त्यो बन्द अँध्यारो कोठामा रोएको छोरीको आवाज बा’को कानमा पुगेछ भने पनि ‘के भयो छोरी, किन रोएकी हौ?’ भनेर नसोध्ने जमानामा गरेको प्रेम हो मेरो। मैले धेरै दिएर, सबै गुमाएको थिएँ। प्रेम पाप हो, प्रेम विवाह अगावै मात्र होइन, विवाहपश्चात् पनि खुलेर श्रीमतीलाई प्रेम गर्छु भनेर भनेछ कुनै पुरुषले भने स्त्रीलम्पट भनेर चिनिने जमाना थियो त्यो। हो, त्यति बेला गरेको प्रेम हो मेरो।
मैले मेरो जिन्दगीको २/३ वर्ष उसका लागि दिएपछि ऊ अरू कसैको श्रीमान् भएको थियो। मैले लाख पटक सम्बन्ध जोगाउनुपर्छ, यी सम्झनाहरू हामी नमरिन्जेलसम्म पनि याद आइरहन्छिन्, यी यादहरूले हामीलाई बाच्न दिँदैन भनिरहँदा तिमीले माफ नगरेर छुटेको यो प्रेमले तिमीलाई त अर्की श्रीमती दियो तर मलाई भने एक्लो जिन्दगी दियो, पीडा दियो, आँसु दियो, यो वियोग दियो। मैले चाहेर पनि कसैलाई प्रेम गर्न सकिनँ, भनौँ भने मेरो मनले श्रद्धाञ्जली पायो।
मेरो परिवारले बाँचुन्जेल घरमा बसेकी छोरी देखेर बाँच्यो। मैले घरमा तिमी छौ भनेर भनेको त्यो दिनको पश्चात्तापले पोलिरहन्छ, तिमी मात्र भनेर सोचेका यी दिमाग र मनदेखि घृणा छ। मैले किन अरूलाई राख्न सकिनँ, यसको अपसोच छ। तिमीलाई त म कहीँ कतै याद आउँदिनँ होला किनकि श्रीमती छे तिम्रो, बालबच्चा छन् तिम्रा। तर म अभागी, आफ्ना सन्तान भएनन् र म आफू सन्तान भएर नि बा-आमालाई खुसी दिन सकिनँ। मैले जिन्दगीमा दोस्रो मान्छेलाई भरोसा गर्न पनि सकिनँ।
मरेर पनि बाचेको लास कस्तो हुन्छ भनेर हेर्न मन लागे मेरो झुपडीमा आउनुस्, एउटा बूढी हरेक रात आफूलाई मारेर जिन्दगीको आहुति दिँदै छे।
कसैको छोरीलाई बिहे गरेर घर भित्रसम्म ल्याउने आँट छैन भने यो वर्षौँ वर्षसम्म मायाका नाटक गरेर कसैको जिन्दगी बरबाद पारिदिने काम नगरे हुँदैन?
आखिर कसैको भावनासँग खेल्दा पुरुषार्थ देखाउनलाई प्रेम किन गर्नु?
आज पनि घर बिग्रेको केटाभन्दा घर बिग्रेको केटीलाई बाँच्न गाह्रो बनाउँछ यो समाजले। शिक्षित समाज हो यो? होला तर मेरा लागि त यो समाज मेरो समाजभन्दा अशिक्षित लाग्छ। मेरो समाजले प्रेम नगर भन्थ्यो, प्रेम बुझेको थिएन तर अहिलेको समाजले प्रेमलाई धेरै बुझ्यो तर भावना भने कत्ति पनि बुझ्न सकेको छैन। आज पनि धेरे केटी मान्छे बाटोमा रोएको देखेको छु, ऊ पनि कसैको छोरी हो, कसैको बहिनी हो, कसैको घरको लक्ष्मी हो, किन रुवाउँछौ? तिमी सहन सक्छौ कसैले तिम्रो घरको छोरी चेलीलाई यसरी नै बदनाम गरेर घर न घाटको बनाएर छोडोस्?
