‘माफ गर्नुहोस्, के म यहाँ बस्न सक्छु?’
सौरभा अलिक झस्किइन्। उनले वरिपरि हेरिन्— अपरिचित पुरुष, लगभग ३०–३५ वर्ष जस्तो, हल्का मुस्कानसहित छेउमा उभिएको। उसको ऊर्जामा कुनै घमन्ड थिएन, कुनै हतार थिएन— बस् एक अनौठो शान्ति।
‘अवश्य,’ सौरभाले नम्र आवाजमा भनिन्। तर उनको मनमा एकदम सूक्ष्म जिज्ञासाले हल्का हल्ला गर्यो।
पुरुष बसेर क्षणभर सौरभालाई हेर्दै, वास्तविक तरिकाले सोध्यो— ‘तपाईं यस्तो बिहान किन रोज्नुहुन्छ?’
सौरभा अचम्म परिन्। कसैले यस्तो प्रश्न न सोधेको धेरै समय भइसकेको थियो।
‘बिहान… मलाई आफ्नो मन सुन्न सजिलो हुन्छ,’ उनले जवाफ दिइन्।
पुरुषले शिर हल्लाउँदै बोले— ‘मन सुन्न सक्ने मानिस दुर्लभ हुन्छन्। धेरैले बाहिरको आवाज पीछा गर्छन्, भित्रको होइन।’
यो शब्दले सौरभाको हृदय हल्का काँप्यो। उनी एकाएक आफ्नो पुराना वर्षहरू सम्झिन थालिन्— दुःख, निर्णय, त्याग र कति पटक कल्पनामा आफैलाई फेरि जीवन्त बनाउन खोजेका क्षणहरू।
पुरुषले फेरि सोध्यो— ‘तपाईंको आँखामा अनौठो गहिराइ छ। के तपाईंले धेरै कुरा मनमै राख्नुहुन्छ?’
सौरभाले कहिल्यै कसैलाई नबताएको कुरा अचानक बोलिन्— ‘हामी उमेरसँगै कुरा बोल्न मात्र होइन, कुरा लुकाउन पनि सिक्छौँ।’
पुरुष हल्का मुस्कुरायो— ‘तर भावना… तैपनि बाँचिरहन्छ, हैन?’
सौरभा एकछिन चुप भइन्। उनको काखमा पुरानो डायरी थियो। बिहानको चिया र कुहिरोका बिचमा त्यो डायरी केही वर्षदेखि उनको मात्र साथी।
‘कहिल्यै कुनै अधुरो कुरा पूरा गर्न मन लागेको छैन?’ पुरुषले फेरि सोध्यो। प्रश्न साधारण होइन, एक–एकले मन छोएर जान्छ।
‘धेरै छन्,’ सौरभाले फुसफुसाइन्, ‘तर जीवनले कहिलेकाहीँ तपाईंलाई चाहिने तरफ नलगी उल्टो दिशा धकेलिदिएको छ?’ आफैँ प्रश्न तेर्स्याइन्।
पुरुषले उनको कुरा अझै प्रश्नमा धकेलिदिन्छ— ‘तर के कहिलेकाहीँ जीवनले गलत मोड लिएको हो कि हामीले आफैँ गलत मोड समात्यौँ, त्यो बुझिनु महत्त्वपूर्ण हुँदैन?’
सौरभाले मनमनै सोचिन्— ‘यो मानिस कसरी यति सही ठाउँमा प्रश्न राख्छ? यो साधारण मान्छे जस्तो छैन।’
तैपनि उनी केही बोलिनन्। हावा चलिरह्यो, कुहिरो हल्का हट्दै थियो र आँगनमा बकाइनोका पातहरू एक–एक गर्दै तल झर्दै थिए।
पुरुष फेरि सोध्यो— ‘यदि तपाईंलाई एक दिन आफ्नो पुरानो विगत बाहिर निस्केर नयाँ इतिहास बनाऊ भन्दै नयाँ अर्थका साथ जिउन मौका मिल्यो भने, तपाईं के परिवर्तन गर्नुहुन्छ?’
सौरभा केही क्षण अड्किइन्। उनको आँखा सधैँझैँ गहिरो लाग्थ्यो, तर आज उनी आफ्नो भित्रको भाग देखाउन थकित भइसकेकी जस्तो थिइन्।
‘मेरो मन… अझै बाँच्न चाहन्छ,’ उनले बिस्तारै भनिन्, ‘तर शरीर, परिस्थिति, समय— यी सबैले बाँच्न रोकिदिएका जस्तो।’
पुरुष उनको भाव सुनेर शान्त स्वरमा भन्यो— ‘मन कहिल्यै वृद्ध हुँदैन।’
सौरभा हल्का अचम्मले मुस्कुराइन्— यति सानो वाक्यले यति ठुलो प्रभाव।
यति नै बेला चियाको बाफ माथि उठ्दै थियो। त्यो बाफको बाटोबाट सूर्यको पहिलो किरण उनको अनुहारमा पर्यो— उनी एक क्षण झल्किइन्।
पुरुषले त्यो क्षण चुपचाप अवलोकन गर्यो। उनको आँखामा सूक्ष्म सम्मान मात्र होइन, एकदम गहिरो पहिचान पनि थियो।
पुरुषले हल्का मुस्कानसहित सोध्यो— ‘के तपाईंले आफ्नो जीवनको सबै रहर पूरा गर्न सक्नुभयो?’
सौरभा केही क्षण चुप रहिन्। उनी आफ्नो हातमा राखेको पुरानो डायरी खोलिन्। पानाहरूको सुगन्ध र लेखाइले उनलाई भित्री संसारमा लग्यो।
‘धेरै सपना अधुरा नै छन् तर हृदयले अझै माग्दछ। समयले रोक्यो, जीवनले बाँध्यो तर मनले बाँच्न चाहन्छ। कसैको नजरले देख्न नसकेको, अदृश्य र तरल आशा मेरा हातमा छन्। सुनसान रात र उज्यालो बिहानका बिच, म अझै आफ्नो बाटो खोजिरहेकी छु।’
पुरुष चुपचाप उनीसँग बस्यो। शब्दहरू सरल थिए, तर प्रभाव गहिरो।
सौरभाले डायरी बन्द गर्दै भनिन्— ‘मलाई थाहा छ, सबै रहर पूरा हुँदैन। तर मन… अझै बाँच्न चाहन्छ।’
पुरुषले अन्तिम नजरले हेर्दै उठ्यो, अनि बाटोतिर हेर्दै भन्यो— ‘आजको दिनको लागि धन्यवाद। तपाईंका केही शब्द मेरो मनमा धेरै टाढासम्म जान्छ।’
सौरभा केही बोल्न खोजिन् तर रोकिइन्। उनी सम्हालिएर मात्र भनिन्— अहिले भेटिन्छ, होइन?’
पुरुष मुस्कुरायो— एकदम कोमल, सम्मानजनक, असामान्य रूपमा न्यानो मुस्कान।
‘अहिले होइन तर फेरि— किनकि केही कुरा पूरा हुन बाँकी छ।’
र त्यो भनिसकेर, ऊ कुहिरोका बिच हरायो। तर सौरभाको मन? वर्षौँपछि पहिलो पटक हल्का बिउँझियो।