साहेब!
राखिदिएको छु- तिम्रो दर्शन
यहीँनेर पासो लगाएर
प्रेम छ, फुस्फुसाउनु तीनपाने
श्रद्धा छ, चढाउनु बेली चमेली
निर्धक्क
यतै लेखी छोडिदिएको छु-
साविती बयान
स्वैच्छिक गिरफ्तारीको कौमार्य
स्फटिक मानवताको चर्को महसुल।
कानो, बहिरो र खोरन्डो हुँदै
जीवनभन्दा लामो तमसुकमा
चुपचाप सहीछाप गर्दा मात्रै
सास फेर्नुको तात्पर्य भेटिने रहेछ।
साहेब!
ढाड फत्रकै गलिरहेछ
कटकटी दुखिरहेछ कम्मर
टाउको पनि के भनौँ? यो खप्पर!
फनफनी घुमिरहेछ- एलएचसी टनेल झैँ
हो, साहेब
साह्रै चर्को भो तिम्रो वजन
धान्नै नसक्ने भो तिम्रो सामाजिकता।
साक्षी छन् सात, छत्तिस, बैसठ्ठीहरू
लौरो बिर्सिएका किम्बदन्तीहरू
बगाल गुमाएका सुस्ताहरू
कुपोषणले चपाएको रारा
पुस्तौँदेखि इँटा छोड्दै गरेको क्याराभान
हैजाले निलेको रानिकोट
दिन दहाडै हरिसिद्धिमा-
बौलाक्रमणमा निस्किएको हात्ती
एक-एक साक्षी छन्, साहेब।
दुरुस्त तिमी जस्तै छन्–
भूगोल पार्कको चटके: बादशाहको अंश संस्करण
र नब्बे केजीको आयातित छेपारो।
हो, तिमी जस्तै
सबै लामबद्ध छन्
ज्याबलहरूको कित्तामा
छोटो मुख गरे साहेब, भर्सेला होस्।
चुस्नु- जुकाहरूको धर्म
विवेक सम्मत डार्बिन बोली
निरन्तर बग्दो छ कर्मनासा
उँभोउँभो हिमाल तिर
चिसो ठिही महसुस छ।
ढुंगो पाके पो खानु?
उदाङ्गै ह्वाङ्ङै सर्वाङ्गै देखिएको छ
लुकाउनु पर्ने जति।
खर्पन घोप्टिन्छ-
टुमा अतासिन्छे, बेहोस हुन्छे
नक्सा छैन
कतै छैन हस्ताक्षर इँटामा।
भ्रम खेल्छ, पोखिन्छ, छरिन्छ
छ र प स्ट
सेतो टावरको पटाङ्गिनीमा
तयार छ अढाई करोड आलो सुकुटी
लाम छ तरुनी सपनाहरूको।
नापी नक्सा कोर्नु
बनाउनु चार हजार खोलामा
त्यति नै संख्यामा घाटहरू।
साहेब, चितामा के जल्छ थाहा छ?
विघटनको बिन्दु नेर अभ्यस्त छन् काँटीहरू
यहीँ नेर चुक्ता हर हिसाब।
प्राणी हो- कराउँछ भोक
रैती हो- चढाउँछ भक्ति
नागरिक हो- तिर्छ कर
निसर्त/निःसन्देह
निख्लम मान्छे हरेक साँझ
चढ्छ अङ्गालो भरिको धरहरा।
साविती छ-
अब लेख्दैन बन्दुकले इँटाको आकार
अब पर्गेल्दैन कानुनले मुटु भित्रका त्यान्द्राहरू
साहेब!
यता लोडसेडिङ छैन/ बिल बजेट छैन
यो सूर्य नारानलाई सवारीको दुःख छैन
घरै नभएको फिरन्तेले
के बुझ्नु रेट्रोफिटिङको अर्थ!
कसरी नाप्नु चुच्चे नक्साको आयतन!
तर साहेब!
खोइ त मुटुमा तिम्रो उपस्थिति?
खोइ त उदाउँदो घामको लालित्य?
खोइ त बौलाहा काजीको सद्दे सपना?
खोइ?
रिसानी माफ होस् साहेब
तिम्रो दिव्योपदेशको अन्तिम पानामा
अझै खाली छ एक हरफ
खा [ ] ली
तिम्रो महावीर-प्रयत्नका बाबजुद
म लिलिपुट सङ्कुचनमा छु,
भो, अब थाती राख
पटक पटक तिमीले लेखेका सम्झौताहरू।
ग्यास च्याम्बर होस् वा गाजा
उडिरहेको गरुड होस् वा बन्द किल्ला
सर्वत्र
सुमेरियन सहरदेखि नै
म निरन्तर विघटनमा छु।
दिन्छौ त प्रत्याहारको अधिकार?
भो पर्दैन
उपहार भो यो जुत्ता तिमीलाई।
हो साहेब, भर्सेला माफ होस्!
सिकार गर्न जानु छ
एक अङ्गालो 'माया' गर्नु छ टुमालाई
र, यहीँबाट अहिले नै
घोषणा गर्नु छ-
चुक्ता/घुर्ता/फिर्ता/पारपाचुके भो
तिम्रो सामाजिक सम्झौताको इतिहास।