शताब्दी २१ औँ आयो, केही परिवर्तन त आयो होला भनेर हेर्छु, म उस्तै देख्छु। मेरा यी धमिला देख्ने आँखामा चस्मा थपिए तर दृश्य उहीँ पुरानो। पहिला श्रीमतीमाथि श्रीमती हाल्थे अहिले प्रेमिका माथि प्रेमिका हाल्छन्। भएकी प्रेमिका पनि उसका इच्छा छउन्जेल हो अनि डिभोर्स जस्तै ब्रेकअप गरिदिन्छन् र विधवा जस्तै जिन्दगीभर एक्लो बनाइदिन्छन्। कति कमजोर मन र दिमाग भएका छोरीहरू मानसिक अस्पताल धाउँछन् त कति छोरीहरू एक्लै जिन्दगी कटाइदिन्छन्।
दोस्रो जिन्दगी बोकेको मान्छे म नै छु, आज ७० लागेँ। दाँत हड्डी कमजोर भएका छन्, कलमहरू कमजोर हुन थाले, उसका तस्बिर मलिन मात्र सम्झनामा छन्। उसको डिग्री र श्रीमती सायद दुवै माथिल्ला स्तरकै होलान् किनकि उसले उसका उच्च डिग्रीका लागि मलाई छोडेको थियो। मैले वर्षौँसम्म उसका प्रतीक्षामा जवानी बिताएँ। उमेरले नेटो काट्यो, अब मसँग ऊ सिवाय हातमा बलियो साथ केही रहेन। आमा-बाले धर्ती छाडिदिए, त्यो बूढो घरमा एक्लो म रहेँ, त्यो बेला उसले छोडिदियो!
यी काला कपाल फुलेर सेतै भएका छन्, शरीर कमजोर भएका छन्, अब त म रुन पनि नसक्ने भएकी छु तर पनि मेरा मन सदै यही सोचेर रुने गर्छन्, मबाट के भुल भयो कि तिमीले एक बचन केही नभनी यसरी चटक्क नै छोडिदियौ?
म हरेक दिन हरेक गल्लीमा कसैको छोरीको हाँसो पछाडिको रोदन देख्छु अनि म उसलाई सम्झन्छु। वर्षौँ पहिलेको कुरा हो, ऊ जमानामा छोरी मान्छे १२ वर्ष हुन नपाउँदै २५/३० नाघेका केटालाई ‘छोरीलाई यो मान्छेले खुसीले राख्छ, भोको पेट राख्दैन किनकि प्रशस्त जमिन छ’ भनेरै छोरी दिन्थे। हो त्यो बेलाको छोरी थिएँ म, बा-आमाका धेरै छोरी मध्यकी कान्छी छोरी। यसै नि धेरै भएकी थिएँ म र भारी थिएँ किनकि जसका छोरा उसका धन भन्ने जमाना थियो।
बा’को कमाइ थिएन, आमा रोगी थिइन्, घरभरि छोरी थिए। सबैलाई उमेरमा उम्काउन पाए काँध हलुका हुने थियो भन्ने सोच बोकेको मेरा बा आमासँग सधैँ झगडा हुन्थ्यो। आमा रुन्थिन्। सब गाउँलेले के-के भन्न थाले, समाजमा कुरा काट्न थाले भनेर समाजको डर थियो कि के थियो मेरी आमाले जानुन्। तर मैले बरु म परिवार पाल्छु, कमाउँछु तर सानो उमेरमा बिहे गर्दै गर्दिनँ भनेर बिहान बेलुकै झगडा गरेर बिहे नगरी बसेको थिएँ।
त्यो बेला यो कुरा राखेर लड्नु भनेको केटी मान्छेले ठुलो युद्ध जिते बराबर हो। किनकि छोरी मान्छे ठुलो स्वरले हाँस्न हुँदैन, केटाका अगाडि आफ्ना कुरा राख्नै हुँदैन, बाहिर काम गर्न जानै हुँदैन, उच्च शिक्षा लिएर के काम, अर्काको घरमा जाने छोरी, दाइजो टन्न दिने हो बालखैमा पठाउने हो भन्ने मानसिकता बोकेको घर हामी सबैको घर हो। नपत्याए घरकी हजुरआमालाई सोध्नुस् त, बिहे कति वर्षमा भयो र कति कक्षा पढ्नुभएको छ, जिन्दगीमा के-के पाउनु भयो, के कमाउनु भयो भनेर। उत्तरमा पाएको सन्तान हो र कमाएको भनेको काम र रोग हो, समाज को कचकच र सासू-ससुराको किचकिच मात्र हो। किनकि छोरी-बुहारी त खेताला भइन्जेल घरको खेताला, नभए अर्काको घरको भरिया जस्तै त थिए।
