कठपुतलीहरू यो हिमबत खण्डमा
जन्म पूर्व नै तयार गरिन्छन्
श्यामश्वेत हिमालको जस्तो रंग
मीठो स्वरका धनी
पहाडी कन्दरामा हुर्कने दुर्लभ
बहुमूल्य सुन्दरता बोकेका
राजकुमारीहरू
उमेरको कुनै घेरासम्म मात्र
नाच्न पाउँछन् आफ्नो
आँगनीमा छमछमी
फुल्छन् हुर्कन्छन् मीठो
बतासको बयलीसँगै
धानको बाला सरी खेतभरि
डुल्छन् कुटुली कोसाको
वरिपरि
हाँस्छन् अनि कर्मशील बन्छन्
पँधेरा र चौतारीमा एकछिन
सुस्काउन मात्र के बसेका
हुन्छन्
अचानक भयंकर आकाशवाणी हुन पुग्दछ
त्यो वाणीले बादलका झंकारहरू पार गरेर
चट्याङ सरी सलबलाउँछन्
ममताका खानीहरूले
आँसु र कहरले त
अन्यले रहरले नै भए पनि..
खेलिरहेको आँगनबाट बिदा लिने उर्दी
जारी गर्छ
समय नामको वेगको हुरीले
कर्तव्य नामको बतास लिएर
अर्ध बेहोसीको उमेरमा
आत्मनिर्भरता र नैतिकताको
पाठ पढाइ हुन्छ
जीवन नामको विश्वविद्यालय तिर
र सुरु हुन्छ अर्को यात्रा
भाग्यमानीले आँधीको रूपमा आएको
बताससँग उडेर भए पनि
भविष्यको निर्माणका निमित्त
सहन खोज्छन् चोटहरू
अनगिन्ती चरणमा
अभागी आफ्नैले मुख थुनिएकाहरूको
आवाज हराउँछ बतासको झंकारभित्र
बिउँझँदा पुग्छन् पराई धर्तीको
भीमकाय चौबाटोमा
जहाँबाट जति कदम वेगको गतिमा
दौडिदा पनि भेट्न सकिन्न
कहिल्यै
हिजो खेलेको चौतारी र आँगनी।
अनगिन्ती ठक्करबाट आफैँलाई
भुल्न आँटेको बेला आकाश वाणी आउँछ
सुस्ताएको ढुंगाको सिरानी नेर
सन्तानको खुसी भन्दै आफ्नैलाई
भुलेर रमाइस् नयाँ ठाउँमा
खै हामीतर्फको कर्तव्य निभाएको?
फेरि
नयाँ प्रश्न तेर्सिन्छ आफैँ तर्फ
होइन म मेरो पाइला राख्ने
धर्तीमा एक धर्को माटो खोज्दै छु
कहाँबाट दिऊँ खुसीका बर्सातहरू?
समाजको स्वार्थ
पूरा गर्न कलिलैमा पराया भूमिमा
अर्पिएकी मैले विशाल गगन सरी उपहार!
सकिनँ मैले कसैलाई
आफ्नो मान्न, होस् मेरो जीवन नै
दाउमा चढाउँछु आफ्नाको तृप्ति देख्न
समयको अन्तरापछि एक्कासि एक दिन बोलाउँछ
छायाले हेर सूर्यास्त हुन लाग्यो म जान्छु
आफूलाई आफैँ सम्हाल्नु
फेरि ऐनाले बोलाउँछ
हेर्छु पहिलेको म छैन
मुहारसँगै अब त मेरो विशाल हृदय पनि
चाउरी पर्न आँटेछ
जो अन्यको मुस्कानमा आफ्नो खुसी खोज्दै
हिँड्थ्यो तिनै आफ्नाले मलाई
कति छिटै श्मशान नजिक पुर्याइरहेछन्
पर्ख म एक पटक आफ्नो आँगनीमा टेकेर
एक पल आफ्नो लागि बाँचेर मात्र फर्किन्छु
तिमीले तयार पारेको अन्तिम भिड
पनि मेरो इच्छाले चलेन
आखिर भोकाएका मेरा मलामीलाई
छिटो आफन्त भेट्न जानु पनि त छ।