हाँस्छ अनि हँसाउँछ, नाच्छ अनि नचाउँछ
प्रकृतिको काखमा नेपाल
अमरावतीको त के कुरा
त्यति सुन्दर छ मेरो आँखामा नेपाल।
मलाई बिझाउँछ मिर्मिरेमा कोइलीको त्यो मिठो बोलीले
मेरो रोग मेटाउँछ आफ्नै खेतीको डोलीले
उत्तरमा टलक्क-टलक्क टल्कन्छन् टल्कनेहरू
दक्षिणमा सुनसरी झल्किरहन्छन् झल्कनेहरू
त्यसैले त रमाउँछ प्रकृतिको काखामा नेपाल
सुनमा पनि सुगन्ध छ मेरो आँखामा नेपाल।
यहाँ, अग्रगामी पाइलाहरू अगिअगि लम्किरहेछन्
आकाशमा भृकुटी अनि अयोध्यामा सीता चम्किरहेछन्
ज्ञानभूमि, शान्तिभूमि भनी विश्व गीत गाइरहेछ
बुद्धको ज्ञान अनि गोर्खालीको पित पाइरहेछ
यसैले त हाँस्छ, आफ्नै पहरा अनि पाखामा नेपाल
काँडै राख्दा पनि नबिझाउने छ मेरो आँखामा नेपाल।
सेलो गीतमा पनि देउडा नाच नाचिदिन्छन् यहाँ
संस्कृति नै रमणीय, विज्ञानको भाँच भाँचिदिन्छन् यहाँ
आहा! यो नेपाली खाना अनि रहनसहन मिठासले उन्माद छ
सानो यो फूलबारीमा फूल ज्यादा अनि थोरै पात छ
यसैले, नाच्छ अनि नचाउँछ हिमाली पाखामा नेपाल
अनमोल अनि अमूल्य छ मेरो आँखामा नेपाल।
हिमालमा हिउँ पर्दा, तराईमा न्यानो काख छ यहाँ
मयुरको शीतल नाचसँगै कोइलीको मिठो भाका छ यहाँ
रातो पर्दामा चन्द्र-सूर्य फरफराउँछन् डाँडामाथि
मनै मोहित हावापानीले फूल फुल्छ काँडामाथि
यसैले त, गाउँछ अनि सुनाउँछ न्यानो काखामा नेपाल
शिशिरमा पनि वसन्त छ, मेरो आँखामा नेपाल
सुनमा पनि सुगन्ध छ, मेरो आँखामा नेपाल।