हेर्नु ऐना अनि बोल्नु आफैसँग
पर्खिनु आफैलाई अनि डोर्याउनु आफ्नै छायालाई
लैजानु आफैले घुमाउन कतै
अनि सोध्नु आफैलाई आफ्नो कति माया लग्छ भनी?
लेख्नु कविता पानाभरि अनि वाह! भनूँ आफै
गाउनु गीत चर्को स्वरमा अनि आहा! भन्नू आफै
बनाउनु एउटा छुट्टै आकाश अनि ओढ्नू बादललाई!
कसैले सोधे तिमीलाई के छ तँसँग?
बताउनु एक मुठी सासको बारेमा
कोहीले सोधे को छ तँसँग?
जताउनु आफ्नो बिम्बको बारेमा।
सिँगारिनु तिमी आफ्नै लागि
अनि तारिफ गर्नु आफ्नै
अंगाल्नु आफ्नै छायालाई
अनि निदाउनु आफ्नै सपना बोकी।
यहाँ सत्य तिमी हौ
भ्रम तिमीले बनाएको संसार
यहाँ तिमी हराए खोजिदिने कोही छैन
तिमी भेटाए रमाइदिने कोही छैन।
माथि आकाश, तल जमिन
यति हुन् तिम्रा सम्बन्ध
फेरिरहेको सास, उभिरहेको शरीर
यति हुन् तिम्रा आफन्त।
हिँड्नु आफ्नै छायासँग
अनि संगत गर्नु आफ्नै आत्माको
देख्नु आफैमा सर्वस्व
जसरी सपनालाई छ निन्द्राको अस्तित्व।
जन्मँदा बोकी आयौ आफ्नै सास
मृत्युपछि बन्नेछौ पोलिने लास
फेरि किन प्रवाह दुनियाँको?
फेरि किन डाहा अरूको प्रगतिको?
रुनु अरूले नदेखिने गरी
अनि हाँस्नु अरूले सुन्ने गरी
साम्राज्य बनाउनु आफ्नै सँगालोको
अनि ब्रह्माण्ड भेटाउनु आफ्नो अङ्गालोको।
बन्नेछौ तिमी नास्तिक जब
बुझ्छौ सम्बन्ध प्रेम र ईश्वरको
तोड्नेछौ अहंकार जब
थाहा हुनेछ फरक आवश्यकता र रहरको।
च्याप्प च्याप्नु आफ्नै हात
अनि देखाउनु बाटो सत्यताको
छ्याप्प छ्याप्नु स्वाभिमानको गङ्गा जल
अनि हेर्नु महत्त्व आफ्नै सामीप्यको।
आफू रित्तिएर दिएका ती प्रेम
खन्याउनु आफ्नै लागि
अरू खुसी बनाउन खर्चिएका ती समय
खर्चिनु आफ्नै लागि।
नपर्खिनु कसैले बिचरा भन्ला भनी
नसोध्नु आफ्नो महत्त्व के छ भनी?
प्राण दिए पनि यहाँ अरूको लागि
पाउने तिमीले श्रद्धाञ्जली मात्र हो।
डर लागे वास्तविकतासँग
कल्पनामा रमाइदिनु
स्वार्थको पहिचान दिनेहरूलाई
स्वाभिमानको कथा सुनाइदिनु।
यहाँ, गुरु तिमी अनि शिष्य पनि तिमी
लेखक तिमी अनि पाठक पनि तिमी
सिक्ने तिमी अनि सिकाउने पनि तिमी
अन्त्यमा मात्र तिमी।