बा,
सत्तरीको उमेरले छोएपछि अचेल
आँखै अगाडि धमिलो भयो भन्नुहुन्छ
चस्मा लगाउँदा नि सफा देखिनँ भन्नुहुन्छ
हिजो बा’कै आँखा पछ्याएर
मैले पनि संसार हेरेर्थेँ
बा’ले नै बाल्दिएको ज्योतिबाट
मैले दुनियाँ निहार्दथेँ
हरेक चोटमा, हरेक दुखमा
नलोलाएका, नरोएका आँखा
मेरा लागि सुदूर सुदूर
भविष्यको रेखाचित्र कोरेको आँखा
अब आँखाले पनि
अलिकति रसाउँछु भन्यो कि
अलिकति भावुकता खोज्यो कि
थकाइ मार्छु भन्यो कि
आँखै अघि बा बूढो हुनुभयो
बा,
सत्तरीको उमेरले छोएपछि अचेल
धेरै हिँड्न सक्दिनँ भन्नुहुन्छ
हिजो मलाइ काँधमा हालेर
वारि भन्ज्याङ झर्नुहुन्थ्यो
पारि भन्ज्याङ चढ्नु हुन्थ्यो
बा’कै खुट्टामा टेकेर
मैले पाइलो चालेकोको हो
बा’कै काँधमा लुटुपुटु गर्दै
मैले आफ्नो अस्तित्व पाएको हो
अब सायद काँधले बिसाउनी खोज्यो कि
खुट्टाले पनि थकाइ मार्छु भन्यो कि
आँखै अघि बा बूढो हुनुभयो
बा,
अचेल अमिलै हुने गरी ढाड दुख्यो भन्नुहुन्छ
हिजो त्यही ढाड थियो
जसले सिङ्गो घरको बोझ उचालेको थियो
त्यही ढाडले
मेरो खाई पिइ, पढाइ लेखाइ
सबै उचालेर हिँड्यो
सिङ्गो पृथ्वी ल्याएर राख्दा पनि
भीमकाय बसेको त्यो पर्खाल
अब त्यो पर्खालका
मेरुदण्ड कमजोर भए कि
अब बिसाउन देऊ बोझहरू पो भन्यो कि
आँखै अघि बा बूढो हुनुभयो।