हरियाली मनका फाँटहरूमा
स्मृतिका डोबहरू विचरण गर्दा
मृगका पाठाहरू झैँ बुरुक्क उफ्रन्छ दिलको धड्कन
तिम्रो त्यसै गरी धड्किदा जीवनले लयमा गाएको छ
सुमधुर गीत सिरुका पात सँगसँगै।
पहेँलो दियोको झिलिमिलीमा
अतीत फेरि एक पटक उज्यालो भएर फर्किएको छ
सुनारले झैँ यादहरूलाई गालेर एउटा आभूषण
अर्पण हुन खोजिरहेछ
लाग्दछ,
मनको पिर गहनाजस्तै साँचेर बसेको स्थान,
बाहिर निखिल उज्यालो बनेर झल्किने छ चन्द्रहारमा।
निधारको रातो सिन्दूर सूर्यको पहिलो किरण बनेर उज्यालो छर्दा अनि
कोमल नयनहरूमा नमेटिने प्यास टल्कँदा
दर्पणमा छाल बनिरहुन् रोमाञ्चकारी भावनाहरू
र,
रातमा देखिने गहिरो नीलो आकाश जस्तो नील-सारीको
सप्कोले बेर्नु तिनैलाई वक्षस्थलमा सदा-सदा।
बैजनी अन्त्य र आरम्भको संगम हो
रात र दिनको सङ्क्रमण हो
आध्यात्मिक उचाइ हो
र
हो अधरको रक्तिमा
जसमा कर्कलोको पानी बनेर चुहिएका छन्
जीवनका कठिनाइहरू तप्प तप्प।
मुकुटमा स्थिरता, विश्वास र सत्यताको निलम
जीवनका राहु वा गुरु ग्रहको ढाल बनुन्
र छिपेको रहस्य जस्तै, गहिराइ बनुन् मुस्कानहरू।
सिउँदोको केसरियाले सधैँ-सधैँ बोली रहोस्
समर्पण र त्यागका कथाहरू
र म अर्चना गरिरहूँ
दरिला कफले मस्तकमा सजिएको
इन्द्रेणीका सातै रङहरूको।