगनको किम्ती तोष
काला बादलहरूको उथलपुथलले
फूलको बागमा गुञ्जन गर्ने मौरी हराएझैँ हराउँदछ।
आम मानिसकै भिडमा साधारण मनुवा
गुम्सन्छ आफैभित्र हरेक दिन तिमी जस्तै गरी
र च्यात्दछ मुजा परेको मुहार ऐनामा मुस्कुराउन दुःख पर्दा
ताकि उसको मुस्कान खोस्ने अरू नहोस्।
ऊ निराशाको खेती आशाको निर्मल जलले सिँचाई गर्दै
शान्तिको मङ्सिर अशान्तिको मलामी गएर पर्खन्छ।