एउटा अपरिचित सहर, काठमाडौँ मेरो लागि नितान्त नौलो थियो। बेखबर सहर, सहरभित्र घुन जस्तै देखिने घर अनि कमिला जस्ता मान्छे र गाडी। यत्रो भिडमा यत्रतत्र अन्जानका हुल, त्यही हुलभित्र म। मलाई कसैले पनि चिन्दैन न त मैले नै चिन्छु। सबै आ–आफ्नै ध्यानमा मान्छेको ओहोरदोहोर। म रत्नपार्कको आकाशे पुलबाट काठमाडौँ सहरलाई नियाल्छु। उफ्! सहर भनेको सहर रहेछ।
धुलाम्य काठमाडौँ एकै छिनमा वर्षातले धर्ती भिजाइदियो। केही जानकारी नै नदिई पानी दर्कियो। मसँग छाता थिएन। भिज्दै भिज्दै छिटोछिटो आकाशे पुलको भऱ्याङ ओर्लिन थालेँ। एउटा अपरिचित अनुहार, हातमा कालो ठुलो छाता लिएर म तिर ढल्काइन्। भिजेको शिर उनीतर्फ मेरा आँखा तेर्सिए। मैले भनेँ- ‘थ्याङ्क यु सो मच छाता ओढाइदिएकोमा।’
उनले मुस्कुराउँदै ‘वेलकम टु यु’ भनिन्।
हामी दुवैजना छाताको ओत लाग्दै एउटा पसलमा छिर्यौँ। मौसम अलि चिसो भइसकेको थियो। उनले मलाई घरीघरी हेर्थिन्। आँखा जुधेपछि उनी अलि लजालु भावमा भुइँतिर हेर्थिन्। मैले उनको नाम सोधेँ– ‘तपाईंको नाम के हो नि?’
उनले भनिन्– ‘सहारा।’
मैले भनेँ, ‘कस्तो राम्रो नाम सहारा!’ उनले फेरि थ्याङ्क यु भनिन्।
अलि अग्ली, गहुँलो वर्ण, कपाल कर्ली, आँखीभौँ कालो बाक्लो, लामा परेला, धेरै मोटी अनि दुब्ली होइन ठिक्कको मिलेको ज्यान। समग्रमा भन्दा जति हेर्यो उति राम्री थिइन् सहारा। म जापानिज ल्याङ्ग्वेजको लागि सधैँ कीर्तिपुरबाट पुतलिसडक धाउने गर्थेँ। उनी पनि फ्लाईटेकमा एयरहोस्टेसको ट्रेनिङ लिने गर्थिन्। कस्तो संयोग भने उनी पनि कीर्तिपुरबाट नै आउने गरेको बताइन्।
कीर्तिपुरको पाँगा बसपार्कमा सधैँ भेट हुन्थ्यो। बसमा प्रायः हामी सधैँ सँगै हुन्थ्यौँ। समय बित्दै गइरहेको थियो, एक दिन पनि सहारालाई नदेख्दा खल्लो लाग्थ्यो। भीडभाडले भरिएको सहर पनि शून्य लाग्थ्यो। सधैँ जस्तो पाँगा बसपार्कमा गाडी चढ्दा भेट हुने सहारालाई आज देखिनँ। उनी सँगै आउने साथीलाई एक्लै देख्दा मन खल्लो भयो।
मैले उनको साथीलाई सोधिहालेँ, ‘तिम्रो साथी खोइ त? आज क्लास आइनन्?’
उनले भनिन्– ‘आज उनलाई हस्पिटल जानुपर्ने भएर नआएकी।’
मैले हडबडाएर सोधेँ, ‘लौ के भयो उनलाई?’
उनले फेरि भनिन्– ‘खुट्टामा अलि समस्या भएकोले चेकअपको लागि हस्पिटल गएकी हुन्।’ र उनले सँगै भनिन्, ‘के हो मेरो साथी तपाईंलाई खुब मन पर्छ कि क्या हो?’
