म हराएको केही समय भयो
खै! कोबाट, कताबाट र किन हराएँ
त्यो भने थाहा छैन
सायद मेरा आफ्ना भनिनेसँग
प्रिय विचारसँग
तितामिठा अनुभवसँग
यति चाहिँ थाहा छ कि म हराएको छु।
आक्कलझुक्कल कहिँकतै जम्काभेट हुँदा
केही मलाई प्रश्नको झटारो हान्न खोज्छन्
भन्छन्, ‘ए तिमी त कता हरायौ हँ?’
तर म मौनताले संवाद टारिदिन्छु
यो बाहेक राम्रो विकल्प म पाउँदिनँ।
हराएको मान्छेलाई म कता हराए कसरी थाहा हुन्छ?
सायद म कसैका लागी केही थिए होला है!
त्यसैले त हराएँ
केही थिइनँ भने
म हराउनुले कोही खुसी या दुखी किन हुन्थ्यो?
हराउनु भनेको मेटिनु होइन
हराउनु भनेको त हुनु हो
म केही थिएँ र त हराएँ।
हराएर के पाइन्छ वा के गुमाइन्छ?
ओहो! हराएर पाइने त केही होइन
बरु भएको गुमाइन्छ होला कि!
होइन होइन
हराएर मैले त शान्तिको अनुभव पाएँ
बिना कुनै गनगन र गुनासो
शून्यतामा मेरा विचारहरू स्वतन्त्र नचाउन पाएँ।
विचार स्वतन्त्र त भएँ
नाच्दै रमाएँ तर त्यो अनुभवलाई
कैद गरेर बटुल्न भने सकिनँ
त्यसैले यिनले घरीघरी मजाक मजाकमा प्रश्न गर्छन्,
’ए कता हराइस् हँ?’
तर एउटा साँचो कुरा भनौँ?
मलाई अझै हराउन मन छ
हराउँदैमा दुखी हुनुपर्ने त केही छैन
हराउनु भनेको मेटिनु वा विलीन हुनु होइन।
कहिलेकाहीँ हराउनु भनेको शान्त हुनु हो
भएर पनि नदेखिनु हो
स्वाभाविक हुँदाहुँदै पनि अस्वाभाविक हुनु हो
अनेकन् विचार सुन्दासुन्दै प्रतिक्रिया प्रस्तुत नगर्नु हो।
आफैलाई भेटाउने हो भने
एकपल्ट हराउनुपर्ने रहिछ
हराउनु भनेको मेटिनु होइन
हराउनु भनेको हुनु हो।