'यो तस्बिर माने लाग्छ, यसमा अथाह कला छ। ४ वर्ष लगाएर बनाएको लियोनार्दो दा भिन्चीको मोनालिसा काम छैन,' कसैले भन्यो।
मलाई कौतुहलताले झस्कायो। प्रतिप्रश्न गरिहालेँ, 'यो तस्बिरमा के छ जसले मोनालिसाको उपमा पाउन सफल भयो?'
प्रत्युत्तर यस्तो थियो, 'मोनालिसा न कुनै प्यारी हुन्, न प्रसिद्ध नारी तर पनि कलाकारले मात्र उनको रहस्यमय मुस्कानका उनको सुन्दरता प्रस्तुत गरेको थियो जसले मोनालिसालाई विश्व प्रसिद्ध तस्बिरको उपमा दियो।'
मन्द गतिमा खुसी भएको मेरो मन अकस्मात् असीमित खुसीले भरिभराउ भयो। मेरो खुसी अवर्णनीय बन्न पुग्यो। यसै पनि हामी नारी आफ्नो सुन्दरताको वर्णनमा नै मन्त्रमुग्ध हुने स्वभावका। मेरो यो चञ्चल मनले आफैलाई स्वर्गकी अप्सरा, उर्वशीको उपमा नदिई नमान्ने भयो। मानौँ त्यहाँ म होइन, उर्वशी आफ्नो सुन्दरतामा लट्ठिएर मुस्कुराइरहेकी छन्। म त्यही कल्पनामा कल्पिरहेँ।
सीमित सुखानुभूति गर्दै म मेरो सुन्दरताको वर्णनमा गर्ने व्यक्तिसँगै घण्टौँ गफिएँ। मलाई भनूँ या उसलाई समयले नीति काटेको अड्कल समेत भएको थिएन। हाम्रो चिया गफबाट सुरु भएको दिन अहिले समसाँझ परिसक्दासम्म पनि टुङ्गिएको छैन। हामी एकअर्कालाई भएको गुनासोलाई कुनै ठाउँ दिएका थिएनौँ हामीले। दिएका थियौँ केवल एकअर्काको आदर, सम्मानलाई। त्यसर्थमा पनि उसले गरेको घण्टौँको मेरो तारिफ जुन उसको सुमधुर स्वरमा गुञ्जायमान भएका थिए।
म संगीतरूपी उसका श्रुतिमधुर वाणीमा डुबिरहेँ, मनमनै गम्न थालेँ आनी छोइङ डोल्माको ‘फूलको आँखामा फुलै संसार’ बोलको गीत। यो गीतमार्फत मैले पाएको शान्ति, सन्तुष्टि, बुद्धत्व अवर्णनीय थियो। त्यही सन्तुष्टि उसले मेरो तस्बिरको लागि गरेको सुन्दरतामा पाएकी थिएँ। जसले हामीलाई एकअर्काको आँखामा आँखा जुधाउन प्रेरित गरिरहेको थियो र त्यो आँखा जुधाइमा एक अनौठो सुकुन प्रस्ट झल्किन्थ्यो।
म एकोहोरिएको देखेर ऊ मेरो ध्यान भङ्ग गर्ने आशयले हो या मेरो मौनताले उसलाई बिझाएकाले हो, मलाई झस्काउँदै मेरो तस्बिर पुनः देखायो। त्यो तस्बिरलाई नियाल्दै म किमार्थ नकल्पिरहन सकिनँ। मेरो मन कल्पियो निबन्धकार हृदयचन्द्र सिंह प्रधानद्वारा रचित 'तस्बिर' निबन्धबारे।
उक्त निबन्धमा निबन्धकारले एउटा भाव प्रस्ट प्रस्फुटन गरेका थिए जसमा ऐनाले दिन प्रतिदिन आफ्नो अनुहारलाई बुढ्यौलीतर्फ धकेलिरहेको परिणाम निबन्धकार ऐनामा भन्दा आफ्नो युवावस्थाको तस्बिरमा सन्तुष्ट थिए र उनको आशयअनुसार मानिस आफूमा खुसी हुन कुनै भौतिक सुखसुविधा होइन, मात्र एउटा तस्बिर पूर्ण छ जसले आफ्नो सुन्दरतालाई सदैव ताजगी प्रदान गरोस्।
आज मेरो उमेरले पनि ४ दशक पार गरिसकेको छ। यद्यपि यही समयमा एउटी मायालु नानीले खिचिदिएको तस्बिरलाई कसैले मोनालिसाको भन्दा कम ठानेको छैन। यसबाट प्रस्ट झल्किन्छ, मानिसको सुन्दरता बाहिरी सौन्दर्यले होइन; उसको भित्री मन, बुद्धि तथा विवेकले दिन्छ।
धन्यवाद ती नानीलाई जसको कारण मलाई यो कथा रचना गर्न जागृत गरिदियो। धन्यवाद त्यो व्यक्तिलाई जसले मेरो यो तस्बिरलाई भिन्न पहिचान दियो। यो तस्बिर मेरो बाँच्ने आशाको धरोहर बन्यो। मलाई जागृत तुल्यायो र विगत सम्झन बाध्य बनायो।
मेरो विगत बाबुआमाको कान्छी छोरी, सहर बजारमा हुर्किएकी, पढाइमा तीक्ष्ण बुद्धि भएकी यस्तै पहिचान लिएर आफ्नो छुट्टै पहिचान लिने मेरो ध्येय जीवनमा आएका उतारचढावले चकनाचुर पारिदिएका थिए, यद्यपि मैले मिहिनेत गरेकै भए पनि। मेरो बाल्यकाल, मेरो विद्यालय, विश्वविद्यालयका सहपाठीसँगको अविस्मरणीय पल, मेरो वैवाहिक जीवनको सुरुवात, क्रमसँगै आएका चुनौतीसँग पौँठेजोरी खेल्दै, हरेक क्षण बाँच्ने सपनालाई दहन गर्नुपरेको त्यो कष्टप्रद क्षण कल्पिन पनि सक्दिनथेँ। आज फेरि बाध्य भएकी छु।
जीवनमा चाहे जति खुसी नपाउँदा र जीवनले सिकाएको पाठले दिएको उत्कृष्ट सिकाइले प्राप्त गरेको निखरताको अनुभूतिले नै आजको पहिचान यही तस्बिरमा झल्किएको महसुस गर्दै भगवान् वरदंस्वरूप आएको मेरो प्रिय सुपुत्र आशिष जसको अनुहार मात्र होइन विवेकपूर्ण व्यवहारले फेरि मलाई बाँच्ने हौसला दिएको छ। बाँच्ने र नबाँच्ने भन्ने दोधारमा रहेको मेरो सपनालाई अंकुराउन प्रोत्साहित गराइदिए। धन्यवाद पुत्र आशिष् तिमीजस्तै सन्तान सबै आमाले प्राप्त गर्न सकुन्।
चार दशक पार गरिसकेको क्षणमा लिइएको यो अनौठो तस्बिरले मेरो बाँच्ने आधारमा एउटा इँट थप्ने काम गरेको अनुभूति गर्दै आफ्नो पहिचान, खुसी, सम्पत्ति, स्वर्गीय आनन्द प्रदान गरेको छ।
आहा! कस्तो मिठो सपना! तर यो सपना मात्र होइन, यहाँ उल्लेख भएका सपनाका केही अंशमा मेरो तीतो वास्तविकता पनि लुकेको छ सायद।