मैले अलि लजाउँदै पर्छ नि भनेको थिएँ। उनीसँग सहाराको फेसबुक आइडी मागेँ तर उनले आफैले माग्न भनिन्।
दोस्रो दिन मैले कीर्तिपुरको पाँगा बसपार्कमा सहारालाई देखेँ। मनमा एक प्रकारको चञ्चलता आयो। वर्षौँपछि भेट भएको आभाष भयो। सँगै गाडीमा बस्यौँ। उनी सधैँ साथीसँगै बस्ने गर्थिन्। तर आज उनको साथीले हामी दुई जना बस्ने वातावरण मिलाइदिइन्। सहारासँग बस्न पाउँदा म खुसीले गदगद भएँ। त्यही मौकामा मैले उनको फेसबुक आइडी मागेँ र मोबाइल नम्बर पनि। उनले सजिलै दिइन्।
लाग्थ्यो उनी पनि मप्रति आकर्षित छिन्। भित्रभित्र मन पराउँछिन्। हाम्रो दैनिकी जस्तै थियो बिहान भेट हुने। फेसबुक र ह्वाट्सएपमा जोडिएपछि अरू समय पनि हाम्रो कुरा हुन थाल्यो। हामी अनायासै नजिकिन पुग्यौँ। मैले सहारालाई भित्रभित्रै मन पराइसकेको थिएँ।
एकदिन सहारालाई मैले प्रेम प्रस्ताव गर्ने आँट गरेँ र अब उनीबिना बाँच्न नसक्ने अवस्थामा आफू रहेको मेसेजमार्फत बताएँ। मनमा एक प्रकारको छटपटी भइरह्यो। जबसम्म उनको मेसेजको रिप्लाई आएन। म छटपटिइरहेँ। मोबाइल घरीघरी हेरिरहन्थेँ। उनको मेसेजको पर्खाइमा राती कतिखेर निदाएछु पत्तै पाइनँ।
बिहान उठ्दा उनको मेसेज आएको रहेछ। मेसेजमा लेखेको थियो- ‘मलाई लागेको थिएन अपिल तपाईं यति छिट्टै मेरो प्रेममा पर्नुहुन्छ र मलाई प्रेम प्रस्ताव गर्नुहुन्छ। मलाई केही समय दिनुस्। म यहाँ पढ्न आएकी हुँ। अहिले मेरो प्रेम गर्ने समय होइन। बिस्तारै तपाईंप्रति सोचौँला।’
म उनको मेसेज पढेर केही खुसी भएँ। मप्रति सहारा पनि सकारात्मक रहेको छनक पाएँ। म धैर्य गर्न तिर लागेँ। उनीसँग बारम्बार मेसेजमा कुरा हुन थाल्यो। सहाराप्रति मेरो मन पुरै ढल्किइसकेको थियो। लाग्थ्यो उनी पनि मलाई माया गर्छिन्। तर भाउ खोजिरहेकी छिन्। म उनको कुरा गराईबाट थाहा पाउँथेँ उनले मप्रति देखाएको आत्मीयता र प्रेम।
म विस्तारै विस्तारै उनकै प्रेमी बनेर उनीसँग कुरा गर्न थालिसकेको थिएँ। उनीप्रति मेरो पूरा हक र अधिकार छ जस्तै म उनीसँग प्रस्तुत हुन्थेँ।
महिनाहरू बित्दै गए। म सहाराबिना बाँच्न नसक्ने अवस्थामा पुगेँ। उनले पनि मेरो प्रेमलाई स्विकारिसकेकी थिइन्। तर कता-कता मलाई भने उनले मलाई माया नगरेजस्तो लाग्थ्यो। मलाई बेवास्ता गरेजस्तो लाग्थ्यो। मेरो मनमा अनेक शंका उपशंकाले डेरा जमाउँथे, कतै सहाराले मलाई माया नगर्ने हो कि भन्ने। आफै आफै मुर्मुरिन्थेँ। अरू कसैको हुने हो कि भनेर डर पनि लाग्थ्यो।
मैले बारम्बार उनलाई भनिरहन्थेँ– ‘कतै तिमीले मलाई प्रयोग मात्र गरिरहेकी त छैनौँ?’
