मेरो देश
सर्वोच्च शिखरको पगरी गुथेकी
सुन्दर हिमालहरूको पङ्क्ति लहर
हरिया डाँडाहरूको मजेत्रो ओढेकी
सिङ्गो फाँटहरूको आवरणमा चटक्क सजिएकी।
मेरो देश
जहाँ बुद्धले ज्ञान फैलाए
जनकको शान्तित्व गुन्जियो
भृकुटी, सीताको अस्तित्वमा
अरनिकोहरूले देशको गाथा कुँदे
गेहेन्द्र जन्मिए, महेन्द्र चिनिए
पृथ्वीहरूले एकतामा सजाए
पासाङहरू अमर बने।
मेरो देश
जसले अङ्ग्रेजहरूलाई दबाई
बहादुरीत्व यत्रतत्र देखाए
गुलामी, अहँ! कहिल्यै सुन्नु परेन
सदा अटल, अडिग र अखण्ड पारे।
मेरो देश
निस्कलङ्कित, सहृदयी मनहरूको वासस्थान
एक पवित्र तपोभूमि
विविध जात धर्म पेसाको सुन्दर मिलन
समानता, भाइचारा र सप्रेम।
मेरो देश
जहाँ एकाबिहानै सुन्दछु
कोइलीको मिठो धुन
देख्दछु डाँफेको मनमोहक कल्की
मजुरहरू पङ्खा फिँजाउँदै भन्छन्-
अतिथि देवो भव:
मेरो देश
यहीँ छन् कस्तुरी, मृगहरू, बाघ, भालु, हात्ती र घोडाहरू
माछाका अनेक प्रजातिहरू डल्फिन र गोहीहरू
फुल्दछन् ढकमक्क लिली र लालीगुराँसहरू पाक्दछन्
जम्बु, किम्बु र काफल हरू
लाग्दछ स्वर्ग हो कि अझै बढी
मेरो प्यारो मातृभूमि, मेरो प्यारो देश नेपाल।