उसले बन्दुक समातेको थिएन
उसको हातमा पुस्तक थियो
एउटी आमाले किनेर दिएको
सपना पढ्न, भविष्य लेख्नका लागि।
तर त्यो भविष्य अब सिसाको टुक्रा बनेर
देशका छातीमा गढेको छ
किनकि यो संसारले अझै सिकेको छैन
ज्ञानसँग डर मान्न छोड्ने कला।
विपिन केवल विद्यार्थी थिएन
उनी प्रश्न थिए- ‘किन असमानता?’
उनी उत्तर खोज्दै थिए- ‘किन युद्ध?’
तर हतियारले उत्तर लेख्नेहरूलाई
त्यो प्रश्न मन परेन
त्यसैले उनी हराए।
दुई वर्षसम्म जन्मभूमि देशले प्रतीक्षा गर्यो
आमाले भान्साको ढोकातिर हेर्दै भनिन्
‘आज त फर्केला जस्तो लाग्छ।’
तर फर्किएन विपिन
फर्किए त केवल त्यही प्रश्नहरू
‘मानवता कहाँ हरायो?’
‘किन विद्यार्थी अपराधी ठहरियो?’
आज देश मौन छ
तर त्यो मौनता शान्ति होइन
त्यो मौनता एक चिच्याहट हो
जुन नबोलेर पनि गुन्जिरहेछ।
विपिन, तिमीले बन्दुक होइन
विचार उठाएका थियौ
तिमीले नारा होइन
न्याय मागेका थियौँ
तर यो युगले तिम्रो सत्य सहन सकेन
किनकि सत्य बोल्नेहरू प्रायः
इतिहासको पहिलो सिकार बन्छन्।
तर तिमी मरेका होइनौ
तिमी प्रत्येक विद्यार्थीको आँखाभित्र बाँचिरहेका छौ
कलेजको चोकमा
लाइब्रेरीका चुप्प कुर्सीहरूमा
तिमीको छाया अझै बसिरहेछ
कहिले नआएको घाम आज पनि
तिम्रो नामसँगै उदाउँछ
र कहिले नथाकेको आँसु
तिम्रो सम्झनासँगै झर्छ।
विपिन, तिमी एउटा नामभन्दा
एउटा आन्दोलन भयौ
साहस, शिक्षा र सत्यको आन्दोलन
तिमी अब केवल हराएको विद्यार्थी होइन
तिमी हौ, राष्ट्रको विवेक।