रातको बत्तीले उज्यालो छोडेपछि
मरेतुल्य भएर बाँच्न बाध्य एउटा मान्छेसँगै
कोठाको भित्तामा एउटा छाया बिस्तारै उठ्छ—
त्यो छाया म नै हुँ
जसको मुटुमा दिनभरको पसिना
र मनभरको मौनताको बोझ टाँसिएको छ।
परदेशको सहरले मानिसलाई होइन
छायालाई रोज्छ—
जसलाई बोल्न नहुने
रुन नहुने
थाकेर बस्न पनि नहुने आदेश छ।
कहिलेकाहीँ लाग्छ
म आफ्नो नाम बिर्सँदै छु
म मेरो अस्तित्व बिर्सँदै छु
थाहा छैन—
अहिले म घरबाट टाढा छु
कि आफ्नै आत्माबाट?
भित्तामा टाँसिएका तस्बिरहरू
मलाई हेरेर मुस्कुराउँछन्—
र म त्यस मुस्कानभित्र
मेरो अपूर्ण जीवनको व्यङ्ग्य खोज्छु।
चोटहरूको एउटा मौन सभा
हरेक रात मुटुमा बसी
माथि–माथि तर्किन्छ—
‘कति दिनमा हो यो निभ्ने?
कति दिन यो बग्ने?’
तर जवाफ छैन
जवाफ सायद
मभन्दा परदेशको घडीले मात्र जान्दछ।
म पनि कहिले फूल थिएँ—
हावाको स्पर्शले नाच्थेँ
आकाश हेरेर हाँस्न सक्थेँ
तर यहाँ
हातभन्दा टाढा सपना छन्
आँखाभन्दा टाढा घर छ
र मुटुभन्दा टाढा आफैँ।
कहिलेकाहीँ त
बोल्नुपर्ने शब्दहरूले पनि
आफ्नै आवाजसँग डर मान्छन्
किनकि
यो सहरमा
मौनता नै नियम हो
र थकान नै धर्म।
म बाँचिरहेको छु—
तर बाँच्नु भन्ने शब्दले पनि
कहीँ कतै मलाई चस्स पोलिदिन्छ
म हिँडिरहेको छु—
तर कहाँ?
किन?
कति?
कसलाई थाहा छ?
म यो सहरको रुटिनमा हराइरहेको एउटा मान्छे
जसको कदम
टाइम कार्डको सुईसँग बाँधिएको छ
र जसको सपना
बैंकको ऋण तिर्ने तालिकाभित्र कैद छ।