निस्पट्ट अँध्यारोमा पनि
पिलपिल गर्छे ऊ
जुठेल्नु नजिकै गएर
बाध्यताले र गलत समयको कैदमा
परेर आफ्नो बनेका
पराई हृदयले
रुवाएर जीवन निल्नु न ओकल्नु
भएको अबला नारीको साथ दिन
आइपुगेको छे प्यारी जुनकिरी।
बलेँसीमा भाँडा माझ्दै आफ्नै पतिको
निर्बाध हिंसापछि सुस्ताएकी
अर्को नारीको सहारा बनेकी छे
सानी जुनकिरी
आनन्दले ऊ पनि एउटा कुनामा थन्किन
सक्थी तर आफ्नै
धर्म सम्झेर त्यो कालो औँसीको रातमा
पनि पिलपिल गर्दै बलिरहिछ जुनकिरी
उसलाई चाहिन्न कुनै घर
कुनै सत्ता र कसैको सामीप्य
र पनि
ऊ मुस्कुराउँछे एक्लै
गुनगुनाउँछे एक्लै
आफ्नो बाटो दौडिएको हुन्छे एक्लै
सारा अँध्यारो
जगतलाई जुनको उज्यालो
छरेर पनि ऊ घाइते हुँदा भोग्छे एक्लै।
उसको जात-धर्म कसैसँग मिलेन
तर पनि उसले स्वधर्मलाई आत्मसात्
गरिरही
आफ्नो चुनौतीपूर्ण काला गोरेटोहरूमा
एक्लै भुनभुन गरिरही
ऊ जुनकिरी
उसलाई माहुरीको घारभित्र पस्नु छैन
गुलियो मह खानु छैन
उसलाई चराहरूको गुँडमा लुक्नु छैन
उसलाई मानवका घरमा बस्नु छैन
तैपनि सारा प्राणीलाई उज्यालो बाँडिरही
उसले आफ्नो चमकताले
अँध्यारो चिरिरही।
उसका छैनन् कोही आफन्त
संसार आफ्नो सोचिरही
उसका छैनन् कोही हितैषी
तर पनि आफ्नो कुनामा बत्ती बालिरही
दीपको ज्योति
सत्यको मार्गलाई उज्यालो प्रकाश छर्ने
साहस गरिरही।
आलोचकहरूले जूनसँग दाँजे
घामको प्रकाशसँग पनि दाँजे
मानव निर्मित बिजुली बत्तीदेखि
अगेनाको आगोभन्दा कम छौ भनेर
प्रहार गरिरहे
तर पनि उसले पिलपिल
गर्न कहिले छोडिन र
आज सूर्य र चन्द्रबिदा लिएको कालो
रातमा आफ्नै शरीरको शक्तिले छोडेर
देहको प्रकाश निभेकाहरूले पनि
गन्तव्यसम्म पुग्न
जुनकिरीको सहारा लिइरहेछन्।