समेटेर मेरै इन्द्रेणी रंग
बनायौ तिमीले स्वर्गको फूलबारी
दबाएर दुई पङ्ख मेरै
बाँध्यौ तिमीले देशका चार किल्ला
टेकेर मेरै छाती
निर्माण गर्यौ तिमीले विशाल नेपाल।
तैपनि!
तिम्रो सिंहदरबारले देखेन मेरो अस्तित्व
तिम्रो देशमा
मलाई हेरियो हेयको दृष्टिले
बरियो विभेदको कात्रोले
हे पृथ्वी महाराज
यो कस्तो एकीकरण हो तिम्रो?
यो कस्तो एकता?
तिम्रो सार्वभौम राष्ट्रमा म ईश्वर कि राक्षस?
तिम्रो साझा फूलबारीमा म सयपत्री कि वनकुरो?
अचेल
कुहिरोमा हराएको पन्छी जस्तो
तिम्रो देशमा
अलमलिएको छु
अत्तालिएको छु
नर-नारी
पशु-पन्छी
वायु-जल
धरती-आकाश
सबै सबै चिच्याइरहेछन् चारै दिशामा
र भनिरहेछन् एकै स्वरमा-
‘घुम कर्णाली फर्की यता’
भनिदेऊ पृथ्वी महाराज
अब म कता फर्कूँ?