मेरा बुबा जन्मिने बेला कहाँ थियो हजुरआमा भनेर सोध्नुस् त अस्पताल। घरमा सुतेर आराम गरेकी थिएँ भनेर कुनै आमाले भन्छिन् भने लेखिरहेका कलम बन्द गरिदिनेछु। हो त्यो बेलाकी छोरी थिएँ म। मलाई प्रेम गर्न अनुमति थिएन, त्यो बेला उसको मायामा थिएँ। धिक्कार लाग्थ्यो केही समय त बा-आमाले भनेको नमानेर। त्यही मुर्दार भनी पर्खेको श्राप त पाएकै हो, किन पर्खिएँ त्यसलाई भनेर।
सम्बन्धमा रहिन्जेल उसका लाख गल्ती माफ गरी दुनियाँ बिर्सेर साथ दिएको मैले, मबाट सानो गल्ती पाउने बित्तिकै तँलाई अपनाउँदिनँ भनेर छोडेको थियो। मैले शरीर बेचेकी थिइनँ, मैले रहर बेचेकी थिइनँ, मैले इमानदारिता बेचेकी थिइनँ, मैले मेरो सत्यको बाटो बेचेकी थिइनँ। बस् बेचेकी थिएँ आफ्नो केही समय आफ्नो लागि, बेचेकी थिएँ आफ्ना सपना उसका लागि तर उसले म रिसाउँदा ‘प्रेमिका हो सहन्छु, उसले पनि मेरो लागि वर्षौँवर्ष बलिदान दिएकी छ, योगदान दिएकी छ’ भनेर एक पटक सोचेन। उसले सोचेन कति पटक घरमा लडेकी छ यो केटी मेरा लागि भनेर, सोचेन उसले ती विवाहका कति प्रस्ताव उसका लागि अस्वीकार गरेका कुराहरू। उसले सोचेन समय जस्तो कुरा मैले उसलाई दिएको, होइन भने कसले पर्खन्छ र निस्वार्थ मनले कसैलाई? हो यो सोचेर माफ दिएन।
होला सायद उसका शैक्षिक योग्यताका सर्टिफिकेट गह्रुँगा भए होलान्, म थोरै पढेकी केटी अनपढ लाग्यो होला। ऊ सहरमा बसेको मान्छे, म गाउँले केटी पाखे लाग्यो होला। होलान् उसका पनि यस्ता बाध्यता तर के चाहिँ गर्यो त नि उसले मलाई छोडेर जिन्दगीमा? आखिर पायो त उसले सोचेको जस्तो मान्छे? के पायो, कहाँ के-के कुरामा प्रगति गर्यो त नि? वर्षौँ-वर्ष उसैलाई निरन्तर पर्खिएर आज ७० लागेकी मैले हरेक दिन यही सोच्ने गर्छु, उसकी श्रीमतीले भान्छा पर्खिन्छे कि नाइँ होला? मैले यो जिन्दगीभर तिमीलाई पर्खिएझैँ तिम्री श्रीमतीले हरेक गल्लीमा, तिम्रा पहिला डगमगाएर ती तिम्रा पाइला सुस्त हुँदा आफ्ना पाइला साना बनाएर पर्खिन्छे कि नाइँ होला?
मैले आफूलाई त्यति सम्झिन सकेको छैन जति तिमीलाई सम्झेको छु, बा-आमा त्यति सम्झिन सकेको छैन त्यति तिमीलाई सम्झेको छु। अगाडि पछाडि कोही नभएको बेसहारा मैले पढेर कमाएर सम्पत्ति जोगाएर के पाएँ? परिवार त चाहिने रहेछ मान्छेलाई, आत्मनिर्भर हुनुपर्छ तर आत्मनिर्भर नै हुन्छु भनेर एक्लै बस्ने निर्णय गर्नु पनि गलत नै रहेछ।
अहिले यो थोत्रो बूढो घरले तर्साउँछ मलाई, १ कोठाबाट अर्को कोठा जान पनि सक्दिनँ। त्यो मेरो पुरानो सुत्ने कोठासम्म जान्छु भन्छु र कोसिस गर्छु, ढोकाबाट भित्र छिर्नै सक्दिनँ। हरेक चिजले मलाई मेरो त्यो उमेरतिर फर्काउँछ जहाँ तिमी थियौ। मलाई पिटे जस्तो हुन्छ कसैले, म सक्दिनँ अनि ती मेरा बा-आमासँगका झैँझगडाले नि पोलिरहन्छ मलाई। जवानीमा सही निर्णय लिन नसकेको पछुतो आज पनि छ।