उनले आश्वासन दिन्थिन्। आफूप्रति पुरै विश्वस्त हुन आग्रह गर्थिन्। म सहाराको प्रेममा निथ्रुक्कै रुझिसकेको थिएँ। भनिन्छ, जहाँ प्रेम हुन्छ त्यहाँ शंका पनि हुन्छ। म सहारालाई धेरै माया गर्थेँ तर शंका पनि त्यति नै गर्थेँ। उनलाई मेरो शंका गर्ने बानी कत्ति पनि मन पर्थेन। मलाई कहिलेकाहीँ आफ्नो बानी देखेर रिस पनि उठ्थ्यो। सहारालाई कुनै केटा मान्छेसँग बोलेको देख्दा पनि शंका लाग्थ्यो। डाह हुन्थ्यो।
सहाराले म बाहेक कुनै केटासँग नबोलिदेओस् जस्तो लाग्थ्यो। उनको मोबाइलमा कसैको फोन आउँदा पनि मन चसक्क हुन्थ्यो। सहाराको फोन व्यस्त भएको बेला आफूलाई शंका लागेको मान्छेको नम्बर डायल गर्दा पनि व्यस्त आएपछि तिमी यो फलानासँग कुरा गरिरहेकी थियौ भनेर झगडा गर्ने गर्थेँ। कहिलेकाहीँ त मैले सहाराको चरित्रमाथि नै शंका गर्ने गर्दथेँ।
मेरो यो बानीले उनी आजित भइसकेकी थिइन्। कसैसँग हिँड्दा यस्तो मान्छेसँग किन हिँडेको, ऊ राम्रो चरित्रको होइन भन्थेँ। उसले लगाएको लुगा आफूलाई मन नपर्दा उसलाई फुकाल्न लगाउँथेँ। कुनै कार्यक्रममा जाँदा पनि को भएर गएको त्यहाँ भनेर अनेकौँ प्रश्नहरू गर्थेँ। म उनलाई धुरुक्क रुवाउँथेँ।
ऊ बेलाबेला मेरो यही बानीले मोबाइल स्विच अफ गरेर घण्टौँ बसिदिन्थी। म फेरि तड्पिन्थेँ। अनाहकमा म उसको चरित्रमाथि औँला उठाउँथेँ। मेरो यही बानीले उसलाई तहसनहस बनाएको थियो।
सहाराले पनि मलाई गुमाउन चाहन्नथी तर कहिलेकाहीँ मेरो यही बानीले ऊ भन्ने गर्थी-
‘आफैले प्रेमको भिख माग्नुभयो, आफैले शंकाको डेरा जमाउनुभयो। मलाई तपाईंको माया चाहिँदैन। मलाई मेरै हालमा छोडिदिनुस्। प्रेमको बिउ आफैले उमारेर आफै निमोठ्न खोज्नुहुन्छ। हजारौँपल्ट गरेको प्रतिज्ञा बिर्सेर तपाईंले मेरो जीवनको अनन्त अभिलाषालाई कुल्चेर आफैले फाल्नुहुन्छ। उल्टै मेरै चरित्रमाथि प्रश्न गर्नुहुन्छ तपाईंलाई अलिकति लाज लाग्दैन? मलाई त आफ्नै श्रीमती जस्तै हक र अधिकार जमाइसक्नुभएको छ। म तपाईंकी प्रेमिका हुँ श्रीमती होइन। कृपया यस्ता शंका, भ्रम र अविश्वासको खेती गर्न बन्द गर्नुस्! मेरो चरित्रमाथि औँला उठाएर आफूलाई के सावित गर्न खोज्दै हुनुहुन्छ? म तपाईंलाई कसरी आश्वासन दिलाऊँ? म तपाईंलाई मात्र माया गर्छु भनेर के प्रमाण दिऊँ? आफै भन्नुस्।’
विचरीले मृत्यु पनि न्यानो छ तपाईंको अङ्गालोमा भन्थी। मलाई टुक्राटुक्रा पारेर छाम्नुस्, मेरो मुटुमा कतै मायाको आवाज सुन्न र महसुस गर्न सक्नुभएन भने मलाई मुर्दा भनेर फालिदिनुस् भन्थी।
‘तपाईंलाई म अरू कसैको हुन्छु भन्ने डर र शंकाबाट उठ्न सक्नुहुन्न, बाहिर आउन सक्नुहुन्न। तपाईंलाई त्रासदेखि त्यति प्रेम छ जति मसँग छैन। मप्रति अविश्वास लाग्छ भने मेरो भन्नु केही छैन। तपाईं आफ्नो बाटो लाग्नुस्, म आफ्नो बाटो लाग्छु’ भन्थी।
