हो, म नेपाली योद्धा
जो आफ्नै भूमिमा पटकौँ पटक
जलेर खरानी हुँदै
त्यसैमा जीवन खोज्नु परेको छ
कहिले द्वन्द्वको नाममा
कहिले इतिहासको नाममा
कहिले सत्ता, विकास र देश भक्तिको
नाममा
त कहिले प्रकृतिको प्रलयको
नाममा
तर जे जसको नाममा खरानी हुनु परे पनि
निभ्ने भनेको नेपालीकै चुलो हो
खोसिने नेपालीकै रोटी हो
रेटिने नेपालीकै वैभव हो
रित्तिने नेपालीकै काख हो
सागरमा मिसिने नेपालीकै आँसु हो
सयौँ वर्ष सम्म नमेटिने दाग बस्ने
नेपालीकै रगत हो
अमिट छाप दुखको छातीभित्र लेखिने
नेपालीकै मुटु हो!
हेर्दा पो विकास र प्रगतिको नारा हो
नारा लगाउनेको छातीमा परेको निसाना
दसैँको बेला मुछेर फालिएको टीका
तातो र रातो रंग आँसु र रगतको
चोट हो
हृदय कुँडिएको ज्वाला र
नेपालीको पहिचान मेटाउने गरी दन्केको
अग्नि ज्वाला एउटै हो
कहाँ खोज्ने अब
आफ्नै पेटको भोक शान्त पार्न जीवनभरि
आफ्नो सिमाना
बालापन मै छोडेका ममताका आँगन,
नेपाली माटोमा टेकेर चियाउन मिल्ने
जुन तारा सबै स्वर्गीय पल पनि
समय अगावै त्यागेर दुई पैसा र रोटी
कमाउन हिँडेका, पाइलाहरूले?
यहीँको धर्तीमा रहेर पनि अभाव
सयौँ दुख अनि संघर्षलाई आफ्नो जीवनको
हिस्सा बनाएकाहरूको लिलामी भएको
उमेर र समय कसरी भेटाउने खरानी भित्रबाट?
र पनि इतिहासले विश्वसामु अराजक होइन
शान्ति र सगरमाथाको देश भनेर
दिएको पहिचानलाई एक जुट भएर
नव युगको यात्राको हेतु
त्यही कालो खरानीबाट
एउटा सुन्दर शान्त स्वरूपको
मणि निकाल्नु छ
जहाँबाट उदाउनेछन् त्याग तपस्याका
आवाजहरू जुन आत्मिक शुद्धताका
गाथाहरूमा परिश्रमको सुगन्धबाट
पाइला चालिन्छन् तब मात्र
उखेलिन्छन्
दुर्गन्धित लोभ, मोहका एवम् शक्तिका
खातिर विस्फोट भएका जराहरू
तब मात्र मेटिन्छन्
व्यक्तिगत स्वार्थ आवेश र अशान्तिबाट
प्रेरित अपराधका सीमा रेखाहरू
र निर्माण हुन्छ एकताको सुन्दर बस्ती
जहाँ सास फेर्न लायक हुन्छ
पुनः एक पल्ट नयाँ उमंगको मातृभूमिको
तरंग जसले हामीलाई पहिलो सास
दिएर जीवन जगाएको थियो
सुन्दर शान्त देश नेपाल भनी विश्व
जगतमा पहिचान दिलाएको थियो।