प्रेमगञ्जको प्रतीक्षालयमा
आँखाका दुई परेला ढपक्क जोडेर
बडो मज्जाले झुमिरहेको छ एक सालिक
दुई खिली गाँजा तानेर लट्ठिएझैँ
बडो मज्जाले लट्ठिएजस्तै
थपक्क बसेको छ यो चिसोमा
चिसिएको सिमेन्टको कुर्सीमाथि।
उसलाई कुनै फिकर छैन
यो बाटोमा अत्तरको बास्ना छर्दै को हिँड्छ
उसलाई कुनै फिकर छैन
को हिँड्छ कसले कसको हात समातेर
उसलाई प्रेमको आभास छैन
उसलाई बिछोडको गुनासो छैन
न भगवान् सम्झन्छ
न भाग्य सम्झन्छ
न त रोजी रोटी
न त रोजगार
न त सरकार
ऊ चुपचाप छ
ऊ प्रेम गर्दैन
ऊ साथी बनाउँदैन
ऊ कसैको नजिक हुँदैन
कहिल्यै नजिक हुँदैन
कहिल्यै टाढा हुँदैन
उसले पहिल्यै थाहा पाइसकेको जस्तो गर्छ
नजिक हुनु भनेको टाढा हुँदा मन दुख्नु हो
प्रेम गर्नु भनेको छुट्टिँदा तड्पिनु हो
साथी बनाउनु भनेको चित्त नबुझ्दा
स्वार्थी कमाउनु हो
उसलाई
चियाको बाफ जस्तै लाग्छ
यो बाटोको ओहोरदोहोर
यो बाटोको होहल्ला
यो बाटोका मान्छे
यो बाटोको गुनासो
ऊ भन्छ-
म न कसैको आलोचना गरेर अडिनु पर्छ
न कसैको निकट भएर फाइदा लिन
ऊ ढल्ने भनेको मात्र एक पटक हो
मात्र एक पटक ढल्नु पर्छ आन्दोलनमा!
साथी बनाएर पटक पटक प्रहार सहनुभन्दा
प्रेम गरेर पटक पटक मन दुखाउनुभन्दा
नजिक भएर पटक पटक नानाथरी सहनुभन्दा
प्रेम गरेर दिनहुँ मन दुखाएर ढल्नुभन्दा
आन्दोलनमा एकफेर ढल्नु बेस
म उसको आरिस गर्दै छु
वाह! क्या जिन्दगी छ यार तेरो!
प्रेमगञ्जको प्रतीक्षालय
बडो मज्जाको एक सालिकलाई
वर्षौँदेखि सहारा बनेर उभिएको छ
साथ र साथीत्व प्रदान गर्दै
उभिएको छ
छेउमा म उसको आरिस गर्दै
वाह! क्या गज्जबको जिन्दगी छ है तेरो भन्दै
बायाँ खुट्टाले चुरोटको टुटो निमोठ्दै
जुरुक्क उठ्छु
र सुरु हुन्छ
उही
खुद्रा समस्या
र
थोक खुसीको उहीँ पुरानै बाँकी अंश...!