‘तपाईंको यस्तै बानी सधैँ रहिरह्यो भने एकदिन मलाई साँच्चै गुमाउनुहुन्छ। मसँग आउँछु भनेर अँगाल्न आए पनि म तपाईंलाई घृणा गर्नेछु। सायद तपाईंलाई हुत्याइदिन्छु। तपाईंले आफ्नो बानी सुधार्नै पर्छ अपिल। मलाई विषाक्त प्रेम कत्ति पनि मन पर्दैन’ भन्थी।
म भने न त उसलाई छोड्न सक्थेँ न त विश्वास नै गर्न सक्थेँ। त्यही मेरो कमजोरी थियो। मैले फेरि सहारासँग माफी माग्थेँ। अबदेखि यस्तो गर्दिनँ भनेर आश्वासन दिन्थेँ। केही दिनपछि फेरि मेरो उही हाल हुन्थ्यो। फेरि उसलाई तनाव दिन्थेँ। ऊ साँच्चै मसँग विरक्तिएकी थिई। मसँग जिन्दगी बिताउन सक्दिनँ भन्ने उसलाई लागिसकेको हुनुपर्छ।
साँच्चै मैले सहारालाई निकै मानसिक तनाव दिएकै थिएँ। उसको चरित्रमाथि शंका गरेर अन्याय गरेको थिएँ। अहिले मलाई थाहा भयो। म सधैँ मूर्खता र अज्ञानताले भरिएको थिएँ। उसलाई प्रेम त गरेँ तर आत्मिक सन्तुष्टि कहिल्यै दिन सकिनँ। उनीसँग प्रेम त थियो तर प्रमाणित गर्न सकिनँ। सार्थकता ल्याउन सकिनँ। सधैँ नियम र शर्तमा बाँधिएर मात्र माया गरेँ। प्रेमको सीमा रेखालाई काटेँ।
वर्षहरू बित्दै गए। हाम्रो सम्बन्ध पनि कहिले झगडा त कहिले मिलन भई अगाडि बढिरह्यो। सहारा आफ्नो घर दाङ गएको पनि धेरै दिन भयो। उनीसँग कुनै तरिकाले पनि सम्पर्क हुन सकिरहेको थिएन। उनले मलाई सामाजिक सञ्जालमा ब्लक गरेकी थिइन्। उनी यसरी विलय हुन्छिन् भन्ने मलाई लागेको थिएन। बारम्बार मेसेज कल गरिरहेँ तर उनको मोबाइल स्विच अफ हुन्थ्यो।
दिनहरू बित्दै गए, म सहाराको यादमा प्रत्येक दिन तड्पिरहेको हुन्थ्येँ। उनको मेसेज फोन आउँछ कि भनेर मोबाइल कहिल्यै छोड्दिनथिएँ। राति मोबाइल छातीमा राखेर सुत्थेँ। उनलाई किन मेरो याद नआएको होला भन्थेँ। उनको यो व्यवहार देखेर मलाई रिस पनि नउठेको होइन। प्रत्येक दिन रात म सहाराको लागि तड्पिएँ।
एक दिन मैले सहाराको साथीलाई भेटेँ। म उनीमार्फत सहाराको खबर पाउन उत्सुक थिएँ। उनको नजिक गएँ र सहाराको बारेमा जान्न खोजेँ। उनले केही भन्न खोजिनन् तर एउटा कागज हातमा थमाइदिइन् सहाराले दिएको भनेर। मैले त्यो कागज लिएर सरासर आफ्नो कोठामा गएँ। कागज खोलेर हेरेँ, सहाराको चिठी रहेछ। म केही खुसी भएँ। र कागज पल्टाएर पढ्न थालेँ। उनले लेखेकी रहिछन्-
‘प्रिय अपिल,
धेरै माया अनि सम्झना। म तपाईंलाई धेरै माया गर्थेँ तर त्यो माया तपाईंले देख्नुभएन। जहिल्यै मलाई शंकाको दृष्टिकोणले हेर्नुभयो। मलाई हरपल हरक्षण रुवाउनुभयो। जहिल्यै मेरो चरित्रमाथि औँला उठाउनुभयो। म तपाईंसँग हुँदा कहिल्यै आफ्नो तरिकाले बाँचिनँ। सबै तपाईंकै इशारामा बाँचेँ। यो खाऊ, त्यो नखाऊ। यो लगाऊ, त्यो नलगाऊ। यहाँ जाऊ, त्यहाँ नजाऊ। योसँग बोल, त्यो सँग नबोल। यी सब तपाईंको अधिकारभित्र रमाउन मलाई कठिन भयो।
