उन्माद बचपनाभित्र
मेरो देश आजकल हाँस्दो छ
जन्मँदै छन् पानीका फोकाहरू
हरेक दशकमा
तर पनि हिलोमा फुलेको कमल
आशाको दियो बाली
मुस्कुराउँदो छ।
आफ्नै भविष्य हराएको ऊ
बेखबर छ र पनि
भित्तो चिथोर्दै स्वाभिमानले उठाएको
यथार्थको पहाड सम्म्याउँछु भन्दो छ।
थाहा छैन
सुरु र अन्त्य बिचको लडाइँमा
गन्तव्य हराएका गोरेटाहरूको परिचय
तर पनि
मुखबाट निस्केका हावाहरू
फु-फु गरी ऊ
तुवाँलो हटाउन फुक्दो छ!