कसैको लागि खर्चिएको हरेक समयका घडीका सुइँहरू आज दौडिन्छन् मेरा दिमागमा अनि पिरोल्छ। मैले त्यो मान्छेका लागि मेरो जिन्दगी दिएछु, जसले मेरो हातको एक अम्खोरा पानीसम्म पाउने भाग्य थिएन। उसले छोएका हरेक शरीरका भागलाई मैले अझै पनि न्याय दिन सकिनँ। जो आउँछन्, के भएको छ आमा तपाईंलाई? तपाईंको कोही आफन्त छैनन् र भनेर सोध्न आउँछन्। आफ्नो भनेको भित्तामा एउटा तस्बिर छ, त्यो तस्बिर सायद ऊ बाहेक कसैले चिन्न पनि सक्दैन होला। नेपाल छोडेर छिमेकी देश भारत लागेको दिनको त्यो तस्बिर मैले सम्हालेर राखेकी छु। खल्तीमा पैसा नहुँदा मागेर खिचेको तिम्रो फोटो जोगाएर, वर्षौँ लुकाएको तस्बिर मैले ५० नाघेको दिनमा निकालेकी थिएँ। जब जीवनमा बा-आमा रहेनन्, त्यो दिन एक्लै भए अनि निकालेँ त्यो लुकाएको एउटा फोटो।
म तिमीलाई सम्झिन्नँ भनेर भन्नै सक्दिनँ। मलाई तिमी फर्केर आए पनि चाहिएन तर म तिमी जति कसैलाई प्रेम गर्नै सकिनँ र तिम्रो ठाउँ कसैलाई दिनै सकिनँ। मैले दिनरात काटेका हरेक बत्तीहरूका धागाले देखेका छन् तिमीप्रतिको प्रेम। मेरा हातमा हुने गीता र स्वस्थानीका किताबका पानाले देखेका छन् मेरा प्रेम। मैले चस्मा खोलेपछि तिम्रा तस्बिर धमिलो देख्छु अनि आत्तिन्छु र चस्मा लगाइरहन्छु। यी चस्माले देखेका छन् मेरो प्रेम!
म सबेरै उठेर घर आँगन बढार्न सक्दिनँ तर तिम्रो तस्बिर पुछेर चट्ट सफा राखेकी छु। यो दुखेका कम्मर र सिधा नभएका यी हातले देखेका छन् मेरो प्रेम, हरेक दिन बालिने दियोले देखेका छन् प्रेम। तिमीले विवाह गरेकी केटी मेरो मावली गाउँकी बहिनी रहिछन् भनेर थाहा भएको दिन हीनताबोधमा नारायणी तिर लागेको दिन याद आउँछ। सास अड्केको थियो मेरो रुँदा-रुँदा, अझै सम्झना छ। धर्म संकटमा परेको दिनमा मैले यो जिन्दगी तिम्रो नाममा भयो भनेर सबथोक छोडेर देवघाट लागेकी थिएँ।
कलिलै उमेर अनि विवाह नहुँदै सेता कपडा लगाएर आफैलाई विधवा हो भनेर देवघाट जाँदा गाउँका दाइले देखेर घर ल्याई समाज जोडेर बेइज्जत गरेको अझै याद छ मलाई। मैले के-के सहेँ तिम्रा लागि मलाई थाहा छ। त्यसैले आजभोलि बाटोमा मायालाई मजाक बनाएको देख्दा मेरा ५० वर्षको बलिदान सम्झन्छु। कति महिला प्रसूति गृह गएको देख्छु, कति पागलखाना, कति मानसिक अस्पताल। तर पनि ती पुरुषहरू अझै खुसी देख्छु, सुखी देख्छु अनि सम्झन्छु भगवानले देख्छन् भनेर आफूलाई बरबाद नपार्नू।
जिन्दगी धेरै लामो रहेछ, सम्हालिनु पर्छ, बाँधिनु पर्छ, सम्झाउनु पर्छ आफूलाई अनि आफ्नो मनलाई र कसैका लागि आफूलाई सिद्ध्याउने काम नगर्नू। कोही कसको लागि त्यति मूल्यवान् हुँदैन, आफ्नो महत्त्व नघटाउनू। कसैलाई नपर्खनू, जिन्दगीको गति रोकिएपछि भागदौड गर्न गाह्रो पर्छ। मैले हरेक रात आफूलाई हरेक रुद्राक्षका मालामा जप्दै सम्झाउँछु, मैले हरेस खाएँ तर जिन्दगी अझे मैले धेरै भोग्न छ। म मरेछु भने पनि मुखमा एक थोपा पानी कसैले हालिदियोस्, मेरो मरण सहज हुने थियो भनेर। भगवानले यो जिन्दगीमा मेरा लागि केही नगरे पनि सजिलो मरण दिउन् भनेर सम्झिन्छु र धिक्कार्दै आफ्ना विगत सम्झन्छु।