मैले आफ्नो स्वतन्त्रता गुमाएको महसुस गरेँ तपाईंसँग हुँदा। हो, तपाईंले मलाई असाध्यै प्रेम गर्नुहुन्थ्यो तर प्रेममा यति धेरै शंका गर्नु ठिक होइन अपिल। म मेरै हिसाबले जीवन बाँचिरहेकी थिएँ, तपाईं आफैले प्रेमको भिख मसँग माग्नुभएको होइन र? अनि फेरि शंका र भ्रम किन? हो, मैले पनि त तपाईंलाई अथाह प्रेम गर्थेँ। तपाईंलाई जसरी मैले माया गरेँ, जुन विश्वास र आस्था राखेँ। तर कहिले पनि तपाईंले मप्रति विश्वास र आस्था राख्नुभएन।
अपिल, तपाईंसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेकी थिएँ। तर मेटियो। तपाईं त्यो सुन्दरता हुनुहुन्थ्यो, जसलाई तस्बिरमा उतार्न सकिनँ। तपाईं त्यो भाव हुनुहुन्थ्यो जसलाई मैले कवितामा लेख्न सकिनँ। तपाईं र म मिलेर भावनाको उर्वर खेती गर्ने किसान बन्न सकेनौँ। हाम्रो प्रेमयात्रामा तपाईंले बहार बिछ्याइदिनुभएको थियो। तर विश्वासको बहार बिछ्याउन जान्नुभएन। शंका र भ्रमको बिउ छर्नुहुन्थ्यो तर स्वर्ग र सपनाको किरण छर्न सक्नुभएन। प्रेमको कहिल्यै ननिभ्ने आगलागीमा परेर म अविराम जलिरहेथेँ।
तराजुमा जोख्न नसकिने साँच्चै शाश्वत माया त गर्नुहुन्थ्यो तर सुकुनभन्दा पनि बढी वेदना अनि वचनका तिखा वाणले घोच्न छोड्नुभएन। करोडौँ दौलतको महलमा सुख अनि सयलको जिन्दगी दिने औकात त थियो तपाईंमा तर आत्मिक खुसीको मनोरम संसार दिलाउन सक्नुभएन। सम्पन्नताको डोली चढाएर बेहुली बनाउने औकात त थियो तपाईंमा तर मेरो इच्छा र आकाङ्क्षालाई सिँगार्न सक्नुभएन। म पनि त तपाईंको लागि अमूल्य आँसु बगाएकी थिएँ। प्रेमको दासी बनेकी थिएँ। तपाईंलाई मेरो सर्वस्व सुम्पिएकी थिएँ। असिम स्नेहको बाबजुद पनि अनेक शंका र उपशंकाका चौघेरामा राख्न छोड्नुभएन। म जून बनेर तपाईंलाई शीतलता दिन चाहन्थेँ। फूल बनेर बास्ना छर्न चाहन्थेँ। अनि तपाईंको मायामा पौडिन चाहन्थेँ। तर त्यो तपाईंकै अहमताले गर्दा हामी दुईको बाटो मोडियो। दूरी टाढा भयो। आजन्म एकाकार भई बाँच्ने हामी दुईको प्रेमको मार्मिक अन्त्य भयो।
अपिल, तपाईंसँग मैले बिहे गर्नु भनेको दुर्दशालाई निम्त्याउनु हो। हामी दुई विवाह गरे तापनि हाम्रो वैवाहिक जीवन कहिले पनि सुख र शान्तिले छाउने छैन। विवाहपश्चात् छुट्टिनुभन्दा विवाह नगरी छुट्टिनु नै उचित ठानेँ। यो चिठी पढिसकेपछि सोच्नुहुन्छ होला, मैले तपाईंलाई धोका दिएकी हुँ। तर तपाईंले मलाई बारम्बार धोका दिनुभएको छ। मलाई चरित्रहीन तुल्याउनुभएको छ। भ्रामक खेती उब्जाउनुभएको छ। दुनियाँले झुटा कुरा सुनाउँदा साँचो सम्झी मलाई कति संस्कारहीन र तुच्छ बनाउनुभएको छ। तपाईंको यस्ता घटिया सोचले मैले मेरा कलिला रहरहरूलाई कति बली चढाउनुपर्यो। मानसिक रुपमा टुट्नुपर्यो। म अगाडि बढ्नुभन्दा पनि कति लड्नुपर्यो तपाईंकै कारणले।
समाजको अगाडि त मै दोषी होउँला। कतिले धोकेबाज भन्दै थुक्लान्। मै दोषी भए पनि ठिकै छ, स्वीकार्य छ। तर जीवनभरि असन्तोष भएर तपाईंसँग तड्पिएर बस्नुभन्दा छुट्टिनु नै उचित ठानेँ मैले। अब म तपाईंको हस्तक्षेप र अधिकारभित्र बाँच्न चाहन्नँ। तपाईंलाई अपनाउनु नै मेरो भयङ्कर भूल भयो। मलाई माफ गरिदिनुहोला। तपाईंसँग विवाह गरेर मेरो जीवनलाई अन्धकारमा धकेल्न म चाहन्नँ। म स्वतन्त्र हुन चाहन्छु। र एउटा कुरा म मेरै घरपरिवारले खोजिदिएको केटासँग छिट्टै विवाह गर्दैछु। तपाईंले आफ्नो जिन्दगी अब आफ्नै तरिकाले जिउनू। मलाई तपाईंबाट मुक्ति दिनुस्।
उही तपाईंकी हुन नसकेकी सहारा।’
सहाराको त्यो चिठी पढिसकेपछि एकैपटक एक हजार विच्छीले टोकेजस्तो भयो। छाँगाबाट खसेजस्तै भएँ। एक घडी अघिको त्यो मेरो हर्ष र उल्लासको स्रोत एकछिनमा सुकेर मरुस्थल भयो। सहारामाथि रिस पनि उठ्यो। मप्रति उनको अटल अनुराग थियो तर उनले मलाई धोका दिइन् सिर्फ मेरै कारणले। मेरा गहभरि आँसु भयो।
म सहारालाई सम्झेर धित मरुञ्जेल रोएँ। एक मनले सोचेँ, उनले नमाने पनि भगाएर ल्याउँछु तर एउटा भाग्यवान युवकसँग विवाह हुन सक्ने अर्काकी छोरीको जिन्दगी म किन बिगारुँ। गल्ती मेरै थियो। मैले सहारालाई अनावश्यक रूपमा हरेक कुरामा उनको स्वतन्त्रता खोस्नु हुन्थेन। तर मेरै बानीले गर्दा आज सहाराले मलाई छोडेर गइन्। आफूले रोजेर होइन, मागेर बिहे गरिन् अरे।
स्वस्थ, फरासिलो आफ्नी स्वास्नीलाई प्रशस्त माया गर्ने केटा छ अरे। केटा असाध्यै राम्रो असल उनको भावनाको कदर गर्ने गर्छ रे। उनको इच्छा चाहनाहरू उनले नभनीकनै बुझ्छ रे। असिम श्रद्धा र आदर गर्छ रे। उनी पनि असाध्यै खुसी र स्वतन्त्र छिन् रे, उनको साथीमार्फत सुनेको।
धेरै दिनसम्म विभिन्न तर्क–वितर्कले मन व्यथित भइरह्यो। गाउँ समाज लगायत सहरभरि हाम्रो प्रेम असफल भएको कुरा धुवाँ झैँ फैलियो। कोठाबाट लगभग महिना दिन बाहिर निस्किनँ। मेरो छाती रन्थनिरहेको थियो। बारम्बार डाँको छोडेर रोउँ जस्तै लाग्थ्यो। सहारालाई गरेको व्यवहार सम्झिन्थेँ। एक गिलास पानीको मूल्य उत्तप्त निर्जल मरुभूमिमा पुगेर प्यासले जसरी व्याकुल भइन्छ, त्यसरी म सहाराको यादमा व्याकुल बनेँ।
एउटा नारीको सम्मान, आदर गर्न नजान्ने मेरो जीवन शोक र कलहमय भएको महसुस गरेँ। नारीको स्वभावले कोमल र मधुर हुन्छन्। मैले त्यो स्वभावको ख्यालै नगरी उनको चित्त दुखाएँ। मलाई पश्चातापको भावले पोलिरहन्छ। पोलिरहन्छ।